MENU

विचार/अनुभूति

Ncell Axiata
NIC Asia

सडकका खाल्डामा परेर कति मान्छे मरेपछि शहर स्मार्ट हुन्छ ?

उपेन्द्रराज पाण्डेय –

देशकै राजधानीमा खाल्डोमा डुबेर बालिकाको ज्यान जान्छ । विद्यालयबाट घर फर्किरहेकी बालिका ढलमा बग्छिन् । सिरहामा एकजना बालकको खाल्डोमा डुबेर ज्यान जान्छ ।  यी घटना सेलाउन नपाउँदै शनिबार रौतहटमा खाल्डोमा डुबेरै एकै परिवारका चार बालिकाको ज्यान गयो । सडकका खाल्डामा जमेको पानीमा डुबेर यो बर्खामा मात्रै ११ जना बालबालिकाको ज्यान गएको छ ।

के यही हो हाम्रा जनप्रतिनिधिले  कल्पना गरेको स्मार्ट सिटी ? सडकमा भएका खाल्डा पुर्न के हामीलाई स्मार्ट सिटी नै चाहिने हो ? गुडिरहेको कार कति बेला कुन खाल्डोमा पर्ने हो थाहा छैन ।  गुडिरहेको मोटरसाइकललाई कहाँनिरको ढलले बगाउने हो थाहा हुँदैन । भैँसी डुब्ने खाल्डा भए पछि सहर स्मार्ट हुने हो ?

भर्खरै सम्पन्न स्थानीय चुनावमा जनप्रतिनिधिहरुले स्मार्ट सिटीको कुरा निकै नै उठाए ।  गाउँपालिकादेखि महानगरपालिकासम्मलाई स्मार्ट सिटी बनाउने वाचा चुनावअघि पनि गरे, चुनाव जितेपछि पनि गरे ।

काठमाडौं महानगरपालिका नवनिर्वाचित मेयरले काठमाडौंलाई एक सय दिनमा विश्वकै नमुना शहर बनाउने घोषणा गर्नुभयो । उहाँले घोषणा गरेको मिति घर्कँदै गएको छ । उहाँको घोषणा अनुसार त केही दिन मात्र बाँकी छ काठमाडौं विश्वकै नमुना शहर बन्न । अब कति नागरिकले ज्यान गुमाएपछि काठमाडौं विश्वकै नमुना बन्ने हो ?

सडकमा खाल्डै खाल्डा भएपछि शहर नमुना बन्ने हो भने भो अब यहाँभन्दा नमुना नबनाऔँ हाम्रा शहरलाई । अहिले नै पनि विश्वकै नमुना त छन् हाम्रा शहर । विश्वमा कुनै शहर छ होला र जहाँ गुड्दा गुड्दैको कार खाल्डोमा पर्ने ? गुडिरहेको मोटरसाइकल ढलले बगाउने ? विद्यालय गएर फर्किरहेका विद्यार्थीलाई ढलले बगाउने ? यस्तो नमुना शहर त मैले गुगलमा खोजेँ कतै भेटिन । तपाईँले भेट्नुभयो भने मेरो अल्पज्ञान रहेछ भनेर मानुँला ।  मेरो जानकारीमा भएसम्म हाम्रा शहर त विश्वकै नमुना हुन् ।

स्मार्ट सिटी त सूचना प्रविधिको सहायताले सूचना प्रणालीमा चुस्त, गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालय, पुस्तकालय, अस्पताल, खानेपानी सेवाको सहज आपूर्ति तथा समुदायमा अन्य सेवाहरु उपलब्ध भएपछि मात्र हुन्छ । तर हाम्रोमा गफ ठूला–ठूला गर्ने तर सिन्को नभाँच्ने प्रवृत्ति मौलाउँदै गएको छ । पहिले सडकका खाल्डा त पुरौँ । विद्यालय गएर आफ्ना छोराछोरी घर फर्कन्छन् कि फर्कनन्न् भन्ने आशंका त मेटाऔँ । सडकलाई खाल्डाबाट सडकमा रुपान्तरण त गरौँ । अनि कुरा गरौँला स्मार्ट सिटी, मेट्रो रेल र स्काई रेलको कुरा । फेरि स्काई रेल र मेट्रो रेल गुडेपछि सडक नै नचाहिने पनि त होइन होला ।

कहिलेसम्म सपनाको संसारमा हामीलाई उडाउनुहुन्छ ? तपाईँहरुका गाडी पनि त यही सडकमा गुड्ने हो नि होइन र ? कि आफूलाई परेपछि मात्र सडक मर्मत सम्भार गर्ने हो ? हाम्रा सडकका खाल्डा राष्ट्रियकरण मात्रै होइन, अन्तर्राष्ट्रियकरण पनि भइसकेका छन् । अब संयुक्त राष्ट्रसंघमै चाहिँ नउठोस हाम्रा सडकका खाल्डाका कुरा ।

पासो थापे झैँ छन् हाम्रा सडक । त्यो पासोमा को कहिले पर्ने हो भन्न सक्ने अवस्था छैन । काठमाडौंमा मात्रै होइन, देशका अन्य सहरको हालत पनि त्यस्तै छन् । काठमाडौं जस्तै स्मार्ट छन् अन्य शहरहरु पनि । आखिर बनेको केही समयमै खाल्डा बन्ने कस्तो सडक बनाउँछौँ हामी ? कसले लिने हो यसको जिम्मेवारी ? क्षतिपूर्ति कसले दिन्छ ? के यसलाई भवितव्य भन्न मिल्छ र ? सडकमा हिँडिरहेको नागरिकको खाल्डामा परेर ज्यान जान्छ भने त्यसको क्षतिपूर्ति पैसाले गर्छ र ?

खाल्डोमा डुबेर ज्यान गुमाउने अवोध बालबालिका बाबुआमाका मात्रै होइनन्, देशकै भविष्य थिए । हामीले हाम्रा सम्भावनाहरुलाई कहिलेसम्म खाल्डोमा पुर्ने हो ? कसले दिन्छ यी सबै प्रश्नको उत्तर ? कसले हो खाल्डो पुर्ने ? सरोकारवाला निकायमा बसेकाहरु कहिलेसम्म संवेदनहीन बन्ने ? फेरि पनि भन्छु, स्मार्ट सिटी र रेलका कुरा छोड्नुस्, पहिले खाल्डाका कुरा गर्नुस् । सडकलाई सडक भन्न मिल्ने बनाउनुहोस् । हिँड्दा हिँड्दै खाल्डोमा हामी नपर्ने सडक बनाउनुहोस् । अनि गरौँला स्मार्ट सिटीका कुरा, स्काई रेलका कुरा, अनि मेट्रो रेलका कुरा ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • कांग्रेस हार्‍यो, तर देउवा र देशले हारेनन्

    यो सफलताले यसअघि देउवामाथि लाग्दै आएको ‘असक्षम’ र ‘भर पर्न नसकिने’ नेताको उपनाम च्यातिएको छ । नेतृत्वकर्ताका हैसितमा सम्बन्धित पार्टीलाई चुनावमा सफलता दिलाउन सक्नु नेतृत्वकर्ताको पहिलो कर्तव्य हो । तर, योपटकको चुनावमा देउवा त्यो दायित्व पूरा गर्न चुके पनि देशप्रतिको दायित्व पूरा गर्नुभएको छ ।

  • किन हार्यो कांग्रेसले ?

    तर यसपटकको चुनावको जुन नतिजा आएको छ त्यो नेपाली कांग्रेसको दुर्भाग्य हो । नेतृत्व तहमा बस्नेले अरुको कुरा सुन्नुपर्छ भनेर कानमा कपास कोचेपछि हामी जस्ता प्रजातन्त्रको शुभेच्छक सामान्य व्यक्ति (जसलाई भुसुनाको रुपमा हेर्ने चलन छ ) राम राम भन्नु बाहेक अरु के पो गर्न सकिदो रहेछ र ?

  • चुनावका लागि दिइने चन्दाले देशलाई पार्ने दीर्घकालीन असर

    अहिले राजनीतिक दलहरुले चुनावलाई लक्षित गरी चन्दा उठाइरहेका छन् र त्यस्तो चन्दाको स्रोत उद्योगी व्यवसायीलाई बनाइरहेका छन् । चन्दा दिनेले पनि आफ्नो घर घरनाबाट दिने त होइन, आफ्नो बाउ बाजेको सम्पत्ति बेचेर त कसैले पनि दिँदैनन् ।

  • तपाई मधुमेहको बिरामी हुनुहुन्छ ? भान्छामा छुट्टै खाना बनाउनु पर्दैन

    रगतमा ग्लुकोजको मात्रा धेरै देखिएपछिको अवस्था मधुमेह हो । शरीरमा इन्सुलिन उत्पादनमा घटबढ भयो अथवा उत्पादन नै भएन भने मधुमेह हुन्छ । यो दीर्घरोग हो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया