MENU

साहित्य/ कला

Ncell Axiata

इतिहास खोज्दै गुफामा

उपेन्द्रराज पाण्डेय/उज्यालो ।

 
‘इतिहासलाई नबुझ्दा हामी गलत बाटोमा हिँडेका छौँ । हाम्रोमा अनुसन्धान नै नगरी, अरुले भनेको र सुनेको आधारमा इतिहासका पुस्तक लेखिने गरेको  छ । नेपाली इतिहासको थप अध्ययन अनुसन्धान गरेर परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको छ ।’
तीन दशकदेखि नेपाली इतिहास र संस्कृतिको अध्ययन अनुसन्धान गर्न विभिन्न गुफाहरु चाहर्नुभएका प्राध्यापक डा. पुरुषोत्तमलोचन श्रेष्ठ गुफाचित्र, चट्टान–चित्र, गुफाहरु आफ्ना लागि खुला आकाशमुनीका खुला सम्पदा भएको बताउनुहुन्छ ।  
 
तीन दशक अघि आफ्ना गुरु धनबज्र बज्राचार्यले भक्तपुरलगायतका स्थानका गुफाहरुबारे अध्ययन अनुसन्धान गर्न आग्रह गरेपछि श्रेष्ठ काठमाडौं उपत्यकाका विभिन्न गुफाहरु पुग्नुभएको छ ।  हातमा फित्ता टेप लिएर गुफा, जंगल, र खोलसाहरु चाहर्नु श्रेष्ठको दैनिकी नै बनेको छ । श्रेष्ठ भन्नुहुन्छ, ‘कसैको सहयोगले मैले अनुसन्धान गरेको होइन, आफ्नै अभिरुचिले लागेको हुँ । देशको इतिहास, कला संस्कृति देशको ऐना हो । यदि हामीले गलत तथ्यलाई नै इतिहास मानेर बस्ने हो भने  राष्ट्रिय रुपमा संकट निम्तिने खतरा छ । त्यसैले पनि म पुरातात्विक सम्पदाहरुको खोज र अनुसन्धानमार्फत नेपालको वास्तविक इतिहासलाई बाहिर ल्याउन प्रयत्नरत छु । ’ इतिहास, पुरातत्व र गुफाहरु आफ्नो अभिरुचिको विषय भएकाले नै आफू निरन्तर यस क्षेत्रको अध्ययनमा लागेको श्रेष्ठ बताउनुहुन्छ ।  
 
पृथ्वीमा मानिसको पदार्पणसँगै वन पाखा, पर्वत, गुफा र कन्दरालाई नै आफ्नो आश्रमका रुपमा प्रयोग गरेको पाइन्छ । गुफाको अध्ययन अनुसन्धान गर्दा पनि गुफाबाटै साहित्यको सुरुवात भएको मानिन्छ । प्राचिन कालमै मानिसहरुले गुफामै चित्र कोर्ने र आफो मनका भावना पोख्ने गरेका थिए । स्पेनको अल्टामिरा गुफालाई प्राचिनतम गुफाका रुपमा लिइन्छ । स्पेनको त्यो गुफाका बारेमा ७ वर्षीय बालिकाले जानकारी दिएपछि गुफा र गुफाचित्रका बारेमा अनुसन्धान हुने थालेको हो । गुफाहरु मानवनिर्मित र प्राकुतिक दुबै खालका हुन्छन् ।  मानवनिर्मित गुफाहरुको अध्ययन अनुसन्धानबाट हाम्रो मानव सभ्यताको विकासक्रम र इतिहासलाई बुझ्न सकिने श्रेष्ठ बताउनुहुन्छ । 
 

हामीलाई ठूला–ठूला दरबारभन्दा झुपडी र गुफाहरु महत्वपूर्ण 

 
पुरातत्वविद, इतिहासकार र यस क्षेत्रमा अध्ययन अनुसन्धान गर्नेलाई स–साना ढुंगामा कुँदिएका मूर्ति नै महत्वपूर्ण हुने श्रेष्ठको भनाई छ  । ‘हाम्रा लागि दरबार, महल भन्दा  पनि स–साना ढुंगाका मूर्ति र माटाका भाँडा र झुपडीका अवशेषहरु महत्वपूर्ण हुन्छ ।
 
किनभने दरबार महलहरु मानव इतिहास र विकासक्रमको पछिल्लो घटनाक्रम हो ।’ हिजोको समाजले नै  वर्तमान समाजको रुपरेखा कोर्ने भएकाले इतिहास र संस्कृतिलाई बुझ्नु पर्दछ । इतिहास र संस्कृतिलाई नबुझ्दा नेपाली समाज गलत बाटोमा हिँडेको श्रेष्ठ दोहो¥याउनुहुन्छ । 
 

नेपाल सुरुदेखि नै धर्मनिरपेक्ष देश थियो 

 
‘हामी अहिले हिन्दुराष्ट्र र धर्मनिरपेक्ष राष्ट्रका नाममा विवाद गरिरहेका छौँ । तर हाम्रो देशको इतिहास र कला संस्कृतिको अध्ययन गर्दा नेपाल धर्मनिरपेक्ष देश रहेको पुष्टि हुन्छ । इश्वरका अनेक नाम छन्  तर इश्वर एउटै छन् ।’
श्रेष्ठले नेपालमा एउटै धार्मिक स्थलमा बौद्ध र हिन्दु धर्मूलाई समेट्ने खालका सम्पदा भेटिनुले नेपाल धर्मनिरपेक्ष राष्ट्र भएको पुष्टि हुने कुरा बताउनुभयो । अभिलेखहरुको अध्ययन गर्ने इतिहासकारहरुको अभावले गर्दा नेपाली इतिहासको खुल्न नसकेको पाटाहरु थुपै्र रहेको उहाँ बताउनुहुन्छ । 
 
हाम्रै अभिलेखहरु पनि विदेशी पुरातत्वविद् र इतिहासकारहरु आएर अनुसन्धान गरेपछि मात्रै हामीले थाहा पाएको कुरा श्रेष्ठ बताउनुहुन्छ । नेपालमा गुफा अभिलेख र चट्टान अभिलेखहरु छँदै छैनन् भन्ने अवस्था रहेकोमा आफ्नो अनुसन्धानले त्यसलाई गलत पुष्टि गरेको उहाँ बताउनुहुन्छ । 
 

काठमाडौं उपत्यकाको पहिलो महानगर : विशालनगर 

 
अध्ययन अनुसन्धानले इतिहासलाई परिमार्जित गर्दै लैजान्छ । कुनै समयमा सत्य ठानिएको इतिहासलाई अध्ययन अनुसन्धानले गलत ठहराउन सक्दछ  । श्रेष्ठले आफ्नो अध्ययनले पनि काठमाडौं उपत्यकाको पहिलो महानगर विशालनगर भएको कुरा पुष्टि गरेको बताउनुहुन्छ ।
 
हाम्रो समाजमा पूजाआजामा, चल्तिका लोकोक्तिहरुलाई सत्य मान्ने चलन छ ।  गहिरो अध्ययन अनुसन्धान नै नगरी सतही अध्ययनका आधारमै यही नै सही हो भनेर ठोकुवा गर्ने परिपाटी रहेको छ । 
 
अहिले पनि चाँगुनारायण क्षेत्रमा लिइने संकल्प वाक्यमा काठमाडौंमा ‘चम्पकापुर महानगर’ को अस्तित्वमा रहेको जनविश्वास रहेको छ । श्रेष्ठले यस विषयमा कसैले अनुसन्धान नगरेको र आफ्नो अनुसन्धानबाट नयाँ कुरा पत्ता लागेको बताउनुहुन्छ ।
 
आफ्नो अध्ययनले विशालनगर नै काठमाडौं उपत्यकाको  पहिलो महानगर भएको कुरा थाहा हुन आएको बताउँदै श्रेष्ठ भन्नुहुन्छ, ‘वैशालीबाट आएका लिच्छविहरुले उपत्यकामा सयौं ठूला बस्तीहरुको समायोजन गरेर विशालनगर निर्माण गरेको हो ।’  
 
श्रेष्ठले अहिले अस्तित्वमा रहेको विशालनगर मात्रै थिएन भन्नुहुन्छ, ‘हामीले सोचेजस्तो नक्साल, हाँडीगाउँ, मालीगाउँ, टुंडालदेवीलगायत चण्डोलमात्र समेटिएको नगर विशालनगर थिएन ।  सात सय बस्ती नौ सय फेराको महानगर थियो – विशालनगर । काठमाडौं उपत्यकाको पहिलो महानगर थियो – विशालनगर । काठमाडौं उपत्यकाको प्रथम नगरसभ्यता थियो – विशालगर सभ्यता ।’ श्रेष्ठले आफ्नो अनुसन्धानको सबैभन्दा महत्वपूर्ण पाटो तथ्य पत्ता लाग्नु पनि भएको बताउनुभयो । 
 

विद्यार्थी नै मेरा गुरु

 
श्रेष्ठले आदर्श आजाद क्याम्पस र ख्वपः क्याम्पसमा इतिहास र पुरातत्वका विषयमा अध्यापन गराउनुहुन्छ ।  उहाँका अध्ययन अनुसन्धानमा विद्यार्थीहरुको ठूलो सहयोग पुगेको बताउनुहुन्छ ।
 
कतिपय गुफाहरु आफ्ना विद्यार्थीहरुको सिफारिसमा अध्ययनका लागि गएको बताउनुहुन्छ । विद्यार्थीले नयाँ गुफा छ सर हेर्न जाने हो भनेपछि श्रेष्ठ फुरुङ्ग पर्ने गरेको बताउनुहुन्छ । एकपल्ट छ्युनिङ गुफाको अध्ययन गर्न जाने बेलाको प्रसंग सुनाउँदै श्रेष्ठ भन्नुहुन्छ, ‘छ्युनिङ गुफा जान अप्ठेरो भीरमा छ । 
 
पहिलोपल्ट, उत्तरतर्फबाट झण्डै ३० फिट माथि आएपछि पानीले रसाइरहेको चिप्लो ढुंगामा पाइला टेक्दै साँघुरो गुफामुखमा पुगियो । त्यहाँबाट चिप्लेर तल खसेमा हातखुट्टा भाँचिने त निश्चितै छ, त्यो बाहेक तलबाटै सोझै कहिल्यै नफर्कने गरी माथि पुग्ने सम्भावना पनि उत्तिकै रहेछ ।’ 
 

थरिथरीका अनुसन्धान

 
श्रेष्ठले अध्ययन अनुसन्धान गर्नुभएका गुफाहरु थरिथरीका छन् । उहाँले पत्ता लगाएका गुफा र मूर्तिहरुले हामीले सही मान्दै आएका इतिहासलाई गलत साबित गरिदिएको छ । नगरकोटको ल्हासा प्वाः अथार्त ल्हासा जाने प्वालका नामले प्रख्यात गुफालाई नेवार समुदायले ‘ससुद्यः’ सरस्वतीको रुपमा पुज्दै आएका छन् । यो गुफाबाट ल्हासा पुगिन्छ भन्ने जनविश्वास रहेको छ । तर अहिले गुफाको मुखैमा मन्दिर बनाइएको र गुफाभित्र कोही नगएकाले यो तथ्य रहस्यमा नै रहेको छ । 
 
त्यस्तै, चाँगुनारायण क्षेत्रको शाक्त अर्धनारीश्वरको मूर्ति ऐतिहासिक हिसाबले मह्त्वपूर्ण रहेको छ । इतिहासकार श्रेष्ठले भारतमा कागजमा चित्रित अठारौँ शताब्दीको एउटा शाक्त नारीश्वरको चित्रलाई दुर्लभ मानेको कुरा बताउनुहुन्छ । उहाँ नेपालको अर्धनारीश्वर अनेक दृष्टिकोणले विशेष महत्व राख्ने  र यस्तो प्राचीन मूर्ति भारतमा पनि नभएको बताउनुहुन्छ । शाक्त अर्धनारीश्वर मन्दिरजस्तो मूर्ति एसियामै नभएको श्रेष्ठको भनाई छ । यस मूर्तिबाट हाम्रो समाज सुरुमा मातृसत्तात्मक भएको कुरा बाहिर आएको बताउनुहुन्छ  श्रेष्ठ । 
 

प्रकाशक नै पाइँदैन

 
पछिल्लो समय नेपाली बजारमा  पुस्तक प्रकाशनमा बाढी नै आए पनि कला संस्कृति र इतिहासबारे लेखिएका पुस्तक प्रकाशनमा प्रकाशन गृहले चासो नदिएको गुनासो पुरुषेत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामीलाई प्रकाशनको कुरै थाहा हुँदैन, हामी लेख्न र अन्वेषणमै व्यस्त हुन्छौँ । ३०० प्रति पुस्तक पनि बिकेको थिएन । सबै साथीभाई र चिनेकालाई बाँड्दै बसेको थिएँ ।’
 
मदन पुरस्कार २०७३ का लागि आफ्नो पुस्तक ‘गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा’ मनोनयनमा परेपछि भने एउटा प्रकाशन गृहले आफ्नो पुस्तक छाप्ने भनेर लगेको उहाँले बताउनुभयो । उहाँले आफूले महत्वपूर्ण काम नै गर्दै आएपनि आफ्नो अनुसन्धान छाँयामा परेको गुनासो गर्नुभयो । 
 

पुरस्कारका लागि लेख्दिन 

 
आफूले अहिलेसम्म नेपाली कला संस्कृति र इतिहासका बारेमा १२ वटा पुस्तक लेखिसकेको तर कहिल्यै पुरस्कारको लोभले नलेखेको श्रेष्ठ बताउनुहुन्छ । ६० वर्ष पुग्दा पनि अप्ठेरा भीर पाखाहरुमा फित्ता टेप लिएर निरन्तर  लागिरहनुभएको छ ।
 
तर पनि सरोकारवाला निकायबाट पुरातात्विक सम्पदाहरुको संरक्षण हुन नसक्दा भने आफ्नो मन दुखेको बताउनुहुन्छ उहाँ ।  भेटिएका अभिलेखहरुको अध्ययन गर्ने मान्छे पनि नभएको बताउँदै इतिहासका विद्यार्थी देशमा भविष्य नदेखेर विदेशिएको तथ्य प्रस्तुत गर्नुहुन्छ श्रेष्ठ । 
 

पुरातत्वलाई महत्व दिइएन 

 
आफैले पढाएका विद्यार्थी पनि भारतलगायतका विभिन्न देशहरुमा काम गर्न गएको बताउँदै श्रेष्ठले नेपालमा पुरातत्वको महत्व बुझ्ने मान्छे नीति निमार्ण बनाउने तहमा नभएको बताउनुभयो । काठको घोडामा चढाएर  सयौं रुपैयाँ लिइराखेको हुन्छ ।
 
तर महत्वपूर्ण पुरातात्विक सम्पदाहरुलाई संरक्षण गरेर पर्यटनका रुपमा विकास गर्न नसकेको बताउनुहुन्छ उहाँ । नेपाली सम्पदाहरुबाट आन्तरिक मात्रै नभएर विदेशी पर्यटक पनि तान्न सकिने श्रेष्ठको तर्क छ । त्यसो भएमा इतिहास र पुरातत्वका विद्यार्थी पनि बेरोजगार बन्नुपर्ने विदेशिनु पर्ने अवस्था नआउने उहाँले भन्नुभयो । 
 

चुरोट छाडेको रमाइलो प्रसंग 

 
१० वर्षअघिसम्म श्रेष्ठले दैनिक २२, २३ वटासम्म चुरोट सेवन गर्नुहुन्थ्यो ।  उहाँले चुरोट छाडेको प्रसंग पनि रमाइलो छ । एकपटक विद्यार्थीहरुसहित फिल्ड भ्रमणमा जाँदा श्रेष्ठलाई चुरोट खान मन लागेछ ।  
 
उहाँले चुरोट निकालेर सल्काउन लाग्दा हातबाट चुरोट पानीमा खस्यो । त्यत्तिकैमा उहाँकै एकजना विद्यार्थी चिच्याए, ‘ल साथी हो, पुरुषोत्तम सरले पानीमा चुरोट बगाएर आजबाटै चुरोट छाड्नुभयो ।’ त्यसपछि सबैले ताली बजाएछन् ।  कसैले सोधेछन् पनि, ‘सर चुरोट छाड्नुभएकै हो ?’
 
सबैले चुरोट छाडेकोमा प्रशंसा गरेपछि श्रेष्ठले पनि चुरोट छाडेको स्वीकार्नुभएछ । तर राति उहाँलाई चुरोट तानुतानु लागेछ । ‘राति चुरोटको  तलतल लाग्यो । मन थाम्न सक्दिन जस्तो लाग्यो । बरण्डामा निस्केर यताउति गरेँ । चुरोटको डिब्बाबाट चुरोट निकालेँ पनि ।  तर दिउँसोको कुरा सम्झेपछि चुरोट हुर्‍याइदिएँ ।’   
 
 
 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया