MENU

साहित्य/ कला

Ncell Axiata

‘नछुने हुँदा काटेको घाँस सुनपानी छर्केर गाईभैँसीलाई खुवाउने, दूध दही चाहिँ हेर्न नहुने ?’

उपेन्द्रराज पाण्डेय/उज्यालो ।

काठमाडौं, साउन ८ –  ‘पहाडबाट तराइमा बसाईँसराईँ गरेर आएकाहरु आफ्नो जायजेथा मात्रै लिएर आएनन्, उनीहरुले आफूसँगै छाउपडी प्रथा पनि सँगै ल्याए ।’ छाउपडी प्रथामा आधारित भएर ‘छाउघर’ उपन्यास लेखेका लेखक राज सरगम शिक्षितवर्गले नै छाउप्रथालाई अंगिकार गरेकाले कुप्रथाको अन्त्य हुन नसकेको बताउनुभयो । सरगम भन्नुहुन्छ, ‘सुदूरपश्चिमका पहाडी जिल्लाबाट कैलाली, कञ्चनपुरमा बसाईँसराईँ गरेर आएकाहरुले छाउगोठ पनि बोकेर आए ।’

आफ्नै परिवारभित्रका महिला सदस्यले छाउ अर्थात महिनावारी भएको समयमा भोगेको समस्याले उपन्यास लेख्न प्रेरित गरेको सरगम बताउनुहुन्छ । ‘मैले आफ्नै घरका सदस्यको पीडा देखेको छु । मैले आफ्नै मामाको छोरीको समस्या सुनेको छु । उनी पहिलो पटक छाउ हुँदा मेरो घरमा बस्न आएकी थिइन् । उनको दयनीय अवस्था देखेर मलाई पनि पीडा भएको थियो ।’

उपन्यासकी प्रमुख पात्र कला आफ्नै मामाको छोरीको भोगाइमा आधारित पात्र भएको सरगमले खुलासा गर्नुभयो । छाउ भएका बेला उहाँको मामाको छोरीलाई पालीमा राखिएको थियो । त्यसै घटनाका कारण नै उहाँले उपन्यास लेखेको बताउनुभयो  । पहिलोपल्ट नछुनेहुँदा दाजुभाइले हेर्न हुँदैन भन्ने मान्यता रहँदै आएको छ । 

२०७३ सालको मदन पुरस्कारको लागि उत्कृष्ट नौ पुस्तकको मनोनयन सूचिमा परेको उपन्यास ‘छाउघर’ का लेखक राज सरगम आफू पुरस्कार र नामका लागि भन्दा पनि छाउपडी प्रथा उन्मुलन होस भन्ने उद्धेश्यले पुस्तक लेखेको बताउनुभयो ।  नेपाली समाज विज्ञान र धर्मको बिचमा रहेको द्वन्द्वको दोसाँधमा रहेको छ ।  प्रचलनमा रहेका कुप्रथा र रीतिरिवाजलाई निरन्तरता दिने कि नदिने भन्ने लडाईँमा नेपाली समाज अल्झिरहेको छ । उहाँले शिक्षित व्यक्तिहरुले नै महिनावारी हुनुलाई धर्मसँग जोड्ने गरेको बताउनुहुन्छ । अझ पहिलो पल्ट महिनावारी हुँदा त महिलाले २२ दिनसम्म घरबाट टाढा रहेको छाउगोठमा गएर बस्नुपर्ने प्रचलन रहेको छ । उपन्यासकी प्रमुख पात्र कला १२ वर्षकी छन् ।   उनी पहिलो पटक महिनावारी भएको समयमा २२ दिनसम्म छाउगोठमा गएर बस्छिन् । 

छाउलाई देउतासँग जोडेर डर देखाइने गरेको कुरा उपन्यासमा सरगमले प्रस्तुत गर्नुभएको छ । पछिल्लो समयमा छाउगोठमा सर्पले टोकेर ज्यान गएको एक दुई घटनाहरु सार्वजनिक भएका छन् ।  तर कतिपय घटनाहरु सञ्चारमाध्यममा आउने नगरेको बताउँदै त्यस्ता घटनालाई गुपचुप बनाउने गरिएको सरगम बताउनुहुन्छ ।

उपन्यासका अधिकांश घटनाहरु वास्तविक भएको बताउँदै आफ्नो उपन्यास सार्वजनिक हुनुभन्दा अघिल्लो दिन नै अछाममा छाउगोठमा बसेकी युवतीको ज्यान गएको थियो । 

महिनावारीलाई एक स्वभाविक प्रक्रिया हो भनेर आम मानिसलाई बुझाउने हो भने ६, ७ कक्षाका पाठ्यक्रममा नै यसबारेका जानकारीमूलक सामग्री राख्नुपर्ने सरगमको भनाई रहेको छ ।  ६, ७ कक्षा पढ्ने बेलादेखि नै महिनावारी प्रक्रिया सुरु हुने भएकाले  ६, ७ कै पाठ्यक्रममा यसको बारेमा जानकारी दिँदा प्रभावकारी हुने कुरा सरगम बताउनुहुन्छ । उपन्यासकै पात्र कला पनि विज्ञान र धर्मको टकरावमा पर्छिन् ।

विद्यालय जाँदा शिक्षकहरुले उनलाई महिनावारीलाई सामान्य प्रक्रियाका रुपमा लिन आग्रह गर्छन् । तर घरमा भने यसलाई धर्मसँग जोडेर छोइछिटो गरिन्छ । कलामा विद्रोही भावना सुरुदेखि नै जागृत भएको देखिन्छ । बाह्र वर्षकी पात्र कलामार्फत उपन्यासकारले छाउप्रथा अन्त्यका लागि आह्वान गर्नुभएको छ ।

महिनावारी हुँदा बार्ने  र छोइछिटो गर्ने प्रचलन सुदूरपश्चिममा मात्रै छैन, नेपालका अन्य ठाउँमा पनि रहेको छ । सहरमै पनि छाउ प्रथा कायम रहेको राज सरगम बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘काठमाडौंमै छाउघर रहेका छन्, फरक त्यत्ति हो यहाँ गोठ छैनन् ।’ काठमाडौंमा भौतिक रुपमा छाउगोठ नभएकाले यहाँका घटना बाहिर नआउने गरेको उहाँको तर्क रहेको छ । 

पुस्तक लेखनका लागि अनुसन्धानका क्रममा उहाँ नेपालका विभिन्न ठाउँ घुम्नुभयो । महिनावारीका बारेमा विभिन्न समुदायमा रहेको प्रचलनको अध्ययन गर्नुभयो । उहाँका अनुसार जनजाति समुदायमा महिनावारीलाई सामान्य रुपमा लिइन्छ । बार्ने र छोइछिटो गरिदैँन ।

अनुसन्धानकै क्रममा उहाँले डडेलधुराकी १७ वर्षकी युवतीसँग नछुने हुँदाको अनुभव सोध्नुभयो । सुरुमा ती युवती बोल्न अप्ठेरो मानिछन् । गाउँलेहरुले लेखकलाई गाली पनि गरेछन् । ‘छ्या ! लोग्ने मान्छे भएर पनि केटी मान्छेसँग यस्तो कुरा सोध्ने ?’ पछि ती युवतीलाई उहाँले आफ्ना अनुभव बताउनका लागि राजी गराउनुभयो । 

धर्मका नाममा समाजमा रहेका यस्ता प्रथाहरु अव्यवहारिक बन्दै गइरहेका छन् । महिनावारी भएको समयमा महिलाहरुले सरसफाई तथा खानपिनमा अझ ध्यान दिनुपर्छ । तर उनीहरुलाई गाईगोठ, जंगलको छेउमा रहेको छाउगोठजस्ता फोहोर ठाउँमा राखिँदै आएको छ । नछुने भएकै बेलामा पनि घाँस दाउरा गर्न बाध्य पारिन्छ । पोषिलो खानेकुरा खान दिइँदैन । लेखक भन्नुहुन्छ, ‘नछुने हुँदा काटेको घाँस सुनपानी छर्केर गाईभैँसीलाई खुवाउने, दूध दही चाहिँ हेर्न पनि नहुने ?’ 

नछुने भएको बेला घरभित्र छिरेमा कुलदेउता रिसाउने  भन्ने अन्धविश्वास सुदूरपश्चिममा मात्रै होइन, अन्यत्र पनि कायमै छ । अझ पनि नछुने भएको बेलामा पालीमा, गोठमा सुत्नुपर्छ । यस्ता अन्धविश्वासलाई शिक्षित वर्गले नै अगाँलेको भन्दै उपन्यासकार आक्रोश पोख्नुहुन्छ, ‘पूजाकोठाका देउतालाई खुशी पार्न छोरीहरुलाई कहिलेसम्म मृत्युको मुखमा पुर्‍याउने ? आखिर देउता भनेको मान्छेले नै बनाएको हो, मान्छेले नै त मानेको हो ?’ 

पुस्तक लेखेपछि धेरैले ‘पुरुष भएर महिलाका पीडा पनि यस्तो राम्रोसँग लेखेको’ भन्दै प्रशंसा गरेको उपन्यासकारले बताउनुभयो । इमान्दारपूर्वक लेखियो भने जुनसुकै विषयमा लेखे पनि न्याय गर्न सकिने उहाँको विचार रहेको छ । तर पनि कतिपयले भने यस्तो फोहोर विषयमा नलेखेको भए पनि त हुन्थ्यो भनेका रहेछन् । एक जना पुस्तक विक्रेताले पुस्तक राख्न पनि हिच्किचाएकी रहिछन् । पुरुष भएर महिलाका पीडा बुझ्न कठिन भए पनि असम्भव भने नरहेको उहाँले बताउनुभयो । उपन्यासको अन्त्यमा कलाले विद्रोह गरेर घरबाट भाग्छिन् । उनी हजुरबुवाले टिका लगाउन बोलाउँदा जुन देउतालाई खुशी बनाउन आफूलाई छाउगोठ पठाइएको भन्दै टिका लगाउन मान्दिनन् । उनले भन्छिन्, ‘ मलाई मार्नका लागि छाउगोठ पठाउनुभएको हो । 

त्यहीँ बस्नाले भागरथी दिदी मरिन् । मङ्गली दिदीलाई कसैले धरपकड गर्‍यो । गणेशको बच्चाले पेटभरी दूध खान पाएन । तिम्रा देउपितृ ठूला भए । तिम्रो धर्म राम्रो भयो ।  तिम्रो देउता घरमै राख, म बस्दिन ।’ कलाले घर छाडेको घटनालाई छाउप्रथालाई अस्वीकार गरेको भन्न सकिन्छ । 

छाउप्रथा हटाउनका लागि एउटा अभियान नै चलाउनुपर्छ । सरगम भन्नुहुन्छ, ‘भौतिक छाउगोठ भत्काएर मात्रै यो प्रथा हट्दैन, हामीमा रहेको मानसिक गोठ भत्काएमा मात्रै यसको अन्त्य सम्भव छ ।’ छाउपडीलाई राजनैतिक मुद्धाका रुपमा स्थापित गर्न सकेमा मात्रै यसको सहज उन्मुलन हुने स्वीकार्नुहुन्छ सरगम । भर्खरै सम्पन्न स्थानीय चुनावमा छाउप्रथा हटाउने धेरै जनप्रतिनिधिले बाचा गरेका थिए । 

धेरैले चुनावी प्रचार–प्रसारका क्रममा छाउगोठ भत्काए पनि । निर्वाचित भइसकेपछि ती मुद्धा ओझेलमा परेका छन् । एकथरी महिला छाउप्रथाकै कुरा गरेर मञ्चमा पुगेको, अर्कोथरी महिला भने छाउगोठमा बस्न बाध्य भएको लेखक बताउनुहुन्छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया