MENU

साहित्य/ कला

Ncell Axiata

​अरुण थापाको १८ औं स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली अर्पण

रमेश गिरी/उज्यालो । 

भक्तपुर, साउन ५ – 

‘चोट के हो, व्यथा के हो, 
म जस्तो घाइतेलाई सोध
मिलन के हो, खुसी के हो, 
मसँग कहिल्यै सोध्दै नसोध .......

भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित मोडर्न बोर्डिङ्ग सेकेण्डरी स्कूलको हलमा नेपाली सुगम संगीतका एक अजर अमर गायक एवं संगीतकार अरुण थापाको १८ औं स्मृति दिवस मनाइरहँदा सुवासचन्द्र ढुंगेलको रचना रहेको यो गीत बालकलाकार अधिश्री कसपालले गाउँदा दर्शकदिर्घाका सबै स्तब्ध भइरहेका थिए । अरुण थापालाई श्रद्धाञ्जली अर्पण गर्न शुक्रबार मोडर्न बोर्डिङ्ग सेकेण्डरी स्कूल, शुभारम्भ : द म्युजिकल जर्नी र विनाता कला प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको अरुण थापाको १८ औ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली प्रस्तुत गरिएको थियो ।

मानिसको जीवनको यथार्थपनलाई बोकेका गीत गाएर लाखौंको मनको ढुकढुकी बन्न सफल थापाको गीत गुञ्जिरहँदा अरुण थापा हामी अगाडि नै उभिएर गीत गाए झैं लागेको प्याब्सन भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसीले बताउनुभयो ।  

‘जति माया लाए पनि, जति कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा, आँखातरि गए पछि, 
मनमा पीर त पर्ने नै भयो, यो मन त्यसै मर्ने नै भयो ।’

विनोद गौचनको रचना, अरुण थापाको स्वर–संगीत रहेको यो गीत नवगायक कपिल कसपालले गाउँदा अहिले सबैको मन छोएको थियो । लाखौ संगीतप्रेमीहरुको ढुकढुकीमा बसिरहनु थापाको गीतले सहभागी सयांैको मनलाई छोइरहेको कलेजका प्रिन्सिपल अनिल कसपालले बताउनुभयो ।  

कार्यक्रममा थापाले गाउनु भएको केशव लोहनीको रचना रहेको ‘तिमी राम राम भजी बाँच’ बोलको गीत  बद्री नारायण ताम्राकार, संगीता तामाङ्ग, रिता तमखुले गाउनु भयो भने, नवराज कार्कीको रचना रहेको ‘करोडौ मुटुहरुको एउटै’ बोलको गीत समूहमा गाउँदा हल गुञ्जायमान भएको थियो ।

चलचित्र निर्देशक, रचनाकार, साहित्कार, गायक, गायिका, लेखक, शिक्षासेवी, कलाकार, पत्रकार, अभिभावक, विद्यार्थी लगायत सयौंले भरिएको हलमा अरुण थापाले गाएको गीत गुञ्जिदा उहाँप्रति सच्चा श्रद्धाञ्जली भएको गीतकार सुवासचन्द्र ढुंगेलले बताउनुभयो । 

त्यस अवसरमा थापालाई समर्पित गर्दै उहाँले गाउनु भएका गीतहरुमध्ये विक्रम गुरुङ्गको रचना रहेको ‘आँखाको निद बनि’, बोलको गीत सानुमैयाँ ताम्राकार, ‘के छ र दिऊँ तिमीलाई’ बोलको गीत दिवकार खड्का र ऋतु कँडेलले, राजेन्द्र रिजालको रचना रहेको ‘ऋतुहरुमा तिमी’ बोलको गीत सर्वश्री कसपाल, भूषण खरेलको रचना रहेको ‘म रोए पनि’ बोलको गीत सुरज कपालीले गाउँदा सहभागीहरुले निकै आनन्दले गीत सुनिरहेका थिए । 

हलमा गीत गुञ्जिरहँदा चलचित्र निर्देशक तथा वरिष्ठ गीतकार चेतन कार्कीले कालजयी, सदाबहार गायकका रुपमा रहेको अरुण थापाको गीत सयौं वर्ष पछाडिसम्म पनि यत्तिकै जिवन्त रहने बताउनुभयो । उहाँले यस्ता गायक, गीतकार, संगीतकारलाई राज्यले पनि सम्झनु सक्नुपर्नेमा जोड दिँदै अरुण थापा सबै संगीतप्रेमीको मनमनमा बस्नु भएको चर्चा गर्नुभयो ।

चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोम मिश्रले यस कार्यक्रमले अरुण थापाको सांगीतिक योगदानलाई स्मरण गर्दै नगरपालिकाले गीत, संगीतको संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै थापाले गाएका गीतहरुमध्ये किशोरकुमार केसीको रचना रहेको ‘साँझको जुनसँगै, तिमी आउँछौ भनी’ बोलको गीत विनोदराज ढुंगेल, सुरेन्द्र राणाको रचना भएको ‘यो मनको के भर हुन्छ’ बोलको गीत चिरी महर्जनले, दीपक बुढाथोकीको रचना रहेको ‘तिमी हेछ्र्यौ भने’ बोलको गीत अमला महर्जनले, सुवासचन्द्र ढुंगेलको रचना रहेको ‘पारी गयौ किन’ बोलको गीत कपिल कसपालले, बिक्रम गुरुङ्गको रचना रहेको ‘भूलुँ भूलुँ लाग्यो मलाई’ बोलको गीत विधिसा ताम्राकारले र दिव्य खालिङ्गको रचना रहेको ‘नपोखिने नजोखिने’ बोलको गीत आयुस केसीले गाउँदा अरुण थापालाई सम्झाई रहेको थियो । 

कार्यक्रममा बद्रिनारायण ताम्राकार, तुजू श्रेष्ठ, सुरज कपाली, सुरेन्द्र कार्की, इन्द्र राजथला, डा. निरञ्जन भण्डारी लगायतका वाद्यवाधकले अरुण थापाको गीतलाई पुनर्जीवन दिनुभयो । 

स्कूलका संस्थापक बाबुकाजी कसपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा चलचित्र निर्देशक प्रकाश सायमीले अरुण थापाको गीतहरुले लाखाैंको मन जित्न सफल भएको बताउँदै उहाँको जादूमय स्वरलाई पछिल्ला पुस्ताले पनि आत्मसाथ गर्नेमा शंका नभएको बताउनुभयो । उहाँ तीन वर्षको हुँदा परिवारँंगै नेपाल आएसँगै नेपाल मै पढेपनि उच्च शिक्षाका लागि दार्जीलिङ गएर फर्केपछि उहाँले कलेजबाटै सांगीतिक जीवन सुरु गर्नुभएको निर्देशक सायमीले बताउनुभयो । 

वि.सं. २००९ साल माघ ११ गते भारतको कलकत्तामा जन्मनु भएका गायक थापाको २०५६ साल साउन ५ गते काठमाण्डौमा ४८ वर्षको उमेरमा मृत्यु भएको थियो । अरुण थापाका  दुइवटा सोलो एल्बम तथा अरुण र द बेस्ट अफ् अरुण दुवै एल्बम नेपाली श्रोतामाझ निकै नै चर्चित भएको थियो । 

उनले गाउनु भएका गीतहरु ‘ऋतुहरुमा तिमी हरियाली वसन्त हौ, भुलु भुलु लाग्यो मलाई, साँझको जुनसँगै, चोट के हो व्यथा के हो, जति माया लाए पनि, आँखाको निद खोसी लाने, जिन्दगी के छ र आखिर, अरुसँग नजोख मलाई, दोष कसैलाई दिन चाहन्न, बितेका मेरा तिता मिठा, तिमी हेर्छौ भने, नपोखिने नजोखिने, यो मनको के भर हुन्छ, भुलेका कथा, जिन्दगीका यात्राहरु, लाग्न थाल्यो जीवनमा’ जस्ता गीतहरु चर्चित रहेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया