MENU

साहित्य/ कला

Ncell Axiata
NIC Asia

हेमप्रभासको उपन्यास ‘उल्झन’ सार्वजनिक, महानायक राजेश हमालले गरे विमाेचन

काठमाडौं, साउन २९ – कवि हेमप्रभासको उपन्यास उल्झन शनिबार राजधानीमा सार्वजनिक भएको छ । नेपाली सिने क्षेत्रका महानायक राजेश हमालको प्रमुख आतिथ्यमा वरिष्ठ पत्रकार युवराज घिमिरे, डा. नवराज लम्साल, कवि एवम् समालोचक महेश पौड्यालले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नुभयो ।  

पुस्तकमाथि बोल्दै महानायक राजेश हमालले उल्झन उपन्यासले युवाहरुको वर्तमान मनोदशा र देशको समसामयिक अवस्थालाई चित्रण गरेको उल्लेख गर्दै आफूले पनि यस्तै कथामा चलचित्र निर्देशन गर्न लालयित रहेको कुरा व्यक्त गर्नुभयो । ‘उपन्यासमा समग्र युवाको भावना, समाज, परिवेश तथा मानिसहरुको जीवनशैलीको यथार्थ चित्रको प्रतिबिम्ब आफूले जीवनमा पूरै अनुभव गर्न नपाए पनि उल्झन पढेर अनुभूत गर्न पाएँ । समयसमयमा समाजमा घटेका हरेक घटनालाई सहज रुपमा साहित्यिक अभिव्यक्ति दिनु, जीव र जीवनलाई नजिकबाट बुझ्न सक्ने बनाउनु उल्झन उपन्यासको सकारात्मक पक्ष हो, उहाँले भन्नुभयो ।

साहित्यमा जति अराजकता पत्रकारितामा पनि भएको उल्लेख गर्दै समाजमा भएको अराजकताको विपक्षमा उपन्यास केन्द्रित रहेको वरिष्ठ पत्रकार युवराज घिमिरेले बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘वर्तमान समाजको परिकल्पना, विस्थापनजस्ता सम्पूर्ण कथाहरुको सही प्रयोग नै उल्झन हो भने निराशाभित्रको आशा नै उपन्यासको भाव हो ।’ जीवनलाई लुँडोको सापेक्षतामा हेर्नु उपन्यासको रोचक पाटो हो भन्दै सम्पूर्ण समाजको चस्मा उल्झन उपन्यास रहेको उहाँले भन्नुभयो । 

नवराज लम्सालले उल्झन उपन्यास कविताबाट उठेको हो भन्दै यसमा खोलाको सुस्केरा, दुःखको गीत, आँसुको रङ हरेक पाठकले आफ्नै ठानेर महसुस गर्न सक्ने कुरा व्यक्त गर्नुभयो । साथै महेश पौड्यालले उल्झन उपन्यासले सुन्दर नृत्यको अनुभूति हुने बताउनुभयो । उहाँले उपन्यासका समग्र चालक वा पात्रहरु युवा नै भएकाले युवाहरुको गीतलाई उपन्यासमा रोचक ढङ्गबाट प्रस्तुत भएको सन्दर्भ उल्लेख गर्नुभयो । ‘लेखकले मनोविज्ञानमाथि नै प्रश्न उठाउन सक्ने ठाउँ देखाएर गम्भीर बहसको सुरुवातको संकेत गरेका छन् ,’ पौड्यालले भन्नुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया