MENU

समाज

Ncell Axiata
NIC Asia

बाढी पहिरोमा ३२ जनाको मृत्यु : कुन जिल्लाको अवस्था के ?

ठाउँठाउँमा सडक अवरुद्ध, आइतबार पनि ठूलो पानी पर्ने

काठमाडौं, साउन २८ - बाढी पहिरोमा परी बिभिन्न जिल्लामा ३२ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री जनार्दन शर्माका अनुसार सुनसरीमा ७, झापामा ४, सिन्धुलीमा ४, मोरङमा ३, बाँकेमा ३, पाँचथरमा ३, बारामा १, सर्लाहीमा १, दाङमा १, पाल्पामा १, र बर्दियामा १ जनाको बाढी पहिरोमा परी ज्यान गएको छ । बाढीले झापा, मोरङ सुनसरी, सिरहा र सप्तरीका धेरैजसो क्षेत्र जलमग्न भएका छन् । 

गृहमन्त्री शर्माले बाढी प्रभावित क्षेत्रका लागि विमानस्थलमा खाद्यान्न तथा उद्धार सामाग्रीहरु तयारी अवस्थामा राखे पनि मौसम प्रतिकूल भएकाले पठाउन नसकिएको बताउनुभयो । मौसममा सुधार आउनासाथ राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याइने उहाँको भनाई छ ।

बाँके

बाढीले घर भत्किदा बाँकेको राप्ती सोनारी गाउँपालिका ४ लालापुरमा कमिलाल थारुका  ३ जना छोरीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । बाढीबाट बच्न बालिकाहरु छतमा बसेको बेला घर नै भत्किएको थियो । प्रहरीका अनुसार कमिलालकी श्रीमती पनि बेपत्ता हुनुभएकोे छ । यसैगरी लालापुरकै मकैबारीमा एकजना पुरुषको शव पनि भेटिएको छ । राप्ती सोनारी ६ र ७ नम्बर वडा पुरै डुबानमा परेको छ । 

बाढीले नेपालगन्ज, कोहलपुर पनि डुबान परेको छ । कचनापुको टिकुलीपुर गाउँ डुबानमा परेको छ ।  बाँकेको नरैनापुर गाउँपालिका–५ तल्लो भगवानपुरमा उद्धारका लागि गएका प्रहरीहरु चढेको डुंगा बाढीले बगाएको छ । डुङगा पल्टिएपछि सबै प्रहरी पौडिँदै नजिकै रहेको पीपलको रुखमा पुगेर त्यसमा चढेर बच्न सफल भएका थिए ।

बाँकेमा राप्तीनदीमा पानीको सतहले खतराको संकेत पार गरेकाले लक्ष्मणपुर बाँध आसपासका होलिया, बेतहनी, गंगापुर, मटैया, फत्तेपुर, कचनापुर लगायतका गाविसका दर्जनौं गाउँहरु डुबानको जोखिममा परेका छन् ।

सुनसरी

बाढीले सुनसरीको इटहरीको गैरी गाउँका माला साह, उहाँकी छोरी सिठी साहा, भोजपुर घोरेटार घर भइ इटहरी बस्ने ३ वर्षका रुपेस राइ र ८ बर्षकी रुपसनी राईको ज्यान गएको छ । यसैगरी घरमा पानी पसेपछि इटहरी आइतबारेका ईश्वर सुनुवार र तरहरामा नाम खुल्न नसकेका अन्दाजी ७० बर्षका व्यक्तीको पनि ज्यान गएको प्रहरीले जनाएको छ । 

कोशी व्यारेजमा पानीको वहाब शनिबार बेलुका दुई लाख ८३ हजार क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ ।  कोशीका ५६ मध्ये ३७ ढोका खोलिएको छ । तत्काल अरु ढोका खोल्नुपर्ने आवश्यकता देखिएकाले सरकारले भारत सरकारसँग आग्रह गरेको छ ।

दुई लाख ५० हजार क्युसेकमाथि गएपछि खतराको संकेतस्वरुप कोशी व्यारेजमा रातो बत्ती बालिसकिएको र रातो झण्डा फहराइएको छ । बहाब तीन लाखमाथि क्यूसेक प्रतिसेकन्ड भएपछि पूर्ण खतरा मानिन्छ । 

सुनसरी नदीमा आएको बाढीले दायाँबायाँ तटबन्ध काटेर जलपापुर, चाँदबेला, नर्सिङ, बबिया, भुटाहा, कप्तानगन्जलगायत दर्जनौँ गाउँ जलमग्न भएका छन् ।  धरान उपमहानगरपालिकाका विभिन्न वडाका खहरे खोलामा आएको बाढीले ३५ घर बगाएको छ । मानवीय क्षति भने भएको छैन । इटहरी बजारलगायत जिल्लाका अधिकांश ठाउँ जलमग्न छन् ।

मोरङ 

मोरङको बक्राहा नुनसरी खोला र लोहन्द्रा खोलाले बगाउँदा मिक्लाजुङ रातमाटेका गंगाराम खतिवडा र केराबारी कुसुमेका मिनबहादुर थापाको ज्यान गएको प्रहरीले जनाएको छ । मोरङको लेटाङ् नगरपालिका १ मालबाँसेमा पहिरोमा पुरिएर गोपीमाया तामाङको ज्यान गएको छ । पहिरोले दुई घर बगाएको छ । यस्तै मोरङको बुढीगंगा गाउँपालिकाको हात्तीमुडामा एक महिलाको शब भेटिएको छ । 

मोरङको बुढीगंगा गाउँपालिका, उर्लाबारी, मिक्लाजुङ र केरावारी गाउँपालिका, विराटनगर महानगरपालिका र पोखरीया, रतुवामाई नगरपालिका, गोविन्दपुर, धनपालथान गाउँपालिकाका विभिन्न ठाउँ डुबानमा परेको प्रहरीले जनाएको छ ।  विराटनगर विमानस्थल पानी जमेर पोखरी बनेपछि कुनै पनि उडान हुन सकेको छैन  । हरैचामा पक्की पुल नै खोलाले बगाएपछि आवतजावत बन्द भएको छ ।

दाङ

दाङको तुलसीपुर महानगरपालिकामा  बेतनी खोलाले बगाउँदा भगवती सुनार र नरबहादुर रावतको ज्यान गएको छ । बबई नदी र राप्ती नदीमा बढेको पानीले डुबान हुँदा ३ सय घर विस्थापित भएका छन् भने ७६ घर भत्किएका छन् ।  

पाल्पा

पहिरोले मोटरसाइकल च्यापिंदा पाल्पाको तानसेन टक्सार टोलका गृहपति शाक्यको ज्यान गएको छ । 

मकवानपुर

मकवानपुरको भिमफेदी गाउँपालिका ईपा पाखाटोलमा पहिरोले पुरिदाँ मिठु दानीको ज्यान गएको प्रहरीले जनाएको छ ।  यस्तै बबई नदीमा बगाएको दाउरा झिक्न जाँदा बा¥ह बर्दिया नगरपालिका १० का राजेन्द्र थारु बेपत्ता हुनुभएको छ । 

सर्लाही

वर्षाको पानीले घर भत्किएर किच्दा सर्लाहीको धनकौल गाउँपालिका–१ मानपुरका किशोरी रायको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै सोती खोलाले बगाएर बरहथवा नगरपालिका– १० सीतापुरमा १७ वर्षीय राकेशकुमार साहको पनि ज्यान गएको छ ।

सर्लाहीको मलंगवा सहित जिल्लका खैर्बा, सिसौट, छटौल, महिनाथपुर, मानपुर, सुदामा, बलरा, भाडसर, अचलगड लगायत दक्षिणी भेगमा दर्जनौ घर डुबानमा परेका छन् । 

सिन्धुली

सिन्धुलीको कमलामाई नगरपालिका गैरीगाउँमा पहिरोले घर भत्काउँदा एकै परिवारका ४ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयको पर्खाल लडेर घर भत्किँदा दुर्गा खड्का, उहाँका छोराहरु अनिस र मनिस तथा छोरी शोभाको ज्यान गएको सिन्धुलीबाट उज्यालो सहकर्मी बाबुराम देवकोटाले जनाएका छन् । दुर्गाका श्रीमान उदयबहादुरलाई प्रहरीले उद्धार गरेको छ । 

इलाम

बाढीले इलामको चुलाचुली गाउँपालिकामा ३ वटा घर बगाएको छ । यस्तै, सूर्योदय नगरपालिका २ बागवीरेमा लाक्पा शेर्पा र वडा नम्बर ३ का हरि ढकालको घर पनि बाढीले बगाएको छ । बाढीका कारण चुलाचुलीको चाँजो खोलको झोलुङ्गे पुल पनि बगाउने खतरा बढेको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण इलाममा हिजो रातिदेखि विद्युत अवरुद्ध भएको छ । 

सप्तरी

सप्तरीमा २ हजारभन्दा बढी घर डुबानमा परेका छन् भने पाँच सय परिवार विस्थापित भएका छन् । सप्तरीको खाँडो, जिता, बिहुल, त्रियुगालगायत नदीमा आएको बाढी गाउँ पसेको हो । तिलाठी कोइलाडी गाउँपालिकाको कुशहा र बनरझुला, हनुमान नगर योगिनीमाई नगरपालिकाको मल्हनियाँ टोल, गोबरगाढा बस्तीलगायत ठाउँ डुबानमा परेका छन् । 

कहाँ कहाँ सडक अवरुद्ध ?

पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषा र महोत्तरीको बीचमा रहेको रातु नदीको पुलमा गाडी चलाउन रोक लगाइएको छ । खोलामा पानीको बहाब उच्च भएपछि पहिला डाईभर्सन दिएको ठाउँमा भासिएकाले गाडी चलाउन रोक लगाइएको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय बर्दिबाससँग समन्वय गरेर शनिबार बेलुकी ७ बजेदेखि गाडी चलाउन बन्द गरिएको उहाँले बताउनुभयो । गाडी चलाउन रोक लगापछि १ हजारभन्दा बढी गाडी र हजारौं यात्री अलपत्र परेका छन् ।  

दाङका खोलाहरुमा आएको बाढीका कारण लमही—तुल्सीपुर सडक खण्डमा कुनै पनि गाडी चलेका छैनन् । राप्ती राजमार्गको तुलसीपुर—अमिलीया सडकखण्ड अन्र्तगत विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको गछिया खोलाले पुललाई छोएको छ । यस्तै धरान धनकुटा सडकखण्डको निशानी खोलामा पहिरो खसेपछि बाटो अबरुद्ध भएको छ । हिजोदेखि परेको पानीका कारण दाङमा घोराही तुलसीपुर सडकखण्डको मोतिपुरमा कल्भर्ट भत्किदा सडक यातायात पूर्ण रुपमा बन्द भएको छ । 

पहिरोले नवलपरासीको दाउन्नेमा सडक पुरेपछि आवागमन अवरुद्ध भएको छ । शुक्रबार राती १० बजेदेखि अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्गमा यातायात खोलाउने प्रयास भैरहेको नवलपरासी प्रहरीले जनाएको छ । रातीदेखि नै गाडी बाटोमा रोकिएपछि खानेकुरा र पानी नपाएर भोकभोकै बस्नु परेको यात्रुले गुनासो गरेका छन् ।

नारायणगढ मुग्लिन सडकखण्डको मुग्लिनदेखि कालीखोलासम्म ठाउँ ठाउँमा पहिरो खसेपछि दिउँसो देखि सडक अवरुद्ध भएको छ । पहिरो खस्ने क्रम नरोकिएपछि तत्काल बाटो खुल्ने सम्भावना नरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दिपक थापाले बताउनुभयो ।

लगातार पानी परिरहेपछि ठाउँ ठाउँमा पहिरो खसिरहेकाले जोखिम बढेको भन्दै तत्कालका लागि यो खण्डमा गाडि नचलाउन आग्रह गरिएको छ । पहिरोको जोखिमलाई हेरेर पानी नरोकिएसम्मका लागि गाडी रोकिने थापाले बताउनुभयो । 

आइतबार पनि भीषण वर्षाको सम्भावना

तराईका धेरै भूभागमा अझै धेरै डुबानको खतरा रहेको भन्दै बाढी पुर्वानुमान शाखाले सुरक्षित ठाउँमा बस्न आग्रह गरेको छ । पूर्वको झापा, इलाम, सुनसरी, मोरङ, सप्तरी, उदयपुर र धनकुटा, मध्य क्षेत्रको रौतहट, सर्लाही, मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही र कपिलवस्तु तथा पश्चिमको कञ्चनपुर, कैलाली र बर्दियाका नदीमा बाढी आइरहेकाले सुरक्षित भएर बस्न शाखाले आग्रह गरेको हो । 

शाखाका अनुसार मेची, निन्दा, बिरिङ, कन्काई, पथरी, त्रियुगा, बुढी खोला, बागमती, पूर्वी राप्ती, रिउ खोला, विनय खोला, अरुण खोला, तिनाउ, बाणगंगा, मछेली, मोहना, बबई लगायतका नदीमा उच्च जोखिम छ ।

शाखाका बाढीविज्ञ सुनिल पोख्रेलका अनुसार डुबानको जोखिम भएका ठाउँका बासिन्दालाई शाखाले सुरक्षित ठाउँमा जान आग्रह गर्दै मोबाइलमा सन्देश पठाएको छ । शाखाले सुरक्षित भएको अर्को सन्देश पठाउने भएकाले सन्देश नआएसम्म सुरक्षित ठाउँ मै बस्न पनि उहाँले आग्रह गर्नुभयो । 

शनिबार सबैभन्दा धेरै सिमरामा २ सय १७ मिलिमिटर पानी परेको छ भने नेपालगंजमा १ सय ६९, दाङमा १ सय ६७, जनकपुरमा १ सय ३७ तथा भैरहवामा ३९ मिलिमिटर वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालको पहाडी क्षेत्र नजिकै रहेको र मध्य क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको असरले भोलि बेलुकीसम्म नै धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो । 

यो पनि पढ्नुहोस् : विराटनगरमा त जहाजै डुब्न लाग्यो, तराईलाई तागत देउ सरकार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया