MENU

साहित्य/ कला

Ncell Axiata

फेसबुकमा यसरी धस्काउनुस् स्टाटस : कि आउँछ कमेन्ट कि पाइन्छ लाइक !

मिलन तिमिल्सिना -

मन पर्ने अरु मान्छेका फेस हेर्न पाइने, आफ्नो बिग्रेको फेसलाई सिंगारपटार गरेर राख्न मिल्ने, पिसाब गरेकोदेखि हिसाब गरेकोसम्मका कुरा बढाईचढाई वयान गर्न पाइने, हाइ हेलो भन्दै मन पर्नेसँग मनका कुरा साट्न र मन नपरेकालाई तथानाम गाली गर्न पाइने भएकाले फेसबुकले सबैलाई भुलाएको छ ।

हातमा मोवाइल छ, साथमा कम्प्युटर । इन्टरनेट समेत भयो भने फेसबुक खुल्छ । फेसबुक खुलेपछि मान्छे त्यसै भुल्छ । 

फेसबुक चलाउने पनि कस्ता कस्ता । कोही कोही पुलिसले गुन्डा खोजे झैं सर्च गर्ने मात्र हुन्छन् । राम्रा राम्रा मान्छे को कहाँ छ भनेर धुईंपत्ताल खोज्ने, मन पर्ने बित्तिकै लाइक र कमेन्ट ठोक्ने । अनि अर्काथरी हुन्छन्, जहाँ गए पनि फेसबुक चलाइरहने, अपडेट गरिरहने । भात खाँदै, सुत्दै, उठ्दै, खोक्दै, हिँड्दै, भात पकाउँदै, अचार मोल्दै......। अझ चर्पीभित्र पसेर डाउनलोड गर्न बसिरहेको मान्छेले समेत आफू के गर्दैछु, त्यो पनि फेसबुकमा अपलोड गरौंला झैं गर्छ ।

आज बुढीसँग झगडा पर्यो, आज बुढासँग ठाकठुक भयो । यी मेरा बुढा, उनी मेरी बुढी । यी चाहिँ मेरी गर्लफ्रेन्ड, उ मेरो व्वाईफ्रेन्ड । हरेकलाई चिनाइरहेको हुन्छ । लभ परेको, डेट गएको, भेट भएको सबै कुरा फोटो सहित फेसबुकमा अपडेट गर्न भ्याइसकेका हुन्छन् । धन्न अलि पहिले राजेश हमाल बाहेक अरु कसैले पनि हनिमुनको फोटो चाहिँ फेसबुकमा अपलोड गर्न भ्याइसकेका छैनन् ।  

जहाँ पुगे पनि, जे गरे पनि, जसलाई भेटे पनि, जे भए पनि फेसबुकमा स्टाटस लेखिरहने, फोटो हालिरहने मान्छे लाइक र कमेन्टका सधैं भोका हुन्छन् । बरु उनीहरुलाई पेटभरी भात र खाजा चाहिँदैन । तर लाइक र कमेन्ट भने आँखाभरी चाहिन्छ । कुन स्टाटसमा कति लाइक र कमेन्ट आयो भनेर उनीहरु हिसाब गरेर बसिरहन्छ् । त्यही लाइक र कमेन्ट कमाउनकै लागि फेसबुकमा स्टाटस अपडेट र फोटो अपलोड गरेजस्तो । 

अझ फेसबुक चलाउनेलाई लाइक कहाँ गर्नुपर्छ भन्ने कुरा पनि पत्तो छैन । लाइक भनेको मन पर्यो । कसैले फेसकुमा लेखेको हुन्छ–तनावमा, फलानोको मृत्यु भयो, फलानो साह्रै बिरामी भयो, उसलाई साह्रै आपत पर्यो । 

दुःख, पीर र चिन्तामा भएको मान्छे त फेसबुक चलाउनुको सट्टा चुप लागेर झोक्राएर पो बस्नुपर्ने हो । तर आफू फेसबुक चलाउन नसक्नेगरी दुःखमा डुबेको छु भन्ने कुरा आफूलाई मात्र थाहा भएर त भएन नि ! त्यसैले अरुलाई थाहा दिन फेसबुकमा लेख्नुपर्यो । अनि उसको स्टाटस अर्कोले फेसबुकमा हेर्छ । उसलाई थाहा छ कि सकेसम्म कमेन्ट गर्नुपर्छ, नभए लाइक मात्रै भएपनि ठोक्नुपर्छ, नत्र उ रिसाउँछ । त्यसैले स्टाटसमा के लेखेको छ भनेर राम्रोसँग पनि पढ्दैन । स्टाटस देख्ने बित्तिकै लाइक ठोक्छ । मान्छे मर्यो भन्दा पनि मन पर्यो, बिरामी भयो भन्दा पनि मन पर्यो, आपदमा छु भन्दा पनि मन पर्यो, तनावमा छु भन्दा पनि मन पर्यो । के मा मात्र मन पराउनु !

कतिपयको स्टाटस र फोटो हेर्दा लाग्छ, उनीहरुले फेसबुकमा फोटो राख्नकै लागि बच्चा जन्माएका हुन् । फेसबुकमा राख्नकै लागि विवाह गरेका हुन् । अझ कतिपयले गाउँ जाँदा हलो जोतेको, भारी बोकेको, भात पकाएको, भाँडा माझेको मोडलिङ गरेर पनि फोटो खिचाउँछन् र फेसबुकमा राख्छन् । हाम्रो हजुरबा हजुरआमाहरुको पालामा फेसबुक भएको भए गोठालोमा दोहोरी खेलेको, सुन्तला चोरेर खाएको, खेतमा पानी लाउन गएको, मेलापात र जात्रामात्रा गएको फोटो फेसबुकमा कति राख्नुहुन्थ्यो होला । अनि अहिले पनि हामी त्यो फोटो हेरेर कति लाइक ठोक्थ्यौं होला । 

कतिपय यस्ता पनि छन्, जो लौन मलाई लाइक गर, मलाइ एड गर, उसलाई भोट गर, यसलाई भेट गर, मलाइ हेर, मलाई पछ्याउ भनेर इन्भाइट पनि गर्छन् । अरुलाई उ मन पर्छ पर्दैन भन्ने पत्तो हुँदैन, तैपनि उ मलाई मन पराउ न भनेर इन्भाइट गरिरहेको हुन्छ । यस्तालाई ठीक पार्न फेसबुकमा केही बटन थाप्नुपर्यो । लाइक गर्न या मन पराउन मात्र पाइने बटन छ । खै अनलाइक गर्न या मन पराउँदिन भन्ने बटन ? फेसबुकमा धेरैको स्टाटस र फोटो त मन नपर्ने खालको पनि हुन्छ । यस्तलाई त अनलाइक भन्न, मन परेन भन्न पाइयोस् न !

फेसबुक नचलाउने त कुनै पनि प्रदेशमा नपर्ने नागरिक जस्तो । भर्खर स्कुल जान थालेको नाति गाउँमा गएर बुढा हजुरबा हजुरआमालाई भन्छ–मलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउनुस् न म कन्फर्म गरेर बेलाबेला च्याट गरौंला । बिचरा चाउरिएको फेस झनै झनै चाउरिनेगरी हजुरबा हजुरआमा ट्वाँ ।

पहिले पहिले कसैलाई खबर पठाउनुपर्दा, प्रेमिकालाई फकाउनुपर्दा पानाभरी लेखेर चिठी कोर्नुपथ्र्यो । टेलिफोन गर्नुपथ्र्यो । चिठी त हराइसक्यो नै । फोनमा भन्दा पनि फेसबुकको च्याटमै कुरा गर्ने बानी धेरै भैसकेको छ । च्याटमा कुरा गर्दा केही शब्द नै दुब्लाएर सकिनै लागिसके । अंग्रेजीमा हेलो हाउ आर यू भन्नुपर्ने ठाउँमा च्याटमा कुरा गर्दा हे यू अरे । आइ लभ यु को ठाउँमा आइ एल यू, १२३ अरे । ह्वाट अ म्यान अरे । प्लिज नभनेर पिएलजेड अरे । थ्याँक यू लाई टीक्यू रे । वेलकमलाई डब्लुसी रे । फेसबुकले त शब्द भण्डार नै खाली गराउने हो कि भन्ने डर पो भैसक्यो त ।

विद्यार्थीले त हिजोआज कोर्सबुक नै हेर्न छाडे । फेसबुक मात्र हेरेर दिन बिताउने भए । भर्खर जन्मेको केटाकेटीलाई पनि फेसबुक नै चलाउनुपर्ने । जन्मँदा जन्मँदै उसले आफ्नो स्टाटसमा म धर्तीमा...भनेर स्टाटस लेख्ला कि भन्ने डर । अनि मर्नै लागेको मान्छेले पनि अब तपाईंको अन्तिम ईच्छा के छ भन्दा खै फेसबुकमा मैले धर्ती छाडें भनेर लेख्न पर्यो भनेर मोवाइल या ल्याटप माग्ला भन्ने डर । अनि मैले यसो गरें, मैले उसो गरें भनेर स्टाटस लेखेजस्तै म मरें, म स्वर्ग हिँडे, आहा क्या रमाइलो स्वर्ग, कस्तो घिनलाग्दो नर्क...भनेर लाइभ अपडेट गर्ने दिन पनि आउने पो हो कि त ! 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया