MENU

विचार/अनुभूति

ujyaalo forign call inside

विप्लवको बन्दमा सरकारी कर्मचारी नै प्रहरी फन्दामा !

उपेन्द्रराज पाण्डेय –

स्थान–भृकुटीमण्डप । 
समय–मंगलबार बिहान साढे ९ बजे । 

केही साथीहरुसँगै बसेर चिया पिउँदै थिएँ । नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको भएपनि बन्दको प्रभाव काठमाडौंमा न्यून देखिन्थ्यो । तर भृकुटीमण्डपमा देखिएको दृश्य भने कुनै चलचित्रको भन्दा कम थिएन । हामी नजिकै केही अरु व्यक्ति पनि चिया पिउँदै थिए । कोही एक आपसमा गफ गरिरहेका थिए भने कोही एक्लै बसिरहेका थिए । एक्कासी प्रहरीको दुईवटा भ्यान आइपुग्यो । भ्यानबाट प्रहरी ओर्लिए । केही हामी भएतर्फ नै आए । मलाई लाग्यो प्रहरी बालबालिका खोजतलास केन्द्रमा आएको होला । तर एक प्रहरी निरीक्षक हामी नजिकै रहेका व्यक्तिसँग हात मिलाउँदै भने, ‘ए पुरानै साथी पो हुनुहुँदो रहेछ, एकछिन हामीसँग गाडीमा जाउँ न ।’ ती व्यक्ति प्रहरीको भ्यानतर्फ लागे । केहीबेरको कुराकानीपछि उनलाई भ्यानमा चढाइयो । 

त्यसलगत्तै प्रहरीले भृकुटीमण्डपको गेटतर्फ केही व्यक्तिलाई लखेट्दै गरेको देखियो ।  प्रहरीले तीनतिरबाट छेकेर केहीलाई समात्यो र भ्यान भएतर्फ लिएर आयो । मलाई लाग्यो समातिएका व्यक्तिहरु नेकपाका कार्यकर्ता हुन् । 
त्यत्तिकैमा हामीले चिया खाइरहेको ठाउँ नजिकै बसेर पढिरहेका व्यक्ति भएको ठाउँमा प्रहरी निरीक्षक आए ।

‘एकछिन हामीसँग हिँड्नुस्’ उनले आफ्नो रवाफ देखाए । एकाग्र भएर पढेका एक व्यक्तिको अनुहार अँध्यारो भयो । 
‘तपाईसँग जाने !’  पढ्दै गरेका युवकले अचम्मित हुँदै प्रश्न तेस्र्याए । 

‘हिँड्नुस् भनेपछि हिँड्नुस् ।’ प्रहरीको बर्दी अगाडि उनको केही चलेन । 

आज्ञाकारी छात्र जसरी उनी प्रहरीको पछि लागे ।

प्रहरीसँगको केहीबेरको कुराकानी पछि उनी पहिलेकै ठाउँमा आए । उही मलिन अनुहार, चमक हराएको फिस्स हाँसो देखाउँदै भने ‘त्यतिकै दुःख दिने ?’ 

‘प्रहरीले किन लगेको ?’ मैले प्रश्न गरेँ ।

‘सोधपुछ गर्‍यो । झोला चेक गर्‍यो । म सरकारी कर्मचारी भएको बताएँ । ए सरी भन्दै छाड्यो’ उनले एकै स्वरमा जवाफ फर्काए । 

मेरो प्रश्नमा उनी पनि सशंकित हुँदै थिए । उही प्रहरीको अनुहार उनको अगाडि आएको थियो । केही डराउँदै उनले ‘सोधे तपाईं को हो र ?’

मैले आफ्नो परिचय दिएपछि उनी अली ढुक्क देखिए । 

उनी थिए गुणस्तर तथा नापतौल विभागमा एक कर्मचारी । बढुवाको परीक्षा आएकाले उनी भृकुटीमण्डपमा चिया पिउँदै पढिरहेका थिए । उनी प्रहरीले ‘पुरानै साथी’ भएको आशंका गर्दै  सोधपुछका लागि लैजाँदा त्रसित थिए । एक्कासी प्रहरी आएर  जाउँ भन्दा उनलाई एकदमै असहज भइरहेको बताए ।

आफूले केही नगरेपनि सार्वजनिक ठाउँमा प्रहरीले एक्कासी धरपक्कड गर्दा आफूलाई अनौठो महशुस भएको उनले बताए । आफूले ठूलै अपराध नै गरेजस्तै पाखुरामा समातेर भ्यानतर्फ लैजाँदा वरपरका अरुले आफैंलाई नै हेरेको भन्दै उनले प्रहरीको व्यवहारप्रति आक्रोश पोखे । 

ती व्यक्ति त एक प्रतिनिधि पात्र मात्र थिए, प्रहरीले धेरै व्यक्तिहरुलाई सोधपुछका लागि भन्दै भ्यानमा लगिरहेको थियो । अझ रोचक त के थियो भने कोही चिया पिएर उठ्यो कि प्रहरी दौडिंदै गएर उसलाई भ्यानमा ल्याएर सोधपुछ गर्दथ्यो । विप्लव समूहको कार्यकर्ता भएको आशंकामा नै भृकुटीमण्डपमा मंगलबार बिहान कैयौं मानिसलाई प्रहरीले सोधपुछ गर्‍यो । 

प्रहरीले विप्लव समूहका नेता कार्यकर्ता र सर्वसाधरणलाई गर्ने व्यवहारमा पनि अन्तर देखिन्थ्यो ।  नेकपाका कार्यकर्तासँग प्रहरीले हात मिलाउँदै भन्थ्यो ‘तपाईँ त पुरानै मित्र हुनुहँदो रहेछ । एकछिन गाडीमा जाउँ न ।’  

सर्वसाधरणलाई  भने एकछिन सोधपुछका लागि जाउँ न भन्दै लग्दथ्यो । लाग्थ्यो विप्लव कार्यकर्तासँग प्रहरीको लामो चिनजान थियो र उनीहरु सजिलै चिन्दथे । होला, उनीहरु पटक–पटक प्रहरी कार्यालय पुगेका थिए  । नत्र उनीहरुलाई प्रहरीले ‘पुरानै मित्र हुनुहुँदो रहेछ’  किन भन्दथ्यो र ?  सुरक्षा संवेदनशीलतामा प्रहरी चनाखो हुनुपर्दछ, त्यसमा कुनै शंका नै छैन । तर सुरक्षा संवेदनशीलताका नाममा बाटोमा हिँडिरहेका, चिया पिइरहेका, एकान्त ठाउँमा बसेर पढिरहेका व्यक्तिबाट सुरक्षामा के संवेदनशीलता देखियो, त्यो त प्रहरीलाई नै थाहा होला ।  अनि भृकुटीमण्डप नेकपाको पार्टी कार्यालय पनि त होइन, त्यहाँ आउने सबै विप्लवकै कार्यकर्ता पनि त होइनन् होला । 

कोही अलि झुत्रेझाम्रे कपडा लगाएर बसे पनि सोधपुछका लागि भन्दै लैजाने, कोही अलि गह्रौं झोला बोकेर हिँडेको छ भने पनि एकछिन सोधपुछका लागि है भन्दै लैजाने । आफूभन्दा अलि पर झोला राखेर बसेको छ भने पनि झोलाको खानतलासीका साथ–साथै सोधपुछमा समावेश हुनैपर्ने ।  

मोटरसाइकलमा रहेका केही व्यक्तिलाई पनि दौडदैँ गएर प्रहरीले रोके, कसैलाई भ्यान भएको ठाउँमा लिएर आए । कोही त प्रहरीका ‘पुरानै साथी’ रहेछन्, त्यसैले उनीहरुलाई भ्यानमा हालियो । केहीलाई सोधपुछपछि छाडियो । केहीबेरको धरपकडपछि प्रहरीको भ्यान भृकुटीमण्डपबाट बाहिरियो । 

हामी पनि प्रहरी त्यहाँबाट हिँडेपछि निस्कने विचार गर्‍यौँ । मैले मोटरसाइकल चलाइरहेको थिएँ । मेरो पछाडि मसँग एकजना साथी थिए । हामी आउँदै थियौँ, भृकुटीमण्डपको गेटनिर प्रहरीको एउटा भ्यान रहेछ । हामीले भ्यानलाई क्रस गरिसकेका थियौँ, हामीलाई लाग्यो प्रहरीले हामीलाई रोक्नका लागि इशारा गरेको थियो ।  मैले मोटरसाइकल फर्काएँ । सादा पोशाकमा रहेका एकजना प्रहरीले हामीलाई चिने जस्तै गरि  भने  ‘के छ सरहरुको खबर ?’ 

‘ठिकै छ सर । के भएको हो  सर ?’ मैले प्रश्न गरेँ । 

‘विप्लव कार्यकर्तालाई मात्रै पक्राउ गरेका हौँ ।’ उनले भने ।  

त्यत्तिकैमा पोशाकमै रहेका प्रहरी निरीक्षक पनि हामी नजिकै आए र हामीसँग हात मिलाए । हामी त्यहाँबाट निस्कियौँ । 

मलाई लाग्यो, कुनै पनि बन्दमा बाहिर निस्कनु भनेको प्रहरीको नजरमा बन्दकर्ता हुनुरहेछ । प्रहरीलाई बिहान फोन गरेर सोध्यो भने प्रहरीले बन्दको केही प्रभाव छैन भन्छ । मानिसहरु बन्द छैन क्यारे भनेर बाहिर निस्कन्छन्, तर प्रहरीले सोधपुछका लागि बोलाउने सम्भावना भने धेरै हुने रहेछ । पुरानै मित्र परियो भने त भ्यानमै चढाउने भो प्रहरीले, नयाँ परियो भने सोधपुछ पछि छाडिदिनेछ ।   

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया