MENU

बातावरण-कृषि

Ncell Axiata

हराएका बाह्रसिंगे फेला परेनन्, तीनवटा अर्ना मरे, १२ सुरक्षित

राधेश्याम खतिवडा/उज्यालो । 

चितवन, भदौ १४ – संख्या बृद्धि गर्ने उद्देश्यले चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका चारवटा बाह्रसिंगे हराएका छन् । शुक्लाफाँटाबाट ल्याएर चितवन निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा  इन्क्लेजरमा राखिएका चारवटा बाह्रसिंगे साउनको अन्तिममा आएको बाढी पछि हराएका हुन् । 

शुक्लाफाँटाबाट ल्याइएका सातवटा बाह्रसिंगे मध्ये तीनवटा मरेको र बाढी आउनु अगाडिसम्म चारवटा सुरक्षित रहेको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो । अविरल वर्षासँगै आएको बाढी पछि हराएका चारवटा बाह्रसिंगे फेला नपरेको जानकारी दिँदै उहाँले खोजी भइरहेको बताउनुभयो । 

बाह्रसिंगेलाई निकुञ्जले पुरानो पदमपुर क्षेत्रमा खुल्ला चिडिया घर निर्माण गरेर राखेको थियो । बाढी आउनुअघि तीन पोथी र एक भाले जीवित थिए । बाह्रसिंगे राखिएको क्षेत्र बाढीले डुबानमा परेकाले बगाएर लगेको हुन सक्ने बताउँदै कँंडेलले बाह्रसिंगे राखिएको क्षेत्रमा खोजी गर्दा फेला नपरेको बताउनुभयो । 

गएको वैशाख १३ गतेदेखि बाह्रसिङ्गे स्थानान्तरणको काम सुरु गरिए पनि  सातवटा ल्याइएपछि काम रोकिएको थियो । बाघ, चितुवा र अन्य मांसहारी जनावरबाट सुरक्षित गर्नका लागि बार लगाएर ठूलो क्षेत्रफलमा बाह्रसिंगेलाई राखिएको थियो । अहिले नेपालमा बाह्रसिङ्गे शुक्लाफाँटामा दुई हजार २०० र बर्दिया राष्ट्रिय निकुञ्जमा १०० को हाराहारीमा रहेका छन् ।

चितवन निकुञ्जमा अर्ना र बाह्रसिंगेको दोस्रो प्राकृतिक बासस्थान बनाउने उद्देश्यले वन मन्त्रालयले धेरै पटकको प्रयासपछि कोशीटप्पुबाट अर्ना र शुक्लाफाँटाबाट बाह्रसिंगे सारेको थियो । त्यसअघि प्राकृतिक बासस्थानमा कोशीमा मात्र अर्ना र शुक्लाफाँटामा मात्र बाह्रसिंगे थिए ।  गएको वर्ष नै शुक्लाफाँटाका बाह्रसिंगे बर्दिया निकुञ्जमा पनि सारिएको थियो ।

तीन अर्ना मरे, १२ सुरक्षित

चितवन राष्ट्रिय निकुञ्जमा कुल १५ वटा अर्ना ल्याएकोमा अहिले १२ वटा मात्र रहेका छन् । संख्या बृद्धि गर्ने उद्देश्यले सदर चिडिया घरबाट चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना मरेका तीन अर्ना मरेका हुन् । कोशीटप्पु आरक्षबाट ल्याइएका १२ अर्ना सुरक्षित छन् । सदर चिडिया घर जावलाखेलबाट एउटा भाले र दुईवटा पोथी अर्ना ल्याइएको थियो ।

सदर चिडिया घरमा रहेका अर्नाले खाने सामग्री आफै खोजेर खाने बानी नभएको कारण मरेको हुन सक्ने निकुञ्ज प्रमुख संरक्षण अधिकृत कँंडेलले बताउनुभयो । चिडियाघरमा एकै स्थानमा बस्दै आएका अर्नालाई निकुञ्जमा ल्याएर खुला छाड्दा खाने सामग्री आफै खोजेर खानु पर्ने, खोज्ने बानी हराएको, खाने सामग्री घाँस अन्य सामग्री खोज्नको लागि नजानेको कारण पछि बिरामी हुँदै मरेको हुन सक्ने कंँडेलले बताउनुभयो । 

चिडियाघरमा हुँदा मानिसले वन्दा, तरकारी, खोजेर ल्याएको घाँस लगायतका सामग्री मानिसले दिने बानी परेका अर्नाले निकुञ्जमा आफै खोजेर खानु पर्दा प्रतिकुल असर परेको हुन सक्ने उहाँले बताउनुभयो । 

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको संख्या बढेकाले अर्ना बथानमा परिणत नभएसम्म खुल्ला खोरमै राखिएको छ । दुई हजार मिटर जाली लगाएर ३० हेक्टर क्षेत्रफलमा निर्माण गरिएको खोरमा अर्ना राखिएको छ । खोरमा अरू वन्यजन्तु नजाऊन् भनेर वरिपरी सोलार फेन्सिङसमेत गरिएको छ । इन्क्लोजरभित्र ४ सय मिटर लामो र १५ मिटर चौडा पानीको पोखरी बनाइएको छ ।

अहिले नेपालमा कोशीटाप्पु वन्यजन्तु आरक्षमा सन् २०१३ को गणनाअनुसार ३२६ वटा अर्ना रहेका छन् । यस वर्ष फेरि गणना हुँदैछ । जनावरको विविधिकरणका साथै बाघको सङ्ख्या बढ्दै गएकाले सिकार क्षेत्र बढाउन पनि यी जनावर चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गर्नु राम्रो भएको संरक्षणकर्मीले बताउँदै आएका छन् । 

चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडा, बाघ, हात्ती, जरायो, चित्त, लघुना, गौरीगाई, बँदेल, नीलगाईजस्ता जनावरका साथै २६५ प्रजातिका चरा, ६४ प्रजातिका स्तनधारी, एक सयभन्दा बढी प्रजातिका घस्रने र उभयचर पाइन्छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया