MENU

विचार/अनुभूति

Ncell Axiata

नियात्रा : सेल्फी डाँडो र सिन्धुली गढी

टंक ढकाल - 

घरी उघ्रिने, उत्तिखेरै धुम्मिने, भरै नहुने मौसम । चिसो बताससँगै छोएर भाग्ने बादलको टुक्रा । कुहिरोले छोप्दै, छोड्दै गर्ने बस्तीको दृश्य । पुग्नेलाई लोभ्याउने । अनि हेर्दैजाँदा मनै कुँड्उयाउने, सिन्धुली गढी । 

महोत्तरीको बर्दिबासबाट उत्तर लाग्दै गएपछि, बिस्तारै न्यानो छोड्दै गयो । जति अघि बढ्यो, उति चिसो हुँदै गएको शरीरले चाल पाउँथ्यो । बाहिर चिसो भएपनि मन भने झन झन न्यानो बन्दै गयो । भिमान चेकपोष्टबाट सिन्धुलीको यात्रा सुरु भयो । अल्लि अघिसम्म खाल्डाखुल्डी बाटोको बानी परेको गाडी घच्याक घुचुक नगरी कुद्न थाल्यो । 

डाँडो खारेर होइन, डाँडोको छेउमा टेको लगाएर बनाएको सडक, विपी राजमार्गको यात्रा । छिनछिनमा आउने घुम्ती । खसुँला झैँ गरी गुड्ने गाडी । ड्राइभरले नडराइ चलाए जस्तो, यात्रुको अनुहारमा भने डरको पोको । डराउँदा डराउँदै बाटा मुन्तिर देखिने डाँडा, त्यसमा मिलेका बस्ती । खेत, बारी । फस्टाउँदै गरेको धान, पाक्न थालेको मकै । कतै भर्खर रोकेको, कतै अलि सरेको कोदो । यी सबै डर हटाउन काफी बने जस्तो लाग्छ, यात्रुका लागि । 

अरुको जस्तै डर भन्दा उत्साहले छोप्ने मन मेरो पनि । पहिलोपटक सिन्धुली यात्रा, मेरा लागि सबै नौलो, बसै नयाँ । केही सपना जस्तो, केही अपत्यारिलो । उकालो चढ्दै, घुम्दै जाने गाडी । धेरै अघि आइयो होला भनेर हेर्‍यो, आफू आएको बाटोको नागबेली आकार नजिकै । तलको बस्ती ।  खोँच । धान खेत । केही खिया लागेका, केही टल्कने टिनको छानो भएका घर । घरलाई छोप्दै बग्ने बादलका टुक्रा । हेर्दा हेर्दा गाडी गुडेको गुड्यै ।  

‘लौ है, आयो सेल्फी डाँडा ।’ ड्राइभरले गाडीको ब्रेक लगाएर गाडी बाटोको छेउतिर रोके । सँगैका यात्रु झरे । म पनि झरेँ । नाम सेल्फी डाँडा । छेउमा गएर उभिँदा तल डर लाग्ने भीर । तर बाटोको डिलबाट हेरे आँखामा अटाउने तल फाँटमा बसेको सिन्धुली बजार । त्यसयता देखिने आफू आएको बाटो र घुम्ती । डाँडा, थुम्का र जंगल । बस्ती, गोरेटो र आलीमा हुर्केको भटमास । मन लोभ्याउने, डर भगाउने दृश्य । 

बाटो बन्यो । गाडी चल्यो । गाडीसँगै नयाँ सपनाले बाटो पायो । धेरै सपनाले यही बाटो भएर हिँडे । त्यही क्रममा पहिलेको बुट्याने भिरले नाम पायो, सेल्फी डाँडा । अहिले यो बाटो भएर गुड्ने गाडी हुन् या मोटरसाइकल प्रायः सबै रोकिन्छन् । यात्रु झरेर डिलमा पुग्छन् । केहीछिन तल हेरेपछि मोबाइल निकाल्छन् अनि फोटो खिच्छन् प्राय । अनि डिलैमा उभिएर सेल्फी खिच्दै, हेर्दै रमाउने अनुहार धेरै देखिने रैछ । आफू पनि यसबाट बाहिर रहने त कुरो भएन । फोटो खिचियो, सेल्फी खिचियो । सेल्फी खिच्दै गरेका केही जोडीलाई हेरियो अनि अघि बढियो । 

डाँडालाई होच्याउँला झैँ गरी अग्लिएका सल्लाको रुख । बताससँगै लहराउने हाँगा । अनि त्यही बतासको स्पर्शसँगै अघि बढ्दै गयौं । बाटोको डिलमा मौलाएको पानी अमला, अम्रिसो । डाँडो पट्टिी फूल्न भरिँदै गरेको गुराँस, चिलाउने, उतिस र अरु बोट बिरुवा । उक्लिँदै, घुम्दै गाडीको यात्रा अघि बढ्दै जाँदा झण्डै आधा घण्टामा खनियाखर्क आइपुग्यो । 

खनियाखर्कमा खाजा खाएर केही अघि लागेपछि सिन्धुली गढी जाने मुल गेट । कुहिरोले ढाकेको जंगल । पहिरोले आधी पुरेको, पानीले बगाएको बाटो । बाटोको डिलबाट झरेको ढुंगा हुँदै अघि बढेपछि पुगियो । सिन्धुली गढीको मुख्य प्रवेशद्वार ।  

दायाँबायाँ रेलिङ, बिचमा ठाडो सिँडी । वरिपरी चिलाउने, धुर्सिल र गुराँसको जंगल । बोटमुनि निउरो, पानीअमला, हलेदो र अरु बुट्यानको बाक्लो उपस्थिति । बोटका हाँगामा माकुराको जालो, जालोमा शीत, पातमा शीत, ओसिलो भुइँ । यही दृश्य हेर्दै केहीबेर उकालो चढेपछि पुगिने रैछ, सिन्धुली गढी । 

अंग्रेजसँगको युद्धमा यही गढीमा बसेर पाएको विजय । वरिपरी ढुंगाको घेरा । छेउमा तोप बर्साउने इतिहास बोकेका बंकर । ढुंगाको थुम्का, झारले घेरेको गढी । यहाँ पुग्दा गढीका बारेमा बनेको तस्बिर केही मेल खाएन मेरो । मात्रै मेल खायो इतिहासको कथा । त्यही कथा पनि यहि चाल हो भने केही वर्षमा इतिहास मात्रै बन्ने हो कि भन्ने डर । 

बिचमा पुरानो इनार । इनारको छेउमा उभिएको फलामे डण्डी । त्यसमा झुत्रेको झण्डा । पुर्खाले जितेको गढीमा रहेको झण्डा फहराउन भुलेजस्तो देखिन्छ । किनार च्यातिएको अनि लत्रेको झण्डा देख्दा मन कुँडिन्छ । तर यो गढीले बोकेको इतिहासले भने मन उचो बनाउँछ सबैको, उस्तै मेरो पनि । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नेपालमा चीनको स्वार्थ

    कैयौँ पटक ‘नेपालको सार्वभौमसत्ता रक्षाका लागि’ चीनले सहयोग गर्ने भन्ने गरिएको छ बेइजिङ्गबाट । कूटनीतिक दृष्टिले यो अत्यन्तै गम्भीर अभिव्यक्ति हो । यसको अर्थ नेपालको सर्वभौमसत्ता गुम्ने र नेपालको अस्तित्व नै नरहने खतरा छ भनेर चीनले विश्लेषण गरेको हो भनेर बुझ्नु पर्ने हुन्छ ।

  • आँखाको क्यान्सर कति खतरनाक ?

    एक दशक अगाडि अलि कम र अहिलेको दशकमा एकदम धेरै सुनेको रोग क्यान्सर हो । शरीरको विभिन्न अंगहरु फोक्सो, आन्द्रा, कलेजो, पाठेघर, स्तनलगायतमा क्यान्सर भए जस्तै आँखामा पनि क्यान्सर हुन्छ । अरु क्यान्सरमा भन्दा यो क्यान्सर हुने जोखिमयुक्त कारक तत्वहरु फरक छन् ।

  • ओलीका अघिल्तिर कति धेरै अवसर ?

    बोले अनुसार काम थाल्ने हो भने वाम गठबन्धनको सरकारका सामु चुनौती थोरै र अवसरहरु कता हो कता धेरै छन् । अब बन्ने सरकारका लागि सबैभन्दा ठूलो अवसर विकासलाई तल्लो तहसम्म पुर्यासउने संरचना तयार छ । स्थानीय तहको चुनावपछि विकासलाई नागरिकको घर दैलोसम्म पुर्याउने जनप्रतिनिधिहरु चुनिएर अहिले काममा छन, तर देखाउने काम नपाएर कामका अवसरको खोजीमा छन ।

  • चुनाव सम्पन्न गराउनु ठूलो उपलब्धि : देउवा

    मेरो नेतृत्वमा सरकार गठन भएपछि जनताको सरोकारका विषयलाई केन्द्रमा राखेर निर्णयहरु भएका छन् । विशेषगरी स्वास्थ्य शिक्षा क्षेत्रमा देखिएका विकृतिहरु नियन्त्रण गर्न चिकित्सा शिक्षा आयोगको अध्यादेश जारी गरिएको छ । जनताको स्वास्थ्यसँग सरोकार राख्ने चिकित्सा शिक्षा व्यापारको विषय होइन ।

  • लभ गर्ने फर्मुला

    बिहे नभएकाले त लभ गरे गरे । तर बिहे गरेका, घरभरी छोराछोरी भएकाहरु समेत लभ गरि हिँड्छन् । श्रीमानको आँखाकान छलेर श्रीमतीले, श्रीमतीको आँखाकान छलेर श्रीमानले लभ गरेर हिँडेको तपाईं हामीले धेरै ठाउँमा देखेभोगेकै हो क्यारे । लभ पर्न केही न केही त जुर्नुपर्यो । कि मन मिल्नुपर्यो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया