MENU

समाज

Ncell Axiata

विदेशमा साहुले 'कुकुर्नी' बनाए, समाजले बिग्रेकी केटी (श्रृंखला ५)

सन्जिता देवकोटा/उज्यालो ।

काठमाडौं, साउन २२ – ‘तँ बुढिकन्या हुने भइस्, लाहुर गएर आएकी तँलाई कसले बिहे गर्छ,’ विदेशबाट फर्केर आएपछि आफ्नै काकीले भोजपुरकी उर्मिला (नाम परिवर्तन)लाई यस्तो वचन लगाइन् । काकीले यस्तो वचन लगाउलिन भन्ने उनले एक मनमा पनि सोचेकी थिइनन् । काकीले मात्र हैन गाउँका अरुले पनि उर्मिलालाई यस्तै  व्यवहार गरे ।

२०६९ सालमा कतार गएकी उर्मिला २७ महिना पछि घर फर्केकी थिइन् । उनी घरेलु काममा कतार गएकी थिइन् । उर्मिला पनि अरु जस्तै कमाउनकै लागि परदेश गएकी थिइन् । कमाउन गएका अरु लोग्ने मान्छे विदेशबाट फर्कंदा गाउँलेले स्वगत गर्थे । तर उनी फर्कंदा अर्कै ग्रहबाट आएको मान्छेलाई झैं व्यवहार गरे ।

सात जना दिदीभाइमध्ये काँइली छोरी उर्मिलाले गाउँमै एसएलसीसम्म पढिन् । त्यसपछि परिवारको पढाउन सक्ने अवस्था थिएन् । उर्मिलाले इटहरी नजिकैको शहरमा बसेर पोते उन्ने काम गर्थिन् । सँगै काम गर्ने साथीले विदेशमा धेरै कमाइ हुन्छ भनेपछि उनी विदेशमा हुने कमाइको लोभमा विदेश गएकी थिइन् ।

२७ महिना कतारमा काम गरेर फर्कदा सबैले गरेका व्यवहारले उनलाई विदेश गएरै ठूलै पाप गरेछु भन्ने लाग्यो । उनलाई अहिले पनि विदेश गएरै ठूलै गल्ती गरेछु भन्ने लागिरहन्छ । विदेशमा सहेका सुखदुःखबारे उनलाई कसैले सोधेनन् । फेरि विदेशबाट फर्कना साथ बिहेकै बारेमा गाउँलेले त्यतिधेरै किन सोचे भन्ने उनले बुझिनन् । उनलाई विदेशमा रोजगारी गरेर फर्किएकै कारण अहिलेसम्म भोग्नुपरेका अनेकौं आरोप र व्यवहार देख्दा केटी मान्छे विदेश जानु भनेकै बिग्रनु हो भन्ने जस्तो लाग्छ । 

तीन वर्ष कान्छो केटोसँग बिहे

सबैले गरेका यस्ता व्यवहारले उर्मिलालाई बिहे गर्ने मन पनि थिएन् । सात जना दिदीभाइ मध्ये बिहे गर्न बाँकी उनै उर्मिला मात्रै थिइन् । एकदिन नातामा काका पर्नेले उर्मिलासामु बिहेको कुरा ल्याए । केटा उर्मिला भन्दा ३ वर्ष कान्छो थिए । उर्मिलाले आफ्नो बारेमा र गाउँलेले गर्ने व्यवहारबारे केटालाई बताइन् । ती केटा उर्मिलासँग बिहे गर्न मन्जुर भए । ‘उहाँलाई म भन्दा पनि मैले गरेका दुःख मन पर्यो  रे,’ उर्मिलाले भनिन्, ‘त्यसैले केटो आफू भन्दा कान्छो भएपनि बिहे गरियो ।’

२०७२ साल मंसिरमा कतारबाट आएकी उर्मिलाको माघमा बिहे भयो । विदेशमा बिग्रेकी केटीलाई कसले बिहे गर्छ भन्ने समाजको अघि उनको बिहे भयो । समाजका मान्छेले बिग्रिएर फर्किएको आरोप लगाएपनि उनको श्रीमान्लाई उर्मिला विदेशबाट फर्किएकोमा कुनै आपत्ति थिएन । 

गर्भ खेर गयो, कुरा काट्ने मेलो पाए गाउँलेले 

उनको वास्तविकता स्वीकार गर्ने श्रीमान् मात्रै थिए । श्रीमानले राम्रो व्यवहार गरेपनि परिवारका सदस्यले भने माइती गाउँकाले गर्ने भन्दा फरक व्यवहार गरेनन् । एक्लो सहारा बनेका श्रीमान् बिहे भएको २ महिना पछि विदेश गए । त्यसपछि उनको जीवनमा अनेक उतारचढाव आए ।

श्रीमान् विदेश जाँदा गर्भवती रहेकी उर्मिलाको केहिदिन पछि गर्भ खेर गयो । के निहुँ पाउँ भन्दै बसेका आफन्त र छिमेकीलाई अरु के चाहियो र । कुरा काट्ने खुराक पाए । ‘बुढो विदेश गएपछि, गह्रौं बोक्नै पर्‍याे, साइकल पेल्न पर्‍याे । तर अरुले विदेशमा ज्यान बिगारेर बच्चा खेर गएको भने । उर्मिलाले मसिनो स्वरमा भनिन्, ‘गर्भ खेर गएपछि मलाई जिन्दगी नै बेकार भएजस्तो लाग्यो ।’

गर्भ खेर गएपछि उनलाई सबैले खराब भने । एक त विदेशमा बिग्रेकी भन्थे, त्यसमाथि गर्भ खेर गएपछि साँच्चै बिग्रिएको प्रमाणित भए झैं गरे समाजका मानिसले । उनलाई गाउँघरमा अनुहार देखाएर हिँड्न पनि अप्ठेरो भयो । त्यसै त गर्भ खेर गएपछि गलेकी उर्मिला सबैले गर्ने व्यवहार र घृणाले झनै गलिन् । सुखदुःखमा साथ दिने श्रीमान् पनि सँगै थिएनन् । 

२ वर्ष पछि गएको वैशाखमा उनका श्रीमान् नेपाल फर्किए । २ महिनाको छुट्टि पछि उनी फेरि मलेसिया फर्किएका छन् । प्लम्बरको काम गर्ने उनको श्रीमानको कमाइ पनि राम्रो छ ।

केही गर्ने उर्मिलाको आँटमा श्रीमानले मलजल त गरेका छन्, तर उनलाई समाजमा बसेर अघि बढ्न त्यति सजिलाे छैन । पहिलो गर्भ खेर गएपछि पनि उनले गरेको प्रगतिले समाजको मुखमा बुझो त लाग्यो, तर दोस्रो पटक पनि गर्भ खेर गएपछि भने फेरि समाजले गर्ने व्यवहार उही भएको छ । 

उनलाई पनि पटकपटक गर्भ खेर जाँदा दिक्क लागेको छ । तर उनलाई विदेश गएकै कारण गर्भ खेर गयो जस्तो लाग्दैन् । उनको कुरामा श्रीमान् पनि सहमत छन् । उर्मिला लगातार बच्चा खेर गएपछि निरास छिन् । तर उनलाई श्रीमानले सम्झाउछन् । उर्मिलाले भनिन् ‘बुढोले त हाम्रो बच्चा हुनै पर्छ भनेका छैनन् ।’

श्रीमानले त्यसो भनेपनि उर्मिलाको चित्त बुझ्दैन् । सासुससुराले छोराको अर्को बिहे गरिदिने भन्दा उनलाई छटपछि हुन्छ । स्वर मधुरो पारेर उर्मिला बोलिन्, ‘ मेरो बच्चा नहोला जस्तो छ, श्रीमानको बिहे अर्कैसँग गरिदिने हुन कि भन्ने डर लाग्छ ।’

उर्मिलाको कतार यात्रा 

विदेशमा पनि उर्मिले दुःख पाइन् । घर फर्किएपछि पनि उनलाइ भाग्यले ठग्यो । १० कक्षा पढेर धरान झरेकी उर्मिला पोते उन्ने काम गर्थिन् । सँगै काम गर्ने साथीका आफन्तले विदेशको लोभ देखाए । विदेशमा धेरै कमाइ हुने भएपछि उनले दलाललाई ४० हजार रुपैयाँ बुझाइन् । तर ती दलालले कतार पुर्‍याएनन् । 

आजभोली भन्दै दलालले चार महिना दिल्लीमा थुनेर राखे । दिल्लीको चार महिनाको बसाइ पशुको झैं थियो । चार महिना पछि उर्मिला सहित धेरै जना त्यहाँबाट भागेर नेपाल आए । उर्मिला भोजपुर गइनन् । काठमाडौंबाटै अर्को दलालले उनलाई त्यसको १५ दिनमा कतार पठाए । कम्पनीको काममा ११ सय रियाल मासिक तलव भनेर उनलाई घरेलु काममा पठाए ।

घरको काम, साहुसाहुनीको पिटाई 

उर्मिला घरबाट हिँडेको पाँच महिनामा कतार पुगिन् । १० कक्षा पढेपनि उनले परदेशमा भाँडा माझ्न नजान्दा कुटाइ सहनु पर्योम । साहुका छोरीहरुले नराम्रो व्यवहार गर्थे । कुटाई खान उनले कुनै गल्ती गर्नु पर्दैनथ्यो । उर्मिलालाई ती दिन सम्झदा अझै पनि शरीर दुखेको महसुस हुन्छ । 

उनले पेटभर खान पनि पाइनन् । भोको पेटमा कसरी काम गर्नु । काम गर्न नसक्दा साहुसाहुनीले तल्लोस्तरको शब्द प्रयोग गरेर गाली गर्थे । ‘साहुनी र उनका छोरीहरुले काम गर्न नसक्ने, खान नपाएर आएकी, कुकुर्नी भनेर गाली गर्थे । पहिले त के भनेका हुन् केही बुझिन, भाषा बुझेपछि म त कत्ति रुन्थें, उर्मिलाले सुनाइन् । 

उनलाई घरमा फोन गर्न दिइन्नथ्यो । केही सामान फुटेपनि उनकै तलवबाट काटिन्थ्यो । वासिङ मेसिन बिग्रदा उनको एक महिनाको तलव काटियो । त्यसपछि उर्मिलाले काम गरिनन् । यति भएपछि उनलाई साहुले घर पठाइदिए । 

र श्रीमानको साथ 

‘कुकुर्नी’ बनेर परदेशमा गरेको दुःख श्रीमानले त बुझे, तर समाजले बिग्रिएर आएकी केटीको उपमा दिए । गर्भ खेर गएको केही समयसम्म उनलाई निकै गाह्रो भयो । तर उनले हिम्मत हारिनन् ।

कतारको २७ महिनाको कमाइले उनले सुनसरीमा घडेरी किनिन् । श्रीमानले मलेसियामा कमाएको पैसाले तीनकोठे घर पनि बनाइन् । समाजले बिग्रेकी भनेपनि उनको घर धानिरहेकी छिन् । सात समुन्द्र पारी बस्ने श्रीमानको साथले उनलाई समाजसँग लड्ने अाँट दिएकाे छ । अाखिर त्यै समाजमा बसेर जिउनु त छँदैछ । 

याे पनि पढ्नुहाेस्

बुढेसकालमा विदेश गएँ, फर्केर आउँदा छोराले भन्छ ‘आमा तिमी खराब हौ’ (श्रृंखला ४)

साउदीबाट फर्किएकी उषाको वेदना : घर, कमाई र ईज्जत सबै डुब्यो (श्रृंखला – ३)

कुवेतबाट गर्भमा ल्याएकी छोरी तीन वर्ष पुगिन्, बिहे गर्छु भनेर माया लाएका प्रेमी फर्केनन् (श्रृंखला – २)

सिरियाबाट उद्धार गरेको दुई वर्ष नपुग्दै सकियो सुनिताको जीवन (श्रृँखला–१)

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • तिहारको लागि माटो लिन जाँदा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

    सप्तरी, असोज ३१ – तिहारको लागि घर आँगन लिपपोत गर्नका लागि माटो लिन गएकी सप्तरीको बेल्ही चपेना गाउँपालिका वडा न. ४ की एक महिलाको मंगलबार बेलुका माटोको ढिस्कोले पुरिएर ज्यान गएको छ ।

  • डोटी बस दुर्घटना : ३ जनाको मृत्यु, २४ घाइते

    डडेल्धुरा, असोज ३१ – भिमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका-१ घोरणीमा दुई यात्रुवाहक बस ठोक्किँदा ३ जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन् ।

  • यी हुन् बालकलाई गोली हान्ने ३ अभियुक्त

    सोलुखुम्बु, असोज ३१ – जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले १३ वर्षका बालकलाई भरुवा बन्दुक प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रहेका व्यक्तिहरुलाई मगंलबार सार्वजनिक गरेको छ ।

  • जता गए पनि नेपाली पर्यटक : होटल र पर्यटन व्यावसायीलाई मालामाल

    स्वर्गकी अप्सरा उपनामले चिनिने रारामा २/३ वर्षअघिसम्म नेपालीहरु खासै देखिँदैनथे । रारा नेपालीको पहुँचबाट टाढै छ भन्ने मान्यता थियो । तर अहिले दसैँपछि मात्रै ५ हजार भन्दा धेरै नेपाली राराताल पुगेका छन् । जबकी विदेशी पर्यटकको संख्या ५ सय पनि पुगेको छैन् ।

  • कैदीलाई कारागारमै टिभी

    लमजुङ, असोज ३१ – जिल्ला कारागार लमजुङमा रहेका कैदीबन्दीलाई टेलिभिजन प्रदान गरिएको छ । कारागारमा रहेका कैदीबन्दीलाई सुसूचित गराउन दुई वटा टेलिभिजन प्रदान गरिएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया