MENU

राजनीति

Ncell Axiata
sagun

साना दललाई किन पत्याएनन् नागरिकले ?

लक्ष्मण शर्मा/उज्यालो ।

काठमाडौं, असार ३० – संविधानसभा चुनावमा प्रत्यक्ष र समानुपातिकबाट संसदमा ३१ राजनीतिक दलले प्रतीनिधित्व गरेका छन् । संविधानसभा चुनावमा भाग लिएका १ सय २२ दलमध्ये प्रत्यक्षतर्फ ८ राजनीतिक दलले चुनावमा जितेका थिए । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, मधेशी जनअधिकार फोरम, तराइ मधेश लोकतान्त्रिक पार्टी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीले संविधानसभा चुनावको प्रत्यक्षतर्फको चुनाव जितेका थिए । 

पहिलो संविधानसभा चुनाव भएको झण्डै १० वर्षपछि भएको स्थानीय चुनावमा भने मतदाताले साना दललाई पत्याएन्न् । राजनीति शास्त्रका प्राध्यापक जंगबहादुर गिरी भन्नुहुन्छ ‘लामो समयपछि भएकोे स्थानीय तह चुनावमा साना दलहरुले स्थानीय स्तरसम्म गएर नागरिकलाई रिजाउन सकेनन् त्यसकारण नागरिकले उनीहरुलाई पत्याएनन्।’

विवाद र शंकाका बिच भएको स्थानीय तह चुनावमा साना दलले प्रचार प्रचार गर्न पनि नभ्याएको उहाँको अनुमान छ ।  ठूला दलका कार्यकर्ता जसलाई दलहरुले नै पालेका छन्, तिनै कार्यकर्ता चुनावको प्रचारमा खटिएकाले पनि चुनावमा ठूला दलको मात्रै प्रभाव देखिएको उहाँले बताउनुभयो । साना दलसँग कार्यकर्ता पाल्ने हैसियत नभएका कारण उनीहरु तत्कालै नागरिकमा जान नसकेको र जसको परिणाम चुनावमा हार्नुपरेको उहाँको तर्क छ ।  
पहिलो र दोस्रो चरणमा सम्पन्न स्थानीय चुनावको धेरै ठाउँमा एमाले, कांग्रेस र माओवादी केन्द्रले जितेका छन् । विकासलाई प्रमुख मुद्दा बनाएर भएको संघीय प्रणालीको पहिलो चुनावले धेरैमा उत्साह थपेको छ । तर प्राध्यापक गिरीका अनुसार निश्चित पार्टीे धेरै ठाउँमा विजयी हँुदा उनीहरुले आफ्ना एजेन्डा अनुसार काम गर्न सहजता भएता पनि उनीहरु निरंकुश हुने सम्भावना पनि त्यतिकै देखिएको छ ।

आफूलाई फरक धारको शक्त्तिको रुपमा स्थापित गर्ने उद्देश्यले अहिलेको चुनावमा विभिन्न दलले भाग लिए । माओवादी केन्द्रका पूर्व नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्राईको नेतृत्वमा गठिन नयाँ शक्तिले स्थानीय चुनावमा संघीय समाजवादीसँग सहकार्य गरेर उसैको चुनाव चिन्हबाट चुनाव लड्यो । विभिन्न समयमा बन्दको बिरोध, नाकाबन्दीको समयमा नागरिकलाई लिफ्ट दिएर चर्चामा आएको विवेकशिल पार्टीले पनि यो चुनावमा भाग लियो । बिबिसी नेपाली सेवामा कार्यरत पत्रकार रविन्द्र मिश्र संयोजक रहेको साझा पार्टी पनि चुनावमा सहभागी भयो  । उपत्यकामा सम्मानजनक मत ल्याएर हारेको विवेकशिल र साझा पार्टीले उपत्यका बाहिरका जिल्लामा भने सम्झन लायक पनि मत ल्याउन सकेन् । 

संविधानसभा चुनावमा प्रत्यक्ष चुनावमा एक ठाउँ पनि नजितेर पनि समानुपातिक मतको आधारमा चौथो शक्त्तिको रुपमा उदय भएको राप्रपा नेपालले आगामी चुनावमा अझै बलियो शक्त्तिको रुपमा उदय हुने उदघोष गरेर राप्रपासँग एकिकरण गर्यो । तर जनताले धर्मको एजेण्डा बोकेर हिँडेको राप्रपालाई पनि पत्याएनन् । 

पुराना दललाई गाली मात्र गरेर चुनाव नजितिने जनतासामु राम्रो एजेन्डा र नागरिकलाई बुझाउन सक्ने गरी चुनावमा जानुपर्ने कुरालाई दलले नै स्वीकार गरेका छन् । विभिन्न मुद्दा उठाएर चुनावमा होमिएका क्षेत्रीय दल स्थानीय चुनावमा आफना मुद्दा जनतासामू लाने र उनीहरु विजयी हुने धेरैको आँकलन गरेका थिए । तर कुनै पनि क्षेत्रीय पार्टी स्थानीय चुनावमा विजयी भएनन् । 

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम, जनमोर्चा नेपाल, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्तिले मात्र स्थानीय तहमा आफ्ना दलका प्रतिनिधिलाई पुर्‍याउन सफल भए । चुनावी प्रकृयामा भाग नलिएका केही पार्टीका जिल्ला स्तरीय नेताले स्वतन्त्र रुपमा यो चुनावमा उम्मेदवारी दिए र केहि त विजयी भए ।

दुई चरण गरेर ६७ जिल्लाका ६१७ स्थानीय तहमा भएको चुनावमा स्थानीय तथा क्षेत्रीय स्तरका दलले पनि भाग लिएका थिए । तर  ती दल कहिँ पनि विजयी हुन सकेनन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया