MENU

समाज

Ncell Axiata

लामो समयसम्म पानी परेन, बस्तीमा विषालु सर्प

भावुक योगी/उज्यालो । 

बर्दिया, साउन २३ – बर्दियामा विषालु सर्पले डसेका बिरामी संख्या बढदै गएको छ । लामो समयसम्म वर्षा नहुँदा र निकुञ्ज आसपासका सामुदायिक वनमा आगलागी भएपछि वन छेउ नजिकैका गाउँघरमा विषालु सर्पहरु देखिन थालेका छन् । निकुञ्ज र सामुदायिक वन आसपास गाउँका घर गोठमा स्थानीय भाषामा फेटारा, डुम, महेर, गरैच र धमला (गोमन, राजगोमन, करेत, साखड) सर्पहरु फेला परेको स्थानीयबासिन्दाले बताएका छन् । 

बर्दियाको गुलरिया, राजापुर, बाँसगढी, बारबर्दिया, ठाकुरबाबा, मधुवन नगरपालिकाका नेउलापुर, शिवपुर, बगनाह, सूर्यपटुवा, ठाकुरद्वारा, सानोश्री, ढोढरी लगायतका गाउँमा घरगोठ भित्र विषालु सर्प देखिने गरेको छ । असार, साउन र भदौमा विषालु सर्प जमिन बाहिर निस्कने भएकाले योबेला निकै जोखिम हुने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका किटजन्य रोग नियन्त्रण अधिकृत बालकृष्ण शर्माले बताउनुभयो । 

घरगोठ, आँगन सफा राख्न, अँध्यारोमा घर बाहिर निस्कँदा उज्यालो बालेर हिँड्न, झ्यालमा जाली लगाउन र झुल हालेर मात्र सुत्न उहाँको सुझाव छ । जुनसुकै सर्पले डसेमा झारफुकमा नलाग्न र घाउ नबिगारी जिल्ला अस्पताल वा सेनाको सर्पदंश केन्द्रमा लैजान जिल्ला अस्पताल बर्दियाले अनुरोध गरेको छ । 

सेनाको सर्पदंश केन्द्रमा १६८ जनाको उपचार

बर्दिया राष्टिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले पूर्व पश्चिम राजमार्ग अन्तर्गत ठाकुरबाबा नगरपालिकाको सैनवारमा रहेको सर्पदंश उपचार केन्द्रले हालसम्म १ सय ६८ जना सर्पदंशका बिरामीको उपचार भएको छ ।

यसैगरी बिच्छीले टोकेका ८१, माहुरीले टोकेका ११ जनाको उपचार भएको निकुञ्ज सुरक्षार्थ शिव दल गणको सर्प दंश केन्द्रले जनाएको छ । केन्द्र स्थापना भएदेखि अहिलेसम्म सामान्य बिरामीहरुको पनि उपचार गराएर लाभ लिएका छन । तीन वर्षको अवधीमा २ हजार ३ सय ५४ महिला र २ हजार ५९ पुरुषको पनि स्वाथ्य उपचार गरेको केन्द्रले जनाएको छ ।

निकुञ्ज सुरक्षार्थ खटिएको शिव दल गणको मातहतमा रहेको सेनाको ब्यारेक भित्रको सर्पदंश उपचार केन्द्र सैनवारमा यसवर्ष साढे ३ महिना भित्र ३० जना सर्पदंशका बिरामीको उपचार भएको छ । 

गाउँघरमा वर्षाको बेला एम्बुलेन्स समयमै पुग्न नसक्ने भएकाले मोवाइल सेवाका रुपमा मोटर साईकलमा भएपनि सर्पदंशका बिरामीलाई समयमै केन्द्रमा ल्याउन सर्पदंश केन्द्र शिवदल गणका सेनाले आग्रह गरेका छन । 

सर्पदंश केन्द्रमा सर्पले डसेका बिरामीका लागि चाहिने औषधि एन्टी स्नेक भेनन अभाव भएको केन्द्रले जनाएको छ । यसअघि स्टक रहेको एण्टी भेननको म्याद सकिएको र अहिले एन्टी भेनमको अभाव भईरहेको केन्द्रले जनाएको छ । नेपाली सेना र बबई उपभोक्ता समितिको पहलमा जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरी पर्याप्त मात्रामा एन्टी स्नेक भेनम ल्याउन पहल गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया