MENU

राजनीति

Ncell Axiata

प्रदेश नम्बर २ मा दलहरुको चुनावी तयारी : कुन दलका नेता कहाँ ?

लक्ष्मण शर्मा/उज्यालो ।

काठमाडौं, साउन २२ – आठ जिल्लाका १ सय २७ स्थानीय तह रहेको प्रदेश नम्बर २ मा असोज २ गते चुनाव हुँदैछ । तेस्रो चरणमा हुन लागेको स्थानीय तह चुनावलाई आफ्नो पक्षमा पार्नको लागि सवै दलहरु अहिले प्रदेश नम्बर २ मा केन्द्रित भएका छन् । 

सय तहमा विजयी हुन कांग्रेसले सबै संयन्त्रको प्रयोग गर्ने

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा कांग्रेसले यसपटक तीव्र रुपमा चुनावी तयारी गरेको छ । यसका लागि प्रचारप्रसारको भरपर्दो व्यवस्थासहित संगठन परिचालनलाई पनि निकै प्राथमिकता दिएको छ । सभापति शेरबहादुर देउवाले तेस्रो चरणको चुनावलाई प्राथमिकतामा राख्दै उम्मेदवार चयन छिटै गर्ने बताउनुभएको छ ।

प्रदेश नम्बर २ को चुनावमा राम्रो नतिजा निकालेर पार्टीलाई लयमा फर्काउन भन्दै कांग्रेसले यसपटक सरकारमा प्रदेश नम्बर २ बाट तीनजनालाई मन्त्री बनाएको छ । बाराबाट फरमुल्लाह मन्सुर, धनुषाबाट रामकृष्ण यादव र महेन्द्र यादवलाई मन्त्री बनाएको छ । 

चुनावलाई केन्द्रित गरेर नेपाली कांग्रेसको प्रदेश नम्बर २ का अगुवा कार्यकर्ताको भेला विहीबार जनकपुरमा भएको छ । चुनावको तयारीका लागि  जनकपुरमा अगुवा कार्यकर्ता भेला गरिएको कांग्रेसले जनाएको छ । भेलालाई पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता विमलेन्द्र निधि लगायतका नेताले संबोधन गरेका थिए । उनीहरु केही दिन त्यहाँ हुने चुनावी कार्यक्रममा सहभागी हुने कांग्रेसले जनाएको छ । 

यसअघि दुई चरणका चुनावमा सोचेजस्तो परिणाम ल्याउन नसकेको कांग्रेसले प्रदेश नम्बर २ को चुनाबमा पहिलो पार्टी बन्ने भन्दै चुनावी अभियानलाई तिव्रता दिएको छ ।

प्रदेश नम्वर २ मा एमालेको पहिलो प्रतिस्पर्धी कांग्रेस

एमालेले प्रदेश नम्बर २ को ७० प्रतिशत स्थानमा कांग्रेससँगै प्रतिस्पर्धा हुने आँकलन गरेको छ । तर पर्सा, सर्लाही, रौतहट, सिरहा, सप्तरी र महोत्तरीका ३० भन्दा बढी स्थानीय तहमा राजपा, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक नेपाल मुख्य प्रतिस्पर्धीका रूपमा रहने एमालेको विश्लेषण छ । एमालेले चुनावलाई केन्द्रित गरेर आफना नेताहरुलाई विभिन्न जिल्लामा खटाएको छ । एमालेका महासचिव ईश्वर पोखरेल बारा र धनुषा, प्रचार विभाग प्रमुख योगेश भट्टराई धनुषाको चुनावी कार्यक्रममा खटिनुभएको छ । एमाले सचिव विष्णु पौडेल पर्सामा हुनुहुन्छ भने एमाले नेता घनश्याम भुसाल रौतहट, नेता प्रदीप ज्ञवाली सिरहा र सर्लाही, गोकर्ण विष्ट सिरहा, पृथ्वी सुब्बा गुरुङ महोत्तरी, भीम आचार्य सप्तरीमा खटिनु भएको छ । 

आउँदो असोज २ मा हुने प्रदेश नम्बर २ को स्थानीय तहको चुनावी तयारीका लागि एमाले महासचिव ईश्वर पोखरेलसहितका पदाधिकारी जिल्लामा खटिएका छन् । उनीहरू एक सातादेखि प्रदेश नम्बर २ का आठ जिल्लाका बैठक, भेलालगायतका चुनावी कार्यक्रममा व्यस्त छन् । नेताहरूले जितका लागि सुक्ष्म अध्ययन गरेर प्रतिवेदन तयार गर्ने एमालेले जनाएको छ । त्यसका आधारमा एमालेले चुनावी रणनीति तय गर्नेछ । २ नम्वर प्रदेशका धेरै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको एमालेले जनाएको छ । 

पहिलो र दोस्रो चुनावको क्षति २ नम्बर प्रदेशबाट लिने माओवादीको योजना

माओवादी केन्द्रले पहिलो र दोस्रो चरणको चुनावमा व्यहोरेको क्षति प्रदेश नम्बर २ बाट पूर्ति गर्ने योजनासहित रणनीति बनाएको छ । यसै योजना अनुसार चुनाव अवधिभर पार्टी केन्द्रीय कार्यालयसमेत प्रदेश नम्बर २ बाटै सञ्चालन गर्ने निर्णय माओवादी केन्द्रले गरेको छ । 

जनकपुरमा नेता कार्यक्रता भेला गरेको माओवादी केन्दले ८० प्रतिशत उम्मेदवार सर्वसम्मत चयन गरेको जनाएको छ । चुनाव प्रसार कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्डदेखि सबै शीर्ष नेता परिचालित गर्ने माओवादीको तयारी छ । माओवादी केन्द्रका नेता प्रभु शाह चुनावी प्रचारका लागी रौतहटमा हुनुहुन्छ, अध्यक्ष प्रचण्ड सिरहा जादै हुनुहुन्छ भने अरु नेता पनि आठ जिल्लामा नै जाने तयारी गरेका छन । 

साना दलको सक्रियता

दुई चरण चुनावमा अनपेक्षित हार बेहोरेको राप्रपा अध्यक्ष कमल थापा तेस्रो चरण चुनावलाई केन्द्रित गरेर प्रदेश नम्बर २ का विभिन्न जिल्लाको भ्रमण सकेर बिहीबार फकर्नुभएको छ । साउन १५ गतेदेखि १९ गतेसम्म उहाँ चुनाव केन्द्रित विभिन्न कार्यक्रम र भेलामा सहभागी हुनुभएको थियो । 

पहिलो र दोस्रो चरण चुनावमा भाग लिएको संघीय समाजवादी पार्टी आफनो बलियो पकड क्षेत्र मानिने २ नम्बर प्रदेशमा केन्द्रित छ । उसले विभिन्न चुनावी कार्यक्रम गरिरहेको छ । 

नेपाल लोकतान्त्रिक फोरमले चुनावमार्फत पार्टीलाई अझ सशक्त बनाउने रणनीति बनाएको छ । पार्टीको प्राथमिकता एकल प्रतिस्पर्धामा बढीभन्दा बढी सिट कसरी जित्ने भन्ने रहेको लोकतान्त्रिकले जनाएको छ । त्यसैले लोकतान्त्रिक फोरम चुनाव केन्द्रित कार्यक्रममा व्यस्त छ । 

पहिलो चरण चुनाव बहिष्कार गरेको राष्ट्रिय जनता पार्टीका स्थानीय नेता दोस्रो चरण चुनावमा स्वतन्त्र रुपमा उठेर उनीहरुले चुनाव जितेपछि दबाबमा परेको राजपा आन्तरिक रुपमा चुनावमा भाग लिने तयारी गरेपनि उसले सरकारले संविधान संसोधन नगरे चुनावमा सहभागी नहुने बताउँदै आएको  छ  । राजपा स्थानीय तहमा विभिन्न कार्यक्रम गरेर पार्टी प्रवेश कार्यक्रम गरीरहेको छ अन्य दलजस्तो प्रचार प्रचारमा भने हिँडेको छैन । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया