MENU

समाज

Ncell Axiata

एक विदेशीले ३५ वर्षअघि देखेको नेपाल

काठमाडौं, साउन २५ – अहिलेका इन्टरनेशनल रेनवाटर हार्भेस्टिङ एलायन्स (International Rainwater Harvesting Alliance) का अध्यक्ष हान हेइजनेन (Han Heijnen) आजभन्दा ३५ वर्षअघि अर्थात् २०३९ सालमा पहिलो पटक नेपाल आउनुभएको थियो ।  

युनिसेफ नेपालमा जागिरे भएर आएका नेदरल्याण्डका नागरिक हान शुरुमा पोखरा जाँदा त्यहाँको लवाईखवाई, बसाई देखेर छक्क पर्नुभएछ । ‘वातावरण अति रमाइलो, प्रकृतिको मनोरम दृश्यमा हामी हराउँथ्यौँ, हिमाल यत्ति राम्रो देखिन्थ्यो, संस्कृति पनि उस्तै राम्रो थियो, तर मानिसहरु फोहोरी थिए, गाउँघर फोहोर, मानिसहरुमा सरसफाइप्रतिको चेतना त्यत्ति धेरै आइसकेको थिएन, म त्यतिबेला भन्ने गर्थें ‘हिमाल राम्रो छ, टाढा हेर्नुहोस् तर आफ्नो खुट्टामा नहेर्नुहोस्, किनकि खुट्टामा दिसा छ, मल छ ।’ 

त्यत्तिबेलाको दिन सम्झिँदै हानले भन्नुभयो ‘त्यतिबेला नेपाल आएका विदेशीहरु निक्कै बिरामी भए, खानेकुरा स्वच्छ तरिकाले पकाउँदैनथे, सलाद पनि त्यति सफा हुन्थेन, अनि विदेशीहरु बिरामी पर्थे । मेरो विचारमा उनीहरुसँग नेपाली खानेकुरा बनाउने सीप थियो र सक्दथे, तर पर्यटकलाई खाना बनाउन नआउँदो रहेछ र स्वच्छ तरिकाले बनाउनै नजान्ने रहेछ ।’  

लाहुरेले गर्थे प्राविधिकको काम  

२०३९ सालतिर नेपालमा खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्ने प्राविधिक जनशक्तिको अभाव थियो । युनिसेफ नेपालमार्फत पश्चिमाञ्चल क्षेत्रमा खानेपानी र सरसफाइको काम गर्ने जिम्मेवारी लिएर गएका हानले त्यहाँ प्राविधिक जनशक्तिको अभाव व्यहोर्नु पर्‍यो ।  पाइप बोक्ने, कुलो खन्ने, गिट्टी बालुवा बोक्ने लगायतका कामहरु त गाउँलेले गर्थे । तर प्राविधिकले नै गर्ने कामहरुमा भने समस्या हुन्थ्यो, त्यसैले प्राविधिक काम गर्नका लागि सेवा निवृत्त लाहुरेलाई तालिम दिएर खटाएका थिए । हान ३५ वर्ष अघिको क्षण सम्झिँदै भन्नुहुन्छ ‘त्यतिबेला प्राविधिक स्कुल पनि थिएन, पढेलेखेका मानिस पनि कम थिए । त्यसैले हामीले रिटायर लाहुरेहरुलाई खटाएका थियौं, उनीहरुमा अनुशासन त थियो, तर तालिम मात्र दिएर उत्पादित प्राविधिकले कति पो राम्रो काम गर्न सक्थ्यो र ?’ 

२० वर्ष पछि फर्किंदा पनि उस्तै 

२०३९ साल देखि ४ वर्षसम्म काम गरेपछि २०४३ सालमा उहाँ आफ्नै देश फर्किनुभयो । त्यसको २० वर्षपछि सन् २००६ अर्थात २०६३ सालमा फेरि हानलाई नेपाल आउने साइत जुर्‍यो । यसपटक उहाँ विश्व स्वास्थ्य संगठनका जागिरे भएर आउनुभएको थियो । शुरुमा चार वर्षसम्म नेपालको पश्चिमाञ्चलमा खानेपानी र सरसफाई सम्बन्धी धेरै अनुभव सँगालेर फर्किएका हानले यसपटक नेपाल आउँदा श्रीलंकाको अनुभव पनि लिएर आउनुभएको थियो । तर उहाँले जत्ति नेपालमा सुधारको अपेक्षा गर्नुभएको थियो, यसपटक पनि खासै राम्रो देख्न पाउनुभएन । हान भन्नुहुन्छ ‘लामो समयपछि नेपालमा आउँदा मैले काठमाडौंमा मानिसहरुको चाप बढेको देखें, मानिसको चाप बढेपछि वाग्मती उस्तै फोहोर हुन थालेको पाएँ, मैले जे अपेक्षा गरेको थिएँ त्यो थिएन ।’  

पछिल्ला २० वर्षमा नेपालको राम्रो उन्नति 

नेपालको विकास प्रक्रियालाई झण्डै चार दशकदेखि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा नियालिरहनु भएका हानका अनुसार नेपालले पछिल्ला दुई दशकमा राम्रो प्रगति गरेको छ । हान भन्नुहुन्छ ‘सरकारले पनि पछिल्ला २० वर्षमा क्षमता बढाएको छ, राम्रा राम्रा जनशक्ति उत्पादन भएका छन् । भारत, अष्ट्रेलिया, जापान लगायतका देशमा पढ्न गएर भएपनि धेरै प्राविधिक जनशक्ति उत्पादन भएका छन् । बूढो मान्छेहरु सेवा निवृत्त भएर निस्केका छन्, नयाँ नयाँ जोश भएका युवा पुस्ता सरकारी सेवामा प्रवेश गर्दैछन् ।  

यी बाहेक नेपालीहरु जो विदेशमा गएर फिर्ता आए । उनीहरुले पनि विदेशका सिस्टमहरु  यहाँ लिएर आए । एउटा ज्ञान आर्जन गरेर आए अर्को चाहिं व्यवहार नै परिवर्तन गरेर आएर यहाँ देखाए, त्यसकारण पनि नेपालमा पछिल्ला दुई दशकलाई फर्केर हेर्दा राजनीतिक परिवर्तन मात्र होइन, नेपालीहरुको सोच, आचरण, काम गर्ने शैली, विकासकै कुरा गर्दा पनि यहाँ शिक्षा, स्वास्थ्य, पूर्वाधार सबै क्षेत्रको विकासमा तीब्रता आइरहेको मैले महसुस गरेको छु ।’ 

विकासको प्राथमिकता 

नेपालको प्राथमिकता के हो ? भनेर मैले भनिरहनु पर्दैन । यहाँ विकासका योजनाकारहरुले प्राथमिकता निर्धारण गरिसकेका छन् । तैपनि मैले भन्नुपर्दा विकासको लागि पूर्वाधार र सञ्चार एकदमै आवश्यक छ । त्यसमा पनि सडक पहिलो प्राथमिकता हुनुपर्छ । हान भन्नुहुन्छ ‘पहिलेको तुलनामा धेरै सडक बनिसकेका छन्, सडक बन्यो भने कृषिजन्य वस्तुको निर्यात, गर्न सजिलो हुन्छ, किसानको उत्पादनले मूल्य पाउँछ, जसका कारण मानिसको जीवनस्तर सुध्रिदै जान्छ, अर्को विरामी पर्दा चाँडै अस्पतालमा पुर्‍याउन सकिन्छ र कसैले पनि अकालमा मृत्यु हुनु पर्दैन । म पहिले पहिलेका दिन सम्झन्छु मानिसहरु हप्तौं समय लगाएर कृषि उपज बजार पुर्‍याउथे तर बजार पुर्‍याउँदा गुणस्तर विग्रिसकेको हुन्थ्यो र यथोचित मूल्य पनि पाउँदैनथे ।

अर्को कुरा ‘हामी कहाँ एकीकृत विकासको अवधारणा छैन । एउटा कार्यालय र अर्को कार्यालय बीच तालमेल देखिदैन । एकपटक पश्चिमान्चलमै एउटा सडक बनाउने काम थियो, त्यो भन्दा अगाडि त्यहाँ खानेपानीको योजना सञ्चालन गरिएको थियो । त्यहाँ सडक बनाउँदा पाइपलाइन सबै काटिए । तपाई भन्नुहोस् त, त्यो नोक्सानी कसले व्यहोर्ने ?’ उहाँले भन्नुभयो ।  

अब नेपालले पहिल्याउनुपर्ने बाटो 

सिंहदरबारको अधिकार राज्यको तल्लो तहसम्म पुग्दैछ । यो राजनीतिक व्यवस्था परिवर्तनसँग पनि हान जानकार हुनुहुन्छ । सिंहदरबारको अधिकार सीधै तल पठाउँदा विकास निर्माणमा आउने समस्या र समाधानका उपाय पनि सुझाउनुहुन्छ हान । ‘सधैं केन्द्रमा बसेर हुकुम दिने काम अब हुँदैन, तर यसो भन्दैमा यो होइन कि सबै काम गर्न स्थानीय तह सक्षम छन् । त्यसैले गाउँपालिका तथा नगरपालिकालाई नीति बनाउन सघाउने, केन्द्रले प्राविधिक रुपमा मार्गदर्शन गर्ने काम गरिरहनुपर्छ’ हान भन्नुहुन्छ ‘नेपाललाई धेरै राष्ट्रले सहयोगको हात फैलाएका छन् । बाहिर बाट एसियाली विकास बैंक, विश्व बैंक लगायत अरु विकास साझेदारले पनि पैसा दिन खोज्छन्, तर यस्तो रकम कहिलेकाही कुनै पनि देशको राजनीतिक अभिष्ट पूरा गर्न दिइरहेको हुन्छ । विदेशीको चाहनामा दिइने रकमले देशको विकास हुँदैन भन्ने कुरा यहाँका नेता तथा योजनाकारहरुले बुझ्न आवश्यक छ ।’ 

सेवा बेचेर नेपाल आत्मनिर्भर बन्न सक्छ 

नेपालमा सरकार परिवर्तन भइरहन्छ र हरेक पटक फेरिने सरकारले आर्थिक क्रान्तिका कुरा गर्छ मात्रै । तर अहिलेसम्म आर्थिक क्रान्ति के हो ? देशमा आर्थिक क्रान्ति कसरी हुनसक्छ भनेर कसैले खाका पेश गर्न सकेको छैन । नेपालको विकास प्रक्रियामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्दै रहदै आउनुभएका हानको भनाईमा नेपालले विदेशीलाई सेवा बेचेर आर्थिक क्रान्ति गर्न सक्छ । उहाँ भन्नुहुन्छ ‘नेपालको लागि पर्यटन नै एकमात्र सम्भावना बोकेको क्षेत्र हो, यसको सुन्दरता हेर्न लगाएर मनग्गे पैसा कमाउन सकिन्छ ।

हाम्रो सगरमाथा, भक्तपुर तथा काठमाडौको पुराना कलाकृति र नेवारी संस्कृति, लुम्बिनी तथा अन्य ट्रेकिङ रुटहरु अरु कुनै पनि देशको पर्यटकीय स्थलसँग प्रतिस्पर्धा नै हुदैन, त्यसैले यहाँ पर्यटकका लागि आवश्यक पूर्वाधार राम्रो बनाउने, बस्ने खाने ठाउँ स्तरीय बनाउने र पर्यटक भित्र्याउने हो भने नेपालको समृद्धि यसैमा सम्भव छ । नेपाल भूपरिवेष्ठित देश भएकाले उद्योग कलकारखाना खोलेर छिमेकी देश चीन र भारतको उत्पादनसँग प्रतिस्पर्धा गरेर उन्नति गर्ने सपना कोरा सपना मात्र हुन्छ । बरु पर्यटक भित्र्याएपछि अनेक थरी सहायक उद्योगहरु फस्टाउँछन् । त्यहीबाट आयआर्जन गर्न सकिन्छ । 

(International Rainwater Harvesting Alliance का President Han Heijnen सँग पी.टी.लोप्चनले गरेको कुराकानीमा आधारित) 

तस्बिर : Guymer, Nep facts

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया