MENU

विचार/अनुभूति

Ncell Axiata
chhaka panja

जसले आफ्नै बलबुतामा संविधानको उल्था गरे !

विनय गुरागाईं -

झन्डै डेढवर्ष अघि एकदिन मित्र एकराज चौधरीले कुरा चुहाउनु भयो, 'मैले नेपालको संविधान थारु भाषामा उल्था गर्ने विचार गरे।' एकजना रेडियोकर्मी जसलाई म जहिले भेट्थे बिहानदेखि बेलुकासम्म रेडियो स्टेशनमै व्यस्त रहेको पाउँथे । त्यसैले मैले चौधरीको कुरालाई गम्भीरतापूर्वक लिइन । नलिनु पर्ने अरु पनि कारण थिए मसँग । नेपालको नयाँ संविधानप्रति थारु समुदाय असन्तुष्ट थियो ।

एकराज बस्ने गाउँबाट झन्डै डेढसय किलोमिटर दूरीमा रहेको टिकापुर घटना ताजै थियो । टिकापुरमा जे भयो थारुकै अगुवाई भएको थियो । एकराजकै क्षेत्र दांग, बर्दिया र कैलालीका थारुहरु संविधानले विभेद गरेको भन्दै आन्दोलनमा थिए । संविधानको पहिलो संशोधनसमेत भएको थिएन । सबैभन्दा महत्वपूर्ण कुरा त स्वयं एकराज चौधरी नै संविधानले समानुपातिक समावेशी नीतिको व्यवस्था गर्नुपर्छ भन्दै आन्दोलनकै मोर्चामा हुनुहुन्थ्यो । 

‘संविधान विभेदकारी छ । तर त्यो भन्दा पनि मुख्य कुरा के हो भने यो संविधानमा के छ भन्ने कुरा नै नबुझिकन विभेद भयो भन्नेहरु धेरैछन् । यस्तो भ्रम हटाउनका लागि पनि उल्था गर्नु जरुरी छ’ चौधरी एकछिन चुप हुनुभयो । ‘बुझ्न चाहे त नेपाली भाषामै जति उपलब्ध छन् त संविधानका प्रति, थारु भाषामा उल्था नै किन ?’ सायद मैले उहाँका लागि अनपेक्षित प्रश्न गरेँ । एकछिन घोरिएपछि चौधरीले कुरा सुरु गर्नुभयो, ‘कुरा उल्थाको हैन अपनत्व र सम्मानको हो ।’ 

त्यो यस्तो बेला थियो जतिबेला राष्ट्र र राष्ट्रियताका बारेमा नकारात्मक चर्चा बढी हुन्थ्यो । त्यसले समाजलाई खण्डित हुन मलजल गरिरहेकोमा चौधरी चिन्तित हुनुहुन्थ्यो । यही चिन्ताले उहाँलाई सताउँथ्यो । र एकदिन निर्णय गर्नुभो, ‘म अब आफ्नै प्रयासमा नयाँ नेपालको संविधान थारु भाषामा उल्था गर्छु ।’ थारु भाषा अर्थात कपिलवस्तुबाट पश्चिम र कञ्चनपुरका रानाथारुले बोल्ने बाहेकको भाषामा ।

नेपालको संविधान थारु भाषामा उल्था एकराजको एकल प्रयास हो । आज त्यो प्रयास सार्थक भएको छ । बर्दियाको बाँसगढीलाई कार्यक्षेत्र बनाई रेडियो गुरुबाबा सञ्चालन गरिरहेका चौधरीलाई नेपाल सरकार कानुन, न्याय तथा संसदीय मामिमला मन्त्रालयले थारु भाषामा प्रकाशन गर्न अनुमति दिएको छ । चौधरी छापिएका संविधानका प्रति पल्टाउँदै लोकार्पणको उपयुक्त दिन पर्खाइमा हुनुहुन्छ । 

‘को बाट लोकार्पण गराउने त एकराज जी ?’ बाँसगढीबाट चौधरीले फेसबुक म्यासेञ्जरमा लेख्नु भयो ‘खै मैले त सभासद, मन्त्री, प्रमुख जिल्ला अधिकारी र स्थानीय नेताहरुको समय मागिरहेको छु । उहाँहरुको समय मिल्ने बित्तिकै लोकार्पण गर्नुपर्ला ।’ 

यसो भनिरहँदा उहाँले नेपालको संविधानलाई थारु भाषामा उल्था गर्दाका दुःख बिर्सिनु भएको थियो । तर ती दुःखहरु सजिलै बिर्सन लायक भने थिएनन् । 

थारु भाषाको आफ्नै लिपी छैन । भन्नलाई उल्था भनेपनि त्यो खस नेपाली भाषा अर्थात देवनागरी लिपीमै उल्था गर्नुपर्थ्यो । उल्था गर्न समय लाग्थ्यो । रेडियो सञ्चालनको जिम्मेवारी काँधमा बोकेका चौधरीसँग समय अत्यन्तै कम हुन्थ्यो । कतामात्र भ्याउने । मुख्य चुनौती यही थियो । समय अर्थात श्रम । श्रमको मूल्य कसले देला । 

सुरुमा यस कुराले पिरोले पनि चौधरीले हिम्मत हार्नु भएन । बर्दियाका सांसदहरुसँग भेटघाट गर्नु भयो । आफ्नो योजना सुनाउनु भयो । जब नेताहरु योजना सुन्थे खुबै तारिफ गर्थे । राम्रो काम गर्न लाग्नु भयो गर्नु भनेर हौसला दिन्थे । तर चौधरीलाई हौसला हैन पैसा सहयोग चाहिएको थियो । पैसाको कुरा निस्कने बित्तिकै उनीहरु कोशिस गरौँला भनेर तर्किन्थे । ‘प्रायः सबैसँग मुख फोरियो पैसा सहयोग र्पाएन ।’  

सन् २०१६ को एकदिन रेडियो गुरुबाबाकी स्टेशन मेनेजर पुष्पा चौधरीले आफूजस्तै १८ वटा रेडियोका प्रमुखहरुसँग एउटा आग्रह गर्नुभयो । उहाँको आग्रह थियो थारु भाषाको कार्यक्रम हमार संविधानको निःशुल्क प्रशारण समय मिलाइदिनुप¥यो । त्यही संविधान जुन एकराजले खुरुखुरु उल्था गर्नु भयो । पुष्षा र एकराज मिलेर संविधानको विषयवस्तुमा आधारित ‘हमर संविधान’ तयार पारिसक्नु भएको रहेछ । हमर संविधान अहिले ती १८ एफएम रेडियोसहित जम्मा ३३ वटा स्थानीय रेडियोबाट हरेक हप्ता निःशुल्क प्रशारणा हुन्छ ।  

‘कति समय लाग्यो संविधानको उल्था गर्न ?’ चौधरीले भन्नुभयो, ‘झन्डै डेढ वर्ष लाग्यो ।’ एक वर्ष अर्थात ३६ दिन । दिनको ३ घण्टाका दरले समय दिँदा पनि १८१ पानाको संविधान उल्था गरिसक्न झन्डै १ हजार १ सय घण्टा लाग्छ । ‘यती लामो समय काम गर्दा जति मज्जा आयो त्यसले यस क्रममा आफूले पाएका झन्झटहरु भुल्न सघायो’, एकराज चौधरीलाई आफूले गरेको कामप्रति कुनै गुनासो छैन आज ।  

एकराजकै भाषामा भन्नुपर्दा आफ्नो जिल्ला तथा अन्यक्षेत्रका आफ्ना चिनजानका सभासदहरु मार्फत उहाँले संविधानसभा सचिवालय समेत प्रस्ताव पुर्‍याउनु भयो । तर सुनुवाई भएन । नहुने कारण के भनियो भने देशमा यति धेरै भाषा छन्, एउटा भाषालाइ मात्र सहयोग गर्न मिल्दैन । एकराज भन्नुहुन्छ, ‘सरकारले चाहेको भए सबै भाषामा उल्था गर्न मिल्थ्यो । वा केही गर्न नसकेपनि मलाइजस्तै निरुत्साहित नपार्न त सक्थ्यो नि सरकारले ।’ तर उहाँको कुरा कसैले सुनेन । एकराजले पनि आफ्नो काम छोड्नु भएन ।

विगत डेढदशक यता एकराज चौधरीलाई सक्रिय रेडियोकर्मीको रुपमा चिन्न सकिन्छ । सन् २००१ ताका ब्याकवार्ड सोसाईटी एजुकेशन (बेस) को अगुवाईमा कमैया मुक्ति आन्दोलन हुँदा एकराज चौधरी बेसमा आबद्ध हुनुहुन्थ्यो । कमैया मुक्तिका लागि वर्षौदेखि संघर्ष भइरहेको थियो । एकराज पनि त्यो संघर्षको अगुवा हुनुहुन्थ्यो । उहाँहरुकै अगुवाइमा कमैयाहरु मुक्त त भए । स्थायी बसोबास र दीगो रोजगारी मुक्त कमैयाका अहिलेका पनि मुद्दा हुन् ।

एकराज चौधरी थारु भाषाको रेडियो कार्यक्रम ‘ख्याल’ का निर्माता तथा प्रस्तोता हुनुभयो । कमैया मुक्ति आन्दोलन सफल हुने बित्तिकैको कुरा हो यो । मुक्त कमैयाको उचित व्यवस्थापनमा केन्द्रित थारु भाषाको रेडियो कार्यक्रम थियो ख्याल । त्यही ख्यालले रेडियोको रहर जन्मायो । रहर बढ्दै गएपछि एकदिन एकराजकै नेतृत्वमा रेडियो गरुबाबा जन्मियो । अहिले गुरुबाबा रेडियोको लालनपालनको जिम्मा एकराजसँग छ । भन्नुहुन्छ, ‘थारु भाषा संस्कृतिको जगेर्ना गर्नुपर्छ भनेर नै रेडियो गुरुबाबालाई सुरु गरिएको हो ।’ सञ्चालन हुन थालेको ९ वर्ष पुग्न लाग्दा रेडियो आफ्नो अभियानमा सफल हुँदैछ ।  

एकराज चौधरी प्रतक्ष रुपमा थारु समुदायका धेरै मुद्दालाइ सञ्चारको माध्यमबाट बाहिर ल्याउन र त्यसबाट परिवर्तन ल्याउन सकिन्छ भनेर नै सक्रिय रुपमा सञ्चारकर्ममा लाग्नु भएको छ ।  वहाँको यही सक्रियताको सानो कोशेली हो थारु भाषामा उल्था भएको नेपालको संविधान २०७२ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • संविधान बनाउँदाको अनुभव : धारा पारित गर्दा पानी पनि खाइन

    लामो छलफल र संवादपछि घोषणा भएको नेपालको संविधान, ७० वर्षदेखिको नागरिकको चाहना र भावना पूरा भएको त्यो क्षण मलाई झल्झल्ली याद आउँछ । निकै गर्व लाग्छ त्यो क्षण सम्झँदा पनि । संविधान घोषणा नहुन्जेलसम्म संविधान घोषणा नगर्न धरै ठाउँबाट दबाब आयो ।

  • तेस्रो चरणको चुनावपछिको संकेत

    काठमाडौं, असोज २ – २ नम्बर प्रदेशका आठ जिल्लामा स्थानीय तहको तेस्रो चरणको चुनावसँगै संविधान कार्यान्वयन र राजनीतिक कार्यदिशाको बाटो थप फराकिलो बन्दैछ । राजपाको सहभागिता नै तेस्रो चरणको चुनावको सबैभन्दा महत्वपूर्ण पक्ष हो ।

  • महिला हिंसा कम गर्ने अभियानमा लागेका पुरुष

    सेतो कुर्ता र धोती । काँधमा सेतै गम्छा । निधारमा ठाडो रातो टीका । टाउकोमा लामो टुप्पी, शिखा पारिएको । सिरहाको मझौराका गोविन्द यादव । देख्दा लागेको थियो, यी व्यक्ति गाउँको पूजारी वा धार्मिक अगुवा हुनुपर्छ । वा धर्म तथा परम्पराको नाममा बाँधिएको पात्र ।

  • दुर्घटनामा मृतकको नाम फरक परेपछि ...

    गाडी दुर्घटना कतै नहोस्, कहिले नहोस् । अप्रिय समाचार कहिले लेख्न नपरोस् । तर, यस्तो कामना गरेर मात्र नहुने । बेलाबेला दुर्घटना भइ नै रहेको हुन्छ । दुर्घटनापछि सामाचार त दिनै पर्‍यो । यो त पेशागत धर्म हो ।

  • माइक्रोबसमा देखिएको परदेशीका प्रेम

    तीनमध्येका एक युवा बोले, ‘कान्छी तिमी त्यता म यता ।’ सँगैका अर्को युवाले थपे, ‘तिमीलाई छाडेर विदेश जान पनि मन थिएन, अहिलेपनि पछाडिको सिटमा राख्न कहाँ मन छ र ?’ तेस्रोले प्याच्च उनी बोले, ‛काखैमा राखन त । कसले रोकेको छ र ?’

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया