MENU

साहित्य/ कला

Ncell Axiata
sagun

‘विश्वविद्यालयमा नाटक पढाउने प्राध्यापक एउटै नाटक नहेरी रिटायर्ड हुन्छन्’

काठमाडौं, असार ३१ – शनिबार सर्वनाम नाटक घरभित्र पुग्दा लाग्दथ्यो कुनै नाटक मञ्चन हुँदै थियो । नाटक नै मञ्चन गर्न लागेझैँ मञ्चको परिकल्पना गर्नुभएको थियो रंगकर्मी राज शाहले । तर त्यहाँ कुनै नाटक मञ्चन नभएपनि नाटककै बारेमा चर्चा परिचर्चा गर्न उपस्थित हुनुहुन्थ्यो वरिष्ठ साहित्यकार डा. अभि सुवेदी, वरिष्ठ कलाकार हरिहर शर्मा, गीतकार तथा चलचित्र निर्देशक यादव खरेल । 

साथमा हुनुहुन्थ्यो ‘रंगकर्मी बालकृष्ण सम र उनको रंगशिल्प’ पुस्तककी लेखक प्रा. डा. सावित्री कक्षपती र पुस्तकलाई प्रकाशन गर्ने साझा प्रकाशनका महाप्रवन्धक डोलिन्द्र प्रसाद शर्मा ।  

नाटककार समका नाटकका बारेमा धेरै चर्चा परिचर्चा भएपनि उहाँको रंगशिल्पबारे चर्चा नभएको उपस्थितहरुको भनाई थियो । नेपालमा नाटक मञ्चन हुने तर त्यस नाटकको प्रस्तुतिबारे कमै चर्चा हुने कार्यक्रमका वक्ताहरुको मत थियो । नेपालमा राम्रो नाटक लेख्ने नाटककार नै छैनन् भन्ने गरिन्छ ।  अहिलेका नाटक निर्देशक नेपाली नाटक नपाएरै विदेशी  नाटककारका अनुदित नाटक मञ्चन गरिरहेका छन् ।  भएका पुराना नाटकहरुमा नेपाली निर्देशकको ध्यान पुगेको देखिन्न । 

‘नेपालका विश्वविद्यालयमा नाटक पढाउने प्राध्यापकहरु एउटै नाटक नहेरी रिटायर्ड भएका छन् ।’ अभि सुवेदीले यसो भन्दै गर्दा हलमा उपस्थितहरुमा हाँसोको फोहोरा उठेको थियो । तर यो नेपाली नाट्य क्षेत्रमा एउटा गम्भीर समस्याको रुपमा देखिन्छ ।  अभि सुवेदीले कविता र कथाजस्तो पढाएर मात्रै नाट्य क्षेत्र माथि उठ्न नसक्ने बताउँदै नाटकका विविध पक्ष सेनोग्राफी, मञ्च निर्माण र निर्देशकीय पक्षलाई  पनि चर्चा परिचर्चा  गर्नुपर्ने बताउनुभयो । 

त्यस्तै यादव खरेलले बालकृष्ण सम नाट्य क्षेत्रमा मात्रै सीमित नभएको बताउनुभयो ।  उहाँले समलाई एक कुशल चित्रकार, अभिनेता, फोटोग्राफर र वास्तुकलाकारका रुपमा सम्झनुभयो । खरेलले समले अमर चित्रकारले बनाएको पृथ्वीनारायण शाहको मूर्तिको निर्देशन गर्नुभएको बताउनुभयो । सम सरल स्वभावका भएपनि उहाँका नाटक मञ्चन गर्न जटिल भएको उहाँको भनाई थियो ।  उहाँले समको पालामा नाट्य सामग्रीका कारण पनि मञ्चन गर्न कठिन भएको बताउनुभयो । समको नाटक ‘प्रेम पिण्ड’लाई सिनेमा उतार्नुभएका खरेलले समका नाटक सिनेमामा उतार्न पनि एकदमै कठिन भएको बताउनुभयो । 

समले लेखेकै नाटकहरुमा अभिनय गर्नुभएका वरिष्ठ रंगकर्मी हरिहर शर्माले सावित्री कक्षपतीको पुस्तक नेपाली रंगकर्मीको क्षेत्रमा एउटा सन्दर्भ सामग्रीका रुपमा रहेको बताउनुभयो । नाटकको कृति वा आलेखको अभिलेख राख्ने प्रचलन भए पनि नाटकको प्रस्तुतिको अभिलेख नराख्नाले पुराना नेपाली नाटकलाई बिर्सिइँदै गएको  उहाँको भनाई थियो । उहाँले समका नाटकलाई मञ्चन गरेर मात्रै सममाथि न्याय हुने बताउनुभयो । 

पुस्तककी लेखक कक्षपतीले बालकृष्ण समका नाटकहरु मञ्चनका हिसाबले असम्भव छन् भन्ने कुरा सुनेकै कारण सममाथि अध्ययन अनुसन्धान गर्दा पुस्तक तयार भएको बताउनुभयो ।  

साझा प्रकाशनका महाप्रवन्धक शर्माले बालकृष्ण समले नै सबैको साझा बनाएका कारणले सममाथि लेखिएको कृति आफूहरुको प्राथमिकतामा परेको सुनाउनुभयो । 

साझा प्रकाशनले प्रकाशन गरेकाे याे पुस्तककाे मूल्य ४५० रुपैयाँ रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया