MENU

मनोरञ्जन

Ncell Axiata

सेलिब्रेटी आमाको पछि लाग्ने चर्चित नेपाली कलाकार

काठमाडौं, साउन २८ – लोक गायिका मन्जु पौड्यालकी छोरी स्नेहा पौड्याल यतिबेला वेव सिरिज ‘हाम्रो हाईस्कुल’ का कारण चर्चामा छिन् । केही म्युजिक भिडियोमा काम गरेपछि अभिनयमा प्रवेश गरेकी स्नेहाको अभिनयकोे तारिफ धेरैले गरेका छन् । 

स्टेज कार्यक्रम प्रस्तोता र लोक दोहोरी गायिकाको रुपमा स्थापित भएकी मन्जुले पनि केही सिनेमामा अभिनय गरेकी छिन् यो कुरा कमैलाई थाहा होला । ‘बाबु कान्छा’ र ‘पोखराकी काली’ मा उनले अभिनय गरिसकेकी छिन् तर उनका यी दुवै सिनेमा रिलिज भएका छैनन् ।  

डेढ दशक भन्दा धेरै समय कलाकारितामा बिताएकी मन्जु स्टेज गायनका साथै स्टेज प्रस्तोताका रुपमा लोकप्रिय छिन् । आमा र छोरी दुवै अभिनयमा भएको यहि प्रसंगमा आज हामी अभिनयमा सक्रिय आमा छोरी /छोराको बारेमा एक सामाग्री तयार पारेका छौँ । 

प्रसिद्धिका रायमाझी

रडियो नाटक, सिरियल र सिनेमामा अभिनय गरेर सबैको प्रिय बनेकी अभिनेत्री सुशीला रायमाझीले अल्पायुमै संसारबाट बिदा लिइन् । ५२ वर्षकै उमेरमा पाठेघरको क्यान्सरका कारण निधन भएकी सुशीलाको आवाजको तारिफ धेरैले गर्छन् । एकताका उनको आवाजको माग यतिसम्म थियो की उनको आवाज नभइकन रेडियो नाटकहरु पुरा हुँदैनथे ।

 

त्यस्तै सिनेमाहरुमा पनि एकताका उनले राज गरेकी थिइन् । तर उनले छोटो समयमै सिने उद्योगलाई अलबिदा भन्नु पर्यो । दिवंगत अभिनेत्री शुशिला रायमाझीकी छोरी प्रसिद्धिका रायमाझीले पनि अभिनयमा कदम बढाइन् । तर उनको अभिनय कदम निरन्तर चल्न सकेन । सुशीला रायमाझीले  आफैले निर्माण गरेको सिनेमा ‘धन सम्पत्ति’ बाट छोरी प्रसिद्धिकालाई डेब्यु गराएकी थिइन् । तर प्रसिद्धिकाको अभिनय यात्रा लामो समय अघि बढ्न भने सकेन सुशीला रायमाझीले सिनेमा ‘धन सम्पत्ति’ र ‘पिञ्जडा’  निर्माण गरेकी छिन् ।  

ईश्वरी प्रधान

 

निमात्री एवम् अभिनेत्री नुतन प्रधानकी छोरी ईश्वरी प्रधानले पनि आफूलाई नेपाली सिने उद्योगमा अभिनेत्रीको रुपमा चिनाएकी छिन् । आमाकै पथलाई पछ्याएर इश्वरीले अभिनय थालिन । ईश्वरीको नाममा स्थापना भएको ईश्वरी फिल्म्सको ब्यानरमा धेरै सिनेमा निर्माण भएका छन । ईश्वरीले गायनको अनुभव पनि संगालेकी छिन् । उनले गाएको गीतमध्ये ‘मलाई बाबाको माया धेरै लाग्छ रे’ निकै लोकप्रिय भएको थियो ।

‘सोह्रवर्षे जोबान’ बाट मुख्य अभिनेत्रीको रुपमा सिने उद्योगमा प्रवेश गरेकी ईश्वरीले त्यसअघि केही सिनेमाहरुमा बालकलाकारको रुपमा भने काम गरेकी थिइन् । उनले मुख्य अभिनेत्रीका रुपमा काम गरेका सिनेमाहरुमा, सोह्र वर्षे जोबान, नेपाल प्यारो छ, सरस्वती लगायत पर्छन् । 

त्यस्तै अभिनेत्री नुतनले सरस्वती, सक्कली नक्कली जस्ता सफल सिनेमामा काम गरेकी छिन् । उनी  विगत केही वर्षयता छोरी ईश्वरीसँगै अमेरिकामा बसोबास गर्दै आएकी छिन् । अमेरिकामा बसोबास गरे पनि  २०७१ सालमा नुतन र ईश्वरीले सिनेमा ‘रंग बैजनी’ निर्माण गरेका थिए । यस सिनेमालाई नुतनका श्रीमान तथा ईश्वरीका बुवा शम्भु प्रधानले निर्देशन गरेका हुन् । निर्देशन छाडेको १२ वर्षपछि शम्भुले यस सिनेमालाई निर्देशन गरेका थिए ।

अरुणीमा लम्साल

चरित्र अभिनेत्री राधा लम्साल भावुकी छोरी हुन् अभिनेत्री अरुणीमा लम्साल । आमाकै पथलाई पछ्याउँदै अरुणीमा अभिनयमा आइन् । नेपाली सिने क्षेत्रमा १३ वर्ष बिताएकी अरुणीमाले ५० भन्दा धेरै सिनेमाहरुमा काम गरेकी छिन् । त्यस्तै अरुणीमाकी आमाले पनि दर्जनौँ सिनेमामा अभिनय गरेकी छिन् ।

दोबाटो, पूजा, जिद्दी, सपनाको नौलो संसार, पाले दाइलगायतका सिनेमामा काम गरेकी राधासँग नेपाल राष्ट्र बैंकमा जागिर खाएको अनुभव पनि छ । तीन वर्ष नेपाल राष्ट्र बैंकमा जागिर खाएपछि उनले ब्युटिपार्लरको काम गर्न थालिन् । 

ब्युटिपार्लरमै काम गर्ने क्रममा उनले अभिनय गर्ने मौका पाएकी थिइन् ।  सिरियल ‘पर्खाल’ बाट उनको अभिनय यात्रा शुरु भयो र सिनेमासम्म आइपुग्यो ।  उनले सिनेमा ‘जनम जनम’ बाट सिने करिअरको थालनी गरेकी हुन् । केही सिनेमाहरुमा अरुणीमा र राधाले सँगै काम गरेका छन् । ती मध्येको एक सिनेमा ‘दीप शिखा’ हो । 

अनमोल केसी

अभिनेता अनमोल केसीकी आमा शुष्मिता केसी पनि नेपाली सिने जगतमा अभिनेत्रीको रुपमा स्थापित भएकी छिन् ।  शुष्मिता अभिनेत्री, निर्मात्री हुँदै निर्देशक बन्ने तयारीमा छन् । उनले सिनेमा ‘म त तिम्रै हुँ’ निर्माण गरिसकेकी छिन् भने ‘बाबरी फूलको बोट’ निर्देशनको तयारी गरिरहेकी छिन् ।

 नेपाली बाबु, सुपरस्टार,  तँ त साह्रै बिग्रिस  नि बद्री,  म तिमी बिना मरिहाल्छु,  साथी म तिम्रो लगायतका सिनेमामा काम गरेकी शुष्मिताका छोरा अनमोल केसी अहिलेका सुपरस्टार हुन् । सिनेमा ‘होस्टेल’ बाट सिने नगरीमा प्रवेश गरेका अनमोलका सबै सिनेमाहरु सुपरहिट बनेका छन् । 

होस्टेल’ पछि  अनमोलले काम गरेका प्राय सबै सिनेमा जेरी, ड्रिम्स, गाजलु लगायतले करोड माथिको कारोबार गरेका छन् ।  अनमोलका बुवा भुवन केसी पनि सिनेमा क्षेत्रमा भएका कारण पनि अनमोल सानैदेखि अभिनयमा रुची राख्थे । त्यसैले पनि अनमोल अहिलेको स्थानमा छन् । अनमोल हाल सिनेमा ‘कृ’ को छायाकंनमा व्यस्त छन् । सिनेमाका केही पोस्टरहरु रिलिज भएका छन् जसलाई दर्शकले अत्यधिक रुचाएका छन् ।

विक्की मल्ल

अभिनेत्री मौसमी मल्लका छोरा विक्की मल्ल आमाको पथमा हिड्ने प्रयास गरे । तर सफल भएनन् । विक्की मल्ले ‘समय’ बाट डेब्यु गरेका हुन् ।  

नागबेली,  साइकल जस्ता सिनेमामा काम गरेका विक्कि सिनेमा नचलेपछि यस क्षेत्रबाट टाढिए । नेपाली सिनेमाकी सुन्दर अभिनेत्री मौसमी मल्लको चर्चा अहिले पनि हुने गर्छ तर उनका छोराले भने सिने नगरीमा त्यो सफलता र चर्चा पाउन सकेनन् । 

सिनेमाबाट टाढिएका विक्की हाल वैवाहिक जीवनमा रमाईरहेका छन् । उनले २०७१ सालको प्रेम दीवसको अवसर पारेर प्रेमिका  भूमिका सिंह ठकुरीसँग विवाह गरेका हुन् ।  एकताकाकी चर्चित अभिनेत्री मौसमी मल्ल पनि यतिबेला सिनेमामा सक्रिय छैनन् । जानकारी अनुसार उनी सिनेमाबाट टाढा रहेर ब्यापारमा संलग्न छिन् ।

रीस्ता बस्नेत

अभिनेत्री रिस्ता बस्नेतकी आमा पनि कलाकारितामा सक्रिय छिन् । मेकअप आर्टिस्टदेखि हेयर ड्रेसर हुँदै  कलाकारितामा आइपुगेकी विपना बस्नेत नै रिस्ताकी आमा हुन् ।

विपना बस्नेत उर्फ नक्कली हिसिला यमी २०५३ सालमा सिनेमामा हेयर स्टाइलिस्टको रुपमा काम शुरु गरेर सिनेमामा अभिनय गर्ने अवसर जुराएकी थिइन् । उनले २०५३ सालमा पहिलो पटक सिनेमा ‘पराई घर’ मा अभिनय गर्ने अवसर पाएकी थिइन् ।

उनले एक सय भन्दा बढी सिनेमाहरुका कलाकारहरुको कपाल बनाउने काम गरेकी छिन् भने म्युजिक भिडियोमा पनि उनले हेयर स्टाइलिस्ट र ड्रेसरको रुपमा काम गरेकी छिन् । जंजीर, दुलही रानी, मन पराएँ माया लाएँ, आधा पेज, रिफ्युजी लगायतका सिनेमाहरुमा विपनाको अभिनय छ । तर उनलाई चर्चा भने टेलिसिरियल ‘तीतो सत्य’ मा नक्कली हिसिला यमी बनेपछि मिलेको हो भन्दा फरक पर्दैन ।  

उनको कलेज पढ्दादेखि नै अभिनेत्री बन्ने चाहना थियो । तर मुख्य अभिनेत्री बनेर सिनेमा खेल्ने उनको रहर कहिल्यै पूरा भएन । यही कारण उनले छोरी रिश्ता बस्नेतलाई अभिनत्रीको रुपमा डेब्यु गराइन् । सिनेमा ‘रिफ्युजी’बाट रिश्ताले सिने नगरीमा डेब्यु गरेकी हुन् ।  त्यस्तै विपनाका छोरा  रिनेक्स बस्नेत पनि रंगमन्चमा सक्रिय छन् । छोरा–छोरीलाई विपना आफैले कलाकारितामा डोर्याएको बताउँछिन् ।  

अनुभव रेग्मी

बाल कलाकार अनुभव रेग्मीले सानै उमेरमा आफूलाई स्टारको रुपमा स्थापित गराइसकेका छन् । सिनेमा ‘नाई नभन्नु ल २’ बाट सिने नगरीमा  प्रवेश गरेका अनुभवकी आमा पनि चलचित्र क्षेत्रमा सक्रिय छिन् ।

अनुभवकी आमा हुन् अभिनेत्री कविता रेग्मी । कविताले केही बिज्ञापन र सिनेमाहरुमा काम गरिसकेकी छिन् । हालै मात्र रिलिज भएको सिनेमा ‘प्रेम गीत २’ मा उनले अश्लेषा ठकुरीकी आमाको भूमिका निर्वाह गरेकी छिन् जसलाई दर्शकले रुचाए ।

‘प्रेम गीत २’ दोस्रो साता पनि चलिरहेको छ । उनले ‘नाई नभन्नु ल २’, ‘बाटो मुनीको फूल’मा पनि अभिनय गरेकी छिन् । त्यस्तै अनुभव रेग्मीले ‘नाई नभन्नु ल २’ पछि लगातार सिनेमाहरुमा काम गर्ने अवसर पाए ।  उनले नाई नभन्नु ल सिरिज, रिदम, काली, आवरण लगायतका सिनेमामा अभिनय गरेका छन् । हाल अनुभव ‘नाई नभन्नु ल–५’ को तयारीमा छन् ।

उज्यालो र गफगाफ डटकमकाे सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया