MENU

विचार/अनुभूति

ujyaalo forign call inside

गाई छोडेका पशुपतिलाई कति मिल्ला पापा, थाहा पत्तो नपाउनेको थर मात्रै थापा !

मिलन तिमिल्सिना - 

नामै पशुपति । पशुपतिलाई मन पर्ने आफ्नै साँढे । साँढेलाई सुहाउने हलो । पशुपतिको भलो गर्ने पनि त्यही हलो । हलो मात्रै रोजेर हेलो हेलो भन्दै अघि लाग्नुपर्छ भनेर बेलैमा थाहा पाएको भए नामै कमल भएका मान्छेसित पशुपति यति बिघ्न कठोर किन हुनुपर्थ्यो । 

तर थर मात्रै थापा, थाहा पाएर पनि केही चाल नपाएका कमलले पशुपतिलाई खुशी पार्न सकेनन् । पशुपति बेखुशी भए भने कति अनिष्ठ हुन्छ भन्ने त थापाले बल्ल थाहा पाए होलान् । 

त्यसमाथि साउनका पशुपति । जताततै पहेंलपुर र हरियालीले उनी त्यसै त्यसै मख्ख । व्रत बस्ने, बढ्ता भएर हिँड्ने, बोलबम भन्दै कुद्ने, बमजस्तै पड्किएर बोल्ने, साथमै भएका र लाइनमा उभिएका जति सबै आफ्नै हो जस्तो लाग्ने बेला । 

साउनमा देखिएको शानले त्यसैत्यसै हौसिएका पशुपतिलाई गाई मन परेन । कहिले बागमती वारि, कहिले बागमती पारि डुलि हिँड्ने गाईको के भर । साँढेले त आजसम्म साथ छाडेको छैन नि । जुनसुकै बेला पनि ढोका बाहिर ढक्रक्क बसेको बस्यै छ । काँधमा हलो भिराइदिने हो भने अहिले नै खेत जोत्न हिँड्ला जस्तो साँढे । 

साँढेलाई मिल्ने हलो, हलो फेरि हात पारे पशुपतिलाई भलो नै भलो । अहिल्यै भलो हुने भर नदेखे पनि भोलिको भलो सोचेर पशुपतिले गाई छाडे । पहिलेदेखि  नै गाईगोठमा बस्दै आएकालाई समेत लगे । पहिले दूध पिउन पाउँदासम्म गाईको पुच्छर समाएर बसेकाहरु समेत पशुपतिको पाउमा लम्पसार परेपछि विचरा थापा थाप्लो समाएर थुइक्क गर्दैछन् ।

हुन त यस्तो हुन्छ भन्ने पहिल्यै थाहा नपाएका थापाले गाईलाई सताउनु सताएकै हुन् । वैशाख, जेठको रापमा गाईलाई रुखमा बाँधेको भए बरु शीतल हुन्थ्यो । रुखकै फेदमा बसेपछि गाईले अलिअलि घाँस खान पाउँथ्यो । तर गाईलाई रुखको वरिपरि नै पर्न दिएनन् ।  

हुन त यसपाली रुख पनि ज्याद्रो भएकै हो । गाईले बढी घाँस माग्यो भनेर हो या हाँगा काटे छिटो पलाउँछ भन्ने लोभले, रुखले आफैंलाई चोट दिने हँसिया र हथौडा रोज्यो । रुखमा हँसिया र हथौडा ठोक्किँदा कस्तो हुँदोरैछ भन्ने कुरा चोट पाउने ससाना मझौला रुखलाई राम्रोसँग थाहा छ, बुढो रुखलाई चाहिँ पत्तो छैन । जे होस्, टाउकोमाथि हँसिया हथौडा बोकेर बसेको रुखले गाईलाई बाल दिएन, रुखभन्दा अन्तैतिर दाना खान पल्केको गाईले पनि वास्ता गरेन । 

अर्थात गाई मालिकले रुखलाई टेरेनन्, रुखहरुले पनि गाईलाई हेरेनन् । रुख नै बटारिएपछि गाईवालाले गाईलाई वैशाखको टन्टलापुर घाममा सेकाए । त्यसै त घाम, त्यसमाथि यसपाली चम्कनु चम्केको । दानपछिको फलिफाप कस्तो हुन्छ भन्ने बेलैमा थाहा नपाएका थापाले गाईदान गरेकाले पनि यसपाली घामको भाग्य चम्केको हो । गाईदानले घामको राप बढायो, तर त्यही रापले गाईलाई सेकायो । 

खोलामा बाढी आउनु पहिले वैशाख जेठमै गोठका गाई बगे । जोगाउन सकिने गाई पनि बाँकी रहेनन् । अझै वर्षायाम सकिएपछि तराईमा हुने चुनावले कति गाई बगाउने हुन् । थर थापा भएका मान्छेले गाई बग्न लागेको थाहा पाएनन् । गाई नै बग्न थालेपछि के हेरेर बस्ने । त्यसैले पशुपति आफैंलाई मन पर्ने साँढे, साँढेलाई मन पर्ने हलो, हलो समाते भलो हुन्छ भन्ने बुझेर लावालस्कर बोकेर त्यतै कुदे । 

साउनको बेला भुुईंमा खुट्टा नभएर बुरुक्क उफ्रँदै बाटो लागेका पशुपति त्यसै त्यसै हौसिएका छन् । पहिलेदेखि गाईगोठको रेखदेख गर्दै आएका मान्छे समेत पशुपतिको पाउ परेपछि थापा जिल्लिएका छन् । 

भोलिको भलो देखेर हलोतिरै फर्किएका पशुपति, अनि यिनै पतिले कुनदिन अति गर्छन् भन्ने थाहा नपाएर गाईको पुच्छर समाएर बसेका थापा । कसको कहाँ र कताको ढल्काईले कसलाई कहाँसम्म पुर्याउँछ भन्ने कुरा श्री पशुपतिनाथलाई समेत थाहा छैन होला । पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भनेर भन्नेलाई त परको कुरा ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया