MENU

विचार/अनुभूति

ujyaalo forign call inside

थरिथरीका समाचार चोर ! नियमन र कारबाही कसले गर्ने ?

सञ्जिता देवकोटा – 

म पत्रकारिताको विद्यार्थी । पत्रकारिता पढ्न मैले सात वर्ष खर्चिसकेको छु । मैले सात वर्षमा सिकेका कुरालाई तिखार्ने माैका  उज्यालो रेडियो नेटवर्कमा पाएको छु ।

कक्षामा पढ्दा गुरुले भनेको सम्झिरहन्छु । मिडिया ‘ल’ र ‘एक्ट’ पढाउँदा सरले भन्नुहुन्थ्यो, अरुको समाचार चोरी गर्नु नैतिकताबाट पतन हुनु हो । यसो गर्नु हुँदैन, त्यसो गर्नु हुँदैन् । ऐन नियममा लेखेका कुरा सरले पढाउँदा सुनिरहुँ लाग्थ्यो । पानामा लेखिएका यी ऐन, कानून कन्ठ पार्थें । धेरै वटा ऐनमा लेखिएका कुरा मुखमै झुण्डिएको छ । 

जब म लेख्न बस्छु तिनै कुराले मलाई सचेत बनाउँछ । तर हिजोआज यस्ता कानून र ऐन धेरैले पालना गर्दा रहेनछन् । गर्नु हुँदैन भनेर लेखिएका, भनिएका कुरा कसले मान्ने । कक्षामा गुरुले चोर्न हुन्न भनेर सिकाए, परिवारमा आमाबुवा र दाइदिदीले । 

गुरुले र परिवारले ‘चोर्न हुन्न्’ भन्ने शब्द एउटै तर अर्थ फरक थियो । पत्रकारिता पढाउने गुरुले समाचार बनाउँदा अरुको चोरी गर्नुहुन्न, पत्रकारिताको मर्म यो हो भनेर भन्थे । अनि परिवारकाले चाहिँ अरुको केही पनि वस्तु नर्चोनु भन्थे । सायद उनीहरुलाई वस्तु बाहेक अरु चोरिन्छ भन्ने थाहा थिएन ।

वस्तु चोर्नका लागि एकदिन चाहिँ छुट थियो । तीजको चौंथीका दिन । यो दिन धेरैको काँक्रो चोरियो । कति नाश गरियो । त्यो बाहेक अरु चोरी गरेको याद छैन । हिजोआज चौंथीका दिन पनि छिमेकीका काँक्रो कमै चोरिन्छन् होला । 

जमाना परिवर्तन भयो । हिजोआज वस्तु भन्दा धेरै बुद्धि चोरिन्छ । यही कुरा अहिलेका धेरै अनलाइन मिडियाले गर्दै आएका छन् । मेहनतले भन्दा पनि अरुको बुद्धि चोरी गरेरै मिडिया चलाउनेको संख्या बढ्न थाल्यो ।

पत्रकारिता अभ्यास गर्दा मेरो बुद्धि पनि अरुले चोरे । कति मेहनत गरेर एउटा समाचार तयार पार्छु । तर मैले यसरी तयार पारेका समाचार मलाई र मेरो मिडियालाई नसोधी धेरै अनलाइनले जस्ताको जस्तै ‘कपी पेस्ट’ गर्छन् । 

म उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन डट कमका लागि समाचार तयार पार्छु । तर मलाई त धेरै अनलाइनले उसकै संवाददाता बनाउँदा रहेछन् । मैले त्यस्ता अनलाइनको नाम त्यसअघि कहिल्यै सुनेको थिइन् ।

साझा पेज अनलाइनले मलाई उसकै संवाददाता बनाएर मेरो समाचार चोरी गर्यो  । मैले त त्यो अनलाइनको नाम मेरो समाचार चोरेर छापेपछि मात्रै थाहा पाएको थिएँ । त्यो पनि मैले ‘केस स्टडी’ गरेर तयार पारेको समाचार अर्को अनलाइनमा छापिएर सेयर हुँदा मात्रै चोरिएको रहेछ भन्ने पत्तो पाएँ । जसको विषयमा समाचार लेखिएको थियो उसैले त्यो समाचार साझा पेजमा छापिएको सेयर गरेको थियो । यो मात्र हैन उज्यालोमा छापिएका मेरा स्टोरीहरु यसरी नै चोरी गरेर छापिँदो रहेछ । 

काम गर्ने कालु, मकै खाने भालु भने झैं दुःख गरेर समाचार मैले तयार पार्छु तर त्यसको जस अरुले लिन्छन् । आफ्नो संवाददाता भनेर बाइलाइनसहित प्रकाशन गरिदिँदा साह्रै रिस उठ्छ ।

त्यसरी समाचार चोरि भएको थाहा पाएपछि कहिल्यै नाम नसुकेका अनलाइनको मालिकसँग सोध्न मन लाग्यो । इमेल गरें, मलाई र मेरो मिडियालाई नसोधी किन त्यसो गर्नुभयो ?

इमेलमै उनले जवाफ फर्काए, ‘साझापेज संवाददाता चाहिँ मोवाइलमा मात्र देखिन्छ । हामीले उज्यालोलाई बोल्डमा लेखेर क्रेडिट दिएका थियौं । र माथि पनि तपाईंको नाम थियो । ठिकै छ हामीले त्यो डिलेट गरी सक्यौं । तपाईंलाई त्यसरी क्रेडिट दिँदा पनि भएन, धन्यवाद ।’  

म मात्र हैन धेरै जनाले यसको पीडा सहनु परेको छ । मेरो अनुमति बिना उसले मलाई संवाददाता पनि बनायो । अनि उल्टै थर्कायो पनि । यस्ता चोर र चोरीलाई हिजोआज बौद्धिक चोरी भनिन्छ । 

समाचार चोरीका अरु केही घटना पनि हेरौं :

घटना १ . असार २२ गते पहिलो पोष्ट डटकममा स्वेच्छा राउतले लुक्लामा भएको विमान दुर्घटनामा परेर बाँचेकी परिचारिकाको ‘स्टोरी’ छाप्नुभयो । उहाँको स्टोरी छापिएको आधा घण्टामा पाँच वटा अनलाइनमा जस्ताको तस्तै कपिपेष्ट गरेर छापियो । त्यसो भएपछि त्यही अनलाइनमा कार्यरत पत्रकार ऋषिकेश दाहालले प्रतिक्रिया जनाउँदै लेख्नुभयो, ‘कपी पेस्ट गरेर अनलाइन चलाउनेलाई वौद्धिक चोर नभनौं, वौद्धिक भएको भए चोर्दै चोर्दैन थियो । त्यो शुद्ध चोर मात्र हो । त्यसलाई चोर मात्र भनौं ।’

घटना २ . गएको वर्षको कात्तिक २३ गते लोकान्तर डटकममा कार्यरत पत्रकार अशोक मर्हजनले श्रीमान् ड्राइभर र श्रीमती सहचालक भएर जीविका चलाइरहेका श्रीमान् श्रीमतीको स्टोरी लेख्नुभयो । कात्तिकमा छापिएको स्टोरी ९ महिना पछि असार २१ गते गज्जब साप्ताहिकले आफ्नै संवाददाताको बाइलाइन राखेर छाप्यो । उहाँले आफ्नो बाइलाइनको समाचार अर्कोले यसरी चोरी गरेको पाएँपछि ‘गज्जब साप्ताहिकले गज्जब गरेछ । बाइलाइनसहित नै पो छापे छ त’ भनेर फेसबुकमा लेख्नुभएको छ ।

घट्ना ३ . नेपाली अनलाइनले मात्र हैन् । विदेशी मिडियाले पनि नेपाली मिडियाको समाचार चोरेर छाप्दा रहेछन् । रिपब्लिकामा कार्यरत सागर घिमिरेले लेख्नुभएको प्रतिबन्धित पाँच सय र एक हजार भारु सटही सम्बन्धी समाचार रिपब्लिकामा छापिएको थियो । 

गएको फागुन १८ गते रिपब्लिका अनलाइनमा छापिएको समाचार भारतको समाचार संस्था प्रेस ट्रष्ट अफ इन्डियाले कपी पेस्ट गरेर छापेको छ । यसरी विदेशी मिडियाले पनि नेपाली मिडियाको समाचार चोरेर छाप्दा एक हिसावले खुसी लागे पनि समाचार कति दुःख गरेर तयार पारेको समाचार नसोधी अरुले छाप्दा दुःख लाग्ने उहाँले प्रतिक्रिया दिनुभएको छ । 

यी त केही उदाहरण मात्र हो । यस्ता समाचार दिनहुँ धेरै चोरिन्छन् । युट्युवमा भिडियो बनाएर गरिखानेका संख्याको त हिसाबै नगरौं । थाहा पाएर पनि चुपचाप बस्नु पर्छ । जो चोर उसकै ठूलो स्वर, चोरी गर्ने नै ठूलाकुरा गर्छन् । यस्ता चोरलाई न त हामी केही गर्न सक्छौ न त नियमन गर्ने निकायले नै केही गर्छन् । 


हाम्रै छिमेकी देश भारतमा यसरी अरुको बौद्धिक सम्पत्तिको चोरी गरेमा ६ महिनादेखि ३ वर्ष सम्मको जेल सजाय र ५० हजार देखि दुई लाख भारुसम्म जरिवाना हुन सक्छ । स्विडेन प्रेस स्वतन्त्रताको हिसाबले विश्वमै एक नम्बरमा पर्छ । 

त्यहाँ पनि बिना अनुमति अरुको बौद्धिक सम्पत्तिको चोरी गरेमा ५० हजार डलर जरिवाना र चार वर्ष सम्मको जेल सजाय  हुने कानूनी प्रावधान छ । यस्तै बेलायतमा पनि सम्बन्धित व्यक्तिको अनुमति बिना चोरी गरेमा ५० हजार पाउण्ड स्ट्रलिङ जरिवाना र १० वर्षसम्मको सजाय हुन सक्छ ।

अझ अमेरिकाको कुरा गर्ने हो भने त प्रतिलिपी अधिकार लिने व्यक्तिको मृत्यु भएको ७० वर्षसम्म पनि उसको स्वामित्वमा हुन्छ । त्यसपछि मात्र त्यो सार्वजनिक सम्पत्ति हुन्छ । तर यहाँ त मेरो किन त्यसो गरिस भनेर प्रश्न गर्दा पनि उल्टै थर्काउँछन् । चोरीकै जागिरे बनाउँछन् । यस्ता ‘चोर’ अनलाइनलाई कसले नियमन र कार्वाही गर्ने ?

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया