MENU

विचार/अनुभूति

Ncell Axiata
sagun

सामिप्यता, कनेक्टिभिटी र विकास (भाग १)

विनोद न्यौपाने -

कर्णालीमा बाटो पुग्दा भुइँमै खुट्टा छैन
मायालुलाई भेट्न जाँदा कुनै चिन्ता छैन 
झल्को लाली ओठको ।। 
बाटो खुल्यो मोटर चल्यो जुम्ला कालिकोटको ।। 
आँखा देख्ने भए पनि साँच्चै भाथ्यौ अन्धा,
हाम्लाई मोटर ठूलो सिंहदरबार भन्दा ।।   
झल्को लाली ओठको ।।

लोकलयका यी हरफले हामीलाई मनोरञ्जन दिने काम मात्रै गर्दैनन्,  हाम्रो समाजको राजनीतिक, आर्थिक तथा सामाजिक स्थितिको चित्रण गर्दछन् । परिवर्तन र विकासका लागि यी गीतले आवाज उठाउँछन् । यी शब्दले सामिप्यता र कनेक्टिभिटीको महत्वलाई झल्काउँछन् । के गर्दा यो सामाजिक संरचनामा हामी एक आपसमा बाँधिन्छौ, सेवा र सुविधा राज्यले कसरी पुर्‍याउनुपर्छ, पिछडिएको छेत्रलाई कसरी समेट्नुपर्छ भन्ने राम्रो दृष्टिकोण देखाएको छ ।  के हो त आखिर सामिप्यता र कनेक्टिभिटी ? 

मोटरबाटोका कुरा पनि गीतले उठाएको छ, टाढा भए पनि कनेक्टिभिटीले गर्दा विभिन्न जातजाति र भाषाभाषीबीच मायाप्रेम गाँस्न सजिलो हुन्छ भनि सामिप्यताको महत्व माथिको गीतले दर्साएको छ ।

के हो यो ? 

सामिप्यताको अर्थ सामान्य भाषामा नजिकै, छेउमै वा कतै नजिकै नै हो । पुनः प्रश्न उठ्छ कि के हो नजिकै वा छेउमै भनेको ? तर यहाँ भौगोलिक दूरी आउँदछ, कति दूरीमा, साथीहरुको आफ्नै सर्कलमा, आफ्नै परिवार भित्र कति नजिक, संस्था भित्र, पेसा भित्रको दूरीले पनि सामिप्यता नापिन्छ । कुन ठाउँ, कुन स्केलमा आर्थिक, सामाजिक क्षेत्रका नायक, संस्थाहरु र अन्य टेकेर तिनीहरुको क्रियाकलाप गरिरहेका छन् । 

मानवीय भूगोलमा भौगोलिक सामिप्यता, संस्थागत सामिप्यता आर्थिक विकास, सामाजिक परिवर्तनको महत्वपूर्ण भूमिका हुन्छ । भौगोलिक सामिप्यताले सहरहरु, सँस्थाहरु, देशहरु के कति दूरीमा छन् त्यो किलोमिटरमा बताउँछ । अझ भौगोलिक सामिप्यता भित्र पसेर हेर्दा सामिप्यता र दुरी देखिन्छ । अर्थ सोझै छ यातायातको साधनले त्यो दूरी कति समयमा पार गर्दछ र भाडा कति लाग्दछ ? हिजो प्रदेश र पालिका छुट्याउँदा प्रयोग गरे गरेनन् ? अर्को सामिप्यता, हाम्रो आफ्नो जजमेन्टले पनि नाप्दछौं ।  

देवलडाँडा, पाचखपन वडा नम्बर ३ बस्ने मलाई चैनपुर र तुम्लिङटार कति टाढा पर्दछ भनेर कसैले  सोधे, ए त्यो त टाढा छ, तुम्लिङटार नजिकै छ उ त्यही हो भन्दछु । मेरो कमनसेन्स, जजमेन्ट गर्न प्रयोग गर्दछु । सामिप्यताको जजमेन्ट गर्दा जेन्डर, उमेर र पेसाले असर गर्दछ । संस्थागत सामिप्यता, संस्थामा काम गर्ने, सम्बन्धित विषयका विज्ञ, संस्थाहरुको समन्वय आदिलाई बुझिन्छ ।

सामान्य स्थानीय पद्दती, ऐन, कानुन, उत्पादन, हाम्रो सामाजिक संस्थागत सामिप्यताले (घर, परिवार, मेलापात, छिमेकी बिचको मित्रभाव) भौगोलिक सामिप्यतालाई चलायमान बनाइरहेको हुन्छन् । त्यसैले हामीलाई एक आपसमा जोड्ने यातायातका साधन, संचारका साधन, नेटवर्क कनेक्टिभिटीको प्रमुख आवश्यकता रहेको हुन्छ ।   राष्ट्र, टेरिटोरी, भौगोलिक क्षेत्र, ठाउँ, स्पेस, संस्थाहरु, व्यक्ति कसरी नजिक छन्,  कसरी गाउँपालिकादेखि प्रदेश हुँदै केन्द्र र ग्लोबल रुपले फाइदा लिन सकिन्छ, सोच्नुपर्ने अवस्था आएको छ । नीति नियम र  योजना बनाउँदा आजको युगमा धेरै कुरामा विचार पुर्‍याउनुपर्ने भएकाले  सामिप्यता र कनेक्टिभिटीबारे यो लेख लेखेको छु ।  दैनिक प्रयोग गरिने र राजनीतिक अर्थशास्त्रमा प्रयोग गरिने सामान्य शब्दहरु तर गहिरो अर्थ लाग्ने ?

मुख्य मूल खाँबो राष्ट्र र क्षेत्रीयताको लागि यातायात र संचार कनेक्टिभिटीको मूल माध्यम हो । राष्ट्रिय स्तरका बजारहरुमा पहुँच, आन्तरिक रुपले विकसित हुँदै गरेका बजार, दिगो आर्थिक वृद्धिको आधार, सेवा र सुविधा, मानवीय आधारभूत आवश्यकता पूर्तिको माध्यम, बजारको प्रतिस्पर्धा र बजार प्रवद्र्धन गर्ने कनेक्टिभिटीले नै हो ।  

भूगोल अनुसारको योजना, कार्यान्वयनको पक्ष र आर्थिक स्रोतमा पहुँच हुने हो भने  कनेक्टिभिटी बढाउन सकिन्छ । यसमा अवसर र जोखिम दुवै सँगसँगै हुन्छ । विकासे अर्थशास्त्री सजिलै भन्छन्, पछाडि परेको क्षेत्रमा आर्थिक क्रियाकलाप हुने भएकाले आर्थिक वृद्धि, तुरुन्तै मानवीय आवश्यकता,  उत्पादन र उत्पादकत्व बढाएर प्रतिव्यक्ति आम्दानीमा वृद्धि गर्न सकिन्छ । विकास निर्माणका योजना बनाउँदा यस्ता कुरालाई बेवास्ता गरिएकाले सुदूरपश्चिम पछाडि परेको हो । 

सामिप्यता र कनेक्टिभिटी सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक, ऐतिहासिक डाइमेन्सनका दृष्टिकोणले महत्वपूर्ण हुन्छ । विश्वका विभिन्न देशहरुसँग  आर्थिक, व्यापारिक सम्बन्धहरु सिधै वा संस्थागत सम्बन्धहरु बढाउनु आवश्यक भैसकेको छ । मुलतः शैक्षिक क्षेत्रलाई अनुसन्धनात्मक र प्रयोगात्मक बनाउनुपर्ने आवश्यकता रहेको छ । देश संघीय ढाँचामा गइसकेकोले अब विकास निर्माणका काम गर्दा स्थानीय स्रोत र साधनको प्रयोग गर्नुपर्ने हुन्छ ।    

प्रश्न उठ्छ, हिमालय क्षेत्रमा बसोबास गर्ने हाम्रो ग्लोबल इतिहास के छ ? के प्राकृतिक अवस्थाले गर्दा हामी अरु देशभन्दा एकलकाटे अवस्थामा छौं ? दक्षिणतिरको खुल्ला बोर्डर र उत्तरतिरको पहाड नै हो त हाम्रो देशको विकास नहुनुको कारण ? कि राज्य सञ्चालकहरुको कारणले उदाउँदै गएको एसियाको आर्थिक परिवेशभित्र हाम्रो जीवन पद्दती परिवर्तन हुन नसकेको  हो ? यी प्रश्नको केही उत्तरहरु यही सामिप्यता र कनेक्टिभिटीले दिन सक्छन ।

मानवीय भूगोल भित्र सामिप्यता र कनेक्टिभिटीको अध्ययन गर्दा यहाँ म वालुंग (ओलांगचुंगगोला) को सामाजिक जीवन, आर्थिक चहल पहल बारे कोट्याउँदै छु । माथिल्लो तमोर भ्याली, ३२०० मिटर उचाई, कन्चनजंघा हिमालको काखमा रहेको ओलांगचुंगगोला (स्थानीय भाषामा – वालुंग र होलुंग) पुग्न  सन् १९५० ताका सडकबाट १० दिन पैदल यात्रा र भारतको दार्जीलिंग पुग्न २ हप्ता हिँड्नु पर्दथ्यो ।

(मार्टिन सेजर, २०१६) तिब्बतवाट नजिक, उन र चौँरीको पुच्छर तिब्बत कै बाटो भएर युरोप र अमेरिका पुग्दथ्यो । सन् १९५८ मा त्यहाँ पुगेका डोरबहादुर बिष्ट सफल र धनी व्यापारीहरुको थलो, धेरै तिब्बत, दिल्ली र कलकत्ता आवतजावत गरिरहने, पुरै बाहिरी दुनियासँग सम्पर्क देखिन्थ्यो । तर पनि दैनिक रुपमा गीत र समाचार  सुन्न सबैसँग ट्रान्जिस्टर रेडियो सबैको पहुँचमा थिएन भनेर लेख्दछन डोरबहादुर बिष्ट । यही गोला (MART) लेनदेन, व्यापार भारतको दार्जीलिंग र ल्हासा जोड्ने पुल थियो । ७ सय वर्ष अघि  तिब्बतबाट बसाइसराईँ गरेर आएका यहाँका मानिसको तिब्बतीहरुसँग भाषागत सम्बन्ध रहनु अनौठो होइन, अर्थात मेटेरेनिटि सम्बन्ध र सस्थागत सामिप्यता सजिलै देखियो ।  

यहाँ के देखिन्छ भने, उनीहरुको सामिप्यता, पहुँच र कनेक्टिभिटी कति रहेछ भनेर सजिलै मुल्यांकन गर्न सकिन्छ, कति दुर्गम छ र यसका कनेक्टिभिटीका हाँगाहरु तिब्बत हुँदै अमेरिका, युरोप पुगेको देखिन्छ । सामिप्यता भौगोलिक रुपले तिब्बत देखिए पनि संस्थागत मानवीय सामिप्यता पनि अन्य महादेशहरुसम्म जोडिएको देखिन्छ ।    

जब, १९५९ मा बोर्डर बन्द गरियो ओलाचुंगगोलामा व्यापार गरेर बसेका व्यक्तिहरु धेरैजसो राजधानीतर्फ सरेको देखिन्छ । राजधानीमा उनीहरुले नयाँ व्यापार, विकल्पहरु खोजेर बसेको देखिन्छ । यसरी उनीहरुले आफ्नो सामिप्यता र कनेक्टिभिटी प्रयोग गरेको देखिन्छ अनि हिजोको र आजको दुर्गम तिब्बत सिमानामा रहेको नेपाली बस्ती कसरी तिब्बत तिरको सामिप्यता (दुई देश) रोकिँदा कस्तो परिवर्तन आउँछ भन्ने पनि यहाँ देखिन्छ ।  

सामिप्यता र कनेक्टिभिटीका कुराहरु गर्दा यी आर्थिक, बसाईसराई, सामाजिक परिवर्तनसँग सम्बन्धित विषय हुन् । उत्तरी नेपाल घुमेका झांग जुवान, ल्यांग योंग्जिया, जोहन लिकुइड्स र मार्टिन सेजर सजिलै निचोड निकालेर हाल चाइनिज सिनो – भियतनाम बोर्डरतिर उद्यमी भएको देखिन्छ । चाइनिज इन्डोनेसियन युनानतिर परिवर्तनकामी भएर बसेको देखिन्छ भने कस्मोपोलिटियन व्यापारीहरु नेपाली बोर्डरतिर बसेको देखिन्छ ।  

यहाँ राजनीतिक व्यवस्थामा आएको परिवर्तन, उनीहरुले ल्याएको नीति नियम, प्रशासनतन्त्रले सामिप्यता र कनेक्टिभिटीलाई ठूलो असर पुर्‍याउँछ । यो खुल्ला सिमाना भारततिरको  सामिप्यता र कनेक्टिभिटी र उत्तरी सिमाना तिरको फरक सामीप्यता – कनेक्टिभिटी यतिले नै सजिलै बुझ्न सकिन्छ ।

मुलतः हामी नेपालीहरुले सामिप्यता र कनेक्टिभिटी सहज भारतीय सिमाना तिर हुँदाहुँदै पनि तीनवटा नाकाबन्दी बेहोरिसकेका छौ ।  भारतीय शासकहरुले र कर्मचारीले नेपाललाई आफू अन्तर्गतको देख्नु र नेपालमा सरकारमा बस्नेको मनोविज्ञान चाकरीय मनोवृत्तिले समस्या निम्त्याएको छ । सत्ता मोहले गर्दा सामिप्यता र कनेक्टिभिटीका सम्भावनाहरु नखोज्नु दुर्भाग्य नै देखिन्छ । दक्षिणतिरको सीमानामा मुलतः पारवहन (कनेक्टिभिटी) र व्यापारलाई नाकाबन्दी लगाउने मुख्य कडीका रुपमा लिएको देखिन्छ । हामीले गएको वर्ष नाकाबन्दी भोगिसकेका छौँ । ग्यासको अभावमा मुढो बोकिसकेका छौँ । त्यही मारको कारणले बनाएका ५ अर्ब रुपैयाँका बुलेट थन्किएर बसेको समाचार पढेका छाैँ ।  

उत्तरी क्षेत्रको कनेक्टिभिटीः ज्याग्मु – कोदारी (खुलेको सन् १९६०), केरुंग – रसुवा (१९६७), लिक्से – नेचुंग मुस्तांग( सबै भन्दा पुरानो, हाम्रो पुर्खाले नुन बोक्ने बाटो तर सन् १९६० देखि बन्द, सन् १९९९ मा चिनियाँहरुले तारजाली बार नै लगाए (गलेन मुरटोन, २०१६) ।  जहाँ मोटरेबल बाटो मात्रै छ । यहाँबाट हाम्रा सामिप्यताका आधार फरेन डाइरेक्ट इन्भेस्टमेन्ट, बहुपक्षीय व्यापार, मानवीय सहयोग, पर्यटक दोहोरो आवगमन हुँदै आएको देखिन्छ । यसले पनि वास्तविक सामिप्यता र कनेक्टिभिटीको महत्व दर्शाउँछ ।  

हामी चीनसँग १४१५ किलोमिटर र भारतसँग १८५० किलोमिटर जोडिएका छौँ ।  हाम्रो भूभाग भारततिर थोरै दार्जीलिङ र सिक्किमतिर पहाडी क्षेत्र भएपनि धेरैजसो समथर मैदान छ  (विद्यावीर सिंह कंसाकार, २००१) । हाम्रो देश भूपरिवेष्ठित राष्ट्र हो । यही सामिप्यता र कनेक्टिभिटी प्रयोग गरेर भारत यहाँका नेता भनाउँदा र यहाँको राजनीति चलाइरहन्छ ।

अहिले संविधान संशोधनका कुरा उप्काउँदै, यहाँका पार्टीहरुलाई उकास्ने कार्य गरिरहेको धेरै नेपालीलाई ज्ञान छ । हामीलाई पारवहनको दुहाई दिँदै आर्थिक नाकाबन्दी लगाउँछ । यसबाट के बुझिन्छ भने, छिमेकी इमान्दार र असल छैन भने नजिकै भएको सामिप्यता र कनेक्टिभिटीको दूरी, समय कष्टकर बन्न जान्छ ।  अहिले पनि सामिप्यता र कनेक्टिभिटीकै आधारमा (नभए दूरी बढ्न जान्छ, आर्थिक भार बढी हुन जान्छ) हामी भारतसँग दुई पक्षीय सम्बन्ध, व्यापार र पारवहन सन्धि,  भन्सार र दोहोरो बोर्डर व्यवस्थापन, कानूनी आधारमा गरिएका सन्धि–सम्झौता पालना र उर्जाको लागि भनेर दोहोरो मित्रता गाँसिरहेका छौँ ।

चिनियाँहरू माइक्रो अर्थशास्त्रीय इस्यु र जिओपोलिटिकल इस्युमा क्षेत्रीय र ग्लोबल रुपले अघि बढिरहेको देखिन्छ । हामीले सामीप्यता र कनेक्टिभिटीलाई हाम्रो स्वार्थ अनुकुल राष्ट्रिय, स्थानीय स्तरमा एक आपसमा सम्वाद, जिओपोलिटिक्समा आफ्नो स्थान, ऐतिहासिक सम्बन्ध, मानिसहरुबिच आदानप्रदान गर्ने समय आइसकेको छ ।

अन्थ्रोपोलोजिस्ट क्रिस्टोफ भोन फुरेर – हेम्यानडोर्फ, डोरबहादुर बिष्ट सन् १९५०–६० कै दशकमा गरेको अनुसन्धान र फोटो अन्थ्रोपोलोजिस्ट मार्टिन सेजर ओलांगचुंगगोला पुगी त्यहाँको सामिप्यता, कनेक्टिभिटीबारे समाजशास्त्रको अध्ययन गर्दा उजागर गरेको देख्दा यो सामिप्यता र कनेक्टिभिटी पहाड, डाँडाकाँडाले छेक्न नसक्ने अवस्थामा रहेको प्रष्ट देखिन्छ ।   

नेपालमै अब सामिप्यता र कनेक्टिभिटीका कुरा गर्दा अब हामीलाई धेरै नजिक रहेको भारतले हाम्रो चेत खुलाइसकेको छ । चेत्नु आजको आवश्यकता भैसकेको छ । मुलतः हाम्रो कनेक्टिभिटी उसले पारवहन समुन्द्रसँग जोडिने बाटो र व्यापारलाई बनाउँदै आएको छ, जबकि ६५ प्रतिशत व्यापार उसैसँग हुँदै आएको छ । भारतसँगको गएको आवमा नेपालले ६ खर्ब रुपैयाँको व्यापार घाटा बेहोर्नु परेको छ (बुढाथोकी,गजेन्द्र  २०७४) । 
यहाँ हामीसँगको सामिप्यताको दुरुपयोग गरेको अनुभव र अनुभूति हामी गरिरहेका छाैँ । नेपाल भारत सीमानामा सहमति र समन्वयबिना बाँध बाँधेर, जसले गर्दा आज आएर तराई डुबानमा परेको छ, साथै अर्बाैँ भन्दा माथि जनधनको क्षति बेहोरेका छाैँ । सीमानामा बाँधकै निहुँमा नेपाली नागरिकमाथि गोली चलाउने काम हुनाले हाम्रो मन कुँडिएको छ । मुलतः भारतीयले दुरुपयोग गरेको सामिप्यता र कनेक्टिभिटीको विकल्प खोज्नु आजको आवश्यकता नै हो ।    

अहिले नेपालमा देखिएको आर्थिक र सामाजिक क्षेत्रको संरचनागत परिवर्तन, मानवीय आनीबानी, बेहोरा र हुर्किरहेको पुस्तालाई नयाँ नयाँ भित्रिएका प्रविधिहरुले सकारात्मक र नकारात्मक दुवै प्रभाव सोझै डिजिटल प्रविधिमा अर्थात त्यो कनेक्टिभिटीमा देख्न सकिन्छ । अझ कृषिमा भ्यालु चेन, कमर्सियल नगदेबाली खेती, टेलीमेडिसिनलाई राम्रो कनेक्टिभिटीको उदाहरण लिन सकिन्छ ।

हिजो कहाँ थियाैँ ?

भौतिक कनेक्टिभिटीका कुराहरु गर्दा सडक, रेल, हवाइजहाज,  जलमार्ग र सञ्चार क्षेत्रको इन्टरनेट,  अप्टिकल फाइबरका कुराहरु आउँछन । हामी यी छिमेकी दुई देशसँग मात्रै (तिब्बत (भोट) र भारत)  सन् १९५१ सम्म जोडिएका थियाैँ । हामीले राष्ट्रिय योजना बनाउन सुरु गरेदेखि सन् १९५६ देखि हामी अन्य मुलुकसँग हाम्रो सम्बन्ध जोडिन पुग्यो । सोझैभन्दा भौतिक कनेक्टिभिटीले राष्ट्रको व्यापार, लगानी र विकासमै बलियो आधार राख्दछ । हामीसँग १८५० किमी खुल्ला बोर्डर सीमाना भारतसँग छ ।

हामीसँग गरिएको   सन् १९५० को सन्धिलाई नै सामिप्यता र कनेक्टिभिटीको मूल आधार र रोटीबेटीको नाता लगाएर कनेक्टिभिटी र सामिप्यतालाई पुष्टि गर्दै उसको उत्तरमा रहेका प्रान्तहरुको बाढी, डुबान र सिंचाइको समस्या समाधान गर्दै आइरहेको देखिन्छ । विभिन्न, सिमानामा अनुमति बेगर, रातारात र भर्खरै भत्किएको रौतहटको बाँध पुनः मर्मत गरिरहेको पढिरहेका छौँ ।

हाम्रो कांग्रेस–माओवादी गठबन्धन सरकार बोलिरहेको छैन । ती बाँधहरुले यसै वर्ष तराई डुबानमा परेको सबैलाई अवगत छ । यो पनि सामिप्यता र कनेक्टिभिटीको छिमेकीले प्रयोग गरेको एक उदाहरण हो । भारतीय व्यापारी नेपालमा र नेपालीहरु विभिन्न भारतीय सहरहरुमा काम गरिरहेको देखिन्छ ।  

क्रमश...

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केटा र केटीबीच विवाह कसरी जुराइन्छ ?

    ज्योतिष शास्त्रमा बिभिन्न कुराहरुको वर्णन गरिएको छ । हिन्दु धर्मशास्त्रहरुका अनुसार कुनै पनि केटा र केटीको विवाह गर्दा सम्बन्ध राम्रो हुन्छ कि हुँदैन भन्ने विचार गर्नुपर्छ । यस कुराको विचार ज्योतिष गणनाको आधारमा हुने गर्छ । कसरी केटा वा केटीको विवाह जुर्छ जुर्दैन थाहा पाउने गरिन्छ त ?

  • कुर्सी नपाउँदासम्म कुकुर बिरालालाई पनि ढोग्छन्, कुर्सीमा पुगेपछि मान्छे नै चिन्दैनन्

    घर झापा विर्ता शनिश्चरे हो । तर काठमाडौं बसेकै ११ वर्ष भैसक्यो । बानेश्वरमा सिलाईको काम गर्दै आएकी छु । झापाको भन्दा काठमाडौंको समस्या बढी देख्छु म त । मेलम्चीको पानी ल्याउँछु भनेको यतिका भैसक्यो आएको छैन । बाटोमा धुलोधुवाँले हिँडिसक्नु छैन ।

  • बम पड्काउनेले बुझ्न नसकेको यथार्थ

    देश चुनावको मुखमा छ । नेता, कार्यकर्तादेखि आमनागरिकलाई चुनाव लागेको छ । दलहरुको घोषणापत्र र नेताहरुले भाषणमा भनेजस्तो देशले छिटै काँचुली फेर्छ भन्नेमा नागरिकलाई विश्वास त छैन, तर चुनावले लामो समयदेखिको संक्रमणकाल अन्त्य गर्छ भन्ने आशा चाहिँ सबैमा छ ।

  • घर कुन दिशामा फर्केको राम्रो ?

    वास्तुशास्त्र अनुसार विभिन्न दिशाहरुको विभिन्न स्वभावहरु छन् । दिशाहरुको स्वभाव अनुसारका संरचनाहरु त्यस दिशामा बनाउनु राम्रो मानिन्छ । पूर्व दिशाबाट सूर्योदय हुने भएकाले यस दिशाबाट निकै राम्रो उर्जाहरु आउने मान्यता रहेको छ ।

  • तपाई मधुमेहको बिरामी हुनुहुन्छ ? भान्छामा छुट्टै खाना बनाउनु पर्दैन

    हिजोआज मानिस हिँड्न छाडे । विकासले जहाँतहाँ बाटो खुल्दा हिँडेर जाने ठाउँमा सवारी साधन प्रयोग हुन थाले । डेरीमा जाँदा क्यान र मान्छेलाई मोटरसाइकलले लैजान्छ । बसको प्रयोग हुन्छ । गाउँ गाउँमा चाउमिन, चाउचाउ, आलु चिप्स, तारेका खानेकुरा पुगे ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया