MENU

साहित्य/ कला

Ncell Axiata

रदिफका जादुगर ‘जे सागर’

सुरज राना –

आजकल देशमा एउटा भनाइले सनसनी मच्याइरहेकोछ ‘सडकमा हिँडिरहेका अपरिचित  मानिसको भिडमा पाँचवटा पत्थर मारियो भने एउटाले मात्र सामान्य मान्छेको टाउकोमा लाग्छ र बाँकी चारवटाले चाहिँ गजलकारको टाउकामा ।’ हुन पनि च्याउको तीब्र उम्रने प्रक्रियालाई चुनौती दिन सक्ने आजभोलि गजलसङ्ग्रहको प्रकाशन मात्रै हो । यो लोकप्रियता गजलकर्मीका लागि सुखको विषय भए पनि दुर्भाग्य यस मानेमा छ कि युगलाई सम्बोधन गर्न हैसियत राख्ने र कालान्तरसम्म सम्झिरहन लायक गजल कृति एकदमै न्यून भएको यथार्थत जगजाहेरै छ ।

यस कारण बौद्धिक र बुद्दिजिवी वर्गले गजललाई साहित्यको अनुत्पादक विधा या साहित्यकारले लेखनको लागि अभ्यास गर्ने प्राथामिक तहको सर्वसुलभ विधाको रुपमा लिएर हेयको दृष्टिकोणले हेर्ने चलन यथावत रहि आएकोछ । सुन्दर गजल सृजना गर्न अत्यन्तै गहिरो साधना, अध्यायन, सृजनशिलता, सौन्दर्य दृष्टिकोण र उच्च लयात्मक शिल्पकारिताको साथसाथै यस्को प्राविधिक, संरचनात्मक ज्ञानको पनि उत्तिकै आवश्यकता रहन्छ । यी मापदन्डको परिधि भित्र रहेर समकालीन साहित्यको अग्रपङ्तिमा गजललाई स्थापित गर्न सक्नु यस कालका गजलकारको मुख्य चुनौती हो भन्ने मलाई लाग्छ । यस जिम्मेवारिलाई बोध गरेर केही औँलामा मात्र गन्न सकिने गजलकारको सङ्ख्यामा एउटा नाम थपिएको छ–जे सागर । भर्खरै उहाँद्वारा लिखित ‘यति भए पुग्छ’ गजल संग्रह पढ्ने अवसर मिल्यो । संग्रह भित्र समाविस्ट गजलको केही आयामिक विशेषता र प्रबृतिले मलाई चुप बसिरहन दिएन ।

गजलकार जे सागरका शेरहरु अगेनाबाट झिल्का बोकेर उडिरहेको धुवा जस्तै लाग्छन् जो सरल र स्वतन्त्र देखिए पनि अन्तकरणमा प्रज्वलनशिलता र परितप्त राप महसुस गर्न सकिने । गजलको भाब प्रवाहमा पनि गजलकार अत्यन्तै विशिष्ट कौसलता राख्नु हुन्छ- 

जान्नै पर्ने एउटा काम नजानेर गल्ती भो
लामो हात र छलचाम नजानेर गल्ती भो

उहाँको गजल एक पटक मात्र पढेर पूर्ण रसस्वादन गर्न जो कोही पनि समर्थ रहन्छन्, किनकी उहाँको गजलमा साङ्गितिक आरोह – अवरोहको मिठो झन्कार, माटोको अग्र्यानिक महक, देशप्रेम, परदेशीको घनात्मक पीडा, प्रेमको रुमानी आलाप एकै साथ उर्लिएर आउछन बडो शालिन र सभ्य भाषामा । प्राय गैह्र मुसलसल गजल लेख्न रुचाउने गजलकार जे सागरको मुख्य हतियार भने ब्यङ्ग हो । देशको सम्पूर्ण शक्ति केन्द्रीकृत गरेर तानाशाही साशकको शैलीमा सुदूर प्रान्तमाथि दादागिरी देखाइ रहेको केन्द्रलाई उहाँ यसरी ब्याङ्गात्मक मुस्कान टक्र्याउनु हुन्छ -

खाडिबाट आमालाई मुन्द्रा ल्याएकोछु
नलुटीदे राजधानी यत्ति भए पुग्छ

गजलकार धेरै ठाँउमा देश र समाजभित्र कुरुप सिउडिको लहरा झैँ फैलिएको कुरिति, बिसङ्गति, दुसाशन, क्षणभङ्गुर र तुच्छ मानवीय प्रबृति देखेर नमिठोसङ्ग चिमोटिइनु  भएको छ र गजलका शेरलाई धारिलो खन्जर बनाएर कैले निकम्मा राज्य सत्ता प्रणालीमाथि गहिरो प्रहार गर्नु भएकोछ भने कैले समाजको अराजक पाटोमाथि । सामन्तवाद, नातावाद, कृपावाद साथै भारतीय बिस्तारवादको घोर बिरोध गर्दै आम मानिस, किशान र निरिह वर्गको पक्षमा सार्थक कलम चलाउनु भएको छ ।

कस्ता हुन्छ्न धोकेवाज बल्ल बुझ्दैछु
यो बस्ती र यो समाज बल्ल बुझ्दैछु

सरकारी काम ढिला भन्छ्न, बुद्धू 
जे छ टेवल मुनिको खाममा छ

रात भरी सुत्दैन तर्सिएर नेता
शहिदको चिहान गल्ली गल्लिमा छन।

त्यसो त गजलकारहरु स्वभावैले कोमल एवम नाजुक हृदयका हुन्छन् । गजलकार जे सागर पनि कतै सम्बेदनाको गहिरो भासमा डुब्नु भएको छ, कतै प्रेमको सुन्दर रङमा लत्पतिनु भएकोछ र कतै आफ्नो बचपन बितेको भुगोल र परिवेशको सम्झनामा बेस्सरी नोस्टाल्जिक पनि बन्नु भएकोछ –

अझै मेरो पैतलाको डाम होला मेरो गाउँमा
बरको रुखमा कोतरेको नाम होला मेरो गाउँमा

कृतिभित्रका गजलहरुले पाठकको दिलसङ्ग सोझै सम्बाद गर्न सक्छन् । रदिफ र काफियाको सम्योजनमा होस या उला र सानीको पारस्परिक सम्बन्ध निर्माणमा होस उहाँका भावहरु अविचलित भै बडो सरस तरिकाले गासिन्छन् कुनै अनुभवी शिल्पकारको कुरुसद्वारा बुनिएको स्विटरका मनमोहक बुट्टाहरु जस्तै। तखल्लुस प्रगोगमा उहाँ च्याम्पियन हुनुहुन्छ नै तर रदिफमा भने कलात्मक जादु नै देखाउनु हुन्छ ।

प्राय गजलकारका शेरहरुलाई काफियाले दिशानिर्देश गरेको हुन्छ, काफियामुखी गजलकारहरु अक्सर रदिफको सौन्दर्य र गजलमा यस्ले देखाउन सक्ने सम्भावित चर्तिकला  बारे अनविज्ञ रहन्छन् । हामीले फारसी, उर्दु, हिन्दी लगायत नेपाली गजलको पुनर्जन्म कालअघि र पछिका गजलकारदेखि अहिलेका नवयुवा पुस्तासम्मका गजलहरुसङ्ग नजिकबाट अध्यायन र सङ्गत गर्ने मौका पाई रहेकाछौँ । यस हैसियतले पनि म गजलकार जे सागरको रदिफ निर्माण गर्ने शैली र प्रयोगको मुक्तकन्ठले प्रसङ्सा गर्दै ‘रदिफको जादुगर’ भन्न रुचाउँछु ।

संघर्षमै बित्यो जीवन बाको पनि मेरो पनि
पाइलै पिच्छे शत्रु लाग्छन् बाको पनि मेरो पनि

चेहरामा मुस्कान छैन उ त्यो पक्कै नेपाली हो
यात्रा छ, ठेगान छैन उ त्यो पक्कै नेपाली हो

सेता भए केश काला ए१ परदेशी घर फर्क
परदेशैले ज्यान खाला ए१ परदेशी घर फर्क

म यति बेला स्वतन्त्र पाठक हु, पाठक आफैमा समालोचक हो र आलोचक पनि । यहि मान्यता र विश्वास अनुसार प्रस्तुत कृतिको कमजोर पक्षबारे बोलिन भने मैले असल पाठक हुनुको गौरव गुमाउनेछु । यस कृतिभित्रका थुप्रै गजलमा उस्तै अनुप्रास भएका काफियाहरु पटक पटक दोहोरिएर आइ रहँदा पाठकहरुलाई मनोटोनस अनुभव हुन सक्ने प्रबल सम्भावना  छ । गजलको शक्ति र सौन्दर्य अभिव्यक्तिकरणको अदा एवम अन्दाजको कलात्मक शैलीमा पनि लुकेको हुन्छ । अभिव्यक्तिमा गहिरो रहस्यमयी भाव जटिल बिम्ब एवम दार्शनिक काव्य चेतनासङ्ग खेल्न रुचाउने विशिष्ट श्रेणिका पाठकहरुलाई भने गजलकारको अति सरलिकृत रवानीले नै पनि कहिकतै झर्को लगाउन सक्छ । यद्दपी गजलको न्युनतम परम्परागत एवम शास्त्रीय प्रविधि र सिद्दान्तको सङ्कुचित  परिधिभित्र अपरिमित भावनाको आयतन र विशाल बिचारको  सुमेरु कैद गर्न सक्नु सामान्य कुरा हुँदै होइन ।

समग्रमा ‘यत्ति भए पुग्छ’ गजल सङ्ग्रह नेपाली गजल साहित्यको इतिहासमा एउटा नयाँ उचाइ र नया शैली पहिल्याउन सफल भएको ठान्दछु म । यसका लागि रदिफका जादुगर जे सागरलाइ हामि पाठकको तर्फबाट धन्यवाद र बधाइ पनि ।

(जे सागरको गजल संग्रह ‘यत्ति भए पुग्छ’ माथि सुरज रानाको समीक्षा)

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया