MENU

राजनीति

Ncell Axiata

भरतपुरको नालिबेली : कसरी जितिन् रेणुले ?

राधेश्याम खतिवडा/उज्यालो । 

चितवन, साउन २२ – भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले आफूलाई भरतपुरका बासिन्दाले जिताए पनि राज्य सत्ताको दुरुपयोग गरी षडयन्त्र र जालझेल गरेर हराएको बताउनुभएको छ । १९ नम्बर वडामा साउन २० गते दोश्रोपल्ट भएको मतदानपछि नेकपा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालसँग २ सय ३ मतले मेयरमा पराजित भएका ज्ञवाली पहिलाकै चुनाव अनुसार सरासर मतगणना भएको भए २ सय ५० भन्दा बढी मतले विजयी हुने देखिएको थियो । 

आफूले सोचेजति मत नआएपछि नेकपा माओवादी केन्द्रका प्रतिनिधिले १९ नम्बरको मतपत्र च्यातेपछि त्यहाँ सर्वोच्च अदालतको आदेश अनुसार पुन चुनाव हुँदा ज्ञवाली पछि पर्नुभएको हो । दाहालले ४३ हजार १२७ तथा ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गर्नुभएको थियो ।

‘नागरिकले २ सय ६० मतले जिताएका मलाई, सत्ताको दुरुपयोग गरेर षडयन्त्रपूर्वक हराइयो’ ज्ञवालीले दुखेसो पोख्नुभयो । जनतालाई आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न खोज्दा अनेक जालझेल, षडयन्त्र र राज्यसत्ताको दुरुपयोग गरिएको आरोप लगाउँदै ज्ञवालीले चुनाव हारे पनि मतदाताको मन जितेको बताउनुभयो । 

‘पराजय हुने भएपछि मतपत्र च्यात्न लगाइयो र राज्य सत्ताको चरम दुरुपयोग गरी मलाई हराइयो’ ज्ञवालीले भन्नुभयो ‘षडयन्त्र कार्यान्वयन गर्नका लागि जनताको बीचमा राज्यको स्रोतसाधनको व्यापक दुरुपयोग गरियो ।’ २७ वटा वडाको मत गणना सकिएर १९ नम्बरको गणना भइ रहँदा जेठ १४ गते मध्यरातमा गणनामा बसेका माओवादी प्रतिनिधिहरुले मतपत्र च्यातेका थिए । जसका कारण भरतपुर १९ मा शुक्रबार फेरि मतदान भएको थियो ।

मतपत्र च्यातेको आरोपमा प्रहरीले तत्कालै माओवादी केन्द्रका गणना प्रतिनिधिहरु मधु न्यौपाने र द्रोणबाबु सिवाकोटीलाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनीहरु जनही एक एक लाख रुपैयाँ धरौटीमा रिहा भएर रेणु दाहालका लागि भोट माग्न १९ नम्बर वडामा नै खटिएका थिए ।

चुनाव जित्नका लागि माओवादीले करोडौँ रुपैयाँ खर्च गरेको दावी गर्दै उहाँले भरतपुर १९ मा दोश्रो पल्ट भएको मतदानको अघिल्लो दिन रेणु दहालकै उपस्थितिमा पैसा बाँडिएको र त्यसको जानकारी स्थानीय प्रशासनलाई गराउदा  पनि कुनै सुनुवाई नभएको उहाँले बताउनुभयो । 

भरतपुरका बासिन्दाबाट पाएको सदभाव र समर्थनको सम्मान गर्दै उनीहरुका पीरमर्का र समस्या समाधानमा लागि पर्ने उहाँले बताउनुभएको छ । 

परिवारलाई समेत फसाइयो

आफ्नो बेइज्जत गर्दै नागरिकमा भ्रम फैलाउने काम भएको दावी गर्दै ज्ञवालीले चुनाव जित्न परिवारलाईसमेत फसाउने षडयन्त्र भएको बताउनुभयो । आफूलाई फसाउन नसकेपछि चुनावको २ दिनअघि छोरा निरबलाई साइबर अपराधको मुद्दा लगाएर भ्रम फैलाउने र दुःख दिने काम भएको बताउनुभयो । चुनावमा मत्र च्यातेपछि फेसबुकमार्फत रेणु दाहाललाई अपशब्द प्रयोग गरेको भन्दै प्रहरीले निरबलाई पक्राउ गरेको थियो । पछि निरब धरौटीमा रिहा हुनु भएको थियो । 

कांग्रेस माओवादीको गठबन्धन

वैशाख ३१ गते भएको चुनावका लागि नेपाली कांग्रेसले दिनेश कोइरालालाई मेयरमा र पार्वती शाहलाई उपमेयर उठाएको थियो । तर पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरी रेणुलाई जिताउन कांग्रेससँग तालमेलको प्रस्ताव राख्नु भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबिच मेयरमा रेणु दाहाललाई र उपमेयरमा शाहलाई उम्मेदवार बनाउने  सहमति भयो । विवाद र चितवनका कांग्रेसका कार्यकर्ताको चर्को आलोचनाकाबिच कांग्रेसका मेयर उम्मेदवार कोइरालाले उम्मेदवारी फिर्ता लिनुभयो । 

रेणुलाई जिताउने राणनीति अनुसार बनेको तालमेल मेयर र उपमेयरका लागि मात्र भएको थियो । वडा अध्यक्ष र वडा सदस्यमा माओवादी र कांग्रेसका आ–आफ्नै उम्मेदवार थिए । 

मेयरमा निर्वाचित दाहालले ४३ हजार १२७ मत ल्याएर निर्वाचित हुनुभयो भने उपमेयरमा शाहले ४७ हजार १ सय ९७ मत ल्याउनुभयो । उपमेयरमा एमालेकी दिव्य शर्मा आचार्यले ३९ हजार ५२५ मत मात्र ल्याउनुभयो । 

मतपत्र च्यातिएपछिको विवाद

वैशाख ३१ गते भएको चुनावपछिको मतगणनामा १९ नम्बर वडाको मतगणना सकिँदासम्म अग्रता बनाउने माओवादी केन्द्रको दावी थियो । तर १९ नम्बरमा सोचे जस्तो मत आएन र माओवादी प्रतिनिधिले मतपत्र च्याते । त्यसपछि नेपाली कांग्रेस र नेकपा माओवादीले फेरि मतदान गर्न माग गरे । 

फेरि मतदान हुँदा आफू हार्ने निष्कर्षमा पुगेको नेकपा एमालेले निर्वाचन आयोग तथा सरकारलाई च्यातिएका मतपत्र बदर गरेर बाँकी मत गणना गर्न दवाव दियो । 

तर निर्वाचन आयोगले मतगणना गर्न नमिल्ने भन्दै फेरि चुनाव गर्ने निर्णय गर्‍यो । त्यो निर्णय विरुद्ध १९ नम्बरकै एमालेका उम्मेदवार गुञ्जमान बिकले सर्वोच्च अदालतमा मुद्दा हाल्नुभयो । मुद्दामाथिको लामो सुनुवाई पछि सर्वोच्चले फेरि मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्‍यो । अदालतको आदेश मान्नुको बिकल्प थिएन । त्यसैले एमालेले १९ नम्बरमा फेरि चुनाव गर्ने निर्णय मान्यो । फेरि चुनाव हुँदा एमालेलाई जुन नतिजाको डर थियो अन्तत त्यहि नतिजा आयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया