MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

बारीमै कुहिन थाल्यो बन्दाकोपी, मूल्य नपाएपछि किसान चिन्तित

प्रकाश धौलाकोटी/उज्यालो । 

तेह्रथुम, साउन २४ – तेह्रथुम र धनकुटाका किसानले लगाएको बन्दाकोपी बारीमै कुहिन थालेको छ । यहाँका किसानले लगाएको बन्दाकोपीमा क्लबरुट अर्थात् गाँठे रोगको संक्रमणका कारण बारीमै कुहिन थालेको हो । किसानको बारीमा ठूलो परिमाणमा बन्दाकोपी कुहिएको छ ।

किसानले बारीबाट टिपेर बिक्रीका लागि पठाएको बन्दाकोपी समेत बाटोमै कुहिएपछि व्यापारीले समेत किसानबाट बन्दाकोपी खरिद गर्न छाडेका छन् । व्यापारीले पनि नलैजाने र बारीमै नटिपी राख्दापनि कुहिन थालेपछि किसान चिन्तामा परेका छन् । एक हप्ता यता मात्रै झण्डै १५ करोड रुपैयाँ बराबरको नोक्सान भएको सिधुवा कृषि भण्डारका बजार प्रमुख मेघेन्द्र गुरुङले बताउनुभयो ।

‘किसानले लगाएको बन्दाकोपीमा रोगको संक्रमण छ, त्यसैले टिपेर बेच्न लैजाँदा पनि गाडीमै कुहिन थालेको छ, किसानको बारीमै पनि ठूलो परिणाममा बन्दाकोपी कुहिएको छ,’ उहाँले भन्नुभयोे । तीन वर्षअघि पनि यस क्षेत्रको बन्दाकोपीमा क्लबरुटको प्रकोप देखिएको थियो । नेपाल कृषि अनुसन्धान परिषद नार्कको बाली रोग विज्ञान महाशाखा खुमलटारले किसानका बारीमै आएर अनुसन्धान गरेको थियो । 

दुई वर्षसम्म नदेखिएको यो रोग यो वर्ष फेरि देखा परेको छथर गाउँपालिका–१, आङ्दिमका किसान टीका लिम्बुले बताउनुभयो । सुरुमा बन्दाकोपीमा  मात्रै देखिएको प्रकोप अहिले अन्य बालीमा समेत फैलिएर दुःख दिन थालेको किसान बताउँछन् । अहिले किसानले लगाएको काउली, रायो, ब्रोकाउली, तोरी, चम्सुर, सलगम लगायत बालीमा समेत क्लबरुटको संक्रमण फैलिएको छ । 

बन्दा, काउली फक्रेर बजारमा पठाउने बेलामा रोगले आक्रमण गरेको र बारीमै कुहिन थालेको किसान लिम्बुले बताउनुभयो । ‘बजारमा पठाउने बेलामा बारीमै बन्दा कुहिएपछि ५ लाख रुपैयाँ बराबरको नोक्सान भएको छ,’ उहाँले भन्नुभयो । तेह्रथुमका छथर गाउँपालिकाका विभिन्न वडा र लालीगुराँस नगरपालिकाका धेरै किसानले बन्दाकोपीको व्यवसायिक रुपमा खेती लगाएका छन् । 

बन्दाकोपीबाटै यहाँका किसानको दैनिकी टर्ने गरेको छ । अरु अन्नबालीको खेती छाडेर किसानले बन्दाकोपीको व्यवसायिक खेती थालेका हुन् । तर यो वर्ष बन्दाकोपीमा रोगको संक्रमण देखा परेको र बजारमा पु¥याइएको बन्दाकोपीले समेत मूल्य नपाएकाले समस्यामा पारेको लालीगुराँस नगरपालिकाको चित्रेका किसान जगत काफ्लेले बताउनुभयो ।

अघिल्ला वर्षमा कम्तिमा पनि १० रुपैयाँदेखि ३५ रुपैयाँ प्रतिकिलोसम्म कारोबार भएको बन्दाकोपी यो वर्ष ३ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ । त्यो पनि बन्दामा रोगको संक्रमण भएको थाहा पाएपछि व्यापारीले खरिद गर्नै मान्न छाडेका किसान काफ्लेले बताउनुभयो । बन्दामा रोगको प्रकोप र मूल्यमा आएको धेरै गिरावटका कारण यहाँका किसानले करोडौँ रुपैयाँको घाटा बेहोरेका छन् । 

बन्दाकोपीको मात्रै खेती गर्दै आएका किसानहरुले बिहान बेलुका छाक टार्नै समस्या हुने गुनासो गरेका छन् । बारीमा बन्दा रोप्दा बीउ, प्लास्टिक, मल, विषादी, बारीको खनजोत र कामदार समेत गर्दा २ लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च भएको किसान काफ्लेले बताउनुभयो । तर उत्पादन लिने समयमै रोग फैलिएकाले धेरै नोक्सानी भएको उहाँको गुनासो छ । 

काफ्लेका अनुसार ३० रोपनीभन्दा बढी जमिनमा लगाएको १५ लाख रुपैयाँ भन्दा बढीको बन्दा बारीमै कुहिएको छ । अघिल्लो वर्ष १४ लाख रुपैयाँको बन्दा बिक्री गरेका उहाँको बारीमा यो वर्ष खेती थप सप्रिएको थियो । तर फल लागेर बेच्ने बेलामा रोगको प्रकोप फैलिएर नोक्सानी बेहोर्नु परेको उहाँले बताउनुभयो । यहाँको बन्दाकोपी धनकुटाको सिधुवा हुँदै धरानको कृषि उपज बजारमा पुग्छ, र त्यहाँबाट मात्रै भारतीय बजारतर्फ निकासी हुन्छ । 

तर किसानबाट लिएको बन्दाकोपी दुई दिनमै कुहिएर नष्ट हुन थालेपछि व्यापार ठप्प पारेको धरानका व्यापारी शिवचन्द्र चौधरीले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘यसअघिका वर्षमा कम्तीमा चार–पाँच दिनसम्म कुहिँदैनथ्यो । यो वर्ष अत्यधिक कुहिन थालेकाले व्यापार बन्द गर्नुपरेको हो ।’ उहाँका अनुसार यो वर्ष तेह्रथुम र धनकुटाबाट लगेको बन्दा धरान नपुग्दै कुहिएको छ । कुहिएकाले भारत निर्यात गर्न नसकिएको व्यापारीहरुले बताएका छन् । बन्दा टिपेकै दिनदेखि कुहिन थालेको विषयमा किसानले अत्याधिक रासायनिक मल प्रयोग, झरी परेको बेला टिप्नु, हरियो तरकारी ढुवानीमैत्री गाडी नहुनु र बिक्री भण्डारस्थल पनि व्यवस्थित नहुनुजस्ता कारण रहेको व्यापारीको आरोप छ । तर किसानले भने त्यसलाई मिथ्या आरोप भन्छन् । आङ्दिमका किसान लिम्बुका अनुसार यो वर्ष पानी अत्यधिक परेकाले त्यसको असरले चाँडै कुहिएको हो । 

यता जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले भने बेमौसमी तरकारी खेतीको पकेट क्षेत्र घोषणा गरेकै क्षेत्रमा महामारीको रूपमा रोगको फैलिएपछि बाली चक्र परिर्वतन गरी खेती गर्न किसानलाई सुझाएको छ । ‘रोग प्रभावित क्षेत्रका किसानलाई फरक प्रकृतिको खेती गर्न भनेका छौं,’ वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले भन्नुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया