MENU

राजनीति

Ncell Axiata

यस्ता प्रतिनिधि जसले चुनाव जितेपछि पनि गरे घरदैलो

प्रकाश धौलाकोटी/उज्यालो ।

तेह्रथुम, असार २९ – सामान्यतः धेरै मतदाताकोे गुनासो हुन्छ चुनाव जितेपछि नेताहरु गाउँ फर्किंदैनन्, कुरा सुन्दैनन्, राम्रो व्यवहार गर्दैनन् । जितेपछि फेरि भेट्दा नचिनेझैँ गर्छन् । तर यसपालिको स्थानीय चुनाव जितेका उम्मेदवार जितपछि घरमै भेट्न आएपछि मतदाता खुशी भएका छन् । 

‘अरुबेला त जितेपछि देखै पर्दैनथे, तर यसपालि त जिते बित्तिकै घर–घरै आएर धन्यवाद दिए’ म्याङलुङ्ग नगरपालिका–५ का एक वृद्धले भने । चुनाव अघि गाउँमा मत माग्दै पुगेका नेता जितेपछि जितको खुशी एक्लै मनाउथे । फेरि अर्को चुनाव नआइन्जेल उनीहरुलाई देख्न पनि मुस्किल पथ्र्यो मतदातालाई । 

‘चुनाव अघि बाँडेका सपना पूरा गर्नुपर्छ भन्ने डरले पनि कत्ति नेताहरु गाउँ पुग्दैनथे’ म्याङलुङ्ग नगरपालिका–३ का अर्जुन ढुंगाना भन्नुहुन्छ, ‘तर स्थानीय चुनावमा भने गाउँ छाडेर जाने ठाउँ नभएकाले पनि हुनसक्छ, जितेपछि पनि नेता मतदातासँगै छन् ।’

जितेका मेयर, उपमेयर, वडाध्यक्षहरु र सदस्यहरु समेत जितेको खुशी बाँड्दै गाउँ गाउँ पुगेका छन् । मतदातासँग बसेर जितको समीक्षा गरेका छन् । काम कसरी गर्ने भनेर छलफल गरेका छन् । खुशीयाली बाँडौँ भन्दै वनभोज र सामूहिक भोज गरेका छन् । त्यस्ता भोज र कार्यक्रमको खर्च भने विजयी उम्मेदवारले बेहोरेका छन् । निर्वाचित उम्मेदवारलाई स्थानीय संघ संस्था, व्यक्ति र निकायले बधाई र शुभकामना दिने कार्यक्रम पनि चलिरहेको छ ।  

म्याङलुङ्ग नगरपालिकाका मेयर सन्जयकुमार तुम्बाहाम्फे चुनाव जितेपछि नगर क्षेत्रका सबै वडामा पुगेर मतदातालाई धन्यवाद दिइरहेका छन् । ‘दिनैपिच्छे गाउँ गाउँ पुग्दैछु, धेरैले बोलाउँदै पनि हुनुहुन्छ, समय मिलाएर मतदातामाझ पुगेर धन्यवाद दिन व्यस्त छु, अब कसरी अघि बढ्ने भनेर छलफल पनि गरेको छु’ मेयर तुम्बाहाम्फेले भन्नुभयो । मेयरसँगै उपमेयर पार्वता सानु डाँगी पनि गाउँ–गाउँ पुग्दै हुनुहुन्छ ।

नेताहरुले कतै गाउँ, टोलका बासिन्दालाई एकै ठाउँ भेला बनाएर त कसैलाई घरैमा पुगेर धन्यवाद दिइरहेका छन् । कुनै पार्टी वा दल विशेष समूहबाट जित निकालेका उम्मेदवारहरु जितेपछि भने हाम्रो वा तेरोमेरो भन्दा पनि राम्रो काम गर्ने बताइरहेका छन् । चुनाव जितेपछि सबै मतदाताले मत दिएर आफूलाई जिताएको महसुस गरेको मेयर तुम्बाहाम्फेले बताउनुभयो ।

चुनाव जितेपछि आफू सबै मतदाताको प्रतिनिधि भएको र सबैलाई घर–घरै पुगेर धन्यवाद दिएको म्याङलुङ्ग नगरपालिका–१ का अध्यक्ष इन्द्रकुमार लिम्बुले पनि बताउनुभयो । ‘सदस्य साथीहरुसँगै घर–घरमै पुगेर  धन्यवाद भनेको छु, उहाँ भन्नुहुन्छ, ‘मतदातामाझ बाटै चुनाव जितेर मतदातासँगै बसेर काम गर्ने हो, त्यसैले सबैलाई धन्यवाद दिएको हुँ ।’ 

अब आफ्नो लागि सबै सर्वसाधारण मतदाताहरु एकै भएको र सोही बमोजिम काम गर्ने उहाँले बताउनुभयो । जितपछि गाउँमा पुग्नु र मतदातालाई धन्यवाद दिनु स्थानीय तहका नेतृत्वको पहिलो काम भएको छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो । ‘चुनाव मात्रै जितेको हो, नेतृत्वमा मात्रै पुगेको हो,’ उहाँ भन्नुहुन्छ, ‘काम गर्न अझै बाँकी नै छ, त्यसैले मतदातालाई धन्यवाद नदिएरै कसरी काम गर्ने ?’ उहाँले अब जितेपछि आफू एक्लैले भन्दा पनि मतदाताको भावना बमोजिम काम गर्न सधै मतदातासँगै हुने बताउनुभयो । 

‘संसदीय वा अन्य कुनै ठूलो क्षेत्रको निर्वाचन भएको भए, नजान पनि सकिन्थ्यो होला, तर यो स्थानीय चुनाव हो, जिते पनि हारे पनि बस्ने गाउँमै मतदातासँगै हो,’ उहाँले भन्नुभयो । चुनाव जितेपछि धन्यवाद दिँदै लालीगुराँस, आठराई, छथर र फेदापका उम्मेदवारहरु पनि घर–गाउँमा पुगेका छन् । धेरै जनप्रतिनिधिले मतदाताका असीमित आशाहरुलाई सान्त्वना दिन महात्वाकांक्षी निर्णयहरु समेत गरेका छन् । 

चुनाव जितेपछि गाउँको विकास गर्न ध्यान केन्द्रित गरेको उनीहरुको भनाई छ । छथर गाउँपालिकाले गाउँपालिकालाई पूर्वी तराईसँग जोड्ने सडक अवरुद्ध भएको भन्दै शीघ्र याताायात सन्चालन गर्न योग्य हुने गरी सडक मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशन गरेको छ । गाउँका वृद्ध वृद्धालाई बैंकमार्फत भत्ता लिनुपर्दा पहिले भन्दा पनि सास्ती भएको भन्दै सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउने सबै गाउँपालिका र नगरपालिकाहरुले निर्णय गरेका छन् । 

केहीले बैंकलाई घुम्ती सेवा शिविरमार्फत सामाजिक सुरक्षा भत्ता बाँड्न माग गरेका छन् भने केहीले घर–घरै समेत सामाजिक सुरक्षा भत्ता पुर्‍याउन निर्णय गरेका छन् । लामो समयसम्म जनप्रतिनिधि नहुँदा अस्तव्यस्त बनेका स्थानीय तहको विकासको अवस्था सुधार्न निर्वाचित प्रतिनिधिहरु कार्यपालिका बन्न नपाउँदै हतारोमा देखिएका हुन् । गाउँपालिकाका सबै घरधुरीमा पुगेर वडाध्यक्ष र वडासचिव मार्फत भत्ता वितरण गर्ने निर्णय गरेको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले बताउनुभयो । 

आगामी आर्थिक वर्षबाट यो निर्णय कार्यान्वयन गर्न कुनै कठिनाई नहुने कार्यकारी अधिकृत लबुन राईले बताउनुभयो । अहिले आठराईका वृद्ध वृद्धाहरुले सामाजिक सुरक्षा भत्ता सक्रान्तिबजारमा रहेको नेपाल बंगलादेश बैंकमार्फत लिदै आएका छन् । यस्तै अहिलेसम्म एउटा पनि बैंक नभएको छथर गाउँपालिकाले पनि भत्ता लिन बसन्तपुर जानुनपर्ने गरी सामाजिक सुरक्षा भत्ता गाउँपालिकाको कार्यालयबाटै वितरण गर्ने निर्णय गरेको उपाध्यक्ष तारादेवी ढकालले बताउनुभयो ।

जितेका उम्मेदवारहरुले शपथ ग्रहणसँगै आ–आफ्नै कार्यालयमा कार्य कक्ष खडा गरेर काम समेत थालेका हुन् । नगरपालिकाका मेयर उपमेयरदेखि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षहरु र वडाध्यक्षहरुले समेत आ-आफ्नै कार्यकक्ष बनाएका छन् । उनीहरुलाई कार्यालयमा हाजिर गराउँदै कर्मचारीहरुले स्वागत समेत गरिसकेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया