MENU

साहित्य/ कला

Ncell Axiata

एउटा बकपत्र : आफ्नै विरोधमा

कृष्णचन्द्रसिंह प्रधान -

केही कुरा यस्ता हुन्छन् जो भनिँदैन, कति भनिन्छ मात्रै तर गरिँदैन । भनेजस्तो गर्नुपर्छ र गरेजति भन्नुपर्छ भनेमा व्यवहार चल्दैन । व्यवहारमा त क्यै लुकाउनुपर्दो रहेछ । क्यै दबाउनुपर्दो रहेछ क्यै नभन्नुपर्दो रहेछ ।

मैले पनि के के गरेँ सबै भनिहिँडे – को छैन, के के भनेँ सबै गरिरहेको छैन – कति लुकाएँ हुँला, कति दबाएँ हुँला, कति पचाएँ हुँला, सबैको हिसाब दिने हो भने म त्यहीँ कहाँ रहेछु जो तिमी देखिरहेछौ ! जति ठूलाबडा छन्, हुनसक्छ तिनीहरु पनि तिनै मात्रै होइनन् होला । सम्भव छ, ती पनि हुन् जसलाई कसैले कहिल्यै देखेका छैनन्, चिनेका छैनन्, सुनेका छैनन् । 

मभित्र पनि तिमीले नचिनेको यस्तै क्यै हुन सक्छ जसलाई उसले लुकाइराखेको छ । त्यसलाई देख्यौ र चिन्यौ भने शायद तिमी भन्नेछौ – त्यो पनि यस्तै रहेछ ।

वास्तवमा मैले अपराध त क्यै गरेको छैन तर जे गरेँ त्यो पनि नहुनुपर्ने थियो । नहुनुपर्ने यस्ता धेरै काम भइदिएको हुनुपर्छ । नगर्नुपर्ने यस्ता धेरै धेरै भइदिएको हुनुपर्छ ।  जब जब सम्झन थाल्छु तिनीहरुलाई मन कुँडिन्छ र दुःखले अरलिन्छु । जस्तै रा.पं.मा प्रतिनिधित्व गर्ने पहिलो स्नातकहरुको निर्वाचनमा भोट खसालेको घटना । पक्कै पनि म स्नातक थिइनँ, अहिले पनि होइन, यसकारण अनाधिकार भोट खसालेर मैले अनैतिक काम गरेको होइन कसरी भनूँ ? यो पापबोधले मलाई कहिल्यै छाडेन । 

यस्तै एउटा घटना छ । म भन्न सक्छु – यो न पाप हो, न अनैतिक, न त कुनै दुष्कर्म नै । तर क्यै हो । यो क्यैले मेरो पिण्ड छोडेन । भन्न त मैले विवशता भनेँ । तर विवशतामा जोगिन सक्ने नै केही हो भनेर नाक फुलाउने र गुन गाउने गर्छु । म यसलाई सामान्य अर्थमा लिँदैछु र महत्ता नबुझेरभन्दा पनि विशेष अभिरुचि लिन नसकेकोमा मलाई दुःख लाग्यो । यो त्यति बेला चाल पाउँछु जब घटिसक्छ । थाहा नपाइदिए हुन्थ्यो भन्ने अभ्यन्तरको चाहनाले नगर्नुपर्ने सत्यकै पुष्टि हुन्छ । अनि ढाँट्न थाल्छु । लुकाउने कोशिश गर्दै गएँ । नहुनुपर्ने कुराको होशले भन्दा पनि कसैले थाहा पाउला कि भन्ने चिन्ताले पिरोलिन थालेँ ।

एक दिन मदनदेव भट्टराईसँग भेट हुन्छ । उनले आग्रह गरे – रत्नश्री सुवर्ण पदक लगाएर खिचेको दाइको एउटा फोटो चाहिएको छ ।

उनले भने, मैले सुनेँ । दिन बित्दै गए । तर भट्टराईको आग्रह भने कायम नै रह्यो । देख्नसाथ भनिहाल्थे, खै पदकसहितको फोटो भनेको, पाइन ।

कहिले भन्थे – कतिले रत्नश्री सुवर्ण पदक पाए तिनीहरले आफ्नै इतिहास भएकाले परिचय विशेषङ्क निकाल्दैछु । एउटा फोटो पाउँ । 

अहिले चाहिँ श्री ५ मुमा बडामहारानी सरकारको शुभ हीरक जन्मोत्सव विशेषाङ्क निकाल्ने गरेका रहेछन् । उनी अफिसमै आएर भन्न थाले – विशेषाङ्कको लागि दाइको लेख र फोटो नभई भएन । कहिले लिन आउँ ?

म अप्ठेरोमा पर्छु । न हुन्छ भन्न सक्छु, न हुन्न । आश्चर्यको कुरा त के लाग्छ भने उनले कहिल्यै दिन सक्दिन । उनी भनेर कहिल्यै थाक्दैनन्, म सुनेर कहिल्यै थेग्दिन । हुँदाहुँदा पछि त के लाग्न थाल्यो भने न मदनदेवले भनेको विशेषाङ्क निस्कने छ, न मलाई पदक भिरेर खिचेको तस्बिर दिनुपर्ने छ । खालि भन्ने शैली बदलिन्थ्यो, सन्दर्भ बदलिन्थ्यो, उपलक्ष्य बदलिन्थ्यो ।  जहाँ भेट भए पनि सुनिरहेको हुन्छु र अहिलेसम्म पनि सुन्दैछु एउटै कुरा – पदकसहितको फोटो चाहियो । 

जब जब उनीसँग जम्काभेट हुन्छ फोटोको प्रसङ्ग उठ्छ , म छक्क पर्छु । चाहिएकै रहेछ भने पनि म्याद गइसक्यो । अब त आवश्यक नपर्नुपर्ने हो । म लज्जित हुन्छु । कतै भेट होला र फेरि उही प्रसङ्ग सुनेर निरुत्तर हुनुपर्ला भनेर कतिपल्ट त देखेर पनि नदेखेजत्तिकै गरी टाप कस्थेँ । उनको अनुहार देख्नासाथ त्यहाँ मैले पदक लगाएको आफ्नो तस्बिर झुन्डिएको पाउँछु । मलाई देख्नासाथ उनी पनि मेरो अनुहारमा शायद बिनापदकको फोटो देख्दा हुन् । मचाहिँ पदकसहितको फोटोमा आफूलाई देख्दा लजाउँछु । कसैले नपाएको तक्मा भिरेजस्तो अहंकार चढेको अनुहार देख्न थाल्छु । उर्दीमा हिँड्ने महापुरुषको छाती मेरो छैन । म लेखक मात्र हुँ । पुरस्कारको निम्ति लेखिनँ, लेखेपछि पुरस्कार पनि पाइँदो रहेछ । यसलाई कोही फोटोमा सञ्चय गर्छन्, तर देखाउनलाई पत्रिकामा उभिनुपर्ने मैले किन ? जे होस्, मुक्ति भने पाइनँ । आखिर म हारेँ, भट्टराईले जिते । यो जित र हार साँच्चि भनूँ भने न उनको हो, न मेरो । एउटा भवितव्य जस्तो कि सबैको जित हो, कि सबैको हार भन्नुपर्ने हुन्छ । 

अब भने भट्टराइले ढाँटेका हैनन् भनेर यकिन गरेँ । यसकारण मैले हार्नुपर्ने हुन्छ । मैले पनि हुन्छ भनेर टार्दै आएको छु । यसकारण साँचो कुरा राखेर जित्नैपर्ने ठानेँ । हिजोसम्म सत्यलाई आभाषमा दबाएर संकेतमा बोलिरहेका थियौँ र त्यसलाई जुन भाषा दियौँ त्यो झूट थियो । आज जुन झूट बेहोरेको छु र सन्दर्भ बनाएर यसलाई जुन अर्थ दिँदैछु यो सत्य हो । यसकारण यो निबन्धलाई रत्नश्री सुवर्ण पदक भिरेको तस्बिर सम्झिदिए हुन्न र ?

यहाँनिर मदनदेव भट्टराई ‘रत्नश्री’ पत्रिकाका प्रधान सम्पादक  हुन् भनेर चिनाइराख्नु नपर्ला । 

पुरस्कार आफैँमा एउटा सम्मान हो । मैले पनि यसबाट सम्मानित हुने अवसर पाएको छु । तर एउटा कुरा – पाएको पदकलाई होइन भनिरहनु नपरेजस्तै पदक भिरेर पाएको देखाइरहनु पनि नपर्ने हो । शायद श्री ५ को सरकारका कर्मचारीहरुले औपचारिक महोत्सव, उर्दीपुर्दी, सम्मेलन–सामेलीमा भिर्नुपर्ने तक्माको हावाले कतै मदनदेवलाई पनि छोएको त होइन ? एकछिनका लागि होइन भनूँ तर के फरक पर्छ ? इतिहास मथ्र्यो कि ? कि सबुत–प्रमाण नहुनाले झूटो ठहरिन्थ्यो । आशिर किन खोजेका हुन् पदकसहितको फोटो ? उनलाई लागेको होला मैले जानी जानी दिइरहेको छैनँ । मलाई लागिरह्यो थाहा पाइपाईकन पनि भनिरहेका छन् । यी दुबैमाझको जुन सत्य हो त्यो न मलाई थाहा छ , न भट्टराईलाई । यथार्थमा दुबै कल्पना हुनसक्छ, अनुमानका कुरा हुन सक्छ । तर यसरी नै भोलि कमलमणिले पनि मदन पुरस्कारको चाँदीको पट्टसमेत आउने गरी खिचेको तस्बिर चाहियो भने भने के गर्ने ? कहाँबाट ल्याउने यो पट्टसहितको फोटो ? तर कहिल्यै भनेनन् ।

वास्तवमा संकोचवश खुलस्त हुन नसकेको कमजोरीले रहस्य झन् बढाइदिँदो रहेछ । भन्दै हिँड्नुपर्ने कुरा त यो हुँदैहोइन । एकदम निजी हो र आफैँसित मात्र सम्बन्धित । कुरै गर्ने हो भने पाइसकेपछिको हकमाथि कसैले दाबी गरेमा हकार्न सकिन्छ । स्वेच्छाका कुरामा बल प्रयोग गर्नेलाई लछार्न सकिन्छ । सुयोग के परेछ भने दुबै अशिष्ट भएनौँ । अशिष्ट भईकन पनि कारणवश कसैबाट शिष्ट व्यवहार भइदिन्छ भने त्यतिबेला शंका गर्नेछन् उसले केही चाहिरहेछ । शिष्ट भईकन पनि कसैबाट अशिष्ट वचन सुन्छौँ भने त्यस बेला छक्क मानेर उसको मानसिकता टटोल्न थाल्छौँ र भन्नेछौँ – आज के भएछ उसलाई ? शायद मदनदेवले पनि यसरी नै कतै मेरो मानसिकता छामिरहेका त छैनन् ? दोष उनलाई पनि दिन्न विवशताले रचेको निदानप्रति कोही पनि सन्तुष्ट हुन सक्तैन । मैले पनि गल्ती गरेँ भनेर होइन, जोगाउन नसकेको स्थितिप्रति विरक्तिएर आफ्नैविरुद्ध दाह्रा किट्छु र झोकिन्छु । 

झण्डै दुई दशकअघिको कुरा हो । छोरीको बिहे थियो । सामाजिक व्यवहार चलाउनै पर्‍यो । इज्जतको प्रश्न एकातिर छ भने निर्वाह गर्नुपर्ने दायित्व अर्कातिर । उसमाथि प्रज्ञाप्रतिष्ठानको सहसदस्य भइखाएकोले ओहोदाको सम्मान नराख्नु कसरी ? बेचबेबिखन गर्ने किसिमको केही थिएन । सामुन्ने टेबिलमाथि शोभायमान थियो मदन पुरस्कारको चाँदीको पट्ट । दुबै आँखा त्यसैमा जोतिन पुग्छन् र बल्झन्छन् । अनि सोच्न थाल्छु – यसबाट केही त चाँदीको सामान बन्न सक्छ । यसलाई किन प्रयोग नगरुँ ? रह्यो कीर्तिको कुरा र आफूभन्दा ठूलो कीर्ति नै के छ र अर्को पुष्टि गर्ने जोहोको पछि लागिरहूँ ? अनि लगत्तै सुनको रत्नश्री पदक सम्झन पुग्छु । यो त झन सुन हो । त्यतैतिर आकर्षित मन लहसिँदै जान्छ । पूरै सुन नभए पनि केही त कसो नहोला । सिक्री बनाउने काममा अलिकति भए पनि सघाउ पुग्न सक्छ । अझ औँठी नै बनिदिए त झन् के चाहियो ? यति मात्रै पुगिदिए पनि कति ठूलो गर्ज टर्छ ! अनि त दुबै टिपेर झोछेको बाँडापसलतिर लागो । 

चाँदीको पट्टले राम्रै काम दियो । थपथाप गरी थाल बन्यो । रत्नश्री सुर्वण पदक बिगार्नचाहिँ मान्दै मानेन । यसको सुनले गाह्रोसाह्रो क्यै टर्दैन भन्ने उसको राय थियो । औँठीसम्म पुग्ला कि– सुस्तरी भनेँ । उ हाँस्छ र फर्काउन खोज्छ । कर गरेपछि हेर्छ अनि मेरै सामु आगोमा पोलेर बिगार्छ । त्यस्तै भयो, जस्तो उसले भनेको थियो । म खिस्रिक्क परेँ । लाजले शिर झुक्यो अबचाहिँ काम नभएकोमा भन्दा पदक बिगारेकोमा दुःख लाग्यो । अझ पदक बिग्रेकोमा भन्दा पनि काम नचलेकोमा दुःख लाग्न थाल्यो । यसभन्दा पनि दुबै नभइदिँदाको ग्लानिले अझ बढी सन्ताप लाग्छ र लज्जित हुन्छु । 

यसपछि जब एक्कासि फोटोको कुरा उठ्छ म झसङ्ग हुन्छु । मदनदेवको कानमा यसको छनक कसरी पुगेछ ? कसले भनेछन् उनलाई ? हैन भने भन्दै नभनेको कुरा अहिले आएर किन गरिन्छ र पदकसहितको फोटो माग्नुको कारण के हो ? तीर्थ दाइले त कतै  ...। उसले नभनी हामी दुईमा मात्र सीमित यो गोप्यता खुल्नै सक्तैन । थाहा पाएर नै हुनुपर्छ सोझै भन्न नसकेर फोटोको लागि यस्तरी हत्ते गरिरहेका । संकोचवश म यो कुरा उनलाई भन्न सक्तिनँ, संकोचवश नै होला उनी मलाइृ भन्न सकिरहेका छैनन् । यसकारण नै भेद बुझ्न फोटोको निउँ थापिरहेका छन् कि ? सोधूँ, कि नसोधूँजस्तो लाग्छ । थाहा नपाएका नै हुन् भने झन भेद खुल्छ । हुनसक्छ  थाहा नै छैन कि ? काकताली पनि त पर्न सक्छ, नत्र गुनासो  पोख्थे होलान् । दुःख मान्थे होलान् । पदकको अपमान भो भन्थे होलान् । तर क्यै भन्दैनन् । किन क्यै भन्दैनन्– थाहा छैन । मचाहिँ सम्मानको अवहेलना भएकोमा दोषी देख्न थाल्छु आफूलाई । थाहा पाएपछि मात्र अपराध ठहरिने नत्र नहुने समाजमा आफैप्रति इमान्दार हुन नसकेको पश्चातापले पोलिन थाल्छु । नदेखिने खराब काम पनि खराब नै हो । शायद यही पो गरेछु कि मैले ? अन्यथा यो बकपत्र लेख्नुपर्दैनथ्यो । बकपत्र जो यथार्थमा आफ्नै विरोधमा एक फिराद हो । 

थाहा छ– मदनदेवलाई यो कुरा निको लायोइन । थाहा छ– यो सुन्दा कमलमणिलाई राम्रो लागोइन । थाहा छ– मलाई राम्रो लागिरहेको छैन । तर बाध्यतामा मान्छे जे पनि गरिदिँदा रहेछन् । मैले पदक मासेर त्यही दोहोर्‍याइदिएँछु ।

सन्दर्भमा सोच्न थाल्छु– मान्छेहरु किन घर बेच्दा रहेछन्, खेत बेच्दा रहेछन्, गहना बेच्दा रहेछन् र यसरी आफ्ना बाबु–बराजुका श्रीसम्पत्ति बेचेर किन आफूलाई सकिदिँदा रहेछन् ! बेच्नै नपर्ने खण्ड नपरी कहाँ कसले बेचे र ? बेच्दाबेच्दै क्यै सिप नलागेपछि उनीहरु आफूलाई सुद्धबेचेर दास भइदिन्छन् तर बाँच्न खोज्छन् । यसरी नै मान्छेले इमान बेच्ने गरेका होलान्, धर्म बेच्ने गरेका होलान्, सतित्व बेच्ने गरेका होलान्, अनि आफ्नो भन्ने वस्तु क्यै नरहने गरी सर्वस्व बेचेर नाङ्गिदिन्छन् । अब बेच्ने बानी नै परिसकेछ कि कुन्नि, बेचबिखनको खुल्ला हाट लागेजस्तो छ । जताततै बेच्ने र किन्नेहरुको भीड लाग्ने गर्छ । यो एउटा पेशा बनिसक्यो रे । ओह !माथि माथि अझ माथि लाग्ने लोभमा हामी कसरी तल तल झने तल भर्दै गिरिरहेका छौँ ? 

गरिबीको रेखामुनि मात्रै छु भन्ठानेको त हैन रहेछ । अविश्वास, अनैतिकता, अधर्म र अवमूल्यनको पनि आ–आफ्नो रेखा हुँदोरहेछ । ती सीमाबाट गिर्दै गइरहेको रेखामुनि पो म रहेछु, मेरो समाज रहेछ, देश रहेछ ! ओह ! यसभन्दा पनि मुनि कतै अर्को रेखा छ, देश छ, कुनै ठाउँ छ जहाँ म बिलकुल नदेखिन सकूँ ? 

पुरस्कृत हुने विभुषणलाई म विशेषणसहितको सत्य भन्छु । अहिले मसँग पुरस्कारको दसी ठहरिने चाँदीको पट्ट पनि छैन, सुनको पदक पनि छैन । यो चाहिँ बिना विशेषणको सत्य हो । तिनीहरुलाई मनमा साँचेर राखेको छु । 

माटोमा सुन फलाउने मान्छे पनि एउटा फलाम नै हो । यो औजार पनि हुन सक्छ, हतियार पनि । चाँदीले मोडेर वा सुनले बेरेर जे नाउँ देउ भइदिन सक्छ । यसरी त्यो उठ्छ फलामबाट चाँदीमा, चाँदीबाट सुनमा र सुन–चाँदी लाउने हामी फलामका मान्छे यथार्थमा फलाम नै हौँ तर फला हुन चाहँदैनौँ र चाँदी, सुन नभईकन चाँदी बन्ने र सुन हुने रहरमा फलाम पनि हुन्नौँ, चाँदी–सुन पनि भएनौँ । हामी विशेषण मात्रै भयौँ । विशेषण मात्र भयौँ । विशेषणको जडी हाल्न नसकुञ्जेल कहाँ कसलाई आकर्षित गर्न सकिन्छ र ? विशेषणले विभूषित नहोइञ्जेल कहाँ को महान बने र ? मैले आजसम्म जे जे सिद्ध गर्न खोजेँ त्यसलाई विशेषणको संज्ञा दिन्छु । बिना विशेषणको सत्यदेखि मलाई डर लाग्छ । त्यो ज्यादै तीतो हुन्छ र त्यसदेखि यति चिढिइसकेका छौँ कोही सुन्नै चाहँदैनन्– रिसाइहाल्छन्, कोही मान्दै मान्दैनन्– झोक्किहाल्छन् । विशेषणको यस चहचहमा विशेषणै विशेषणले कुँदेर, पुरेर ढुंगालाई देउता बनाइदिएका छौँ, मूर्खलाई विद्वान, अदनालाई महान र वज्रस्वाँठलाई नेता । यसरी मान्छेलाई सजाइदिएका छौँ, समाजलाई सजाइदिएका छौँ, देशलाई सजाइदिएका छौँ । हामी केवल विशेषण हौँ र विशेषणै खाएरै ठूला भइदिएका छौँ र तिनै विशेषण भिरेर मुग्ध छौँ आत्मरतिका रोगीझैँ । अब ढुंगा शालिग्राम बनिसक्यो जस्तो मान्छे देउता बनिरहेछ, लाटा वाचाल र पाउडर बैंस । 
पाउडर पोतेर जवानी जोगाइराख्नेहरु उन्मत्ताको स्वागं रची चहचहाइरहेका हुन्छन् । यो उन्मत्तता स्वयं स्फूर्त बैंस होइन जसले बूढोसँग रत्तिने समथ्र्यसमेत गुमाइसकेको हुन्छ । यो त एक प्रकारको विशेषण मात्र हो । म पनि यही विशेषणले विभूषित मान्छे, म यही पुरस्कारले विभूषित विशेषण, जो चाँदी हुन खोज्छ, सुन हुन खोज्छ तर फालीसम्म बन्न सक्तैन ।

त्यसैले मदनदेव, कमलमणिहरुलाई नै पुरस्कार भनी छातीमा झुन्ड्याएको छु जो कहिल्यै बेचिन्नन् , कहिल्यै मासिन्नन् र कहिल्यै हरिन्नन् ।                                

साभार : रत्नश्री, वर्ष २६ अंक ५, २०४६

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया