MENU

समाज

Ncell Axiata
chhaka panja

विदेशबाट आएर यस्तोसम्म कर्तुत : समाजसेवाको नाममा बाल यौन दुराचार

नारायण अधिकारी/उज्यालो ।

काठमाडौं, भदौ २७ – प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीको हिरासतमा छन् अष्ट्रियाका नागरिक मार्कस केन्डलर । उनी सन् २०१४ देखि नेपाल आउन थालेका हुन् । अहिलेसम्म तीन पटक नेपाल आए । 

मार्कस अष्ट्रियाबाट काठमाडौं आउँछन् । सुविधासम्पन्न काठमाडौं छाडेर उनी विकट गाउँ धादिङको गोगन पुग्छन् । गाउँका सबैलाई लाग्छ, उनी महान् समाजसेवी हुन् । 

उनी बालबालिकालाई कपडा दिने, खान दिनेलगायतका काम गर्छन् । र उनका अघिपछि गोगनमा सधैँ जसो १०/१२ जना बालबालिका हुन्छन् । सबैजसो स्थानीयलाई लाग्छ उनको मन सफा छ दुःखीलाई सहयोग गर्न विदेशदेखि नेपालसम्म आइपुगेका छन् । मार्कसको यो काम सन् २०१४ देखि अहिले २०१७ सम्म चलिरह्यो । 

जब सिआइबीमा उनी विरुद्धको एउटा सूचना आयो, जसले समाजसेवाको कालो कर्तुतलाई उदाङ्गो पार्‍यो । 

बियरको नसामा बाल यौन दुराचार

सूचना थियो ‘मार्कस बाल यौन दुराचारी हुन् ।’

सूचना आएसँगै सिआइबीको पिलर नम्बर ३ ले मार्कसको पर्दा च्यातेर भित्री यथार्थ केलाउन थाल्यो ।

स्थान – ठमेल 

होटल – नेपालय

समय – भदौ २१ गते शनिबार राति ९ बजे 

सिआइबीका एसपी मिरा चौधरीको नेतृत्वको प्रहरी टोली ठमेलको होटल हिमालय पुग्यो । शनिबार राति ९ बजे नेपालयको कोठा नम्बर २०६ मा बसेका थिए मार्कस र दुई जना बालक ।

‘हामी राति ९ बजे त्यहाँ पुग्दा ढोका खुल्लै थियो । हामीलाई देखेपछि मार्कसले कोठाभित्र पस्न दिएनन्’ एसपी चौधरीले भन्नुभयो ‘हामी पुस गरेर भित्र छिर्‍याैँ ।’

त्यतिबेला एउटा गिलासमा बियरको फिंज आइरेको थियो । बियरको एउटा बोतल रित्तै थियो । अर्को आधा । 

कोठाकै एउटा कुनामा थिए दुई बालक । सम्भवतः ल्यापटपमा फिल्म हेरेको हुनुपर्छ । शरीरमा वस्त्र थिएन । 

‘बियरको नसामा यौन दुराचार गर्ने दाउमा थिए मार्कस । हामी अघि पुगेछौं । नभए रंगे हात पक्राउ पर्थे’ मार्कसलाई पक्राउ गर्न गएका एक प्रहरी अधिकारीले भने ।

चिसो बियरले अर्ध लट्ठ भएका मार्कसको योजना नै बालकमाथि दुर्व्यवहार गर्ने थियो । भलै त्यस दिनको उनको योजना तासको महल झैं ढल्यो । प्रहरीले उनी र दुवै बालकलाई आफ्नो नियन्त्रण लियो ।

मार्कसले यौन दुराचार गर्न यी दुई बालक धादिङको गोगनबाटै ल्याएका थिए । 

बाल यौन दुराचारीको प्रहरीलाई प्रश्न–पिडोफाइल के हो थाहा छ ?

होटल नेपालयको कोठा नम्बर २०६ बाट पक्राउ परेका मार्कसले सुरुमा आफ्नो कर्तुत स्वीकार गरेन । ‘हाम्रो देशमा १२ पुगेपछि पैसा तिरेपछि कानुनी रुपमा सेक्स गर्न पाइन्छ । तिमिलाई पिडोफाइल थाहा छ ?’ पक्राउ गर्न गएको एसपीको टोलीलाई उनले प्रश्न गरेका थिए । 

‘यो तिम्रो देश होइन । यो नेपाल हो । नेपालकै कानुनअनुसार कारबाही हुन्छ’ प्रहरीले यसो भन्दै उनलाई पक्राउ गरेको थियो । 

यौन दुराचार गर्ने बित्तिकै गाउँ फिर्ता

मार्कसले धादिङकै गोगनका एक बालकलाई घुमाउन भन्दै काठमाडौं ल्याए  । काठमाडौंको फनपार्कमा घुमाए । पेन्ट, सर्ट किनिदिए । खान दिए । बालकलाई म उसको अभिभावक हुँ भन्ने भान पारे । होटलमा लगेर यौन दुराचार गरेर त्यसै दिन गाउँ फर्काइदिएको अनुसन्धानबाट खुल्न आएको सिआइबीले जनाएको छ । 

हिरासत भित्रै भोक हड्ताल

होटलबाट दुईजना बालकसहित पक्राउ परेका उनले सुरुमा आफू बालकको साथी भएको बताए । गोगनमा पनि आफ्नो धेरै बाल साथी रहेको मार्कसको भनाई छ । तर उनको यो भनाईमा विश्वास गर्ने ठाउँ नभएको एसपी मिरा चौधरीले बताउनुभयो । 

‘मार्कस अहिले ४५ वर्षका छन् । १०÷१२ वर्षका बालक कसरी उनका साथी हुन्छन्’ एसपी चौधरीले भन्नुभयो । सुरुमा उनले आफ्नो कर्तुत स्वीकार र गरेनन् । सिआइबीले धादिङबाट पीडित बालक उनीसामु उभ्यायो । मार्कसले गल्ती स्वीकार्दै आफ्नो देश फर्काउन माग गरे ।  ‘जेल बस्नु परे पनि म आफ्नै देशमा बस्छु, मलाई अष्ट्रिया फर्काइदे’ मार्कसको एकसुत्रीय माग छ । 

‘म जेलमा ८÷९ वर्ष बस्नुपर्छ । मेरा जीवन सकिने भयो भन्दै उनीले अहिलेसम्म केही खाएका छैनन्’ मार्कसलाई उद्धृत गर्दै एसपी चौधरीले भन्नुभयो । पटक पटक कर गर्दा पनि खाना नखाएपछि उनलाई गएको शनिबार सिआइबीले टिचिङ अस्पताल पुर्‍यायो । अस्पतालले मार्कस बिरामी नभएको भन्दै भर्ना गर्न मानेन । अस्पतालले दिएको औषधि समेत उनले खान मानेनन् । अहिले प्रहरीलाई मार्कस टाउको दुखाई बनेका छन् ।

इन्टरपोलमार्फत थप अनुसन्धान हुने

बाल यौन दुराचारको आरोप लागेका मार्कसविरुद्ध इन्टरपोल मार्फत सिआइबीले थप अनुसन्धान गर्ने भएको छ । उनले आफू टेक्निसियन भएको बताए पनि उनको विगत कस्तो थियो भन्ने सिआइबीलाई थाहा छैन ।

काठमाडौं आउनुका उदेश्य नै बाल यौन दुराचार भएकाले उनले आफ्नै देशमा पनि यस्तो गरेको हुनसक्ने सिआइबीको अनुमान छ । 

पीडित बालकका अभिभावक भन्छन्–मार्कसले यस्तो गरे र  ?

२१ गते पक्राउ गरेका मार्कसलाई सिआइबीले काठमाडौं जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । उनी विरुद्ध पीडित बालकका अभिभावकलाई उजुरी गर्न सिआइबीले आग्रह गरेको छ । तर पीडित बालकका अभिभावक मार्कसले यसो गरे र ? भन्दै प्रश्न गर्ने गरेका छन् । 

‘उनी गाउँमा आउँथे । बालबालिका घुमाउन भन्दै काठमाडौं लान्थे राम्रै मान्छे पो रछन् भन्ने लागेको थियो यस्तो फटाहा पो र छ’ गोगनका एक पीडित बालकका बुवाले प्रहरी समक्ष भनेका छन् ।

बढ्दै बाल यौन दुराचारी

सिआइबीले मात्रै गएको वैशाखदेखि अहिलेसम्म बाल यौन दुराचारी गर्ने चारजनालाई पक्राउ गरिसकेको छ । नेपालका १० जना बालकलाई यौन दुराचार गर्ने अमेरिकाका केनेथ जोसेफ कोम्बस, उनलाई सहयोग गर्ने काठमाडौं स्वयम्भूका बुद्ध पतुवार, जर्मनीका अल्बर्ट फ्रेड क्लिनेक र मार्कस केन्डलर छन् । 

कोम्बस अहिले ९ वर्षको जेल जीवन बिताइरहेका छन् । उनका सहयोगी पुतुवार ४ वर्षका जेल सजाय भोग्दै छन् । जर्मनीका क्लिनेक पुर्पक्षमा थुनामा छन् । केन्डलर भदौ २१ गते पक्राउ परेका हुन् ।

उनीहरु सबैले नेपालका ग्रामीण भेगका गरिब बालबालिकालाई फाकाएर काठमाडौं ल्याउने र यौन दुराचार गर्ने गरेको सिआइबीले जनाएको छ ।

लाउन खान दिने र घुमाउने भन्दै काठमाडौं ल्याउने र होटलमा लगेर यौन दुराचार गर्ने गरेको सिआइबीले जनाएका छन् । यी सबैको लक्षित समूह गाउँका गरिब बालबालिका भएकाले समाज सेवाको नाममा गाउँ जाने र बालबालिका काठमाडौं ल्याएर यौन् दुराचार गर्ने पाइएकाले विदेशी नागरिकलाई तत्कालै विश्वास नगर्न सिआइबीले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया