MENU

राजनीति

Ncell Axiata

पहिले गाविसमा भएको काम नगरपालिकाले गर्नुपर्ने भएपछि समस्या

मुना श्रेष्ठ/उज्यालो । 

काठमाडौं, साउन २३ – गोदावरी नगरपालिमा अहिले घर जग्गाको नक्सापासका साथै गाविसको मापदण्डमा बनेका घरको निर्माण सम्पन्न लिनका लागि नागरिकलाई समस्या भएको छ । २०७२ सालको भूकम्पले क्षति पुगेका गोदावरी नगरपालिकाका वस्तीहरुमा नगरपालिका बन्नु भन्दा अगाडि नै पुनर्निर्माणको काम सुरु भैसकेको थियो । त्यो पनि गाविसको मापदण्ड अनुसार । तर नगरपालिका बनेपछि भने यहाँका नागरिक अन्यौलमा परेका हुन् । 

गाविसमा भएको काम नगरपालिकामा गर्नुपर्ने भएपछि यहाँका बासिन्दा अलमलमा परेको नगरपालिकाका कार्यकारी प्रमुख टेकराज पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार घर बनाउन नक्सापास गाविसबाट भयो, तर निर्माण सम्पन्न लिनका लागि नगरपालिकाको मापदण्ड अनुसार गर्नु पर्ने भएकोले नागरिक अलमलमा परेका हुन् । 

गाविसबाट नगरपालिका बनेपछि गोदावरी नगरपालिकामा समस्या यो मात्र होइन शिक्षा स्वास्थ्य, खानेपानी, सडक लगायतका समस्या पनि छन् । खानेपानीको प्रशस्त स्रोत भएर पनि गोदावरीका बासिन्दाले पानीको भरपुर उपयोग गर्न नपाएको स्थानीय बासिन्दा रामशरण पोखरेल केसी बताउनुहुन्छ । उहाँका अनुसार नगरपालिका भित्र सबैभन्दा धेरै समस्या भने लेलेमा छ ।  

गोदावरी नगरपालिकामा के के छन् समस्या ?

गोदावरी नगरपालिकामा विकासका पूर्वाधार निर्माण गर्न अझै बाँकी छ । यहाँ विकासको मुख्य आधार मानिएको सडक र खानेपानीको व्यवस्था पनि राम्रोसँग हुन सकेको छैन । खानेपानीको प्रशस्त श्रोत छ, तर त्यसको संरक्षण र राम्रो व्यवस्थापन छैन । ‘गोदावरी नगरपालिकामा पानीको मूल नै छ, त्यसको उचित व्यवस्थापन गरेर वितरण गर्न सके मात्र पनि गोदावरीका बासिन्दालाई खानेपानीको समस्या पर्ने थिएन’ स्थानीय बासिन्दा केसीले भन्नुभयो । गोदावरी नगरपालिकाभरी खानेपानीको समस्या भएपनि लेलेमा चाहिँ बढि रहेको केसीले बताउनुभयो । 

गोदावरी नगरपालिकाको ग्रामीण क्षेत्रका सडकको ग्राबेल समेत गरिएको छैन । पुराना बस्तीमा बाटो विस्तार पनि हुन सकेको छैन । ढलको व्यवस्था पनि छैन । 

शिक्षाको समस्या पनि उस्तै छ । सरकारी विद्यालयमा पढाउने शिक्षकले नै आफ्नो छोराछोरीलाई निजी विद्यालयमा पढाउन थालेपछि सरकारी विद्यालयको पढाई खस्किएको स्थानीयबासिन्दा बताउँछन् । 

त्यस्तै यहाँको अर्को समस्या भनेको भरपर्दो स्वास्थ्य सँस्था नहुनु हो । सामान्य ज्वरो आउँदासमेत शहरका ठूला अस्पताल धाउनुपर्ने स्थानीयबासिन्दाले गुनासो गरे ।

नयाँ नगरपालिका भएकोले अहिले नगरपालिकामा समस्याको चाङ छ । यही समस्याको चाङमा नागरिकको आशको चाङ पनि थपिएको छ । आफ्नो ठाउँमा चिल्लो सडक बनोस्, सुविधा सम्पन्न अस्पताल बनोस्, आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा नै गुणस्तरीय शिक्षा दिन पाईयोस् भन्ने यहाँका बासिन्दाको चाहना छ । 

समस्या समाधानको लागि के भैरहेको छ ?

गाविसबाट गोदावरी नगरपालिका बनेपछि देखिएको घर जग्गाको नक्सा पास लगायतको समस्या समधानका लागि नगरपालिकाले पहल थालिसकेको छ । नगरपालिकाले सूचना नै टाँस गरेर गाविसकै मापदण्डमा बनेका घर भएपनि निर्माण सम्मपन्नका लागि नगरपालिका आउन आग्रह गरेको छ । ‘भूकम्प प्रतिरोधात्मक छ भने नगरपालिकाको इन्जिनियरले हेरेपछि निर्माण सम्पन्न दिन्छौं’ नगरपालिकाका कार्यकारी प्रमुख टेकराज पन्थीले भन्नुभयो । 

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई आफ्नो क्षेत्रको समस्या राम्ररी थाहा छ । त्यसैले त उहाँले आफ्नो ठाउँको विकासका लागि योजना बनाईसक्नुभएको छ । कसरी नगरलाई समृद्ध बनाउने भन्ने योजना बनाउनु भएको छ । उहाँको पहिलो प्राथमिकता भनेको नगरका बासिन्दालाई स्वच्छ पानी उपलब्ध गराउनु हो । गोदावरी खोलाको मुललाई संरक्षण गरेर ड्याम निर्माण गर्ने योजना मेयर महर्जनको छ । ‘यो ड्याम निर्माण गर्न सकियो भने गोदावरी नगरपालिकाका बासिन्दालाई पानीका लागि अन्त भर पर्नुपर्दैन’ महर्जनले भन्नुभयो । 

उहाँले नागरिकको आवश्यकता अनुसार काम गर्ने दावी गर्नुभयो । चुनावको समयमा नागरिकसँग आफूले गरेको खानेपानी, सडक, ढल तथा गोदावरीलाई पर्यटकीय स्थल बनाउने प्रतिवद्धता आफनै कार्यकालमा पूरा गर्ने बताउनुभयो ।

गोदावरीमा अहिले समस्या भनेको नै खानेपानीको हो । पानी भएर पनि पानीको प्रयोग गर्न नपाएका नगरका बासिन्दालाई जसरी पनि पानीको व्यवस्था गर्ने महर्जनले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।  ‘गोदावरी नगरपालिका भित्र रहेको मूललाई संरक्षण र त्यसको व्यवस्थापन गर्ने कार्य गरी सकेको छु’ महर्जनले भन्नुभयो ।

काठमाडौंबाट नजिक रहेको गोदावरी नगरपालिका प्राकृतिक रुपमा सुन्दर छ । त्यसैले यसलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न नगरका बासिन्दा सहमत भएको महर्जनले बताउनुभयो । ‘पर्यटन प्रवर्द्धनका लागि पनि हामीले काम गर्ने योजना बनाएका छौं’ महर्जनले भन्नुभयो ‘त्यसैले भागावन भ्यूटावर र देवीचौर भ्यूटावरको निर्माण कार्य यही भदौको पहिलो हप्ता देखि सुरु गर्दैछौं ।’ नगरपालिकाले दुईवटा टावर निर्माणका लागि ७० लाख रुपैयाँ बजेट छुट्याएको छ । भ्यूटावरको निर्माण तीन वर्ष भित्रमा सकाउने लक्ष्य नगरपालिकाको छ ।

विशंखु नारायणदेखि लेलेसम्मको बाटोमा साईकल ट्रयाक निर्माणका लागि २० लाख रुपैयाँ बजेट छुट्याईएको छ । २०७२ सालको भूकम्प प्रभावितलाई राहतका साथै पुरातात्विक महत्वका क्षेत्रमा घर बनाउँदा पुरानै शैलीमा बनाए नगरपालिकाले थप ५० हजार दिने पनि महर्जनले जानकारी दिनुभयो । 

गोदावरी नगरपालिकाका लागि ४८ करोड रुपैयाँ बजेट छुट्याईएको छ । यसैबाट विकास निर्माणको काममा खर्च गर्नुपर्ने छ । ‘यो बजेट पहिला गाविसलाई दिने भन्दा पनि कम हो’ प्रमुख पन्थीले भन्नुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया