MENU

विचार/अनुभूति

Ncell Axiata
chhaka panja

​काठमाडौंका मेयरलाई प्रश्न - यो भिडियो हेर्नुभयो ?

ऋग्वेद शर्मा – 

हामी धेरै सपना देख्छौँ । निदाउँदा भन्दा धेरै ब्यूझँदा । तपाइँहरु पनि त्यही देखाउनुहुन्छ, सपना । हामी देखिदिन्छौँ । पत्याए जस्तो गरिदिन्छौं । सपना पूरा हुने आशमा हामीले गर्न पाउने एउटै कुरा छ, मतदान । गर भन्नुहुन्छ, गरिदिन्छौँ ।

यो चलेको रित । सामान्य लागे पनि यसभित्रका गहिरा पाटाले चसक्क घोच्छ कहिलेकाँही । यसैरि नै घोच्यो हिजो बेलुकी पनि । आफैले दिएको मतको धेरै सम्झना भयो । 

शुक्रबार काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै थियो । समृद्ध, सुरक्षित र जीवन्त शहर, स्वच्छ र सुन्दर, काठमाडौं महानगर । वा क्या वात । यस्तो पो त । त्यही सुन्दर नाराको सुन्दरतामा महानगरका हिमायती छलफल गर्दै थिए । भाषण गर्दै थिए । 

‘सडकमा पैदल यात्रीलाई प्राथमिकतामा राखिनेछ, भित्री सडक पैदलयात्रीमैत्री बनाइनेछ, सडकको चौडाइ अनुसार प्रत्येक बाटोमा फुटपाथलाई प्राथमिकता दिइनेछ ।’ यो काठमाडौं महानगरमा गरिने भनेर शुक्रबार सार्वजनिक गरिएको धेरै काममध्येको एउटा हो ।  यो त्यति ठूलो कुरा पनि होइन । समग्रमा सडक सुधारको सामान्य योजना । यता यस्तो योजना बनिरहँदा काठमाडौं सामाखुशी क्षेत्रमा मुसलधारे वर्षा भइरहेको थियो । वर्षासँगै सडक खोला बन्यो । विद्यालय छुट्टी हुने समयमा भएको वर्षाले विद्यार्थीलाई घर फर्कन निकै समस्या भयो । बाटोमा खोलो जसरी पानी कुदेपछि बाटो नदेख्दा सामाखुशी सडकमा एउटी छात्रा खाल्डोमा पसिन् । धन्न उनको ज्यान जोगियो । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।  

काठमाडौं तारकेश्वर नगरपालिका नेपालटार क्षेत्रमा ढलका लागि भन्दै सडक खनेर छाडेको भ्वाङमा १० वर्षकी बालिका परिन् । तीन कक्षामा पढ्ने उनको ज्यान गयो । यस्तै टोखा नगरपालिका ग्रिनल्याण्डमा सडक बिचकै खाल्डोमा स्कुटरसहित चालक भासिए । उनलाई स्थानीय बासिन्दा र ट्राफिक प्रहरीले बाहिर निकाले । 

सडकमा मान्छे नै छिर्ने खाल्डोको पनि वेवास्ता गरेर काम नहुनु निकै दुःखद कुरा हो । ‘साइकल सिटी, सुविधायुक्त ठूला बस, मोनो रेल, सिटी केवल कार, मेट्रो, विद्युतीय यातायात’ यी सबै कुरा पूरा भएपछि ‘ए....’ भनौँला । अहिलेलाई सडकको बिचमा मान्छे पस्ने खाल्डो मात्रै भए पनि पुरौँ न मेयर साव ।  

पानी पर्दा सडकमा पानी जम्नु, पानी बग्नु सामान्य कुरा हो । अझ ठूलो वर्षामा ढलमा चाउचाउ, बिस्कुटका खोलसँगै अनगिन्ति फोहर कोचिने हाम्रो शहरमा पानी कहाँबाट बगोस् ! सडकमा पानी बग्नु त्यति विघ्न अप्ठेरो नहोला तर सडकबिचमा मान्छे निल्ने खाल्डो ? 

‘काठमाडौं उपत्यकाको सम्पदाको रुपमा रहेको बागमती, विष्णुमती, धोबीखोला लगायतका नदीहरु अतिक्रमण मुक्त गरी सफा र सुन्दर बनाइनेछ, नदी किनारमा सम्पदामार्ग निर्माण गरिनेछ ।’ हो गरौँ सबै काम गरौँ । खोलामाथि घर बनेका छन्, खोला ढल बनेका छन्, थोरै वर्षा हुनुपर्छ सडक खोला बनेका छन् । यस्तोमा पहिले सडकको बिचमा मान्छे पस्ने खाल्डो मात्रै भए पनि पुरौँ न मेयर साव ।     

हामी धेरै केही चाहँदैनौँ । हामीलाई हाम्रा सामान्य कुरा प्यारा छन् । सामान्य आवश्यकता छन् । सामान्य सपना प्यारा छन् । बिहान खाएपछि बेलुका खान चाहन्छौँ । बिहान निस्केपछि बेलुका घर फर्कन चाहन्छौँ । आमा घरबाट निस्केदेखि दिनमा १० औँ पटक फोन गर्नुहुन्छ, ‘बाबु कहाँ छस् ?’ आमाको प्रश्नमा लुकेको डर हो, ‘तँ छन त छस् ?’ असुरक्षाका धेरै पाटाहरु छन् । कसैले कन्चेटमा बन्दुक ताक्नु पर्दैन, कसैले बम हान्नु पर्दैन । बुङबुङ्ती धुलो उडाएर मारिएको छ, हिलोमा भसाएर गाडिएको छ । आफ्नै घरअघिको सडकमा दबाएर मारिएको छ । हत्याराहरुको सहरमा जिउँदो रहन दुहाई छ ।   ‘खुला पार्कमा सुन्दर बगैँचा, स्मार्ट शौचालय, सफा र हरियाली सडक किनार, नो मास्क सिटी, जैविक फोहरबाट बायो ग्यास, प्लास्टिक मुक्त शहर ।’ यौ सबै गरौँला । अहिलेलाई सडकको बिचमा मान्छे पस्ने खाल्डो मात्रै भए पनि पुरौँ न मेयर साव । योजना बनाइनु पर्छ, कामको तर्जुमा गरिनुपर्छ, सपना देख्नुपर्छ तर पहिले सामान्य रुपमा गर्न सकिने काम त गरौँ न । 

हामी पनि उस्तै । हाम्रो शहरमा गाडी चाहन्छौँ । ठूलो बंगला बनाएर बाहिरपट्टि ‘कुटी’ लेख्न चाहन्छौँ । कुकुर नपाले पनि कुकुरदेखि सावधानको बोर्ड झुण्ड्याएर आफू भएको प्रमाण दिन चाहन्छौँ । तर सडक किनार मिच्न हुँदैन भन्ने बिर्सन्छौँ । थोरै वर्षामा पनि ढल सडकमै छाड्न हुन्न भन्ने बिर्सन्छौँ । कति कति । यसरी हामीले बिर्सिएर हामीले नै दुःख पाएका घटना त कति कति । ढलमा फोहर फाल्न हुन्न भन्ने ज्ञान, वातारणको परीक्षा सकेपछि किन याद गर्नु !    हाम्रा लागि काम गरिदिने अनगिन्ति छन् । के गर्न हुन्छ के गर्न हुँदैन भनेर ज्ञान दिने अनगिन्ति छन् । हामीलाई हाम्रो अवस्था ठीक छैन, सुध्रनुपर्छ बनेर झनै बिग्रने स्थितिमा पार्ने अनगिन्ति छन् । महलका सपनामा कुटी डुबेका छन्, सहरको सपनामा गाउँ लुकेका छन् । अब त न फर्कन सक्छौँ न रहन । मोहनी जो लागेको छ । कहिँले काँही प्रिय लाग्छ यही धुलो, कहिँलेकाहीँ प्रिय लाग्छ ... !’ बानी पारेका छौँ । बेथितिमा कसरी बस्नुपर्छ तालिम लिएजस्ता भएका छौँ । कहिलेकाहीँ त बिर्सिन्छौँ यहाँ भत्किएको छ । कहिलेकाहीँ त बिर्सिन्छौँ यहाँ च्यातिएको छ । न आफै जोड्न सक्छौँ न छोड्न । जबसम्म सिरिङ्ग हुने गरी घट्दैन केही घटना तबसम्म प्रिय लाग्छ ।

हामी गरौँला । सबै गरौँला । तपाइँहरु भन्नुहुन्छ नि ‘विश्वकै नमुना’ । हो बनाऔँला । तर पहिले सडकको बिचमा मान्छे पस्ने खाल्डो मात्रै भए पनि पुरौँ न मेयर साव ।

......    (अन्त्यमा ... यहाँ मेयर भनेर काठमाडौंका नगरमा विजयी मेयरलाई मात्र होइन । पदमा भएर काम नगर्ने परम्परा र सरोकारवाला सबैका लागि लाक्षणिक रुपमा प्रयोग गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • संविधान बनाउँदाको अनुभव : धारा पारित गर्दा पानी पनि खाइन

    लामो छलफल र संवादपछि घोषणा भएको नेपालको संविधान, ७० वर्षदेखिको नागरिकको चाहना र भावना पूरा भएको त्यो क्षण मलाई झल्झल्ली याद आउँछ । निकै गर्व लाग्छ त्यो क्षण सम्झँदा पनि । संविधान घोषणा नहुन्जेलसम्म संविधान घोषणा नगर्न धरै ठाउँबाट दबाब आयो ।

  • तेस्रो चरणको चुनावपछिको संकेत

    काठमाडौं, असोज २ – २ नम्बर प्रदेशका आठ जिल्लामा स्थानीय तहको तेस्रो चरणको चुनावसँगै संविधान कार्यान्वयन र राजनीतिक कार्यदिशाको बाटो थप फराकिलो बन्दैछ । राजपाको सहभागिता नै तेस्रो चरणको चुनावको सबैभन्दा महत्वपूर्ण पक्ष हो ।

  • जसले आफ्नै बलबुतामा संविधानको उल्था गरे !

    झन्डै डेढवर्ष अघि एकदिन मित्र एकराज चौधरीले कुरा चुहाउनु भयो, 'मैले नेपालको संविधान थारु भाषामा उल्था गर्ने विचार गरे।' एकजना रेडियोकर्मी जसलाई म जहिले भेट्थे बिहानदेखि बेलुकासम्म रेडियो स्टेशनमै व्यस्त रहेको पाउँथे । त्यसैले मैले चौधरीको कुरालाई गम्भीरतापूर्वक लिइन ।

  • महिला हिंसा कम गर्ने अभियानमा लागेका पुरुष

    सेतो कुर्ता र धोती । काँधमा सेतै गम्छा । निधारमा ठाडो रातो टीका । टाउकोमा लामो टुप्पी, शिखा पारिएको । सिरहाको मझौराका गोविन्द यादव । देख्दा लागेको थियो, यी व्यक्ति गाउँको पूजारी वा धार्मिक अगुवा हुनुपर्छ । वा धर्म तथा परम्पराको नाममा बाँधिएको पात्र ।

  • दुर्घटनामा मृतकको नाम फरक परेपछि ...

    गाडी दुर्घटना कतै नहोस्, कहिले नहोस् । अप्रिय समाचार कहिले लेख्न नपरोस् । तर, यस्तो कामना गरेर मात्र नहुने । बेलाबेला दुर्घटना भइ नै रहेको हुन्छ । दुर्घटनापछि सामाचार त दिनै पर्‍यो । यो त पेशागत धर्म हो ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया