MENU

समाज

ujyaalo forign call inside

तीन दिन चार रात बोडेमा मनाइने नीलबाराही नाच सकियो

रमेश गिरी/उज्यालो । 

भक्तपुर, साउन २८ – मध्यपुर थिमी नगरपालिका ८ बोडेमा तीनदिन चार रातसम्म मनाइने परम्परागत नीलबाराही नाच शनिबारबाट भएको छ । दैवी शक्तिमा विश्वास राख्दै नाचिने यो नाचको आफ्नै नियम एवं परम्परा अनुसार पानी पर्दा पनि भिजेरै देवगणले नाच नाच्नु पर्ने भएकाले पानी परे पनि नाच आज अन्तिम दिन दिनभर संचालन भएको हो
 
मध्यपुर थिमी ८ बोडेमा नेवार समुदायले हरेक वर्ष गाईजात्राको भोलिपल्ट मध्यरातदेखि सुरु गरि मनाइने यो नाच १५ दिन अघिदेखि मूलघरमा सिकाइने गरिन्छ ।  यो नाच राति, बिहान र दिउँसो टोलटोलको चोकचोकमा देखाईने परम्परा रहेको छ ।
 
बोडेको नारायणथान लाछीबाट सुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा आएर नीलबाराही नाच समापन हुने बाबुकाजी भिन्दुवा श्रेष्ठले जानकारी दिनुभयो ।  
 
देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगण रहेको यो नाचमा ६ गुरु, १९ देवताका सहयोगी, धाँ, भुस्याहा, का, बौचा बाजा बजाउने ९ लगायतका विभिन्न सहयोगीहरु गरी ११५ धाँ बाजा बजाउने श्रीकृष्ण खम्बु श्रेष्ठले बताउनुभयो । 
 
दैनिक १० देखि १४ घन्टासम्म परम्परागत नियममा बाँधिएर टोलटोलमा गएर नाच्नुपर्ने यो नाच मल्लकालभन्दा अगाडि नवदुर्गा नाचसँगै सुरु भएको हुनसक्ने स्थानीयबासीको भनाई छ । 
 
नीलबाराही देवीले एकदिन मानिसका रूपमा बोडे सहर आएर धोँ जातका एक मानिसलाई नीलबाराही जङ्गलमा लगेर चार दिनसम्म कसैले नदेख्ने गरी राखेर नाचको सम्पूर्ण विधिविधान सिकाएर पठाएपछि यो नाच सुरु भएको किम्बदंन्ती एवं जनविश्वास रहँदै आएको गुरु श्रेष्ठले बताउनुभयो । 
 
नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिसा पिसाब गर्न नुहने र जुत्तासमेत लगाउन नहुने नियम रहेको स्थानीय जुजुभाई बाँस श्रेष्ठले बताउनुभयो ।  नीलबाराही गुठी नै संचालन गरी स्थानीयले नाचलाई जोगाउँदै हरेक वर्ष यो नाच संचालन गर्दै आएका छन् । 
 
नाचमा देवगणले मुकुण्डो लगाएर घण्टौसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि बस्न पार्इँदैन, बस्नै परे पनि ज्वकालु अर्थात सहयोगीको काखमा या जिउमा अडेस लगाएर बस्नुपर्छ ।  नाचको अगाडि र पछाडि बाल्ने चिराग अर्थात बत्ति पनि निभ्नु हुँदैन भन्ने मान्यता रहेको छ । निभ्यो भने देवगणको पेट दुख्ने तथा बान्ता आउँछ भन्ने भनाई छ । 
 
‘देवगणहरू नियमभन्दा बाहिर जानु हुँदैन,’ स्थानीयबासी दिलकृष्ण प्रजापतिले भन्नुभयो, ‘नियम कडाइका साथ पालना गर्नुपर्छ, पालना नभए उसैलाई असर गर्छ ।’ परम्परागत नियमभन्दा बाहिर गए बोडेवासीलाई अनिष्ट हुने जनविश्वास अझै रहेको छ । प्रत्येक वर्ष भाद्र द्वितीयादेखि पञ्चमीसम्म यो नाच चल्ने गर्दछ । बिहानीपख देवगणलाई पूजा गर्ने स्थानीयबासीको घुइँचो लाग्ने गर्छ । 
 
नाच देवता घरबाट निकालिन्छ । नाच निकाल्नु पहिला द्वितीयादेखि पूर्णिमासम्म नाचको तयारी गरिन्छ । जसलाई नेवारी भाषामा ‘प्याँखा स्यनेगु’ भनिन्छ । नाच सिकाउँदा ताः लगायतको बाजा बजाईने परमपरा रहेको छ । धार्मिक विश्वास र आस्था रहेको यो नाच जोगाउन यहाँका बासिन्दाले निरन्तरता दिईरहेका छन् । 
 
 

तीन दिन चार रात बोडेमा मनाइने नीलबाराही नाच सकियो

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया