MENU

समाज

Ncell Axiata

बर्दियामा ११ हजार घरमा क्षति, २ को मृत्यु, हजारौं विस्थापित

भावुक योगी/उज्यालो । 

बर्दिया, साउन २९ – दुई दिनदेखि परेको अबिरल वर्षाका कारण बर्दियाको बबई नदीमा ठूलो बाढी आएको छ । बबई नदी र आसपासका खोलामा आएको बाढीका कारण बर्दियामा दुई जनाको ज्यान गएको छ । एकजना वेपत्ता भएका छन् । 
आइतबार दिउँसो घर फर्कदै गर्दा खोला तर्ने क्रममा ठाकुरबाबा नगरपालिका–५ खुनपुरका ६० वर्षीय गोविन्द थारुको डुबेर ज्यान गएको प्रहरी चौकी बगनाहाले जनाएको छ । 

यसैगरी बाढीका कारण घरको भित्ता भत्किँदा ठाकुरबाबा नगरपालिका–२ सतघरुवाकी ७० वर्षीया साउनी थारुको पनि ज्यान गएको प्रहरीले जनाएको छ । 

शुक्रबार बबई नदीमा दाउरा झिक्ने क्रममा बारबर्दिया नगरपालिका–१० का २९ बर्षीय राजेन्द्र थारु बेपत्ता भएका थिए । 
बबई नदीको बाढी सदरमुकाम गुलरियामा पसेपछी गुलरीया बजार सहित बालापुर, सूर्यगौडी, इन्द्रपुर, टँडुवा, कोठिया, भादा, खैरापुर, पण्डीतपुरलगायतका गाउँ डुवानमा परेका छन् ।

सदरमुकाम गुलरीयाको जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यालय परिसर, कृष्णसार संरक्षित क्षेत्र पनि जलमग्न भएको छ । बबई नदी र आसपासका खोलामा आएको बाढीका कारण हजारौँ घरपरीवार विस्थापित भएका छन् । 

बाढीबाट विस्थापित भएकाहरु स्थानीय विद्यालय, संघ संस्थामा आश्रय लिएर बसेका छन् । बाढीमा फसेकाहरुलाई नेपाली सेना, प्रहरी र स्थानीयबासीले उद्धार गरेर सुरक्षित स्थानमा लगेका थिए । 

आइतबार बिहान बबई नदीको सतह ह्वातै बढेर १० मिटर पुगेको थियो । नदी बढेपछि नदी तटीय क्षेत्रका बासिन्दा रातभर जाग्राम बसेका थिए ।

बाढीका कारण गुलरीया, भुरीगाउँ, बाँसगढी, मगरागढी, ठाकुरद्वारालगायतका मुख्य बजार पनि जलमग्न भएका छन् । बाढीका कारण सदरमुकाम नेपालगञ्ज गुलरिया र भुरीगाउँ गुलरिया जोडने हुलाकी सडक समेत अवरुद्ध भएको छ । 

बाढीले ठाकुरबाबा नगरपालिकाको आम्वासा, भुरीगाउँ बजार, रानीपुर, नेउलापुर, बगनाह, मिर्चैया, ठाकुरद्धारा, सूर्यपटुवा, बारबर्दिया नगरपालिका पदनाहा, घोरपिट्टा, रानीपुर, धधवार, मगरागाडी र बाँसगढी, राजापुर नगरपालिका लगायतका बस्तीका हजारौं स्थानीयहरु विस्थापित भएका छन् ।

ओराही खोलामा आएको बाढीले ठाकुरद्धारा भुरिगाउँ सडक सम्पर्क समेत टुटेको छ । ओराही खोलाले सयौं विगाहा जमिन कटान समेत गरेको छ । 

बर्दियामा अहिलेसम्मको प्राप्त जानकारी अनुसार २ हजार १ सय ७३ घर पूर्ण रुपमा क्षति भएको छ भने ८ हजार ९ सय ६२ घर आंशिक रुपमा क्षति भएको छ । बाढीका कारण १३ हजार घरपरिवारका ७५ हजार जनसंख्या प्रभावित भएका छन् ।

आपतकालिन कार्य संचालन केन्द्रका सूचना अधिकृत रुपन ज्ञवालीका अनुसार सदरमुकाम गुलरीया नगरपालिकामा सबैभन्दा धेरै घरधुरी विस्थापित भएका छन् । 

१७ सय ५० घर पूर्ण क्षति र २८ सय १२ घर आंशिक रुपमा क्षति भएको छ । बारबर्दियामा ३५० घर पूर्ण क्षति र २५ सय घर आंशिक क्षति भएको छ । ठाकुरबाबा नगरपालिकामा २२ घर पूर्ण क्षति र २०४५ घर आंशिक क्षति भएको छ । 

यस्तै मधुवन नगरपालिाकामा ३ घर पूर्ण क्षति र ४९१ घर आंशिक क्षति भएको छ । राजापुर नगरपालिकामा १५ घर पूर्ण क्षति र ४८५ घर आंशिक क्षति भएको छ । बाँसगढी नगरपालिकामा–११ घर पूर्ण क्षति र ३६९ घर आंशिक क्षति भएको छ । 

यसैगरी गेरुवा गाउँपालिकामा १५ घर पूर्ण क्षति र २०० घर आंशिक क्षति भएको छ । बढैयाताल गाउँपालिकामा ७ घर पूर्ण क्षति र ६० घर आंशिक क्षति भएको छ ।

बाढीमा फसेका ३ सय २३ जनाको उद्धार

बर्दियाको सदरमुकाम गुलरीयाको संगम बस्ती, बालापुर, मस्जीदीया, खैरी लगायतका स्थानमा बाढीमा फसेकालाई उद्धार गर्न नसकिएपछी हेलिकप्टरबाट ३ सय २३ जनालाई उद्धार गरिएको छ । 

जिल्ला आपतकालीन कार्य संचालन केन्द्रका सूचना अधिकृत रुपन ज्ञवालीका अनुसार १ सय ५२ बालवालिका सहित ३ सय २३ जनालाई सेनाको हेलिकप्टरको सहायताबाट उद्धार गरिएको हो । 

गुलरीयामा रहेको नेपाली सेनाको भैरवप्रसाद गण सुरक्षा गुल्म ब्यारेकमा राखेर उनीहरुलाई तयारी खाना खुवाएर राखिएको छ । बाढीमा फसेका झण्डै २ सय घर परिवारलाई उद्धार गर्न हेलिकप्टरको माग गरिएपछी उद्धारका लागि हेलिकप्टर आएको हो ।

बबई नदीको बाढी बस्तीमा आउने जोखिम कायमै

बबई नदीमा बाढी आउँदा बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका र मधुवन नगरपालिकाका केही वडा डुबानको जोखिममा छ् । 

बबई नदीमा अझैँ पनि खतराको सतह भन्दामाथि पानी रहेकाले दिनभरि नै बाढीको खतरा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले बताउनुभयो । 

तीन दिनदेखि बर्दियासहित बबई नदीका तटीय क्षेत्रहरु चेपाङ्ग, तुल्सीपुर, घोराई, पदमपुर, अम्वापुर लगायतका क्षेत्रहरुमा भारी वर्षा भएपछि बबई नदीमा बाढी आएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया