MENU

साहित्य/ कला

Ncell Axiata

सांगीतिक माहोलमा भानुभक्त

काठमाडौं, असार ३० – 

भर जन्म घाँस तिर मन दिई धन कमायो 
नाम केही रहोस पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धी कस्तो 
म भानुभक्त धनी भइकन पनि आज यस्तो ।।

भानुभक्तका कविता लय र छन्दमा सुनिरहेका नेपाली कला पारखीले शुक्रकार भने भानुभक्त र अन्य कविका कविता संगीतका साथमा सुन्ने मौका पाए । राष्ट्रिय नाच घर र भानु प्रतिष्ठानको संयुक्त आयोजनामा भएको भानु संगीत लहरी – २०७४ मा सांगीतिक माहोलमा आदिकवि भानुभक्त आर्चायलाई सम्झिइयो ।

घाँसीले कुवा खनेर आफ्नो नाम लेखाए भनेर आफूले केही गर्न सकिन्न कि भनेर चिन्ता गर्ने कविलाई उहाँका रचनाकै कारण सम्झिइने गरिएको छ । 

विभिन्न कविका १० कवितालाई सांगीतिक माहोलमा प्रस्तुत गर्न संयोजनकारी भूमिका खेलेकी हुनुहुन्थ्यो संगीतकार लोचन भट्टराईले । साथै ती कवितालाई राष्ट्रिय नाचघरका कलाकार तथा अन्य कलाकारले वाचन गर्नुभएको थियो । 
कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले भानुभक्तलाई सम्झेर प्रतिष्ठानले नेपाली मौलिक परम्परा र संस्कृतिलाई जगेर्ना गर्न उल्लेखनीय काम गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गर्नुभयो ।  भानुभक्तले भाषिक एकीकरणमार्फत विश्वभर छरिएर रहेका नेपालीभाषीलाई एकै ठाउँमा ल्याउनुभयो ।’ जोशीले आयातित संस्कृतिलाई भन्दा नेपाली मौलिक परम्परा र संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । 

भानुभक्तले संस्कृतमा रहेको रामायणलाई नेपाली भाषामा रुपान्तरण मात्रै गर्नुभएन, उहाँले उक्त रुपान्तरित रामायणलाई नेपाली परिवेशअनुसार ढाल्नुभयो । भानुभक्तकै खनातीनी प्रभा भट्टराई आचार्यले ‘छन्द’ शीर्षकको कवितामा छन्द मिलेको कविताजस्तै जीवनका हरेक पक्षमा पनि छन्द मिल्यो भने सुन्दर हुने बताउनुभएको छ । उहाँको पञ्चचामर छन्दमा रहेको कवितालाई लोचन भट्टराईले वाचन गर्नुभएको थियो ।  

रामप्रसाद ज्ञवालीले लेख्नुभएको उपजाति छन्दमा रहेको कविता ‘चाहिँदैन’ शीर्षको कवितालाई सांगीतिक माहोलमा प्रस्तुत गर्नुभएको थियो कलाकार दामोदर अधिकारीले ।  

यो देशमारा जन चाहिँदैन
लाली दलेको तन चाहिँदैन
विश्वासघाती मन चाहिँदैन
आडम्बरी जीवन चाहिँदैन । 

यी कविताले केही चाहिँदैन भन्दै गर्दा पनि कविको देश समृद्ध बनोस् भन्ने चाहना कवितामा स्पष्ट रुपमा देखिन्छ । 

ढुंगा नफोर्ने घन चाहिँदैन
अल्छी र भाते जन चाहिँदैन । 
गिठ्ठा नफल्ने बन चाहिँदैन 
गरिव मार्ने धन चाहिँदैन ।। 

भानुभक्तकै अमरावति कान्तिपुरी नगरीलाई प्रस्तुत गरे एम्बिसन एकेडेमीका विद्यार्थीले । भानुभक्तले कवितामा तत्कालीन कान्तिपुरको विभिन्न पक्षलाई वर्णन गर्नुभएको छ । 

चपला अबला एकसुरमा
गुनकेसरी को फूल लिई शिरमा ।
गाउँदै हिंड्छन् सब नरनारी
अमरावती कान्तिपुरी नगरी ।। 

कविले कवितामा कान्तिपुर पटना लखनउभन्दा पनि सुन्दर रहेको वर्णन गर्नुभएको छ । 

कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएका प्रधानन्यायधिस गोपाल पराजुलीले आदिकवि भानुभक्तलाई सम्झँदै आदिकविकै कारण सारा नेपालीभाषीको दुःख सुखको साझा भाषा नेपाली भएको बन्न सफल भएको बताउनुभयो । विश्वमा छरिएर रहेका नेपालीलाई भानुभक्तले एउटै मालामा गाँस्ने काम गरेको पराजुलीले बताउनुभयो । कार्यक्रममा युगकवि सिद्धिचरण श्रेष्ठको परिचय कवितादेखि राष्ट्रकवि माधव घिमिरेको ‘गौरी’ खण्डकाव्यको अशंलाई नाचघरका कलाकारहरुले प्रस्तुत गरेको थिए । हामीले महाकविको ‘प्रश्नोत्तर’ कविताको पंक्ति ‘के हो अहो अमृत, त्यो सुरदेव पान’ लय हालेर पढेका थियौँ । शुक्रबार नाचघरका  कलाकारले त्यसलाई संगीतको साथमा वाचन गरेका थिए । 

देवी नेपालको शार्दूलविक्रिडित छन्दमा  रहेको ‘बुद्धको देश’ कलाकार तुलसी पराजुलीले प्रस्तुत गर्नुभएको थियो ।  जसमा सामाजिक एकताको लागि आह्वान गरिएको छ ।  कविले कवितामा सोलुमा धुमधामसँग छठ मनाइएको हेर्ने चाहना देखाउनु भएको छ । त्यस्तै दार्चुलामा च्याब्रुङ बजेको र मिथिलामा ल्होसार मनाउने कविको चाहना कवितामा देखिन्छ । 

भानुभक्तकै ‘एक दिन नारद सत्यलोक पुगिगया लोकको गरुँ हित भनी’ बाट सुरु भएको ‘भानु संगीत लहरी’ भानुभक्तकै अमरावतीको सांगीतिक प्रस्तुतिका साथ सकिएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया