MENU

समाज

Ncell Axiata

दुई दिनदेखि कैदी बन्दी भोकै

महोत्तरी, साउन २९ – महोत्तरी कारागारका कैदी बन्दी दुई दिनदेखि भोकभोकै परेका छन् । कारागार परिसरको कार्यालय र कैदी थुनुवा कक्षमा पाँच फिटभन्दा बढी पानी जमेपछि शनिबारदेखि नै कैदी बन्दीले खाना नपाएका हुन् । रातु र बिगही नदीमा आएको बाढी बाँध भत्काउँदै जलेश्वर नगर पसेसँगै गहिरो ठाउँमा रहेको कारागार परिसरमा पाँच फिट पानी पसेको हो । 

बाढी कैदी थुनुवा कक्षमा पस्नासाथै आपूmहरुलाई माथिल्लो तलामा सारिए पनि खाना पकाउने ठाउँ र सामग्रीको अभाव भएकाले दुई दिनदेखि भोकभोकै बस्नु परेको कारागारका चौकीदारसमेत रहेका कैदी श्रीनारायण महतोले बताउनुभयो । 

जम्मा १३५ कैदी राख्ने क्षमताको सो कारागारमा अहिले महिला कक्षमा आश्रित दुई बालबालिकासहित ४२ र पुरुष कक्षमा ३६० सहित जम्मा ४०२ जना कैदी बन्दी छन् । भुइँ तल्लामा रहेका कैदी बन्दीलाई माथिल्लो तलामा लैजाँदा उभिने ठाउँसम्म पाउन पनि कठिन भएको महिला कैदी ललिता सिंहले बताउनुभयो । 

भुइँ तलामा पानी जमेपछि कैदी बन्दीलाई शौचालय जानसमेत समस्या परको बताइएको छ । आफूहरु दुई दिनदेखि भोकभोकै रहँदा पनि कोही सोधखोज गर्न नआएको कैदी थुनुवाले गुनासो गरेका छन् । 

कारागारमा पसेको बाढीले कार्यालयका सबै अभिलेख भिजेर नष्ट भएको कारागार प्रशासनले जनाएको छ । बाढीले पु¥याएको क्षति र कैदी थुनुवाको अवस्थाबारे स्थानीय प्रशासन र कारागार व्यवस्था विभागमा जानकारी गराइएपनि अहिलेसम्म केही व्यवस्था हुन नसकेको कारागार प्रमुख शोभेन्द्र ठाकुरले जानकारी दिनुभयो । 

यसैगरी महोत्तरी जिल्लाको जलेश्वर–२ मा १४ वर्षीय किशोरको बाढीले बगाएर मृत्यु भएको छ । घरबाट पानी ल्याउन चापाकल भएको ठाउँमा जाँदै गर्दा भेलमा बगेर सो बस्तीका रामकुमार ठाकुरका छोरा १४ वर्षीय विक्की ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो ।– रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया