MENU

समाज

Ncell Axiata

दुर्गमका बस्ती जोड्दै झोलुङ्गे पुल, ढुक्क भएर विद्यालय जान्छन् बालबालिका

प्रकाश धौलाकोटी/उज्यालो ।

तेह्रथुम, साउन २७ – कुनै एउटा गाउँलाई अर्को गाउँसँग वा एउटा टोललाई अर्को टोलसम्म जोड्ने माध्यम के हुन सक्ला ? सडक, यातायात वा अरू कुनै माध्यम ? सबैले सहजै भन्न सक्छन् सडक र यातायात । तर यहाँको हकमा यो उत्तर सही होइन । दुर्गम पहाडी यो जिल्लामा एउटा गाउँलाई अर्को गाउँसँग जोड्ने पहिलो माध्यम झोलुङ्गे पुल बनेको छ । 

दुर्गम गाउँमा सडक सञ्जाल नपुग्दै एक गाउँलाई अर्कोसँग जोड्न सीमाका खोलामा झोलुङ्गे पुल बनाउने अभियान नै चलेको छ । वर्षेनी दर्जनौंको संख्यामा झोलुङ्गे पुल निर्माण भइरहेका छन् । जिल्लामा सरकारी तथा गैरसरकारी निकायले झोलुङ्गे पुल निर्माणको अभियान नै सन्चालन गरेका छन् । जिल्ला समन्वय समिति र अन्तर्गतका निकायहरुले योजना छनौट र प्राथमिकीकरण गर्दादेखि निर्माणको काम गर्दासम्म झोलुङ्गे पुल निर्माणलाई प्राथमिकतामा राखेका छन् । 

ठूला नदी र खोलाहरु त्यति धेरै नभए पनि धेरै वर्षे र खहरे खोलाहरु रहेको जिल्लामा अहिलेसम्म १ सय ४ वटा पुल निर्माण भइसकेका स्थानीय विकास अधिकारी तुलसीनाथ गौतमले बताउनुभयो । साविकको जिल्ला विकास समितिले गएको एक दशकमा मात्रै ५० वटा भन्दा बढी पुल बनाएको छ । चालु आर्थिक वर्षमा पनि झण्डै एक दर्जन पुल निर्माण भइरहेको पुल निर्माणको लागि सहजीकरण गर्दै आएको दलित सचेतना समाज नेपालका प्राविधिक दिपक लिम्बुले बताउनुभयो । 

अझै पनि वर्षायाम सुरु भएसँगै खहरेले सताएको भन्दै वर्षेनी झोलुङ्गे पुल बनाइदिन माग गर्दै आउनेको संख्या धेरै रहेको जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ । संघीय संरचना लागू भएपछि दुई नगरपालिका र चार गाउँपालिकामा विभाजित बनेको जिल्लामा अहिलेसम्म १ सय ४ वटा पुल बनिसक्नु अत्यन्तै ठूलो संख्या भएको पूर्व जिविस सभापति किशोरचन्द्र दुलालले बताउनुभयो ।

‘डेढ दशक अघि झोलुङ्गे पुल निर्माणका लागि छुट्टै गुरुयोजना नै तयार गरेर काम थालिएको थियो,’ उहाँले भन्नुभयो, ‘स्थानीयको माग बमोजिम एक गाउँलाई अर्को गाउँसँग जोड्ने अभियान अहिले सार्थक बन्दैछ ।’ अझै केही ठाउँमा पुलको आवश्यकता आफूले पनि महसुस गरेको उहाँले बताउनुभयो । ‘हिउँदमा खहरेको मतलब हुँदैन, तर वर्षाका बेला खहरे उर्लिएर एक गाउँबाट अर्को गाउँ मेलापात जान आउन गाउँबासीलाई गाह्रो पर्ने गर्छ,’ उहाँले भन्नुभयो । 

अहिले जिल्लाका सबै नगरपालिका र गाउँपालिकाका वडाहरुको केन्द्रसम्म सडकको ट्रयाक खोलिएको छ । तर सबै सडकमा गाडी गुड्दैनन् । अनि सबै दुर्गमका बस्तीसम्म सडकको पहुँच पुग्ने कुरै भएन । दुर्गमका एक वस्तीलाई खोला पारीको अर्को वस्ती तथा दुर्गमलाई सुगमसँग जोड्ने माध्यम नै झोलुङ्गे पुल भएको दलित सचेतना समाजका अध्यक्ष अनुभुतिबम नेपालीले बताउनुभयो ।

‘सडक पुगे पनि यातायात चल्दैन, हिँडेर जाँदा बाटामा पर्ने खोल्सीतर्नै पर्‍यो, त्यसका लागि भरपर्दो माध्यम झोलुङ्गे पुल नै रहेछ, उहाँले भन्नुभयो । खोलामा पुल बनेपछि एउटा गाउँको उत्पादन अर्को गाउँमा सजिलै पुग्न थालेको छ । वल्लो गाउँ पल्लो गाउँ मेलापात अर्मपर्म चलाउन स्थानीयबासिन्दाई सहज भएको छ । वर्षामा भेलले ठूला हुने खहरे खोलामै पनि तर्न नसक्ने समस्या अब खासै धेरै छैन ।  

खोलामा झोलुङ्गे पुलको निर्माणसँगै गाउँ र सहरको दूरी पनि नजिकिएको छ भने गाउँको पहिलेको तुलनामा विकास पनि धेरै भएको छ । खोलामा पुलको निर्माणसँगै वर्षाको उर्लंदो भेलमा होम्मिएर जोखिमपूर्ण यात्रा गर्दै आएका गाउँवासीले त्यो समस्याबाट मुक्ति पाएको बताउँछन् । भेल आउँदा स्कूल जानबाट रोकिने धेरै गाउँका बालबालिका पुल बनेपछि ढुक्कले स्कूल जान सकेका छन् । 

जिल्लामा पानीको मात्रा बढी भएका र एउटै खोला तर्न घन्टौं समय लाग्ने खोलामा आवश्यकता हेरी छनोट गरेर झोलुङ्गे पुल निर्माण गरिएको छ । साना तथा ठूला गरी खोला नालाको संख्या धेरै रहेको जिल्लामा तत्कालिन जिविसले थालेको झोलुङ्गे पुल बनाउने कामलाई गाउँपालिका र नगरपालिकाहरुले पनि निरन्तरता दिएका छन् । यही वर्ष योजना छनौटका क्रममा माग भई आएका ५ वटा झोलुङ्ग पुल निर्माणका लागि बजेट विनियोजन गरिसकेको मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले बताउनुभयो ।

यो गाउँपालिका जिल्लाकै सबैभन्दा सानो छ । तर यही गाउँपालिकामा अहिलेसम्म सबैभन्दा धेरै झोलुङ्गे पुल बनेका छन् । एउटै खोलामा पनि तलमाथि गरी ४/५ वटासम्म पुल बनिसकेका स्थानीय प्रदिप बुढाथोकीले बताउनुभयो । अहिलेसम्म गाउँपालिका क्षेत्रभरि २९ वटा पुल बनिसकेका निमित्त कार्यकारी अधिकृत कृष्ण घिमिरेले जानकार िदिनुभयो । ‘अहिले नै जिल्लाकै धेरै झोलुङ्ग पुल बनिसकेको छ, उहाँले भन्नुभयो, अझैपनि झोलुङ्ग पुल नहुँदा समस्या भएको गुनासो स्थानीयबासीको आइरहेकै छ ।’ 

जिल्लाभर गरी खहरे, वर्षे तथा खोलाहरुको संख्या झण्डै डेढ सय छ । अधिकांश भू–भाग भिरालो रहेको यहाँका गाउँको सीमा विभाजन समेत यिनै खोला नाला र खहरेका आधारमा गरिएका छन् । ती सबै खोलामा पुल नभएपनि सम्भावित जोखिम र स्थानीयबासीको माग हेरेर योजना निर्माण गरी पुल निर्माणको काम भइरहेको पुल निर्माणको सहजीकरण गरिरहेको संस्था दलित सचेतना समाजका निर्देशक कुमार विशंखेले बताउनुभयो ।

‘गाउँका बासिन्दाले अरू पुल निर्माणका लागि अनुरोध गरिरहे पनि रकम अभावमा बनाउन सकिएको छैन, दुई तीन पटक समेत योजना प्राथमिकतामा पारिएका पुलहरु छन्,’ उहाँले भन्नुभयो । पुल पुरानो भए, मर्मत गर्नुपरे वा खोलामा पानीको भेल बढी आएर पुलमा खतरा आउने संकेत देखिएमा ती पुल संरक्षकले तत्काल जिल्ला समन्वय समितिलाई सूचना दिने गरेका छन् ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बेलहिया नाकाबाट तीन युवतीको उद्धार

    रुपन्देही, भदौ ४ – रुपन्देहीको बेलहिया नाकाबाट तीनजना युवतीको उद्धार गरिएको छ । प्रहरीका अनुसार नुवाकोटका दुईजना र मकवानपुरकी एक युवतीलाई नेपाल–भारत सीमा नाकाबाट उद्धार गरिएको हो ।

  • झाडापखालाका कारण कपिलवस्तुमा एकजनाको मृत्यु

    कपिलवस्तु, भदौ ४ – कपिलवस्तुको महाराजगंज नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । नगरपालिकाको वडा नम्बर ७ मा एकजनाको ज्यान गएको छ ।

  • उदयपुर: एक हप्तामा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

    उदयपुर, भदौ ४ – उदयपुरमा प्रहरी प्रमुख फेरिएसँगै प्रहरीले निगरानी बढाएको छ । पछिल्लो एक हप्ताको अवधिमा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषध दुर्व्यसनी विरुद्ध प्रहरीले सक्रियता देखाएसँगै प्रयोगकर्ता पक्राउ परेका हुन् ।

  • ढल बग्ने बाग्मतीमा १७ वर्षअघि सुरु भएको र्‍याफ्टिङ इतिहास

    सन् २००१ को अगष्ट ११ शनिबारको दिन । मेघ सामु ठूलो चुनौतीको पहाड थियो । त्यसअघि नै बाग्मतीमा र्‍याफ्टिङ गर्न सम्भव छैन भन्नेहरुको ठूलै जमात थियो । तर उहाँले तिलगंगा आँखा प्रतिष्ठान अगाडिबाट शंखमुलसम्म र्‍याफ्टिङ गरेर बाग्मतीको वर्षायाममा र्‍याफ्टिङ गर्न सम्भव छ भन्ने प्रमाणित गरेर देखाउनुभयो ।

  • रुपन्देहीमा लागुऔषधसहित तीनजना पक्राउ

    रुपन्देही, भदौ ४ – रुपन्देहीमा प्रहरीले अबैध लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । उनीहरुलाई लागुऔषध ब्राउन सुगर, फेनारगन, डाइजेपामसहित पक्राउ गरिएको हो ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया