MENU

समाज

Ncell Axiata

एक करोड १५ लाख तिर्न खुट्टा राम्ररी नचल्ने नेपाली युवा युएईमा रातभर चौकिदारी गर्छन्

उमाकान्त पाण्डे/उज्यालो ।

असार २८ – युएईको राजधानी आबुधाबी शहर । यहाँबाट झण्डै ५० किलोमिटर टाढा छ औद्योगिक क्षेत्र मुसाफा । त्यही क्षेत्रमा काम गर्ने एकजना मजदुर क्याम्पको गेटमा रातभरी चौकिदारी गर्छन् । उहाँ झापाको बिर्तामोड नगरपालिका माता मन्दिर छेउका लोकेश खतिवडा हुनुहुन्छ । 

मुसाफा ३२ नम्बर क्याम्प क्षेत्रको छेउमा डेसर्ट म्यान कार्गो क्लियरिङ्ग एन्ड फरवार्डिङ कम्पनी छ । आफूलाई भेट्न आउनेलाई उहाँले त्यही ठेगाना दिनुहुन्छ । २९ वर्ष लाग्दै गरेका लोकेश सिधा उभिएर हिँड्न सक्नुहुन्न । भेट्न आउनेसँग पूर्वेली लवजमा खुलेर बोल्ने उहाँ आफू ढुंगामा बसेर अरुलाई कुर्सी टक्राउनु हुन्छ ।

‘खुट्टा सिधा पारेर बस्न मिल्दैन, यसै गरी घुमाएर बस्दा दुख्दैन्’ खुट्टा देखाउँदै लोकेशले भन्नुभयो, ‘खुट्टा भाँचिएर स्टिल राखेपछि जेनतेन घुमाउन मिल्ने त भएको छ । तर सजिलै टेक्न मिल्दैन ।  पाइन्ट नलाएको चार वर्ष भयो ।’  

सात वर्ष अघि तनुवा भीसामा उहाँ युएई आउनु भएको हो । तीन वर्ष काम गरेर उहाँ बिदामा नेपाल जानु भएको थियो । घरबिदामा गएको बेला विवाह गरेर एक महिना पनि सँगै नबस्दै बिदा सकियो । फेरि उही कम्पनीमा उहाँ फर्किनु भयो । 

बिदाबाट फर्किएको १८ दिनकै दिन उहाँको जीवनमा ठूलो आपत आइपर्‍यो । उहाँ ट्रक चलाउनु हुन्थ्यो । बिहानै उहाँ कम्पनीको मालसामान लिएर मदिनाजायद जाँदै हुनुहुन्थ्यो । अचानक हावाहुरी आयो । गाडी अनियन्त्रित भएर सडक छेउको ट्रेलरमा ठोक्कियो । गाडीमा पाकिस्तानी र अर्का भारतीय नागरिक थिए ।

दुर्घटनामा परेर गम्भिर घाइते भएका भारतीय नागरिकको उपचारको क्रममा ज्यान गयो । अर्का घाइते पाकिस्तानी नागरिक अहिले पनि सोही कम्पनीमा काम गर्दैछन् । 

हप्तादिन पछि होस खुल्दा लोकेश अस्पतालको आइसियुमा हुनुहुन्थ्यो । उहाँको दाहिने खुट्टा तीन ठाउँमा भाँचिएको थियो । खुट्टाको घुँडा, कुर्कुच्चा र पैतला जोड्ने हड्डीमा नटबोल्ट र स्क्रु राखेर बाँधिएको थियो । सुत्न, बस्न र उठेर हिँडडुल गर्न समस्या । त्यही शरीरमा रोपेर बनाएको ह्याण्डलको सहायता लिनु पर्थ्याे । दाहिने हात दुई ठाउँमा भाँचिएको थियो ।

आबुधाबी अस्पतालमा २२ दिनमा अप्रेसन सकेर उहाँलाई ४५ दिन अस्पातलमै राखियो । पछि कम्पनीको क्याम्पमा ल्याएर राखियो । परदेशको ठाउँ रेखदेख गर्ने कोही थिएनन् । दिसापिसाव गर्न बिस्ताराबाट उठेर जान समस्या । एक पटक त उहाँ शौचालयमा नै चिप्लिएर लड्नु भयो । 

लड्दा उहाँको भाँच्चिएको खुट्टा र हातमा चोट लाग्यो । फेरि अस्पतालको बास । अस्पताल पुग्दा अवैधानिक कामदार भएको भन्दै हातखुट्टामा साङ्लोले बाँधेर राख्यो । अपरेसन भएकै दिन एक जना अरबी र पाकिस्तानी गएर मुचुल्का उठाए । तँलाई केही हुँदैन भन्दै अरबी भाषामा लेखिएको पत्रमा हस्ताक्षर गराए ।

त्यसमा के लेखिएको थियो भन्ने लोकेशलाई केही थाहा थिएन । अस्पतालकै बेडमा आफूलाई कसैले फसाउला भन्ने उहाँले सोच्नु पनि भएको पनि थिएन । त्यो पत्रमा लेखिएको रहेछ ‘ज्यान जानेलाई क्षतिपूर्ति स्वरुप बिमा कम्पनी र लोकेशले गरेर चार लाख दिर्हाम (झण्डै एक करोड १५ लाख रुपैयाँ) तिर्नुपर्ने ।’ अहिले त्यही कारणले लोकेश अप्ठेरोमा पर्नु भएको छ । 

न्याय त पाइनएन्, कम्पनीले समेत अवैधानिक बनायो 

दुर्घटनामा ज्यान गुमाएका भारतीय नागरिकको परिवारले दुवई अदालतमा लोकेशविरुद्ध मुद्धा हालेको छ । त्यही मुद्धाका कारण उहाँले न्याय पाउनु भएको छैन । न्यायको त के कुरा, शरीर काम नलाग्ने हुँदा पनि न्याय कोसँग माग्ने मेसो पाउनु भएको छैन । 

अदालतमा मुद्धा विचाराधिन छ । आरोपितले मागे जस्तै चार लाख दिर्हाम कहाँबाट ल्याउने । लोकेशसँग औषधि खाने पैसा समेत छैन । कम्पनीले भिसा क्यान्सिल गरेर अवैधानिक बनाएको छ । यहाँले काम गर्ने कम्पनी यमनी नागरिकले सञ्चालन गरेका हुन् । कम्पनीले उहाँको भिसा रद्द गरिदिएको छ । ‘भिसा रद्द गरेर नेपाल पठाउनु पर्ने, उल्टै बाँचुन्जेल काम गर, तिर्न सकेको पैसा तिर, नसके यही बालुवामा मर भनेर मालिकले भन्छ,’ उहाँले भन्नुभयो । 

मासिक सात सय दिर्हाम तलब आउँछ । कम्पनीले तेल, डिजेल ,ग्यास, केमिकल र मेकानिकल सामानहरु आपूर्ति गर्छ । कम्पनीको गेटमा रातीको समय इन्धन राखेका ट्रेलर आउछन । तीनै गाडीको चौकिदारी गर्नुपर्छ । 

जेनतेन आफ्नै शरीर थेगिरहेका लोकेशलाई धेरै पटक यहाँको स्थानीय निकायले पक्राउ गरेर लगेको छ । तर पासपोर्ट प्रशासनमै भएको र मुद्धा चलिरहेकाले प्रहरीले कहिले गाडी भाडा दिएर त कहिले क्याम्पसम्म छोडिदिने गरेको छ । कपडा र शरीर सरसफाइ गर्न सक्ने भएकाले अहिले अलि सजिलो हुँदैछ । 

त्यति तलबले के खाने, के लाउने, के ले औषधि किनर खाने भन्ने पिरलो लोकेशलाई छ । सहकर्मीले कपाल सित्तैमा काटिदिन्छन । पसलेहरुले उधारो दिन्छन । झापाली र ताप्लेजुङ समाजले धेरथोर सहयोग गरिरहेका छन् । त्यही रकमले औषधोपचार गर्दै हुनुहुन्छ । झापाली समाजले जिल्लामा र दूतावासमा समन्वय गरिरहेको समाजका उपाध्यक्ष मातृका लम्सालले बताउनुभयो । 

दाइहरु कतार र मलेसियामा हराए

विदेश आउनु अघि लोकेश गाडी नै चलाउनु हुन्थ्यो । तर कमाइले पुगेन । दुवई आएर सुरुमा लोकेशले दुई हजार देखि २५ सय दिर्हामसम्म तलब थाप्नु भएको थियो । काम सिक्दै गएकोले कम्पनीले उहालाई अवसर पनि दियो । तर अहिले काम गर्न नसक्दा कम्पनीले दिएको पिडा सम्झेर उहाँको भक्कानो छुट्छ । साथीभाइलाई दिउँसो भेट्न बोलाउन मिल्दैन । ‘त्यही भएर राती यही गेटमा बोलाउँछु,’ उहाँले भन्नुभयो । 

लोकेशका जेठो दाइ दिपेन्द्र कतार र माइलो दाइ टिकाराम मलेसिया गएका थिए । कतार गएका जेठो नौ र मलेसिया गएको माइलो सम्पर्कविहिन भएको सात वर्ष भइसक्यो । कुन कम्पनीमा हो गएको भन्ने परिवारलाई थाहा छैन । सोधीखोजी कहाँ गर्ने, कसले सहयोग गर्ला भन्ने पनि लोकेशलाई थाहा छैन ।  ‘कमाएर आमा र परिवारलाई खुसी बनाउँला भनेर आएको, आफ्नो हालत यस्तो छ,’ गहभरी आँशु पार्दै लोकेशले भन्नुभयो, ‘नेपाल जान पाए चटपटे बेचेर भए पनि परिवार खुसी बनाउने थिएँ ।’

दूतावासकाे केही लागेकाे छैन्

नेपाली दूतावास आबुधाबीका अनुसार लोकेशको मुद्धालाई लिएर दैनिक ५ देखी १५ जनाको फोन आउँछ । दूतावासको एउटै जवाफ हुन्छ, अदालतमा विचाराधिन रहेको मुद्धाका विषयमा हामीले केही गर्न मिल्दैन । 

उहाँको मुद्धाको बारेमा दूतावाले केही गरेन भनेर धेरैको गुनासो छ । तर अहिलेसम्म सबै भन्दा धेरै धाएको विषय नै लोकेशको हो । मालिकको घर, कम्पनीको कार्यालय, बिमा कम्पनी, अदालत, अस्पताल र जेलसम्म गरेर सबै ठाउँबाट यथार्थ बुझेर अदालतमा लडिरहेका छौं,’ दूतावासका द्वितीय सचिव कृष्ण अर्यालले भन्नुभयो, ‘अदालतको निर्णय बाहिर हामी पनि जान मिल्दैन ।’

नेपाल फर्काउन सहयोगका लागि श्रीमतीको अपिल

विवाह गरेको एक महिना पनि सँगै बिताउन नपाएका लोकेश र ममता न्यौपानेबिच फोनमा कुरा हुन्छ । ममताले बुढी आमाको स्याहार गरेर बस्नु भएको छ । स्कुले विद्यार्थीलाई घरैमा ट्युसन पढाएर घरखर्च जुटाउनु हुन्छ । ‘अरु चिन्ता थिएन, श्रीमानले न्याय त पाउनु भएन । ज्यान मात्रै भए पनि नेपाल पठाइदिन पर्‍यो,’ उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया