MENU

विचार/अनुभूति

Ncell Axiata
sagun

घरभित्र सर्पको १८ घण्टे बास, परिवारलाई त्रास

सुजाता खत्री -

‘ए आम्मा, यहाँ सर्प रैछ !’ आमा आत्तिदै चिच्याउनुभयो ।

म दगुरेर आमा नजिकै पुगेँ । 

एउटा हातमा पानी तान्ने पम्प र अर्को हातमा चियाको गिलास समातेकी आमा फ्या फ्या गर्दै हुनुहुन्थ्यो । सर्प देख्दा आत्तिएर होला चिया पनि पोख्नुभएछ ।

‘कहाँ निर हो ?’ मैले सोधेँ ।

फूलदानी देखाउँदै आमाले भन्नुभयो ‘त्यहाँ छ ।’ 

फलामको पाताको दुई तह भएको र्‍याकमा धेरै जसो तल्लोमा जुत्ता र माथिल्लोमा फूलदानी अनि पानी तान्ने पम्प हुन्छ । त्यो र्‍याक अघिल्लो दिन मात्र स्टोर रुममा पुगेको हो । र्‍याकको बायाँपट्टी पानी भरिएका जार, जर्किन, बाल्टिन र प्लास्टिकका बोतल छन् । दायाँपट्टी छरिएका आलु, भाँडाकुडाँ । आमाले फुलदानीमा संकेत गर्ने बित्तिकै हेरेँ, पुच्छर देखियो । र्‍याकलाई घ्वार्र ताने तर सर्प र्‍याकमुनि रहेनछ । 

हामी कराएको सुनेर बुवा र दिदी पनि कोठामा नै आइपुग्नुभयो । 

हामी दुई दिदी बहिनी कसैलाई कुट्न लागे झैँ हातमा लौरो लिएर उभियौँ र लौरोले बिस्तारै एउटा एउटा जुत्ता र्‍याकबाट खसाल्न थाल्यौँ । आधा जति जुत्ता भुईँमा झारेपछि सर्प सलल पानीका बोतल राखेतिर गयो ।

‘सर्प झ्यालबाट निस्केको राम्रो, झ्याल खोलिदेउ,’ बुवाको बोलि फुट्यो ।

‘झ्याल खोल्ने कसरी, सर्पले टोक्यो भने’ दिदी आत्तिनुभयो । 

सर्प कुनामा गुजुल्टिएर बसेको देखियो, हामी के गर्ने अन्योलमा परिरह्यौ ।

‘यो बानले कति दुःख देको होला ? हिजै भेट्न पाको भए आनन्द हुन्थ्यो, अब के गर्ने होला छि !’ आमाले बोल्नुभयो ।
...

अघिल्लो दिन क्याम्पसबाट घर फर्कदा १२ बजिसकेछ । घाम चरक्क नलागेपनि हप्प गर्मी थियो, ज्यान पसिनाले लपक्कै भिजेको भएर नुहाएर मात्र खाना खाने निधो गरे । नुहाइसके र कपडा पखाल्न थाले । पाइन्ट पखाल्दै गर्दा धाराले ख्वाक ख्वाक गर्‍यो, मैले बुझे माथि ट्याङ्कीमा पानी सकिएछ । पानी माथि पठाउन स्वीच अन गरेर म कोठामा पसे ।  साढे दुई बजेको थियो होला, छतबाट पानी खसेर टिनमा ट्वार्र गरर्‍यो । 

‘लौजा ! पानीको स्वीच बन्द गर्नुपर्ने’ हातको मोबाइल खाटमै छोडेर बाहिर निस्के र स्वीच अफ गरे । 

कति पानी पोखिएछ भनेर कौसीमा हेर्दा पानी धेरै जमेको देखेपछि लाग्यो आज तलको ट्याङकीमा जम्मा भएको पानी सबै सक्कियो ।

दोडिएर तल आए, ट्याङकीको ढक्कन खोलेको मात्र के थिए पानी भन्दा पहिला सर्प देखियो, पाइपबाट तल जाँदै रहेछ, ढक्कन खोलेपछि माथितिर फर्कियो, मेरो हात र सर्प दुरी अब धेरै छैन, मेरो सातो उड्यो । हातका रौं ठाडा भए ।

‘घरमा कोहि छैन, सर्पले मलाई टोक्यो भने... !’ मेरो मनमा कुरा खेल्न थाल्यो । 

‘सर्प विषालु रैछ भने आज पक्का म गएँ ।’ केहि दिन अगाडिमात्र सर्पदशंको बारेमा डाक्टर शेरबहादुर पुनसँग अन्तरवार्ता गरेको थिए । त्यहाँ डाक्टरले भन्नुभएको प्राथमिक उपचारका विधि दिमागमा दौडन थाले । 

तर सर्पलाई नि डर लागेछ सायद, छिटो छिटो गयो, भर्‍याङ मुनी अध्यारो भएकोले मैले कहाँ गयो देख्न सकिन । कोठाबाट मोबाइल ल्याएर टर्च बालेर हेरे, भर्‍याङ मुनी राखिएका सामान एकएक गरी लामो लठ्ठीले तान्न थाले, सर्प बेरेर राखेको पाइपमा रहेछ चलाएपछि भित्तो उक्लन थाल्यो र प्वालमा छिर्यो । बाहिर गएर प्वाल छ कि छैन हेर्न गए तर देखिन । अब अर्को पीर थपियो, घरमा कसैलाई सर्प छ भन्ने थाहा छैन, टोक्यो भने ?

बुवा र भिनाजु घरमा आइपुग्नुभयो, एकै छिनमा दिदी पनि । मेरो कुरा सुनेपछि सबैले प्वालमा हेर्न थाल्नुभयो । सर्प बाहिर निस्केको रहेछ, हामीले टर्च बालेपछि फेरि फर्कियो प्वालमै ।

अब बुबा सर्प गोठालो हुनुभयो, दिदीले घरका अरु ठाउँमा भएका प्वाल टाल्न थाल्नुभयो । पानी ट्याङ्की सँगै भएको जुत्ता राख्ने र्‍याक स्टोर रुममा पुग्यो । भूइँ तलामा ५ वटा ढोका छन्, ट्वाइलेटको, दुईवटा सामान राख्ने कोठाको, म बस्ने कोठाको र मुल ढोका । सबै ढोकामा सर्प छिर्ने प्वाल टालेपछि बुवाले सर्प भगाउन बास्ना आउने धुम बाल्नुभयो । उहाँसँग अर्को जुत्ति रहेछ, महको रेखी हाल्ने । लठ्ठीमा महले भिजेको कपडा बेरेर सर्पलाई लक्ष्मणरेखा लागाईयो, अब सर्पले जाने बाटो भनेको मूल ढोकामात्र थियो । सबैलाई ढुक्क भयो अब सर्प माथितलामा आउँदैन ।

रातको खाना खाइसकेपछि दिदीले माथिल्लो तल्लामा सुत भन्नुुभयो, मैले मानिन । सोचेँ सर्प घरबाट निस्किसक्यो होला । तै पनि मनको शान्तिको लागि सर्प छिरेको प्वालमा हेरेँ र कोठामा चुकुल लगाएर सुतेँ । हिजोअस्ति देखेका भन्दा आज भिन्दै सपना देखेँ, सर्प सिरानीमा आएको, सिरकमाथि बसेको, मुख पुछ्ने रुमालमा झुन्डिएको आदि । प्राय एकै पटक बिहानमात्र खुल्ने आँखा ६ पल्ट भन्दा बढि खुले, कहिले बिहान होला जस्तो लाग्यो ।

...

साढे ८ बजिसक्यो, सर्प हलचल गर्दैन, आँधो पो हो कि भन्ने अड्कल आमाको छ । सर्पको रंग घस्रने भाग पहेलो र माथिको भाग कालो, हरियो मिसिएको थियो । खाली ठाउँ पायो भने बाटो लाग्छ होला भन्ने लागेर गुजुल्टिएको ठाउँ अगाडि खाली गरिदियौँ । मलाई छिमेकीले मुसा आउँने बाटोमा धोक्रो थापेर मुसलाई पक्रेको याद आयो र सर्पलाई खुलाइदिएको बाटोमा मैले धोक्रोको मुख खोलेर राखिदिए । सर्प हामीले भनेको माने झैँ गरी धोक्रामा छिर्‍यो । सर्पको मुखले धोक्रो पिँध भेट्यो भने त पक्का फर्कन्छ, त्यसैले डरैडरमा आधा सर्प धोक्रामा छिर्ने बित्तिकै उठाए र धोक्रोको मुख बानेँ । 

अब झन् ठूलो हल्ला भयो सर्पलाई के गर्ने । दिदीले बाहिर लगेर छोड भन्नुभयो, बुवाले मान्नुभएन । हाम्रो घर भन्दा दायाँबायाँ साना बच्चाहरु खेलिरहेका हुन्छन्, त्यसैले सर्पलाई खोलामा नै पुर्‍याउने निर्णय भयो । म धोक्रो समातेर अघि लागे, मेरो पछाडि हातमा लौरो लिदैँ बुवा र त्योभन्दा पछाडि पल्लाघरका स–साना नानीहरु । हामी एक हुल लाइनबद्ध भएर सर्प फाल्न गयाँै, वल्लोपल्लो घरकाले हामीलाई के भयो भनेर ट्वाल्ल हेर्दै थिए । 

म उभिएको बारीको डिलबाट तीन पाटा कटेपछि मात्र खोला आउथ्यो, सर्पलाई मात्रै फाल्दा खोलामा नपुग्ने भएपछि बोरामा ढुंगा बेरेर हुत्याए । बुवा हामीले निकालेको जात्राको बेलिविस्तार लगाउँदै हुनुहुन्थ्यो, म घर फर्किए । सर्प खोलामा पुग्यो पुगेन थाहा छैन, तर घरका सबैको मनको डर भने सर्पको बोरासँगै गयो । आमाले धोक्रो नल्याको भनेर सोध्दा म टाउको हल्लाउँदै कोठामा पसेँ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केटा र केटीबीच विवाह कसरी जुराइन्छ ?

    ज्योतिष शास्त्रमा बिभिन्न कुराहरुको वर्णन गरिएको छ । हिन्दु धर्मशास्त्रहरुका अनुसार कुनै पनि केटा र केटीको विवाह गर्दा सम्बन्ध राम्रो हुन्छ कि हुँदैन भन्ने विचार गर्नुपर्छ । यस कुराको विचार ज्योतिष गणनाको आधारमा हुने गर्छ । कसरी केटा वा केटीको विवाह जुर्छ जुर्दैन थाहा पाउने गरिन्छ त ?

  • कुर्सी नपाउँदासम्म कुकुर बिरालालाई पनि ढोग्छन्, कुर्सीमा पुगेपछि मान्छे नै चिन्दैनन्

    घर झापा विर्ता शनिश्चरे हो । तर काठमाडौं बसेकै ११ वर्ष भैसक्यो । बानेश्वरमा सिलाईको काम गर्दै आएकी छु । झापाको भन्दा काठमाडौंको समस्या बढी देख्छु म त । मेलम्चीको पानी ल्याउँछु भनेको यतिका भैसक्यो आएको छैन । बाटोमा धुलोधुवाँले हिँडिसक्नु छैन ।

  • बम पड्काउनेले बुझ्न नसकेको यथार्थ

    देश चुनावको मुखमा छ । नेता, कार्यकर्तादेखि आमनागरिकलाई चुनाव लागेको छ । दलहरुको घोषणापत्र र नेताहरुले भाषणमा भनेजस्तो देशले छिटै काँचुली फेर्छ भन्नेमा नागरिकलाई विश्वास त छैन, तर चुनावले लामो समयदेखिको संक्रमणकाल अन्त्य गर्छ भन्ने आशा चाहिँ सबैमा छ ।

  • घर कुन दिशामा फर्केको राम्रो ?

    वास्तुशास्त्र अनुसार विभिन्न दिशाहरुको विभिन्न स्वभावहरु छन् । दिशाहरुको स्वभाव अनुसारका संरचनाहरु त्यस दिशामा बनाउनु राम्रो मानिन्छ । पूर्व दिशाबाट सूर्योदय हुने भएकाले यस दिशाबाट निकै राम्रो उर्जाहरु आउने मान्यता रहेको छ ।

  • तपाई मधुमेहको बिरामी हुनुहुन्छ ? भान्छामा छुट्टै खाना बनाउनु पर्दैन

    हिजोआज मानिस हिँड्न छाडे । विकासले जहाँतहाँ बाटो खुल्दा हिँडेर जाने ठाउँमा सवारी साधन प्रयोग हुन थाले । डेरीमा जाँदा क्यान र मान्छेलाई मोटरसाइकलले लैजान्छ । बसको प्रयोग हुन्छ । गाउँ गाउँमा चाउमिन, चाउचाउ, आलु चिप्स, तारेका खानेकुरा पुगे ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया