MENU

समाज

Ncell Axiata

गाडी किनबेचमा कीर्ते : यातायातका कर्मचारीमाथि दोष थुपार्दै, प्रहरीलाई उन्मुक्ति !

दुर्गा उपाध्याय/उज्यालो । 

कञ्चनपुर, साउन २३ – चोरीका गाडी प्रयोग गर्दै आएका सुरक्षाकर्मीलाई जोगाउन प्रहरीले यातायातका कर्मचारीलाई मात्र दोष थुपारेर घटनाबाट चोखिन खाजेको छ । प्रहरीले आफ्ना कर्मचारीको बचाउ गर्दै यातायातका कर्मचारीलाई मात्र दोषी बनाएर घटनालाई च्योख्याउन खोजेको रहस्य खुलेको हो । 

प्रहरीले चोरीका गाडी बरामद गरी अनुसन्धान थालेको झण्डै २४ दिन भएको छ । तर अनुसन्धान चलिरहेको भन्दै त्यस विषयमा कुनै पनि जानकारी बाहिर ल्याइएको छैन । बरु यसअघि चोरीका गाडी प्रहरीले बरामद गरेको भनिए पनि घटनामा थप अनुसन्धानका लागि महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पत्राचार गरेको तथ्य बाहिर आएको छ । 

कीर्तेको पर्दाफास

महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयका तत्कालिन निमित्त प्रमुख हेमन्त बहादुर सिंहले कैलालीको भजनी–३ का गोकुल प्रसाद श्रेष्ठले कार्यालयका कर्मचारी र प्रमुखको कीर्ते दस्तखत गाडी दर्ता गराएको भन्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्नुभएको थियो । कीर्ते गरि म १ च ५२३ नम्बरको होण्डा सिटी कार धौलागिरीमा दर्ता गराउन गएको भन्ने जानकारी पाएपछि अनुसन्धानका लागि श्रेष्ठलाई कैलाली प्रहरीमार्फत पक्राउ गर्न सहयोगका लागि असार १६ गते यातायात व्यवस्था कार्यालयका तत्कालिन निमित्त प्रमुख सिंहले प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्नुभएको हो । 

सिंहले घटनाको थप अनुसन्धानका लागि गोकुल प्रसाद श्रेष्ठलाई पक्राउ गरि सवारीसाधन जफत गरी पाउँ भन्दै गएको असार १९ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा समेत पत्राचार गर्नुभएको थियो । यस्तै सवारीको विवरण खुलाई असार २१ गते प्रहरी कार्यालयको अनुसन्धान शाखामा पत्राचार गर्नुभएको थियो । 

त्यही पत्रको आधारमा प्रहरीले थप अनुसन्धान गर्दा गएको असार २९ गते चोरीका सवारीसाधन कीर्ते कागजात बनाई किनबेच गर्दै आएका कैलालीको भजनी–३ का गोकुल प्रसाद श्रेष्ठ र भिमदत्त नगरपालिका–४ का हिमाल जोशीलाई पक्राउ गरेको थियो । साथै कीर्ते कागजात बनाइ बिक्री गरिएका ९ वटा कार र २५ वटा मोटरसाइकल समेत बरामद गरेको थियो ।  

चोरीका गाडीमा सुरक्षाकर्मी

बरामद गरिएका गाडीको अनुसन्धान गर्दा दुई वटा कार र ११ वटा मोटरसाइकल सुरक्षा निकायले प्रयोग गर्ने गरेको पाइएको छ । जसमध्ये औद्योगिक सुरक्षा बल अत्तरियाका सशस्त्र प्रहरी नायव उपरीक्षक हर्कराज पन्तले म १ च ५२३ नम्बरको सिटी कार र ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक सुदीपराज पाठकले से १ च १०१८ नम्बरको हुण्डाई क्रेटा कार आफू मातहतका हवल्दारको नाममा दर्ता गरेको तथ्य सार्वजनिक भएको छ । 

यस्तै, सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) का असई केशवराज जोशी, हवल्दारहरु धर्मसिंह भाट, पुस्कर भट्ट, पदम धामी, हरक कुँवर, सिपाही सुरज तिरुवा र मनोरथ भट्ट छन् भने ट्राफिक प्रहरीका प्रहरी निरीक्षक दिपक पातली, जनकराज ढुंगाना, कमल प्रसाद जोशी र केशवसिंह ऐरीले समेत चोरीका मोटरसाइकल प्रयोग गर्ने गरेको अनुसन्धानका क्रममा पुष्टि भएको छ । 

जिल्ला प्रहरी कार्यालयले यसअघि नै सुरक्षाकर्मीसँग रहेका गाडी बरामद गरिसकेको छ भने सरकारी वकिलको कार्यालयले समेत त्यसलाई प्रमाणित गरिसकेको छ । तर, ति सवारीसाधन कुन अवस्थामा ? को सँगबाट बरामद गरियो ? भन्ने बारेमा भने प्रहरीले खुलाउन चाहेको छैन । बरु एकहप्ताभित्र प्रतिवेदन बुझाउने गरि सशस्त्र प्रहरी गण मुख्यालय धनगढीका प्रहरी उपरीक्षक किशोर दाहाल नेतृत्वको छानबिन समितिले गएको बिहीबारबाट घटनाको अनुसन्धान गरिरहेको छ । 

प्रहरीले ति गाडीमाथी थप छानविन गरिरहेको भए पनि चोरीका गाडी प्रयोग गर्ने सुरक्षाकर्मी भने अहिलेसम्म कुनै कारवाहीमा परेका छैनन् । न उनीहरुलाई निलम्बन गरिएको छ । बरु यसअघि नै  चोरीका गाडी कीर्ते कागजात बनाई किनबेच गरेको तथ्य पत्ता लगाएर कारवाहीको लागि प्रहरीलाई पत्राचार गर्ने यातायात कार्यालयका प्रमुखसहित ७ कर्मचारीलाई मन्त्रालयले निलम्बन गरिसकेको छ । 

‘सस्तोमा गाडी पाएपछि सबैले किन्छ’

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय प्रमुख तथा प्रहरी नायव महानिरीक्षक रोमेन्द्र देउजाले बरामद गरिएका गाडी चोरीको भन्न नमिल्ने बताउनुभयो । ‘यातायातमा रजिष्टर भएकाले त्यसलाई चोरीको गाडी भन्न मिल्दैन ।’ क्षेत्रीय प्रहरी प्रमुख देउजाले भन्नुभयो ‘ति गाडी नक्कली कागजात बनाएर यातायातमा दर्ता गरिएका हन् । त्यो गिरोह पक्राउ परिसकेकाले त्यस विषयमा छानविन गरिरहेको छौँ ।’ 

यातायातका कर्मचारीको गल्तीका कारण धेरैको लगानी डुबेको भन्दै सुदूरपश्चिम प्रहरी प्रमुख देउजाले चोरीका सवारीसाधन प्रयोग गर्नेहरुको नै बचाउ गर्नुभएको छ । ‘सस्तोमा गाडी पाएपछि सबैले किन्छ । तपाई पनि किन्नुहुन्छ म पनि किन्छु । देउजाले भन्नुभयो ‘गाडी किन्नेको गल्ती छैन । बरु दर्ता गर्दा यातायातले हेर्नुपर्ने हो’ उहाँले तर्क गर्नुभयो ।

चोरीका गाडी प्रयोग गर्नेमाथी छानबिन भइरहेको भन्दै देउजाले प्रतिबेदनका आधारमा दोषिमाथी कारवाही हुने जानकारी दिनुभयो । ‘मैले अरु विषयमा हेर्ने होइन । प्रहरीको विषयमा मात्र हेर्छु’ उहाँले भन्नुभयो ‘उनीहरुको पनि लगानी डुबेको छ । त्यसमा पनि कोहि दोषि भेटिए कारबाही गर्छौं ।’

चोरीका गाडीमा मिलेमतो

प्रहरीको अनुसन्धानका क्रममा सरकारी वकिलको कार्यालयले कागजात र बयानका आधारमा बरामद गरिएका गाडी चोरीको भएको यसअघि नै प्रमाणित गरिसकेको छ । तर सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख रोमेन्द्र देउजाले भने प्रहरीले चोरीको सवारीसाधन चढेको प्रमाणित नभएको दावी गर्नुभयो । ‘प्रहरीले चोरीको सवारीसाधन किनेको भन्ने प्रमाणित भएको होइन’ देउजाले भन्नुभयो, ‘नक्कली कागजात बनाएर दर्ता गरेको सवारीसाधन किनेको भन्ने प्रमाणित भएको छ ।’ बरु प्रहरीकै सक्रियतामा चोरीका सवारीसाधन बरामद गरिएको सुदूरपश्चिम प्रहरी प्रमुख देउजाले दावी गर्नुभयो । 

प्रहरीले आफ्ना कर्मचारीलाई जोगाउन यातायातका कर्मचारीलाई मात्र अनुसन्धानको पाटो बनाएको स्रोतले जानकारी दिएको छ । ‘एउटा हवल्दारसँग बुलेट र कार चढ्ने पैसा कहाँबाट आउँछ ?’ स्रोतले भन्यो, ‘यसमा प्रहरीको तल्लोदेखि उपल्लो तहसम्म जोडिएको छ । त्यसैले अनुसन्धान नै फितलो बनाइन्छ ।’ स्रोतका अनुसार कीर्ते कागजात बनाई चोरीका गाडी किनबेच भइरहेको भन्दै आवश्यक छानविनका लागि जसले ताकेता गर्यो, अहिले प्रहरीले उनीहरुमाथी मात्रै अनुसन्धान केन्द्रित गरेर चोरीका सवारीसाधन किन्नेहरुलाई भने उमुक्ति दिन खोजेको छ । 

अनुसन्धानमा अख्तियार

घटनाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयले समेत थप अनुसन्धान अगाडि बढाएको छ । अख्तियारले यातायात कार्यालयका कागजातहरु नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बेलहिया नाकाबाट तीन युवतीको उद्धार

    रुपन्देही, भदौ ४ – रुपन्देहीको बेलहिया नाकाबाट तीनजना युवतीको उद्धार गरिएको छ । प्रहरीका अनुसार नुवाकोटका दुईजना र मकवानपुरकी एक युवतीलाई नेपाल–भारत सीमा नाकाबाट उद्धार गरिएको हो ।

  • झाडापखालाका कारण कपिलवस्तुमा एकजनाको मृत्यु

    कपिलवस्तु, भदौ ४ – कपिलवस्तुको महाराजगंज नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । नगरपालिकाको वडा नम्बर ७ मा एकजनाको ज्यान गएको छ ।

  • उदयपुर: एक हप्तामा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

    उदयपुर, भदौ ४ – उदयपुरमा प्रहरी प्रमुख फेरिएसँगै प्रहरीले निगरानी बढाएको छ । पछिल्लो एक हप्ताको अवधिमा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषध दुर्व्यसनी विरुद्ध प्रहरीले सक्रियता देखाएसँगै प्रयोगकर्ता पक्राउ परेका हुन् ।

  • ढल बग्ने बाग्मतीमा १७ वर्षअघि सुरु भएको र्‍याफ्टिङ इतिहास

    सन् २००१ को अगष्ट ११ शनिबारको दिन । मेघ सामु ठूलो चुनौतीको पहाड थियो । त्यसअघि नै बाग्मतीमा र्‍याफ्टिङ गर्न सम्भव छैन भन्नेहरुको ठूलै जमात थियो । तर उहाँले तिलगंगा आँखा प्रतिष्ठान अगाडिबाट शंखमुलसम्म र्‍याफ्टिङ गरेर बाग्मतीको वर्षायाममा र्‍याफ्टिङ गर्न सम्भव छ भन्ने प्रमाणित गरेर देखाउनुभयो ।

  • रुपन्देहीमा लागुऔषधसहित तीनजना पक्राउ

    रुपन्देही, भदौ ४ – रुपन्देहीमा प्रहरीले अबैध लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । उनीहरुलाई लागुऔषध ब्राउन सुगर, फेनारगन, डाइजेपामसहित पक्राउ गरिएको हो ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया