MENU

राजनीति

Ncell Axiata

प्रधानमन्त्री तथा शीर्ष नेताद्वारा डा. केसीलाई अनशन तोड्न आग्रह

काठमाडौं, साउन २९ – प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ । 

शनिबार बेलुका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री देउवाले डा. केसीको अनशनको विषयमा विशेष चासो दिँदै डाकेको बैठकले केसीलाई अनशन तोड्न आग्रह गरेको हो । 

बैठकमा तीन दलका शीर्ष नेतासहित शिक्षा र स्वास्थ्यमन्त्री, सरकारले गठन गरेको वार्ता समिति, विधेयक छलफल भइरहेको संसद्को महिला, बालबालिका तथा समाज कल्याण एवं ज्येष्ठ नागरिक समितिका सभापति र सदस्यसहित केही विज्ञ सहभागी बैठकले केसीलाई तत्काल अनशन तोड्न आग्रह गर्दै उहाँको मागको भावना अनुसार चिकित्सा शिक्षा विधेयक अघि बढाउने समझदारी बनाएको हो ।  

बैठकले डा. केसीले माग गरेअनुसार संसदमा विचाराधीन रहेको चिकित्सा शिक्षा विधेयकलाई माथेमा आयोगको प्रतिवेदन र डा. केसीले उठाएका कतिपय जायज मागअनुसार अघि बढाउने बैठकले समझदारी गरेको छ । संसद्लाई बाहिरको दबाबबाट नभई जायज मागलाई संबोधन गरेर अघि बढाउनेबारे बैठकमा सहमति भएको छ । 

त्यसक्रममा प्रधानमन्त्री देउवाले विधेयकको दफा १२ र १३ लाई यसअघिको सरकारले प्रस्ताव गरेअनुसार नै अघि बढाउँदा चिकित्सा क्षेत्रको गुणस्तर वृद्धि हुनुका साथै सुधार हुने धारणा राख्नुभएको थियो । 

बैठकमा प्रतिपक्ष दलका नेता ओली, माओवादी केन्द्र अध्यक्ष दाहाल, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, सरकारले गठन गरेका वार्ता समिति, डा भगवान् कोइराला, सांसद गगन थापा र समितिका सभापति रञ्जु झा र यो समितिका सदस्य सहभागी थिए । रासस 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया