MENU

बातावरण-कृषि

Ncell Axiata

विद्यालयको पढाई सुधार्न कागती खेती

मोरङ, भदौ १५ – मोरङकोे बुढीगंगा गाउँपालिका–६ मा रहेको कोयलपुर गछिया खोला किनारमा लटरम्मै कागती फल्न सुरु गरेका छन् । झण्डै दुई वर्ष पहिला सिरुघारी रहेको यो खोला किनारमा यसरी कागती फल्दा भनेर कमैले सोचेका थिए होलान् । तर अहिले कागती लटरम्मै फल्न थालेको छ । यसरी कागती फल्नुमा एकजनाको मात्र भूमिका छैन । यसमा १८ जना गाउँका सर्वसाधारणको हात र साथ छ । श्रृष्टी कृषक समूह बनाएर १८ जना सदस्यले यो कामलाई निरन्तरता दिँदै आएका छन् । 

जंगल र झाडीमा रहेको श्री सरस्वती उच्च माविको जग्गालाई श्रृष्टी कृषक समूहले कसरी सदुपयोग गर्ने भनेर विद्यालयसँग पटक पटक छलफल गरेको थियो । एक वर्षको १५ हजार रुपैयाँ समूहले दिने विद्यालयलाई दिने गरी जग्गा भाडामा लियो । 

विद्यालयलाई १२ वर्षपछि खाली जग्गामा वृक्षारोपण गरेर दिने भनेर सहमति भएपछि श्रृष्टी कृषक समूले जग्गा  १२ वर्षको लागि आफ्नो स्वामित्वमा ल्याएको थियो । सिरुघारी रहेको जग्गालाई राम्रो जग्गा बनाउनको लागि १८ जनालाई  २२ दिन लाग्यो । १८ जना किसान यसको आम्दानीबाट विद्यालयको शिक्षकलाई तलव खुवाउने अनि गाउँको विद्यालयको शिक्षालार्ई  अंग्रेजी माध्यामबाट सञ्चालन गर्ने सोचमा छन्  । 

किसानको मेहनत देखेर तीनसय ६० बिरुवा निशुल्क वल्र्ड भिजन र एमडिएमएसले दियो । पछि किसानहरु आफैले ५० बिरुवा थपेर ४ सय बिरुवा बनाए । २ बिगाहा १४ कट्ठा जग्गामा किसानलाई कागती फलाउन जिल्ला कृषि विकास कार्यालयले पनि सहयोग गर्‍यो ।

सांसद अमनलाल मोदीले एक लाख रुपैयाँ सहयोग गर्नुभयो । साबिकको सिसवनी गाबिसले ९० हजार रुपैयाँ, कृषि विकास कार्यालयले २५ हजार रुपौयँ, सभासद कोषबाट एक लाख रुपैयाँ, सरस्वती उच्च माविले ६ हजार रुपैयाँ, वल्र्ड भिजन र एमडिएमएसले एकलाख ६५ हजार रुपैयाँ सहयोग गरे । श्रृष्टी कृषक समूहका सबै सदस्य मिलेर एक लाख २५ हजार  ८ सय ६४ रुपैयाँ नगद र एक लाख ४८ हजार आठ सय रुपैयाँ बराबरको श्रमदान गरेर यो अवस्थामा आएको समूहका अध्यक्ष बोधनारायण सिक्दार बताउनुहुन्छ ।  

‘हामीले त विद्यालयको खाली जग्गालाई सदुपयोग गर्नको लागि यसरी विद्यालयको हितको लागि नै सहयोग गरेका हौं’ सिक्दारले भन्नुभयो ‘हामीले जग्गा लिएको नै तीन वर्ष हुन लागि सक्यो । अब ९ वर्ष बाँकी छ । यो अवधिमा हामीले कागतीको फाइदाबाट विद्यालयको पठन पाठनलाई गुणस्तरीय बनाउनु मात्र छैन । १२ वर्ष पछि ५ सय रुख बनाएर स्कूललाई हस्तान्तरण गर्नुछ ।’
 समूहका अर्का सदस्य सत्यनारायण चौधरी आगामी दिनमा बिरुवा उत्पादन गरेर सहुलियत रुपमा बिक्रि बितरण गर्ने सोच बनाएको बताउनुहुन्छ । 

‘कागती खेती गर्नको लागि मेहनत गर्न समस्या नभए पनि भुईमा झारेका कागती खेर जाने समस्या छ, समूहकी कोषाध्यक्ष  सुशीला भगतले भन्नुभयो ‘झारेका कागतीलाई संकलन गरेको भए पनि त्यसलाई कसरी अचार बनाउने भन्ने ज्ञान नहुँदा समस्या छ ।’ 

किसानले सुरु गरेको नयाँ अभियानबाट किसानले मात्र फाइदा लिने छैनन् यसको फाइदा विद्यालय, विद्यार्थी अभिभावकसँगै विद्यालयको पठन पाठनमा सुधार हुँदा समग्र बुढीगंगा गाउँपालिकाले नै लिने छ । तर किसानले प्राविधिक समस्या रहेको बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया