MENU

समाज

Ncell Axiata

मेलम्चीको पानी अर्को दसैँसम्म कुर्नुपर्ने, ढिलाई हुनेको कारण के ?

अर्जुन पोख्रेल/सिन्धुपाल्चोक ।

काठमाडौं, साउन २७ – सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाडौंमा पानी ल्याउन भन्दै १७ वर्षदेखि निरन्तर काम भैरहेको छ । काठमाडौंमा यो वर्ष चाहिँ पक्कै पानी आउँछ भन्दै कम्तिमा १ दर्जन पटक मिति तोकियो, तर पानी आएन् । २०७२ सालदेखि भने मेलम्चीमा पहिलेभन्दा निकै द्रुत गतिले काम भयो । सरकारको ताकेता पनि त्यत्तिकै बढेको थियो । आयोजनाले मागेजति बजेट दिइयो । तोकिएको समय भन्दा छिटो काम सकेमा पुरस्कार र ढिला गरेमा जरिवाना तिराउने निर्णयले पनि पोहोरसम्म द्रुतगतिमा काम भयो ।

पोहोरको असोजमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनभरी सुरुङस्थलमै बसेर आयोजनाको सबै जानकारी लिनुभयो र २०७४ सालको दसैंमा काठमाडौंवासीले धारा खोल्दा मेलम्चीको पानी आउने पक्का गर्न निर्देशन दिनुभयो । इन्जिनियरसँगको छलफलपछि दैनिक ३३ मिटरका दरले सुरुङ खनेमा २०७४ को दसैंमा काठमाडौंमा पानी आउने पक्का गरिएको थियो । सरकारी सक्रियताकै कारण मेलम्चीमा एकदिनमा ३९ मिटरसम्म सुरुङ खनिएका उदाहरण पनि छन् । तर पछिल्ला केही महिनामा सुरुङ खन्ने काम सुस्तायो अहिले त दैनिक सरदर १६ मिटरका दरले मात्रै सुरुङ खन्ने काम भैरहेको छ । यही हिसावले काम भएमा आगामी पुससम्ममा सुरुङ खन्ने काम सकिने आयोजनाका प्रमुख बताउँछन् । तर नरम चट्टान आएमा र भुक्तानीको विषयमा नेपाली ठेकेदारसँग इटलीको सिएमसी द रविना कम्पनीबीच विवाद झन बढ्दै गएमा सुरुङको  काम झनै पर धकेलिनेछ ।

मेलम्ची सुरुङ : यस्तो छ प्रगति विवरण

काठमाडौंमा दैनिक १७ करोड लिटर पानी ल्याउन सिन्धपाल्चोकको अम्वाथानमा सुरुङ खन्ने काम भैरहेको छ । अम्वाथानबाट सुन्दरीजलसम्म साढे २७ किलोमिटर सुरुङ खन्नुपर्नेमा अव २ किलोमिटर जति मात्रै बाँकी छ । अब सुरुङको मुख्य प्रवेशद्वार अम्वाथान भन्दा तल र ग्याल्थुम भन्दा माथिको खण्डमा १ हजार ६७ मिटर खन्न बाँकी छ । यस्तै सिन्धुबाट ग्याल्थुमसम्म ११ सय मिटर बाँकी छ ।

अहिले मेलम्ची आयोजनाकै सबैभन्दा अफ्ठेरो स्थानमा सुरुङ खन्ने काम भैरहेकाले काम ढिला भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिनुभयो । ‘अहिले हामी साढे ४ किलोमिटर भित्र सुरुङ खन्ने काम गरिरहेका छौं, जहाँ चट्टान पनि नरम रहेकोले समस्या भएको छ’ उहाँले भन्नुभयो, ‘साढे ४ किलोमिटर भित्र अक्सिजन पुर्‍याउन पनि निकै समस्या छ, अक्सिनज पुर्‍याउने केही मेसिनले पनि पूर्ण क्षमतामा काम नगरेकोले थप समस्या देखियो ।’दैनिक ३३ मिटर सुरुङ खन्नुपर्नेमा अहिले दैनिक १६ मिटर खनेपनि कडा चट्टान आएमा दैनिक ३० मिटरसम्म खन्न सकिने कार्यकारी निर्देशक देवकोटाले बताउनुभयो । असोजको लक्ष्य केही पर सरेपनि डिसेम्बरसम्ममा सुरुङ सक्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

सुरुङ खन्दा देखिएका समस्या

कुनै बेला दैनिक ३९ मिटरसम्म मेलम्चीको सुरुङ खनिएको थियो । तर अहिले दैनिक जम्मा १६ मिटर मात्रै सुरुङ खनिएको छ । दैनिक ३३ मिटर सुरुङ खन्ने लक्ष्य पूरा नहुँदा २०७४ सालको दसैँमा काठमाडांैमा मेलम्चीको पानी नआउने पक्का भयो । लक्ष्य अनुसारको २०७५ सालको दसैँयता काठमाण्डौका धारामा पानी पानी नआउने बलियो सम्भावना छ ।मेलम्चीको सुरुङ खन्ने काम अहिलेसम्मकै अफ्ठेरो ठाउँमा पुगेको छ । अब जम्मा २१ सय मिटर सुरुङ खन्ने काम बाँकी छ तर यो निकै चुनौतीपूर्ण काम हो । 

पहिलो समस्या सुरुङ खन्ने क्रममा अहिले नरम चट्टान भेटिएको छ । जति कडा चट्टान भेटियो सुरुङ बनाउन उति सजिलो हुन्छ । तर अहिले नरम चट्टान भेटियो । अनि सुरुङ खन्ने  क्रममा हानिकारक रसायन धेरै चुहिन थालेको छ भने पानीका ठूल्ठूला मूल पनि भेटिएका छन् ।

दोस्रो अक्सिनज पुर्‍याउन समस्या छ । सुरुङभित्र भएकाले अक्सिजन पुर्‍याउनै समस्या छ । अक्सिजन पुर्‍याउन राखिएका मेसिन पनि पुराना भैसकेका छन् । मर्मतको अभावमा पूर्ण क्षमतामा अक्सिजन पुर्‍याइरहेका छैनन् ।

तेस्रो समस्या मुख्य ठेकेदार कम्पनी सिएमसी द रविनाले अत्याधुनिक उपकरण नकिन्दा देखिएको छ । सुरुङ खन्ने, सुरुङ खन्दा निस्किएका चट्टान बाहिर निकाल्ने, खनेको सुरुङ टाल्ने लगायतका  कामको लागि चाहिले मेसिन अत्याधुनिक छैनन् । अहिले प्रयोग भैरहेका मेसिन पुराना छन् ।चौथो समस्या मुख्य ठेकेदार कम्पनी सिएमसी द रविना र नेपाली सहायक ठेकेदार कम्पनीको विवाद हो । सिएमसी कम्पनीले नेपाली सहायक ठेकेदारसँग विभिन्न उपकरण भाडामा किनेको छ भने सुरुङ निर्माणसँग सम्बन्धित धेरै काम नेपाली ठेकेदारलाई नै दिएको छ । तर सिएमसीले नेपाली ठेकेदार कम्पनीलाई भुक्तानी नदिँदा धेरैपटक समस्या देखिएको छ । 

अहिलेसम्म १३ वटा कम्पनीले सिएमसीले आफूहरुलाई दिनुपर्ने ४० करोड रुपैयाँ भुक्तानी नदिएको बताएका छन् । रकम नदिएसम्म मेलम्ची आयोजनाको कार्यालयमा ताला लगाउनेदेखि  सुरुङ खन्ने काम ठप्प पार्नेसम्मको चेतावनी उनीहरुले दिएका छन् ।

बाँध बनाउन अर्को समस्या

एकातिर सुरुङको कारण काठमाडौंमा पानी आउने दिन लम्बिदो छ भने मुख्य सुरुङ नजिकै पानी पठाउन बनाइने बाँधका कारण ढिला हुने देखिएको छ । अम्वाथानमा रहेको सुरुङबाट पानी पठाउनुभन्दा पहिले मेलम्चीको पानी बाँधमा ल्याउनुपर्छ ।

एउटा पहाड भत्काएर खाली ठाउँ बनाइएको छ । तर बाँध बनाउन मेलम्ची खोलालाई फर्काउनुपर्छ । खोला फर्काउन अर्को सुरुङ पनि तयार भैसकेको छ । तर खोला उर्लेका कारण कात्तिकयता खोला फर्काउन सम्भव छैन र बाँधको काम सुरु गर्ने अवस्था नै छैन । बाँध बनाउनुपहिले डाइभर्सन वेर बनाउनुपर्छ । जति नै चाँडो काम गरेपनि मेलम्ची खोलाको बहाव छेक्ने ५ मिटर अग्लो बाँध बनाउन ६ महिना लाग्ने कर्मचारीहरु बताउँछन् । बाँध बाँध्नु आफैँमा अफ्ठेरो र लामो समय लाग्ने काम हो भने खोलाले बगाएर ल्याएका ठूल्ठूला ढुंगामुढा छेक्न त्यत्तिकै फलामका पिलरमा जाली ट्रयास र्‍याक राख्नुपर्छ । यो काममा पनि समय लाग्नेछ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बेलहिया नाकाबाट तीन युवतीको उद्धार

    रुपन्देही, भदौ ४ – रुपन्देहीको बेलहिया नाकाबाट तीनजना युवतीको उद्धार गरिएको छ । प्रहरीका अनुसार नुवाकोटका दुईजना र मकवानपुरकी एक युवतीलाई नेपाल–भारत सीमा नाकाबाट उद्धार गरिएको हो ।

  • झाडापखालाका कारण कपिलवस्तुमा एकजनाको मृत्यु

    कपिलवस्तु, भदौ ४ – कपिलवस्तुको महाराजगंज नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । नगरपालिकाको वडा नम्बर ७ मा एकजनाको ज्यान गएको छ ।

  • उदयपुर: एक हप्तामा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

    उदयपुर, भदौ ४ – उदयपुरमा प्रहरी प्रमुख फेरिएसँगै प्रहरीले निगरानी बढाएको छ । पछिल्लो एक हप्ताको अवधिमा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषध दुर्व्यसनी विरुद्ध प्रहरीले सक्रियता देखाएसँगै प्रयोगकर्ता पक्राउ परेका हुन् ।

  • ढल बग्ने बाग्मतीमा १७ वर्षअघि सुरु भएको र्‍याफ्टिङ इतिहास

    सन् २००१ को अगष्ट ११ शनिबारको दिन । मेघ सामु ठूलो चुनौतीको पहाड थियो । त्यसअघि नै बाग्मतीमा र्‍याफ्टिङ गर्न सम्भव छैन भन्नेहरुको ठूलै जमात थियो । तर उहाँले तिलगंगा आँखा प्रतिष्ठान अगाडिबाट शंखमुलसम्म र्‍याफ्टिङ गरेर बाग्मतीको वर्षायाममा र्‍याफ्टिङ गर्न सम्भव छ भन्ने प्रमाणित गरेर देखाउनुभयो ।

  • रुपन्देहीमा लागुऔषधसहित तीनजना पक्राउ

    रुपन्देही, भदौ ४ – रुपन्देहीमा प्रहरीले अबैध लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । उनीहरुलाई लागुऔषध ब्राउन सुगर, फेनारगन, डाइजेपामसहित पक्राउ गरिएको हो ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया