MENU

विचार/अनुभूति

Ncell Axiata
sagun

गौरी लंकेश मारिएकी होइनन्, समाजको संवेदना र करुणा मरेको हो !

रवीश कुमार -

फेसबुक र ट्वीटरमा हिजो रातिदेखि नै धेरै हत्याराहरु फतफताउन लागेका छन् । हत्याको पनि समर्थन गर्दा रहेछन् मानिसहरु ! हाम्रो सहिष्णु समाजमा हामीले जसको हत्या हुन्छ उसैलाई मात्र देख्दछौँ तर हामी उसलाई देख्दैनौँ जसले हत्या गरेको हुन्छ । पहिलो हत्या त त्यही हत्याराको भइसकेको हुन्छ जब उ कसैको ज्यान लिन तयार भएको हुन्छ । फेक न्युज र प्रोपागान्डाको राजनीतिले सोसल मिडियाको समाजमा हत्याराको फौज नै खडा गरिदिएको  छ । यो नक्कली होइन । असली मान्छे हुन् । भारतको वर्तमान राजनीतिमा सामाजिक सञ्जालमा यस्ता धेरै हत्याराको आवश्यकता रहेको छ । उनीहरुलाई तयार गरिँदैछ । तयार गर्नेहरुलाई यो थाहा छ कि सरकार पूरै असफल भइसकेको छ । अब कर्मचारी संयन्त्र ध्वस्त हुन भने बाँकी नै छ । त्यति बेलासम्म राज गर्नका लागि सन्कीहरुको फौज आवश्यक छ । 

बेंगलोरकी पत्रकार गौरी लंकेशको हत्या माओवादीले गरे वा हिन्दुत्ववादीले । यसैमा बहस केन्द्रित गरेर करुणाको हर सम्भावनालाई नकारिएको छ । ताकि हत्याराको रुपमा बदलिएका मान्छे झुक्न नपरोस् । सामाजिक सञ्जालमा हत्यालाई उत्सवको रुपमा मनाइएको छ, यो उत्सव हत्याको विरोध गर्नेहरुलाई चिढाउनका लागि होइन, एकदमै मेहनतका साथ तयार पारिएको सामाजिक हत्याराहरुको मनोबल बढाउनका लागि गरिएको हो । कसैले यसमा कश्मीरी पंडीतका मुद्धा उठाएका छन्, कसैले केरलको राजनीतिक हिंसाका कुरा उठाएका छन् । कोही यसमा कांग्रेस सरकारलाई जिम्मेवार ठहराएका छन् । हत्यारा र हत्याको विचारधारासम्म पुग्नुभन्दा पहिले नै बाटो-बाटोमा स्पीड ब्रेकर बनाइएको छ । सोसल मिडियाको शक्ति कुनै घटना, हत्या, लूटमा छारो हाल्ने कामका लागि प्रयोग गरिँदैछ ।

 

जब अहिलेसम्म कलबुर्गीको हत्यारा पत्ता लागेको छैन, साप्ताहिक पत्रिका गौरी लंकेशकी सम्पादकको हत्याको पनि केही पत्ता लाग्ने छैन । हाम्रो प्रहरी कसैलाई नक्कली मुद्धामा फसाउन र सत्ताको जुत्ता उठाउनमा निपूर्ण छ । तपाईँले देख्नुभयो होला, भाजपाका सांसद आरके सिंहलाई, कसरी उनले कांग्रेस सरकारका गृहसचिवदेखि राष्ट्रिय स्वर्यसेवक संघका पूर्व सदस्यलाई आतंकवादी भनिरहन्थे, आज उनी संघकै बलबुतामा मन्त्री बनेका छन् । यस्तो अवस्थामा प्रहरीबाट पनि न्यायको आशा नगरे हुन्छ । केही अपवाद हुन सक्छ । असल अफिसरका कामको जस भ्रस्ट अफिसरले लिने गर्दछन् । कर्नाटक प्रहरी पनि त्यस्तै हो जस्तो महाराष्ट्रको छ, बिहारको छ, उत्तर प्रदेश वा हरियाणाको छ । 

२०१६ मा उत्तर प्रदेशको मथुरामा एसपी मुकुल द्विवेदीको हत्या भयो । २०१७ मा सहारनपुरमा एसएसपीको घरमा एकजना सांसद भीडका साथ घुसे, के–के भएन ? जबसम्म प्रहरी आफ्नै लागि नेताको गुलामी गर्न छाड्दैनन्, तबसम्म प्रहरीबाट गौरी लंकेश, दाभोलकर, वा कलबुर्गीको हत्यारा पत्ता लाग्नेमा शंका नै  छ । कर्नाटकका मुख्यमन्त्री सिद्धारमैया कलबुर्गीको हत्यारा पत्ता लगाउन असमर्थ भए । उनमा त्यस्तो राजनीतिक साहस देखिँदैन कि विभिन्न धार्मिक संगठनको बिचबाट कलबुर्गीको हत्यारा निकालुन् । उनी पनि हिन्दुतवको राजनीति गर्न लागे । आफैलाई राम भन्न लागे । हत्या कांग्रेस सरकारको पालामा भयो । अवश्य कांग्रेस सरकारकै पालमा भयो । जवाफदेही कांग्रेस पनि हो, तर त्यो ठाउँको पनि हो, जहाँबाट हत्यारा निस्केर गौरी लंकेशको घरसम्म आइपुगे । 

हाम्रो देशमा धेरै कुरा बदलिएको छ । केही नभैकन पनि त्यसलाई ढाक्नका लागि झुट र घृणाको ठूलो जंजाल फैलाइएको छ । प्रोपोगान्डा एकमात्र एजेन्डा बन्दैछ । यो कस्तो समाज हो जो न एउटी महिलाको पक्षमा उभिएको छ, न त एउटी पत्रकारको लागि । आजसम्म कुनै पनि ठूला नेताले राम रहीमलाई चुनौती दिने दुई युवतीको समर्थन गरेका छैनन् । के कुनै दिन राम रहीमको काखमा गएर बस्नकै लागि हो त ? कसले ती युवतीको साहसको कदर गर्‍यो ? के तपाईँ बताउन सक्नुहुनछ, प्रधानमन्त्री, राष्ट्रपति, कोही केन्द्रीय मन्त्री, महिला विकास मन्त्री, महिला आयोगकी अध्यक्ष, कसले ?

बिकाउ मिडिया सत्ताको गुणगान गाइरहेको छ । हर ठाउँ तथ्य भन्दा अफवाह बढी देखिन्छ । टेलिभिजनमा रातदिन हिन्दु भर्सेस मुस्लिम बहस चलाइन्छ । न्युज एंकर पनि सरकारी गुण्डाजस्तो लाग्छन् । उनीहरु लगातार मानव हत्याकै वातावरण सिर्जना गरिरहेका छन् । तपाईँ नबुझ्ने मान्छेहरु यस खेललाई बुझ्नुहुन्न । मिडियाको नाममा यसलाई पत्रकारिता मानेर हेर्दैहुनुहन्छ तपाईहरु । आफ्नो लागि नभए पनि आफ्ना छोराछोरीका लागि त सोच्नुहोस् । यो कस्तो भारत हो जहाँ एक महिला पत्रकारको हत्या हुँदा उत्सव मनाइन्छ । के भारतका आमाहरु इस्तै भारतका लागि काखमा छोराहरु राखेर रातभर जागा रहेका हुन् । के ती आमाहरुलाई थाहा छ कि उनका छोराहरु हत्याराको झुण्डमा सामेल भइसकेका छन् । 

तपाईँलाई थाहा छैन भने तिनीहरुलाई हाम्रो फेसबुक र ट्वीटरको टाइमलाइनमा ल्याउनुहोस् । यहाँ तपाईँका छोराछोरी नै हत्याको समर्थनमा विषवमन गरिरहेका छन् । तपाईँका छोराछोरी हत्याको समर्थन गरिरहेका छन् । याद राख्नुहोस्, पहिलो हत्या हत्याराको हुन्छ । यी तिनै बच्चा हुन् जो लगआउट गरेर तपाईँसामु आउँछन् तर लुकीलुकी आफ्नै भविष्यलाई अन्धकार बनाउने काम गरिरहेका छन् । जागृती शुक्ला केवल पत्रकार होइनन् जसले गौरी लंकेशको हत्यालाई जायज भन्दैछिन् । कुनै आमाबुवा चाहँदैनन् कि उनका छोराछोरी हत्यारा बनुन् । कोही चाहँदैनन् कि हत्याको समर्थनमा आफ्ना छोराछोरी चोक चोकमा जाउन् । आमाहरुलाई थाहै छैन । बुवाहरुले बुझ्दै बुझ्दैनन् । जागृती शुक्लाले तपाईँले कर्मअनुसारको फल पाउनुहुन्छ  भन्दै लंकेशको हत्यालाई जायज ठहर्‍याइन् । म भारतका सबै आमाहरुलाई सोध्न चाहन्छु कि के तपाईँ आफ्ना छोराछोरीलाई यस्ता कुरा बोल्न अनुमति दिनुहुन्छ ? के तपाईँ पनि हत्याको मानसिकतावाला समाजमा सामेल हुन चाहनुहुन्छ ?

निखिल दाधीचजस्ता मान्छे आफ्नी आमासँग भन्थे होलान्, बुवासँग भन्थे होलान्, बहिनीसँग भन्थे होलान् कि उनले गौरी लंकेशको बारेमा लेखे, ‘एउटी कुकुर्नीको मृत्यु के भयो, सबै छाउराछाउरी एउटै स्वरमा विलाप गरिरहेका छन् ।’ यी साथी आफूलाई हिन्दु राष्ट्रवादी भन्दछन् । के यही हो हिन्दुत्वको राष्ट्रवाद ? कसैको हत्यामा यस्तो भाषाको प्रयोग ! के हामी कसैको अन्तिम संस्कारमा यस्तै भन्दै जाने गर्छौँ । के तपाईँलाई आश्चर्य लाग्दैन यस्ता व्यक्तिलाई हाम्रा आदरणीय प्रधानमन्त्री ट्वीटरमा फ्लो गर्नुहुन्छ । उसको ट्वीटरमा लेखिएको छ कि प्रधानमन्त्री फ्लो गर्नुहुन्छ, के हाम्रो प्रधानमन्त्रीलाई राज गर्नका लागि यस्तै मानसिकताको आवश्यकता पर्दछ ? 

जागृती र निखिल मात्रै होइनन् । त्यसैले मैले भन्दछु भारतका सम्पूर्ण आमाहरु, आउनुहोस्, हेर्नुहोस्, तपाईँका छोराछोरी टाइमलाइनमा के लेख्दैछन् । उनीहरु पागल भइसकेका छन् । उनीहरु यो लेखको समर्थनमा पनि मेरी आमाको कुनै नाम लेखिदिनेछन् । केही समय पहिले यीनै मान्छे मेरी आमालाई गाली गर्थे । यी तपाईँका छोराछोरी हुन् । यीनीहरु खराब राजनीतिको प्रयोग गर्देछन् । यसका लागि तपाईँले काखमा खेलाउनुभएको होइन । तपाईँको घरमै हत्यारा हुन्छन् भने एकदिन त्यहाँ पनि रगतका छिटा देखिनेछन् । 

गौरी लंकेश एक्लै मारिएकी होइनन् । सँगसँगै मारियो हाम्रो समाज पनि । समाजको संवेदना, करुणा सबै सँगसँगै मर्‍यो । सक्नुहुन्न निन्दा नगर्नुहोस् तर नाच्न त बन्द गर्नुहोस् । यति त तपाईँ आमाहरु आफ्ना छोराछोरीलाई भन्न सक्नुहुन्छ नि ! म यो लेख गौरी लंकेशको लागि लेखिरहेको छैन । तपाईँहरुको लागि लेखिरहेको छु । ती छोराछोरीको लागि लेखिरहेको छु जसलाई मान्छे बनाउन तपाईँले कति वर्ष खर्चनुभयो । जसलाई राजनीतिले तीन वर्षमै कस्तो बनायो । मेरो टाइमलाइनमा रगतका छिटा परेका छन् तर त्यो मेरो होइन । तपाईँका छोराछारीको हो । जुन खुशी छ त्यो तपाईँका छोराछोरीको होइन, राज गर्नेहरुको हो जसको उद्धेश्य पूरा हुँदैछ । 

(रवीश कुमार चर्चित भारतीय टिभी एंकर, लेखक र पत्रकार हुनुहुन्छ । उहाँले भारतीय राजनीति र समाजका विभिन्न पक्षमाथि कार्यक्रम चलाउने तथा लेख्ने गर्नुहुन्छ । उहाँ भारतीय टेलिभिजन एनडिटिभी इन्डियाका वरिष्ठ कार्यकारी सम्पादक हुनुहुन्छ ।) 
स्रोत : खबर एनडिटिभी डट कम

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केटा र केटीबीच विवाह कसरी जुराइन्छ ?

    ज्योतिष शास्त्रमा बिभिन्न कुराहरुको वर्णन गरिएको छ । हिन्दु धर्मशास्त्रहरुका अनुसार कुनै पनि केटा र केटीको विवाह गर्दा सम्बन्ध राम्रो हुन्छ कि हुँदैन भन्ने विचार गर्नुपर्छ । यस कुराको विचार ज्योतिष गणनाको आधारमा हुने गर्छ । कसरी केटा वा केटीको विवाह जुर्छ जुर्दैन थाहा पाउने गरिन्छ त ?

  • कुर्सी नपाउँदासम्म कुकुर बिरालालाई पनि ढोग्छन्, कुर्सीमा पुगेपछि मान्छे नै चिन्दैनन्

    घर झापा विर्ता शनिश्चरे हो । तर काठमाडौं बसेकै ११ वर्ष भैसक्यो । बानेश्वरमा सिलाईको काम गर्दै आएकी छु । झापाको भन्दा काठमाडौंको समस्या बढी देख्छु म त । मेलम्चीको पानी ल्याउँछु भनेको यतिका भैसक्यो आएको छैन । बाटोमा धुलोधुवाँले हिँडिसक्नु छैन ।

  • बम पड्काउनेले बुझ्न नसकेको यथार्थ

    देश चुनावको मुखमा छ । नेता, कार्यकर्तादेखि आमनागरिकलाई चुनाव लागेको छ । दलहरुको घोषणापत्र र नेताहरुले भाषणमा भनेजस्तो देशले छिटै काँचुली फेर्छ भन्नेमा नागरिकलाई विश्वास त छैन, तर चुनावले लामो समयदेखिको संक्रमणकाल अन्त्य गर्छ भन्ने आशा चाहिँ सबैमा छ ।

  • घर कुन दिशामा फर्केको राम्रो ?

    वास्तुशास्त्र अनुसार विभिन्न दिशाहरुको विभिन्न स्वभावहरु छन् । दिशाहरुको स्वभाव अनुसारका संरचनाहरु त्यस दिशामा बनाउनु राम्रो मानिन्छ । पूर्व दिशाबाट सूर्योदय हुने भएकाले यस दिशाबाट निकै राम्रो उर्जाहरु आउने मान्यता रहेको छ ।

  • तपाई मधुमेहको बिरामी हुनुहुन्छ ? भान्छामा छुट्टै खाना बनाउनु पर्दैन

    हिजोआज मानिस हिँड्न छाडे । विकासले जहाँतहाँ बाटो खुल्दा हिँडेर जाने ठाउँमा सवारी साधन प्रयोग हुन थाले । डेरीमा जाँदा क्यान र मान्छेलाई मोटरसाइकलले लैजान्छ । बसको प्रयोग हुन्छ । गाउँ गाउँमा चाउमिन, चाउचाउ, आलु चिप्स, तारेका खानेकुरा पुगे ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया