MENU

अर्थ

Ncell Axiata
sagun

होस उडाउँदै मिटर ब्याज र ढुकुटी, प्रहरी भन्छ - ठग देखिँदैन, पहुँचवालाको संरक्षण छ

नवराज पनेरु/उज्यालो ।

कैलाली, असार ३० – कैलालीमा चर्को मिटर ब्याज र ढुकुटी खेलाउने समूहहरुको सञ्जाल फैलिँदै गएपछि धेरैको घरबार बिग्रिँदै गएको छ । मिटर व्याजमा बढी ब्याज आउने र ढुकुटी खेलेर एकै पटक धेरै पैसा आउने लोभका कारण धेरैको घरवारबिहीन हुँदै टाट पल्टिरहेका छन् । सयौंले करौडाैं रकम लिएर फरार भएका घटनाहरु सार्वजनिक भए पनि कैलालीका बासिन्दा सचेत भएका छैनन् । 

लेनदेनको विषयलाई लिएर कुटाकुटका घटनाहरु पनि हुन थालेका छन् । मिटर व्याज र ढुुकुटीमा लगाउने विभिन्न समूहको संख्या बढेसँगै रकम असुली गर्नका लागि बाउन्सर राखेर अपराधको जालो विस्तार भइरहेको छ । कम मेहनतमै लाखांै कमाई  हुन थालेपछि मिटर ब्याज दिने समूह तथा मिटर ब्याजमा संलग्नहरुबीच कुटाकुट हुन थाले पनि प्रहरी प्रशासनले खासै चासो दिएको छैन । केही समय अघि मात्रै मिटर ब्याज र ढुकुटीकै कारणले डेरी व्यवसायी दीपक खड्का विदेश पलायन भए भने खाद्यान्न व्यवसायी विकास अग्रवाल, राजेश गुप्ता, नितेश शर्मा लगायत आधा दर्जन भन्दा बढी व्यवसायीहरु चर्को मिटर ब्याज तिर्न नसकेर भागेका छन् ।

रातारात मालामाल हुने सपना देखाउँदै धनगढीमा मिटर ब्याजको अवैध धन्दा झन झन सांगठनिक रुपमा फस्टाउँदै गएको छ । सुरुमा धनगढीको चौराहमा रहेको कन्काई फेन्सी पसल, त्यसपछि धनगढीका व्यवसायी दिपक खड्का, धनगढीको एलएनचोकमा रहेको सिद्धार्थ सुनचाँदी पसलका सञ्चालक खगेन्द्र सुनारलगायत दर्जनौँ व्यापारीहरु मिटर ब्याजको अवैध धन्दा सञ्चालन गर्दै आएका थिए । अहिले उनीहरु सबै सम्पर्कबिहिन छन् । 

पाल्पा घर भई विगत २ वर्षदेखि धनगढीमा सुनचाँदी पसल सञ्चालन गरिरहनुभएका खगेन्द्र सुनार लामो समयदेखि बेपत्ता भएपछि चर्को ब्याजको लोभमा लाखांै रकम दिएका र गहना बनाउन सुन दिएका मानिसहरुको होस उडेको छ।

एउटा कुनै व्यवसाय देखाएर त्यसको आडमा लाखौं कमाउने र डुबाउने खेल भने धनगढीका लागि नयाँ होइन् । आकर्षक र महँगो ब्याज दिने प्रलोभन दिएर विभिन्न व्यक्तिहरुसँग रकम लिने र त्यसलाई अझ महँगोमा लगानी गर्ने धन्दा चलिरहेको छ । व्यवसायी दिपक खड्का झण्डै १० महिनादेिख करोडाैं रकम लगेर बेपत्ता भएका छन् । खड्काले पत्र लेखेर आफू थाइल्याण्डमा बसिरहेको जानकारी गराएका थिए । 

श्रीमतीलाई अगाडि सारेर ढुकुटीको कारोबार गरिरहेका धनगढीका सम्भ्रान्त परिवारका पुरुषहरु त्यही पैसामा विलासिताको जीवन बिताइरहेका छन् । मिटर ब्याजको कारोबारले महँगा गाडी चढ्न सफल उनीहरु केही स्थानीय राजनैतिक दलको आडमा तथा केही प्रहरी प्रशासनको आडमा नै अवैध मिटर ब्याज र ढुकुटीको कारोबार गरिरहेका छन्।

मिटर ब्याज र ढुकुटीले कतिपयको पैसा मात्रै स्वाहा भएको छैन, इज्जत र प्रतिष्ठा पनि धमिल्याइदिएको छ । आर्थिक अपराध मिटर व्याज र ढुकुटीमा उच्च र बौद्धिक वर्गको संलग्नता देखिएको छ । उनीहरुले संगठित रुपमा नै अपराध गर्छन् । प्रहरीका अनुसार यस्तो अपराधमा मुख्य योजनाकारको प्रत्यक्ष संलग्नता देखिँदैन, उनीहरुलाई अप्रत्यक्ष रुपमा पहुँचवालाको संरक्षण हुन्छ । यसले गर्दा पनि नियन्त्रणमा कठिनाई देखिएको छ । 

मिटर ब्याजको धन्दामा रहेकाहरुले, बाउन्सर राखेका छन् । चर्को ब्याजमा रकम लिनेले दिन्न भनेपछि, त्यसअघि नै लिइएको चेक बाउन्स गराएर थुनाउने, आफै कुट्ने जस्ता आपराधिक क्रियाकलाप बढिरहेका छन् । केही दिनअघि मात्रै सेवा नर्सिङ होमकी सञ्चालिका तथा उद्योग वाणिज्य महासंघकी पूर्व केन्द्रिय सदस्य कल्पना गैरे र सीता केसीबीच धनगढी चौराहामा कुटाकुट हुँदा गैरेको टाउकोमा चोट लागेर नेपालगञ्जमा उपचार भइरहेको छ । गैरेले सीता केसी विरुद्ध किटानी जाहेरी दिनु भएको छ । तर प्रहरीले सीता केसीलाई पक्रेको छैन ।

कैलालीमा सम्पन्न र सौखिन महिलाहरु बढी मात्रामा मिटर व्याज र ढुकुटीको चक्करमा फसेका छन् । धनगढीमै एक जना प्रहरीकी श्रीमतीले अहिलेको स्थानीय तहमा विजयी भएका एक जना नेताकी श्रीमतीलाई ५ लाख ऋणमा रकम दिइन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा दैनिक जसो ४ देखि ६ जनासम्मको मिटर ब्याज र ढुकुटीले फसाएको भन्दै उजुरी आउने गरेको छ । आपसी लेनदेन भएका कारण प्रशासनले केही पनि गर्न नसक्ने भएकोले दुवै पक्षलाई बोलाएर छलफल गर्न बाहेक आफूले केही पनि गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले बताउनुभयो । तर प्रहरीले मिटर ब्याजको मुद्दालाई त्यति प्राथमिकता नदिएकाले प्रहरीको पनि मिलेमतोको आशंका गरिन थालिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया