MENU

राजनीति

Ncell Axiata
sagun

उपप्रमुखमा सबै महिला, निर्वाचित २२७ मध्ये ९३ जना महिला

महिलाले भोट पाउँदैनन् भन्दै उपप्रमुखमा उठेका पुरुषको जमानत जफत

प्रकाश धौलाकोटी/उज्यालो ।

तेह्रथुम, असार ३० – नयाँ संविधानले स्थानीय तह निर्वाचनमा ४० प्रतिशत महिला अनिवार्य व्यवस्था ग‌र्‌‌‍यो । स्थानीय तहको प्रमुख वा उपप्रमुख दुईमध्ये एक पदमा महिला उम्मेदवार हुनैपर्ने नीतिगत व्यवस्था पनि थियो । राजनीतिक दलहरुले भने महिलालाई प्रमुख पदमा उम्मेदवारी दिन हिचकिचाए । 

कतै उपप्रमुखमा पनि महिलाले उम्मेदवारी पाएनन् त कतै उपप्रमुखमा महिला मात्रै उम्मेदवार हुँदा पुरुषले जित्छ भन्ने सोचले फरक दलबाट पुरुषले नै उपप्रमुखमा उम्मेदवारी दिए । तर नतिजाले भने त्यस्तो सोच राख्नेहरुलाई जिल्ल पारेको छ । स्थानीय चुनावबाट तेह्रथुमका सबै स्थानीय तहकोे उपप्रमुखमा महिला निर्वाचित भएका छन् । दुई नगरपालिका र चार गाउँपालिका गरी ६ स्थानीय तह रहेको तेह्रथुममा उपप्रमुख पद महिलाकै लागि खडा गरिएझैँ महिलामात्रै निर्वाचित भएका छन् । 

अझ जिल्लाका म्याङलुङ नगरपालिका तथा छथर र आठराई गाउँपालिकामा त प्रमुखमा पुरुष र उपप्रमुखमा महिला मात्रैको उम्मेदवारी परेको थियो । पुरुषले महिलालाई भोट लगाउँदैनन् भनेर उपप्रमुखमा उम्मेदवारी दिएका पुरुषहरुले जमानत समेत जोगाउन सकेका छैनन् । अझ प्रतिष्पर्धी पुरुष भएका ठाउँमा त झन् महिला उम्मेदवारले प्रमुख पदका पुरुष उम्मेदवार भन्दा बढी मत पाएर विजयी भएका छन् । 

म्याङलुङ्ग नगरपालिकामा महिलाहरु मात्रैको प्रतिष्पर्धाबाट पार्वतासानु डाँगी उपमेयरमा निर्वाचित हुनुभएको छ । लालिगुराँस नगरपालिकामा महिला र पुरुषहरु समेतको प्रतिष्पर्धाबाट तिला पोखरेल उपमेयर बन्नुभएको छ । छथर र आठराई गाउँपालिकामा महिलाबीचकै प्रतिष्पर्धाबाट तारा ढकाल र रुपादेवी कन्दङवा उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । मेन्छ्यायेम र फेदाप गाउँपालिकामा पुरुष उम्मेदवारहरुलाई नै पराजित गर्दै क्रमशः गीतादेवी तिम्सीना र गीता थापा उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । फेदाप गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेर माओवादी केन्द्रका गंगाप्रसाद लिम्बुलाई उपाध्यक्षको उम्मेदवार बनाए पनि दोब्बर मतले थापाले जित्नुभएको छ । 

अझ अचम्म त के छ ? भने जसरी प्रमुख पदमा जिल्लामै एक्ली उम्मेदवार बनेकी मेन्छ्यायेम गाउँपालिकाकी अध्यक्ष पदकी उम्मेदवार माओवादी केन्द्रकी नेतृ, पूर्व सांसद फुर्वी शेर्पाको जमानत जफत भयो । उसैगरी उपाध्यक्षमा उम्मेदवार बनेका पुरुषहरुको पनि जमानत जफत भएको छ । लालिगुराँसको उपमेयरमा उम्मेदवारी दिएका छत्रबहादुर कार्की र मेन्छ्यायेम गाउँपालिकामै उपाध्यक्षको उम्मेदवार बनेका बसन्तसिंह खापुङले आफ्नो पार्टीको बाहेक कुनै मत तान्न सकेनन् । 

महिला अधिकारकर्मीले जिल्लाका स्थानीय तहको उपप्रमुखमै भए पनि महिला निर्वाचित हुनुलाई सकारात्मक भनेका छन् । जिल्ला महिला सन्जालका अध्यक्ष कमला दर्नालले यो पटक उपाध्यक्ष बनेका महिला अर्को पटक अध्यक्षको दाबी गर्न सक्ने हैसियतका बन्न सक्ने दाबी गर्नुहुन्छ । महिलाले पनि गर्न सक्छन् भन्ने देखाउन पनि निर्वाचित महिलाले मेहनतका साथ काम गर्नुपर्ने उहाँको बुझाई छ । 

तेह्रथुममा स्थानीय निर्वाचनमा ९३ जना महिलाहरु स्थानीय सरकारमा चुनिएका छन् । छ स्थानीय तहका ४३ वडामा गरी महिलाहरु उपप्रमुखमा ६, महिला सदस्यमा ४३, दलित महिला सदस्यमा ४३ र खुला सदस्यमा १ गरी जम्मा ९३ जना महिला निर्वाचित भएका हुन् । दलहरुले खुला सदस्यमा समेत महिलालाई उम्मेदवार बनाएका थिएनन् । वडाध्यक्षमा झन् महिलाको नाम चर्चामा समेत आएन । 

यसरी हेर्दा स्थानीय सरकारमा ४० प्रतिशत बढी महिला सहभागी भएकाले महिला अधिकार स्थापित गर्न यही संख्या पर्याप्त हुने अधिकारकर्मी बताउँछन् । ‘काम गर्न त यति भए पुग्छ, सन्जालकी अध्यक्ष दर्नाल भन्नुहुन्छ, ‘तर सबै महिला एक भएर काम गर्न सक्नुप¥यो ।’ समाजमा पुरुषबादी चिन्तन कायमै रहेकाले महिला अधिकारको क्षेत्रमा उल्लेख्य गतिविधि भएपनि फड्को मार्न नसकिएको उहाँले बताउनुभयो । निर्वाचित हुने महिलाहरुमा अझ धेरै त सामान्य परिवारका, विपन्न र दलित महिलाहरु रहेका उहाँले बताउनुभयो । 

तेह्रथुममा सञ्चालित गरिबी निवारण कोष कार्यक्रमका कार्यप्रबन्धक नरेन्द्र कटुवालका अनुसार गरिब तथा विपन्न परिवारका ६९ जना उम्मेदवार बनेका थिए । त्यसमध्ये ३८ जना निर्वाचित भएका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया