MENU

विचार/अनुभूति

ujyaalo forign call inside

प्रधानमन्त्री देउवाको भारत भ्रमण कति सफल ?

प्रकाश ढकाल/उज्यालो ।

काठमाडौं, भदौ ११ – सिंहदरबार पस्ने बित्तिकै भारत भ्रमण गर्ने विगतको परम्परालाई पछ्याउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दिल्लीमा भेटवार्ता र घुमफिर भ्याउनुभएको छ । दोक्लमको विषयलाई लिएर भारत र चीनबीच द्वन्द्व भैरहेको तथा भारतीय तटबन्धका कारण नेपालमा बाढीको समस्या बल्झिएको बेला भएको प्रधानमन्त्रीको भारत भ्रमण खासै उपलव्धीमुलक देखिएन । बरु नेपालको संविधानको विषयमा उहाँले दिल्लीमा बोल्नुभएको विषय निकै विवादित बनेको छ ।प्रधानमन्त्री देउवाले संयुक्त पत्रकार सम्मेलनमा आफैले संविधान संशोधनको घरेलु विषय उठाएपछि आलोचना सुरु भयो । देउवा भ्रमण सकेर काठमाडौं नउत्रिंदै विपक्षी एमालेले मात्र होइन परराष्ट्र मामिलाका जानकारहरुले समेत देउवाले व्यक्त गरेका धारणाप्रति असहमति राखेका छन् । 

समकक्षी नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गरेपछि बिहीबार हैदरावाद हाउसमा आयोजित पत्रकार संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले केही दिनअघि संसदमा दुई तिहाइ बहुमत नपुग्दा संशोधन फेल भएको र अर्कोपटक पारित हुने गरी संशोधन पारित गराउने वचन दिनुभयो । संविधान संशोधनको विषय विशुद्ध आन्तरिक मामिला भएको र यसले सार्वभौम संसद तथा नेपाली नागरिकको अपमान गरेको भन्दै एमालेले आपत्ति जनाएको छ । 

संविधान जारीपछि तेस्रो प्रधानमन्त्रीका रुपमा देउवाले भारत भ्रमण गरे पनि दुई वर्ष अघि संविधान जारी हुँदा भारतले व्यक्त गरेको अडान फेरिन सकेन । सबै पक्षलाई समेटेर संविधानको कार्यान्वयन गर्नु भन्ने उपदेशात्मक दबाब यसपटक पनि भारतले दोहोर्‍यायो ।

संविधान जारी गरेको निहुँमा अघोषित नाकाबन्दी लगाएको भारत त्यस विषयमा देउवाको भ्रमणबाट पनि कोर्ष करेक्सन गर्ने अवस्थामा पुगेन । यद्यपी दुवै पक्षले दुई देशको सम्बन्ध थप मजबुत भएको दाबी गरिसकेका छन् । जुन यसअघिका प्रधानमन्त्रीको भ्रमणका क्रममा पनि जोडजोडका साथ उपलब्धीको सूचीमा राखिन्थ्यो ।

प्रधानमन्त्री देउवाको भ्रमणको क्रममा आठवटा सम्झौता भए । परराष्ट्र मामिलाका विज्ञ निश्चलनाथ पाण्डेको विचारमा ती सम्झौता प्रधानमन्त्रीको उपस्थितिमै हुनुपर्ने खालका होइनन् । सम्बन्धित मन्त्रालयका सचिव, त्यति नभए मन्त्री तहबाट हुनुपर्ने खालका सम्झौतालाई प्रधानमन्त्रीको स्तरमा हुनु स्वभाविक नभएको पाण्डेको भनाई छ ।

तथापी थप विद्युत् आयातसम्बन्धी सम्झौता, अरुण तेस्रो जलविद्युत् आयोजना शिल्यान्यासका लागि भारतीय पक्षलाई गरिएको निमन्त्रण र पञ्चेश्वर परियोजनाको डिपिआर आयोजना यो वर्षभित्र बनाइ सक्ने प्रतिबद्धता सकारात्मक पाटा हुन सक्छ । 

भ्रमणमा निस्कनु अघि मन्त्रिपरिषद्ले पारित गरेका एजेण्डलाई भ्रमणका क्रममा देउवाले गम्भीरतापूर्वक उठाउनुभएन । भ्रमणको एउटा मुख्य कार्यसूची सीमा क्षेत्रमा भारतीय पक्षबाट बनेको बाँध र तटबन्धबाट उत्पन्न भएको समस्या समाधान खोज्नु भनिएको थियो । भारतीय बाँधका कारण डुबेका नागरिक ओभानो ठाउँमा नसर्दै भएको प्रधानमन्त्रीको भ्रमणले केही उपलब्धी होला भन्ने आशा निराशामा परिणत भएको छ । 

यस्तै दोक्लमको विषयमा भारत र चीनबीच द्वन्द्व बढिरहेको बेला नेपालको तटस्थ भूमिकालाई देउवाले अडानका साथ राख्न सक्नुभएन । नेपालले भारतको पक्ष लिनुपर्छ भन्ने मोदीको घुमाउरो प्रस्तुतिमा देउवा मौन बस्नुभयो । 

दुई छिमेकी देशलाई समान रुपमा हेर्ने नेपालको नीतिलाई त देउवाले खुलस्त रुपमा देखाउन सक्नुभएन नै । भारतीय तटबन्धका कारण नेपालको भूमी डुबानमा परिरहेको छ भन्ने वास्तविकतामा समेत मौन बस्नुभयो । उल्टै संविधान संशोधन जस्तो नेपालको नितान्त आन्तरिक मामिलामा बोलेर आलोचना खेप्नुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया