MENU

साहित्य/ कला

Ncell Axiata
sagun

वैदेशिक रोजगारीको अन्तर्कथा हरिमायाको ‘कल्ली’मा

काठमाडौं, असार ३१ – पछिल्लो समय वैदेशिक रोजगारीका कारण नेपालमा रेमिट्यान्स त भित्रिएको छ । त्यसले नेपालीहरुको आर्थिक स्तर त केही हदसम्म उठाएको छ, त्यसमा कुनै शंकै छैन । तर वैदेशिक रोजगारीकै कारणले नेपाली समाजका विविध पक्षमा असर पुर्‍याएको छ । 

वैदेशिक रोजगारीमा गएकाहरु विदेशमा विभिन्न समस्या भोग्नबाध्य छन् ।  कतिलाई ज्यान मारेको झुटा मुद्धा लगाएर विदेशका जेलमा राखिएको छ । त्यस्तै समस्यालाई प्रस्तुत गर्नुभएको छ हरिमाया भेटवालले उपन्यास ‘कल्ली’ मार्फत । 

शनिबार एक कार्यक्रमका बीच सार्वजनिक भएको ‘कल्ली’मा  बालविवाहको शिकार भएकी कल्लीले आफ्नो श्रीमान डिल्लु ज्यान मारेको अभियोगमा जेलमा परेपछि छुटाउन गरेको संघर्षलाई प्रस्तुत गरिएको छ । उपन्यासकार बुद्धिसागर, समालोचक तथा लेखक अर्चना थापा र लेखक तथा पत्रकार वसन्त बस्नेतले संयुक्त रुपमा उपन्यासको विमोचन गर्नुभएको थियो । 

पुस्तकका बारेमा बोल्दै वसन्त बस्नेतले उपन्यासमा उपन्यासकारको परिष्कृत र समृद्ध राजनैतिक चेतनाको झल्किएको बताउनुभयो । उपन्यासकार भेटवालले नेपाली समाज जातीय आधारमा मात्रै विभाजित नभएको कुरा उपन्यासमा प्रस्तुत गरेको बस्नेतले भन्नुभयो ।  नेपाली समाज पुरानो सोच र  नयाँ सोचका आधारमा विभाजित भएको बताउँदै बस्नेतले उपन्यासकारको प्रयोग सफल भएको बताउनुभयो । 

समालोचक अर्चना थापाले ‘कल्ली’ सामाजिक यथार्थवाद उपन्यास भएको बताउँदै उपन्यास लैङ्गिक विभेद, पितृसत्तात्मक सोचबाट ग्रसित समाजमाथिको विद्रोह भएको बताउनुभयो । उपन्यासकी मुख्य पात्र कल्ली  सुदूर गाउँकी अशिक्षित महिला भएपनि उसैको वरिपरी उपन्यास केन्द्रित भएको बताउँदै उपन्यास नायिकाप्रधान भएको थापाले बताउनुभयो । उपन्यास प्रधान पात्र अशिक्षित भएपनि उसमा आलोचनात्मक चेतना भएको बताउँदै अन्धविश्वास र पितृसत्तात्मक सोचका विरुद्ध विद्रोह गरेको थापाको भनाई थियो ।

उपन्यासकार बुद्धिसागरले भेटवालले सबैले लेखिसकेको विषयलाई उपन्यासमा उतारेपनि त्यसको प्रस्तुति सुन्दर भएको बताउनुभयो । उपन्यासमा प्रयोेग भएको आञ्चलिकताले उपन्यासका संवादहरु जीवन्त भएको उहाँले बताउनुभयो । उपन्यासकारले दुःखका कुरालाई हाँस्यरसमार्फत उठाएर पाठकहरुलाई तान्न सकेको बुद्धिसागरले बताउनुभयो । 

‘कल्ली’की सर्जक हरिमाया भेटवालले महिला लेखकका रुपमा बजारमा आउन एकदमै संघर्ष गर्नुपरेको बताउनुभयो । एउटी महिला लेखक, लेखक मात्रै हुन नसक्ने बताउँदै विभिन्न जिम्मेवारी बहन गर्नुपर्ने भेटवालले बताउनुभयो । आफ्ना पीडाहरु कम गर्न लेख्ने गरेको भेटवालले बताउनुभयो ।

शिखा बुक्सले प्रकाशन गरेको कल्लीकाे मूल्य ३७५ रुपैयाँ रहेको छ ।   

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया