MENU

मनोरञ्जन

Ncell Axiata

फिल्मकै लागि तौल घटाउने नेपाली कलाकार

काठमाडौं, साउन २७ - चलचित्रकाे कथाअनुसार  नेपाली कलाकारले तौल घटाउने गरेका छन् । चलचित्रका लागि भन्दै थुप्रै कलाकारले अाफ्नो तौल घटाउने बढाउने गरेका छन् । ‘प्रेम गीत २’ बाट चलचित्र उद्योगमा डेब्यु गरेकी अभिनेत्री अश्लेषा ठकुरी यतिबेला चर्चामा छिन् । पहिलो सिनेमाबाट पाएको सफलताकै कारण अश्लेषा यतिबेला अन्य सिनेमाको तयारीमा लाग्न उत्साहित भएकी छिन् । सिनेमा रिलिज भएसँगै अश्लेषा आफ्नो शरीर बनाउनमा ध्यान दिइरहेकी छिन्  । सिनेमामा सबैका मन पर्ने कलाकार प्रदीप खड्का भएका कारण अश्लेषा ओझेल परेकी हुन् की भन्ने पनि धेरैलाई भएको छ । 

‘प्रेमगीत २’ बाट प्रदिपको स्टारडम क्रेज हवात्तै बढेकोे देखियो ।  अश्लेषाले पनि पहिलो सिनेमाबाट सोचेभन्दा राम्रो प्रतिक्रिया पाएका कारण खुशी भने पाएकी छिन् । यहि खुशीकै कारण अश्लेषा यतिबेला तौल घटाउन र फिगर बनाउन तिर ध्यान दिएकी छिन् । उनले ‘प्रेम गीत २’ को काम सकाएपछि ७ किलो तौल घटाईसकेकी छिन् । उनले आगामी सिनेमाको लागि यो तयारी गरेको बुझिएको छ । सिने नगरीमा यस अघि पनि अन्य केही कलाकारहरुले सिनेमाको लागि तौल घटाएका छन् । 

संचिता लुईँटेल

 

एकताकाकी चर्चित अनि व्यस्त अभिनेत्री संचिता लुईँटेल निखिल उप्रेतीसँग विवाह गरेपछि सिनेमाबाट टाढिइन् । विवाह पछि दुई सन्तानकी आमा बनेपछि संचिता सुत्केरी अवस्थामा खाएको खानाकै कारण मोटाएर ८० किलोसम्म पुगिन् । तर उनले छोराछोरी हुर्किएपछि भने सिनेमामा कमब्याक गर्नकै लागि तौल घटाईन् । आमा बनेपछि सिनेमा ‘राधा’ मार्फत मुख्य अभिनेत्रीका रुपमा सिनेमामा फर्किएकी संचिताले सिनेमाकै लागि २८ किलो तौल घटान् जुन त्यति सहज भने थिएन । 

संचिताले तौल घटाउनका लागि चिल्लो र फ्राई खाना बन्द गरेकी थिइन भने दिनमा ८ गिलास पानी  र दैनिक व्यायाम गर्नु उनको फिटनेसको राज हो । सिनेमा ‘राधा’ मार्फत मुख्य अभिनेत्रीको रुपमा फर्किएकी संचिताले त्यसअघि ‘नाई नभन्नु ल ३’ मा  विशेष भूमिका निर्वाह गरेकी थिइन् । हाल भने उनी सिनेमा ‘लिला को प्रमोशनमा व्यस्त छिन् ।

आर्यन सिग्देल

तौल घटाउन असाध्यै गाह्रो मान्छन् आर्यन ।  गत वर्ष उनले तौल घटाउन नसकेको भन्दै उनलाई सम्झाउनकै लागि निर्देशक दिनेश राउतले ८ किलो तौल घटाएको कुरा चर्चामा आएको थियो । तर आर्यनले तीन वर्ष अघि सिनेमा ‘अलबिदा’ का लागि ७ किलो तौल घटाएका थिए । सिनेमामा डिएसपीको भूमिकामा भएका आर्यनले सिनेमामा आकर्षक र पात्र सुहाउँदो देखिनकै लागि  तौल घटाएका हुन् ।

कार्तिक ३ गते रिलिज हुने तयारीमा रहेको सिनेमा रुद्रप्रियामा पनि आर्यन पहिलेको तुलनामा दुब्लो देखिएका छन् । तर उनले कति तौल घटाएका हुन् या हैनन् त्यसको आधिकारिक जानकारी भने छैन । आर्यनले दश वर्ष अघि सिनेमा ‘किस्मत’बाट सिने नगरीमा डेब्यु गरेका हुन् ।

अनुप विक्रम शाही

अभिनेता अनुप विक्रम शाहीले सिनेमा ‘कमलेको विहे’ को लागि ११ किलो तौल घटाएका छन् । रिलिजको क्रममा रहेको यस सिनेमामा अनुप गाउँले पात्र कमलेको भूमिकामा छन् । यही पात्रमा फिट देखिनका लागि उनले यो मिहिनेत गरेका हुन् । सिनेमाको कथाको माग अनुसार नै खानपिनमा विशेष ध्यान दिएर अनुपले तौल घटाएका थिए ।  अनुपले, ठमेल डट कम, हँसिया  किङ लगायतका सिनेमामा काम गरेका छन् । उनलाई सिनेमामा हिरो भन्दा पनि दर्शकले भिलेनको रुपमा रुचाएको पाइन्छ । यही कारण पनि कतिले त उनलाई ह्याण्डसम भिलेन पनि भन्ने गरेका छन् ।

ऋचा शर्मा    

अभिनेत्री ऋचा शर्मा सिनेमा ‘भिजा गर्ल’ का लागि ८ किलो तौल घटाएर उदाहरण बनेकी थिईन् । किनकी त्यसबखत सिनेमाका लागि भनेर तौल घटाउन अघि तम्सिने अभिनेत्री बिरलै थिए । यहि कारण पनि ऋचाको यो काम त्यतिबेला अपवाद नै बनेको थियो । सिनेमामा अनुबन्धित भएपछि उनले ५९ किलोको शरीरलाई ५२ किलोको बनाएकी थिइन् । 

पछि फेरि मोटाएकी ऋचालाई सार्वजनिक ठाउँमा जाँदा लगाएको पहिरन पनि नसुहाएको टिप्पणी धेरैले गर्न थालेका थिए । सिनेमा ‘लुट २’ भन्दा अघि ऋचा मोटी थिइन् । तर उनले ‘लुट २’ को तयारी गर्दै फेरि ४ किलो तौल घटाइन् ।  ६२ केजी भएकी ऋचा तौल घटाएर ५८ किलो पुगेकी थिईन् ।

केकी अधिकारी

केकी अधिकारीसँग सिनेमाको लागि तौल घटाएको र बढाएको दुवै अनुभव छ । केकीले गत वर्ष मात्रै सिनेमा ‘ऐश्वर्या’का लागि पाँच किलो तौल घटाएकी थिइन् । सिनेमाको चरित्रमा एसएलसी दिएको युवती जस्तो देखिनु पर्ने भएका कारण उनले तौल घटाएकी थिइन् । नियमित योगा र जुम्बा गर्नुका साथै खानामा कन्ट्रोल गरेर उनले तौल घटाएको हामीलाई बताएकी थिइन् ।

त्यस्तै केकीले सिनेमा ‘बितेका पल’ का लागि पनि केही किलो तौल घटाएकी थिइन् । उता सिनेमा ‘मसान’ का लागि केकीले केही तौल बढाएकी थिइन् । हाल केकी सिनेमा ‘हुर्रे’ को छायाकंनको तयारीमा जुटेकी छिन् ।

वर्षा राउत

पछिल्लो समयमा अभिनेत्री वर्षा राउतलाई मोटी सुन्दरीको रुपमा लिइन्छ । खाइरहनुपर्ने बानी भएका कारण वर्षालाई तौल घटाउन साह्रै गाह्रो पर्छ । ‘नाई नभन्नु ल ४’ बाट सिने नगरीमा डेब्यु गरेकी अभिनेत्री वर्षाले त्यसपछि ‘छक्का पञ्जा’ र जात्रामा काम गरिन् । उनका दुवै सिनेमा सफल भए । यी सिनेमाहरुको सफलता पछि उनले सिनेमा ‘मेरो पैसा खोई’ मा काम शुरु गरिन् ।

यही सिनेमाको लागि उनले पाँच किलो तौल घटाउनु पर्ने थियो । जसको लागि उनले वर्क आउट पनि गरिन् । वर्क आउट पछि वर्षाको केही तौल त घट्यो तर सिनेमाको काम बीचमै रोकियो । निर्देशक र निर्माबीच विवाद भएपछि सिनेमाको  काम रोकिएको थियो । हाल भने वर्षा सिनेमा ‘छक्का पञ्जा २’ को काम सकाएर  अस्ट्रेलिया भ्रमणमा छिन् ।

रीमा विश्वकर्मा

पछिल्लो समय नेपाल आइडलको प्रस्तोताको रुपमा काम गरेर चर्चामा आएकी अभिनेत्री रीमा विश्वकर्मासँग पनि सिनेमाको लागि तौल घटाएको अनुभव छ । रीमाले सिनेमा ‘उफ यो मनले गर्नु गर्यो’ को लागि ६ किलो तौल घटाएकी हुन् । सुरेश चन्दको निर्देशन रहेको  यस सिनेमामा  रीमा मुख्य अभिनेत्री छिन् भने अभिनेता यशराज मुख्य अभिनेताको रुपमा ।

सिनेमा ‘स्वर’ बाट डेब्यु गरेकी  रीमा विश्वकर्माले त्यसपछि स्केप, ऋतु, बाटो मुनीको फूल २, भाले फाइटलगायतका सिनेमाहरुमा काम गरेकी छिन् । रीमाले सिनेमामा भन्दा बढी सफलता मोडलिङमा पाएकी छिन् । उनको कलाकारिता पनि मोडलिङबाटै गरेकी थिइन् ।

सुरज पाण्डे

‘लभ लभ लभ’बाट डेब्यु गरेका अभिनेता सुरज पाण्डेले पनि सिनेमाको लागि ३२ किलो तौल घटाएका छन् । सिनेमा ‘लभ लभ लभ’मा काम गर्ने पक्का भएपछि सुरजले तौल घटाउन सुरु गरेका थिए । सिनेमाको मुख्य अभिनेता त्यसमाथि पनि सुन्दर अभिनेत्रीको पछि लाग्ने पात्रको रुपमा काम गर्नुपर्ने भएका कारण आफूले तौल घटाएको सुरजले बताएका थिए । सुरजले तीन महिनामै ३२ किलो तौल घटाएका थिए ।

१ सय १२ किलोका सुरज सिनेमा ‘लभ लभ लभ’को समयमा ८० किलोका थिए ।  उनले तौल  घटाउनको लागि  कार्डियो हाईडेन्सिटी वर्कआउट फ्लो गरेका थिए भने खानामा कन्ट्रोल गरेका थिए । त्यसबखत उनले चिल्लो, मैदा, गुलियो र  कार्बोहाइड्रेडयुक्त खानाहरु बारेमा थिए भने उसिनेको कुखुराको मासु, फलफूलसँगै शाकाहारी खानामा जोड दिएका थिए ।

उज्यालो र गफगाफ डटकमकाे सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया