MENU

खेल

Ncell Axiata
chhaka panja

फुटबल : आज नेपाल भर्सेस उज्वेकिस्तान, नेपाललाई दबाब, के भन्छन् प्रशिक्षक ?

काठमाडौं, साउन २ – २३ वर्षमुनिको एएफसी च्याम्पियनसिप छनोट चरणको दोस्रो खेलमा सोमबार नेपालले उज्वेकिस्तानको सामना गर्दै छ ।  

खेल युएईको अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा नेपाली समयअनुसार बेलुका ८ बजेर १० मिनेटपछि खेल सुरु हुनेछ । पहिलो खेलमा युएईसँग ५-० गोल अन्तरले हारेको नेपाललाई समूह विजेता बन्न कठिन देखिएको छ । उज्वेकिस्तानले आफ्नो पहिलो खेलमा लेबनानलाई हराइसकेको छ ।  

नेपाललाई अघिल्लो चरण प्रवेशका लागि पनि उज्वेकिस्तानलाई हराउनै पर्ने दबाब छ । नेपालले आफ्नो छनोटको सम्भावना कायम राख्न उज्वेकिस्तानसँगै बुधबार हुने लेबनानसँगको खेलमा ठूलो अन्तरको जित हासिल गर्न आवश्यक छ ।  

जारी प्रतियोगितामा एक खेल खेलेको नेपाल अङ्कविहीन छ भने समान खेल खेलेको उज्वेकिस्तानले जित हासिल गर्दै तीन अङ्क जोडेको छ । शनिबार नै भएको खेलमा उज्वेकिस्तानले लेबनानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । 
अङ्क तालिकामा नेपाल गोल अन्तरका आधारमा अन्तिम स्थानमा छ भने उज्वेकिस्तान दोस्रो स्थानमा छ । त्यसैगरी, नेपाललाई पराजित गरेका युएई तीन अङ्कका साथ शीर्षस्थानमा छ भने लेबनान तेस्रो स्थानमा छ । 

अर्को वर्ष चीनमा हुने २३ वर्षमुनिको एएफसी फुटबल च्याम्पियनसिपको छनोटमा सहभागी ४० टोलीलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूह चरणका शीर्ष टोली र उत्कृष्ट पाँच उपविजेता टोली फाइनलका लागि छनोट हुने छन् ।  

नेपाली टिमका प्रशिक्षक राजुकाजी शाक्य उज्वेकिस्तानसँगको खेलमा युएईसँगको खेल बिर्सिएर राम्रो प्रदर्शन गर्न आवश्यक रहेको बताउँछन् । प्लेइङ ११ मा केही परिवर्तन गर्ने सोचमा उनी छन् । पहिलो खेलमा ५-० गोल अन्तरले पराजित भएपछि प्रशिक्षक शाक्यले पहिलो खेल भएकाले खेलाडीले नराम्रो गरे भनेर भन्ने ठाउँ नरहेको बताएका थिए ।

युएई राम्रो टिम भएको आफूहरुको सामान्य गल्तीले हार व्यहोर्नु परेको उनले बनाएका थिए । युएईलाई घरेलु मैदानको पनि फाइदा पुगेको उनको प्रतिक्रिया थियो । नेपालमा पानी पर्ने मौसम रहेको तर युएई आउने बित्तिकै ४० डिग्रीको तापक्रममा भिड्नु पर्ने भएकाले पनि समस्या रहेको उनको प्रतिक्रिया छ । उज्वेकिस्तानसँगको खेलमा सुधार हुने उनले बताएका छन् । 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया