MENU

साहित्य/ कला

Ncell Axiata

​ मदनकृष्णले भने – हरिवंशलाई पनि नभनेका कुरा छन्

काठमाडौं, असार २८ – ‘मलाई मेरो आत्मकथा भन्दा मेरी श्रीमती प्यारो लाग्यो । श्रीमतीलाई क्यान्सर भएको थाहा भएपछि मैले दुई वर्ष केही लेख्नै सकिन ।’

बुधबार आफ्नै पुस्तकको शीर्षक सार्वजनिक कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले सुनाउनुभयो । झण्डै पाँच वर्ष अघि लेख्न सुरु गर्नुभएको आत्मकथा लेखन र सम्पादनको विभिन्न चरणहरु पार गर्दै प्रकाशनको तयारीमा रहेको छ । 

दश, पन्ध्र च्याप्टर लेखिसकेपछि मदनकृष्णले श्रीमतीलाई क्यान्सर भएको थाहा पाउनुभयो । उहाँले श्रीमती पीडाले छटपटिरहेका बेला केही लेख्न नसक्नुभएको बताउनुभयो ।

‘श्रीमतीलाई पीडा भएको बेला उनीसँगै हुन्थेँ । उनलाई दुखाई कम भएका बेला लेख्न बस्थेँ । अलि अलि लेख्दै गएको त १ लाख ९५ हजार शब्द लेखेछु । त्यसलाई सम्पादन गरेर १ लाख ५ हजार शब्दमा झारेर पुस्तकलाई छरितो बनाएको छु,’ उहाँले पुस्तक लेखनका क्रममा आएका विभिन्न समस्याका बारेमा जानकारी दिँदै भन्नुभयो । 

‘ठूला–ठूला मान्छेको पो आत्मकथा हुन्छ होला जस्तो लाग्दथ्यो ।  अब्राहम लिंकन, महात्मा गान्धी, विपि कोइराला जस्ता ठूला मान्छेको पो आत्मकथा हुन्छ होला जस्तो लाग्थ्यो । साथीभाईले जीवनका भोगाईलाई पुस्ताकाकार दिन आग्रह गरेपछि मैले त्यसलाई पुस्तकको रुप दिएको हो ।’

मदनकृष्ण श्रेष्ठले आफ्ना बारेमा धेरै कुरा सबैलाई भनेको बताउँदै काम गर्दै जाँदा र बाल्यकालका अनुभवलाई समेट्दै किताब तयार पारेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जितपुरफेदीमा आफू हुर्कँदाको अनुभवदेखि जागिर खाँदाको अनुभव, श्रीमतीसँगको लभ पर्दासम्मको अनुभवलाई पुस्तकमा समेटेको छु ।’   

‘काम गर्दै जाँदा कसैको चित्त दुखाइयो कि, अहंकारी पो भइयो कि, जीवनमा जानेर नजानेरै गल्ती गरियो कि ? धेरै विचार पुर्‍याएर पुस्तक लेखेको छु । पुस्तकमा अहम्मा भन्दा महम्मा बढी केन्द्रित भएको छु ।’ पुस्तकलाई चाहिने जति सामग्री तयार भइसकेपनि अझ लेखुँ लेखुँ लागेको उहाँले बताउनुभयो । 

उहाँले हरिवंशले महको ‘ह’को लेखिसक्नुभएको र आफूले महको ‘म’ लेखेको बताउनुभयो । ‘मैले हरिवंशलाई धेरै कुरा भनेको छु तर उसलाई पनि भन्न बाँकी कुराहरु धेरै छन् । कतिपय कुराहरु भन्न छुटेका छन् । ती कुराहरु पुस्तकमा अटाएका छन्,’ उहाँले भन्नुभयो । 

कार्यक्रममा मदनकृष्ण श्रेष्ठका सुख दुःखका सहयात्री हरिवंश आचार्यले मदनकृष्ण र आफू एक अर्काका पर्याय भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘मदन दाइको पुस्तक निस्कनु भनेकै मेरै पुस्तक निस्कनु जस्तो हो । उहाँको पुस्तकको एउटा हिस्सा म पनि हुँ ।  दाइ भनेको नै म हुँ र म भनेकै दाइ हो ।’

पछिल्लो समय बजारमा पुस्तक लेखन र प्रकाशनको संख्या बढेको छ ।  विभिन्न पेशामा लागेका व्यक्तिको आत्मकथा बजारमा आएका छन्, केहीका आउने क्रममा छन् ।  केही समय पहिले हरिवंश आर्चायको चिना हराएको मान्छे, पत्रकार विजय कुमारको खुसी, कुटनीतिज्ञ लोकराज बरालको रोमाञ्चित जीवन लगायतका केही कृतिहरुले पाठकहरुको मन मात्रै जित्ने होइन, व्यवसायिक रुपमा पनि राम्रै सफलता हात पारेका थिए ।  

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई छुट्याएर हेर्न सकिन्न ।  लामो समय कलाकारिता क्षेत्रमा सहकार्य गरेका उनीहरुलाई प्राय एउटै मञ्चमा देख्न पाइन्छ । रंगमञ्च र कलाकारितामा मात्र होइन, सामाजिक कार्यमा पनि उनीहरु एउटै मञ्चमा देखिन्छन् । 

हरिवंश आचार्यले आफ्नो आत्मकथा चार वर्ष अघि नै बजारमा ल्याएको भए पनि पुस्तक विमोचनमा मदनकृष्ण पनि उपस्थित हुनुहुन्थ्यो । हरिवंशको आत्मकथा बजारमा आएसँगै नै मदनकृष्णको आत्मकथा पनि बजारमा आउला भन्ने आकंलन पाठकहरुले गरेका थिए ।

बजारमा मदनकृष्ण श्रेष्ठको आत्मकथा बजारमा आउने विषयमा धेरै हल्ला पनि भए ।  बुधबार प्रकाशन गृह फाइन प्रिन्टले पुस्तककै शीर्षक सार्वजनिक गरेपछि पाठकहरु अब पुस्तक प्रकाशनको मिति पर्खिरहेका छन् । 

बुधबार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई एउटै मञ्चमा राखेर प्रकाशकले आत्मकथाको शीर्षक  ‘महकाे म’ सार्वजनिक गर्दै भदौ २० गते पुस्तक नै सार्वजनिक गर्ने घोषणा गरेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया