MENU

साहित्य/ कला

Ncell Axiata
chhaka panja

संगीतमा नलागेको भए म आत्महत्या गरिसक्थेँ : गणेश रसिक


 उपेन्द्रराज पाण्डेय/उज्यालो ।

काठमाडौं, भदौ २४ – ‘संगीतमा नलागेको भए म त आत्महत्या गरिसक्थेँ,’ परिवारका धेरै सदस्यलाई गुमाउँदाका पीडाले गाणेश रसिकलाई विक्षिप्त नै बनाएको थियो । उनले हरेश खाइसकेका थिए । आफैले हुर्काएका तीन भाइलाई अकालमै गुमाउनुको पीडा त छँदै थियो, त्यसमाथि एकमात्र छोरालाई पनि सदाका लागि बिदाई गर्नुपर्दा को पो सम्हालिन सक्छ र ? 

२०४० सालमा ‘म पनि गायक बन्छु’ भन्ने रसिकका भाइ शम्मीले आत्महत्या गरे । २०५१ सालमा दसैँकै साइतमा घरबाट हिँडेका अर्का भाइ श्यामको पनि भीरबाट खसेर ज्यान गयो । त्यस्तै २०६० सालमा ‘म जन्मे देशका लागि, म बाँचे देशका लागि, म मरेँ देशका लागि’ भन्ने अर्का भाइ प्रहरी निरीक्षक प्रजुको माओवादीसँगको भिडन्तमा ज्यान गयो । 

वियोगै वियोगको पीडाले छटपटिएका रसिकलाई गीत संगीतले नै बचाएको हो  । उनी भन्दै थिए, ‘मलाई कसैको मृत्युमा आँसु आउँदैन हो भाइ, बरु जीवनमा आइपर्ने स–साना दुःख कष्टमा रुने गर्दछु । तपाईँ त मान्छे मर्दा रुनुहुन्छ होला है भाइ ?’ त्यसो भने पनि कसले पो हटाउन सक्छ र आफ्ना स्मृतिमा गडेर बसेका ती घाउहरुलाई । कसैलाई गुमाउँदा म रुन्न है भन्दै गर्दा पनि रसिकका आँखा रसिला भएका थिए । उनको आँखामा आफ्ना नजिकका थुप्रै सदस्यलाई गुमाउँदाको पीडा सहजै देख्न सकिन्थ्यो ।

त्यसो त रसिकको जीवन सानैदेखि पीडादायी नै छ । सानैमा आमाको काख गुमाउनुको पीडा त छँदै छ । त्यसपछिका संघर्ष पनि छन नै । कहिले इलाम, कहिले काठमाडौं, उनी भौँतारिएका मात्रै होइनन्, पीडाले छटपटिए पनि । उनले इलामबाट एकदिन श्रीमतीलाई फोन गरे, ‘बुढी मलाई त मरुँ मरुँ जस्तो पो लाग्न थाल्यो त !’ काठमाडौंमा रहेकी उनकी श्रीमती अचम्म परिन् उनको कुरा सुनेर । उनले भनिन्, ‘कहाँ मर्ने कुरा गर्नुभएको ? हामी सबै तपाईँकै भरमा त छौँ । हाम्रो के हुन्छ त्यसपछि । हाम्रो लागि त सोच्नुहोस् । खुरुक्क भोलि काठमाडौं आउनुहोस् ।’ श्रीमतीको कुराले रसिकलाई एकैछिन सोचमग्न बनायो । उनले जीवन सक्किइनसकेको महसुस गरे । उनले त्यति बेलै ‘मर्न मन लाग्छ मलाई काल आउँदैन’ बोलको गीतको रचना गरे ।  भोलिपल्ट उनी काठमाडौं हान्निए । 

 
कुशल गीतकार, संगीतकार, गायक र साहित्यकारको परिचय बनाएका गणेश रसिकको जीवनमा थुपै पीडादायी क्षणहरु आए । जीवनका खुडकिलामा आइपरेका विभिन्न पीडाहरुलाई भुलाउन गणेश रसिकले गीत, संगीत र साहित्यको सहारा लिए । भोजपुरको छिनामखुमा जन्मेका रसिकको परिवार सांगीतिक पृष्ठभूमिको थियो । मेलवादेवी, साँइला उस्तादलगायतका कलाकारको गीत सुनेर हुर्केका रसिक गोठालो जाँदा नै गीतहरु गाउने गर्दथे । 

गणेश रसिकको जीवन उतारचढावले भरिएको छ । कलिलो उमेरमै आमालाई गुमाउनुको पीडाले रसिकलाई भावुक र संवेदनशील बनायो । सम्पन्न परिवारमै हुर्के पनि रसिकको बाल्यकाल अभावमा बितेको छ । आमाको न्यानो काखको अभाव त छँदैछ, बुवा लाहुरे भएकाले बुवासँग धेरै समय बिताउन पाएनन् । गाउँकै स्थानीय विद्यालयमा माध्यमिक तहको शिक्षा पुरा गर्नुभएका रसिक अध्ययनमा भने औसत विद्यार्थी नै थिए । उनका समकालिनहरु भने  नेपाली साहित्य तथा सांगीतिक क्षेत्रमा स्थापित नामहरु नै छन् । रसिक कक्षा ६ मा पढदै गर्दा मेघराज नेपाल(मञ्जुल) ७ कक्षामा, परशु प्रधान १० कक्षामा शैलेन्द साकार ७ कक्षामा अध्ययन गर्दथे । हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ तिर्थ शेरचनहरुको संगत त थियो नै  ।

सपना लाहुरे बन्ने

हजुरबुवा ब्रिटिश आर्मीका कप्तान(पछि बडाहाकिम भएका), बुवा गोर्खा ब्रिगेडमा रसिकलाई पनि लाहुरे बन्न दबाब आयो । लाहुरे बन्ने रहरले उनी हङकङ्ग पुलिसमा भर्ती हुन धरान जानुभयो ।  सबै परीक्षामा पास भए पनि लिखितमा आएर उनी अडकिए । गाउँको सरकारी विद्यालय पढेका रसिक र उनका साथी अंग्रेजी भनेपछि सातो जाने, लिखितको प्रश्न आयो अंगे्रजीमै । दार्जीलिङबाट लाहुरे हुन आउनेहरु पनि थिए । उनीहरु अंगे्रजीमा धुरन्धर, नेपालबाट लड्नेहरु कसैको नाम निस्किएन । त्यसमा गणेश रसिक पनि परे । 

लाहुरेमा नछानिएपछि, बिरामी भएर दिन नसकेको टेस्ट परीक्षा दिए ।  ब्रिटिश र हङकङ्गमा भर्ती हुन नसेके पनि इन्डियिन आर्मीमा त भइएला भनेर उनी साथीभाइसँग राजविराज गए । त्यतिबेला सडक बनिसकेको थिएन । घरबाट बन्दोबस्तीका सामान बोकेर एउटा टोली नै लाग्यो लाहुरे बन्ने  सपनाको भारी बोकेर । तर विडम्बना बाटोमै रसिकलाई ज्वरोले सतायो । ज्वरोले गलेका रसिकलाई साथीभाइले पालै पालो बोकेर राजविराज छेउको एउटा गाँउ त पुर्‍याए तर भर्ती केन्दमा जान सक्ने अवस्था उनको थिएन । 

सबै साथी लाहुरे हुने धुनमा केन्द्रित भएकाले उनीहरुले एउटा धानमिल भएको घरमा रसिकलाई छाडेर जाने सल्लाह गरे । साथीभाइले सँगै लान सक्ने अवस्था नभए पनि विरामी अवस्थामा छाडेर गएकाले आफनो मन निकै दुखेको बताउँछन् रसिक, ‘मैले त्यसबेला भोटबाट फर्किँदा बाटैमा बिमारी परेको मदनका रुपमा आफूँलाई पाएँ । जति सम्झियो, उति मन भक्कानिएर आउने । म डाँको छाडेर रुन थालेछु ।’

रसिकको दयनीय अवस्था देखेर मिलवालाले सम्झाउन थालेछन । उनले रसिकको औषधि उपचार पनि गरिदिए ।  सन्चो हुन्छ भन्दै मौवा दारु पनि पिलाए । त्यतिबेला रसिकलाई ती तराईवासी ल्हासा जाँदा दुःख पाएको बेला मदनलाई सघाएका भोटे दाइजस्तै भए । रसिक त्यो क्षण सम्झन्छन्, ‘ती बाबा मेरा लागि ईश्वरका अवतार थिए, जसरी मदनका लागि ती भोटे ! फरक यतिमात्र हो– भोटे हिमालवासी थिए भने ती दोकाने बाबा तराईवासी ।’ 

दार्जीलिङको प्रभाव

नेपाली कला साहित्यको विकासको लागि दार्जीलिङको निकै नै योगदान रहेको छ । २००७ सालको क्रान्तिपछि प्रवासमा बस्ने नेपालीहरु पूर्वी नेपालका विभिन्न जिल्लामा अध्यापनका लागि आएका थिए । उनीहरु यताबाट आएर पढाएनन् मात्रै, उनीहरुको गीत संगीत र कला साहित्यमा प्रभाव देखिन्थ्यो ।  
दार्जीलिङबाट शिक्षकको रुपमा पूर्वी नेपाल आउने बेदीकुमार, मणीकुमार शिक्षाको ज्योति मात्रै होइन, कला साहित्य गीत संगीत सबै लिएर आएका थिए । इन्द्रबहादुर राई करफोक, लक्ष्मीदेवी सुन्दास इलाम, रामनारायण प्रधानले आठराईमा शिक्षकको रुपमा काम गरेका थिए । उनीहरुले नेपाली साहित्य र भाषाको लागि पुर्‍याएको योगदान अतुलनीय छ ।

रसिकले बुवाले ल्याएको बेञ्जुबाजा बजाउन सिक्दै नै सांगीतिक जीवनको सुरुवात गरेका थिए । रसिकले २०१६ सालतिर सम्पन्न भएको पूर्वाञ्चल युवा सम्मेलनमा भाग लिएका थिए । बाल्यकालमा रसिकले  भोजपुरको टक्सारमा ‘सहनशीला सुशीला’ जस्ता नाटक हेर्ने मौका पाउनुभयो । त्यति बेला खोटाङको बुइँपा, भोजपुरबाट, आठराईबाट, धनकुटाबाट हस्तलिखित पत्रिका निस्कने गर्दथ्यो । त्यसलाई भित्ते पत्रिका बनाइन्थ्यो । 

लाहुरे बन्न राजविराज गएका रसिक विरामी परेपछि केही समय उतै बसे पनि  । राजविराजबाट निस्कने सगरमाथाका अञ्चल पत्रिकाको सह–सम्पादक भएर पनि उनले केही समय काम गरे । राजविराजमै रहँदा इलामका विष्णु नवीनसँग उनको पत्रमित्रता सुरु भयो । राजविराजमा हाकिमसँगको खटपटपछि उनले जागिरबाट राजीनामा दिएर हिँडे । बेखर्ची भएर निक्कै दुःख पाएका रसिक विराटनगर, धरान, तेह्रथुम हुँदै इलाम पुगे । इलाममा विष्णु नवीनले मेची अञ्चल पत्रिकामा जागिरको प्रबन्ध मिलाएपछि उनलाई केही सहज भयो । 

गणेश रसिक २०२३ सालमा जेटिए तालिमका लागि काठमाडौं आए । तालिम सकाएर तीन वर्ष जेटिएका रुपमा लेले र बुङ्गमतीमा खटिए । त्यति नै बेला भोजपुरबाट छुटेका दामलीहरु शैलेन्द्र साकार, मञ्जुलहरुसँग रसिकको भेट भयो ।

राल्फा र लेकाली समूहको उदय

रसिक २०२६ सालमा राष्ट्रिय नाचघरमा काम गर्न थाले । राष्ट्रिय नाचघरमा निर्देशकका रुपमा काम गरेका रसिक रामेश, रायन, मञ्जुलहरु मिलेर स्थापना गरेको ‘राल्फा’ मा संलग्न भए ।  २०४० सालमा रसिक सांस्कृतिक संस्थानको महाप्रबन्धक पनि भएका थिए । नेपालको राजनैतिक आन्दोलनमासमेत योगदान पु¥याएको राल्फाले पञ्चायती व्यवस्थाका विरुद्ध ‘गाउँ गाउँ र बस्तीबस्तीबाट उठाएको थियो ।’ रसिकलाई भने राल्फा एकदमै क्रान्तिकारी लाग्दथ्यो । पछि त राल्फाको विभिन्न अर्थ लाग्न पनि थाल्यो । यसको अर्थ ‘राजालाई फाल’ भनेर पनि लगाइयो । पछि राल्फाको अर्थ मात्रै फेरिएन, सैद्धान्तिकदेखि वैचारिक हिसाबले पनि विभाजित हुँदै गयो ।

राल्फा वामपन्थी विचारधाराबाट प्रभावित थियो । त्यसैले पनि रसिकलगायतका केही सदस्यको राल्फासँगको सम्बन्ध तोडियो । २०२४ सालको अन्त्यतिर  राल्फाको कुनै अर्थ छैन भनेर लेकाली समूह गठन भयो ।  नवीनकिशोर राई, तिर्थ शेरचन, उर्मीला श्रेष्ठल गणेश रसिकलगायत लेकाली समूह भनेर उदाए । 

राल्फा अति नै क्रान्तिकारी भएकाले मञ्जुलले जागिर नै छोडेका थिए । धेरैले आफ्नो नामको पछाडि राल्फा सन्तति र राल्फा लेख्न थाले । कलकत्त्तामा हंग्री जेनेरेसन वा  भोको पुस्ता, पश्चिममा बिट पुस्ता भनेजस्तै राल्फा जेनेरेसनकै रुपमा राल्फा सन्तति उदाएको थियो ।  तर विभिन्न कारणले यो समूह छिन्नभिन्न भयो ।  पश्चिममा त्यसबेला बिटल्स चर्चित थियो । राल्फा पनि बिटल्सबाट प्रभावित थियो । 
रसिकलाई पञ्चायती पक्षधरको आरोप नलाग्ने गरेको पनि होइन । तर राजा विरेन्द्रले कलाकारले देशका लागि केही गर्नुपर्छ है भनेपछि  आफूलाई राम्रो लागेको बताउनुभयो । 

ए ! है... है...
आज भेडा बाख्रा कता लाने ? 
खरबारी डाँडा !
यता ल्याउन 
बोका भाग्छ
काटी खाउ न 
माया लाग्छ बरी लै...

केटा केटाको संवाद भएको यो पहिलो नेपाली गीत हो । गोठाले शब्द र आवाज भएको यो गीतलाई २०२४ सालमा रसिक र हिरण्य भोजपुरेले रेडियो नेपालमा रेकर्ड गराएका थिए । 

‘घरबेटी नानी आँगनैमा देउन मलाई बास’, ‘धेरै सम्झे धेरै हुन्छ’, थोरै सम्झे थोरै’, ‘हट्ने होइन डटी लड्ने’, ‘रातो भाले क्वाँयक क्वाँयक’, ‘तराई हेर कति राम्रो हरियो बन हुनाले’ ‘मलाई प्यारो लाग्छ, लहरा पहरा छहराको देश’ लगायतका सयौं गीतमा स्वर र संगीत दिएका रसिक अहिले पनि उत्तिकै सक्रिय छन् । 

संगीत तथा नाट्य प्रतिष्ठानको जागिरका बाबजुद पनि उनी एकल साँझहरुमा प्रस्तुत भइरहेका हुन्छन् । नेपालमा मात्रै होइन, उनी देश विदेशमा पनि सांगीतिक कार्यक्रममा सहभागी हुन्छन् । 

उपनाम रसिक 

आफ्नै परिवारमा धेरै जनाको नाम गणेशकुमार राई भएकाले उनले आफ्नो नामको पछाडि रसिक जोडे । परिवारमै धेरै जनाको नाम गणेश हुनु त एउटा मात्र कारण थियो । त्यतिबेला अलिअलि साहित्यमा लाग्नेहरुले आफ्नो उपनाम राख्ने चलन रहेको थियो । गणेश रसिककै साथीहरुले पनि विभिन्न उपनाम राखेका थिए । उनले पनि त्यति बेलाका चलेका उपन्यासकार अच्छा राई ‘रसिक’ को ‘लगन’ उपन्यास पढेका रहेछन् । उनै अच्छा राईको साहित्यिक नाम गणेशले पनि रोजे । 

गीत गाएर पहिलो पटक १० रुपैयाँ

२० को दशकतिर अहिले जस्तो गीत संगीतमा लागेर जीविका चलाउने समय थिएन भन्छन् रसिक । उनले नै पहिलो पटक रेडियो नेपालमा एउटा गीत गाएबापत् १० रुपैयाँ पारिश्रमिक पाएको बताउँछन् । तर अहिले नेपाली कला साहित्यले व्यापक फड्को मारेको रसिकको भनाई छ । 

पञ्चायती पक्षधरको आरोप र झलनाथ खनालसँग चुनावमा प्रतिष्पर्धा

रसिकलाई धेरैले पञ्चायती पक्षधरको आरोप पनि लगाए । तर उनी कसैको चाकडी गरेर पदमा नपुगेको बताउँछन् । उनले आफूलाई राजा विरेन्द्रको देश बनाउनुपर्छ भन्ने कुरा भने राम्रो लागेको बताउँछन् । 

त्यसो त २०५१ को मध्यावधि चुनावमा गणेश रसिक इलामको क्षेत्र नम्बर १ बाट उठे । प्रतिष्पर्धा थियो एमालेका झलनाथ खनाल र कांग्रेसका बेनुपराज प्रसाईँसँग । रसिकले नराम्रोसँग हारेनन् मात्रै उनले भोट काटेकाले झलनाथ पनि हारे । बाजी मारे प्रसाईँले । चुनावमा ७, ८ लाख ऋण पनि लागेको बताउँछन् उनी, ‘चुनावमा हारिएन मात्रै ऋण पनि लाग्यो । अर्को चुनावमा उठियो भने त मेरो घरखेत नै जान्छ, अनि छोराछोरीको बिचल्ली हुन्छ भनेर सक्रिय राजनीति छोडेँ ।’ अहिले रसिक सक्रिय राजनीतिमा नभए पनि नेकपा एमालेको विचारधाराको नजिक भएको बताउँछन् । 

जीवनमा विभिन्न पीडालाई झेले पनि गीत संगीतले नै आफ्नो मन भुलाउने गर्छन् रसिक । कुनै कुरा सोचेर बस्नुभन्दा उनी हार्मोनियम लिएर गीत संगीत गुनगुनाउँछन् । संगीतले उनलाई त पीडामा मल्हम लगाउने काम गरेको छ, लाखौं श्रोतालाई पनि उनका गीत संगीत र उनको जीवन प्रेरणाको श्रोत बनेको छ । उनी भन्छन्, ‘मलाई लाखौं करोडौं मान्छेले मन पराउनु पर्दैन, मलाई मरेपछि रुने मान्छे चाहिँदैन । मलाई बाँचुन्जेल सम्झे पुग्छ ।’

गीत संगीतमा मात्रै होइन, रसिक नेपाली साहित्यमा पनि स्थापित नाम हो । २०६३ सालमा उनको ‘दस गजामा उभिएर’ संस्मरणले पद्मश्री पुरस्कार प्राप्त गरेको थियो  । त्यस्तै उनको ‘बिलाउँदै गएको गीत’, ‘आकाशगंगा मुनि’ उपन्यास र ‘क्षितिजलाई छुन खोज्दा’ र ‘एउटा सारङ्गीभित्र’ कथासंग्रह प्रकाशित छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया