MENU

समाज

Ncell Axiata
chhaka panja

युएईका जेलमा १०९ नेपाली, रक्सीका कारण जेल पर्ने धेरै

उमाकान्त पाण्डे/उज्यालो ।

युएई, भदौ २८– युएईमा १ सय ९ जना नेपाली जेलमा छन् । नेपाली दूतावासले जेलमा रहेका नेपालीका बारेमा तयार परेको प्रतिवेदनमा युएईका सात वटा राज्यमा रहेका ८ वटा जेलमा रहेका नेपालीको तथ्याङ्क सार्वजनिक भएको हो । 

दूतावासले वर्षमा दुई पटक जेल भ्रमण गर्ने अभियान अन्तर्गत दुई महिना अघिदेखि जेल भ्रमण सुरु गरेको थियो । दुतावासका द्वितीय सचिव कृष्ण अर्याल र तृतीय सचिव संगिता न्यौपानेसहित दुतावासको जन सम्पर्क अधिकृत पिआरओलगायतको टोलीले जेलमा रहेका नेपालीलाई भेटेको थियो ।

१ सय ६४ जना जेल परे पनि ५५ जना भने सजाय भोगेर जेल मुक्त भइसकेका छन्  । जेलमा परेका कतिपय नेपालीले आममाफी पाएर स्वदेश फर्किने गरेको र जेलमै रहेका नेपाली नागरिकको सहयोगका लागि प्रकृया सुरु गरेको युएईका लागि कार्यबाहक राजदुत नेत्रबहादुर टन्डनले बताउनुभयो ।

युएईका ८ वटा जेलमध्ये फुजेराह र उम्मल क्विन बाहेक अन्य ६ वटा जेलमा नेपाली छन ।  युएईको दुवईको केन्द्रीय कारागारमा सबै भन्दा धेरै ८३ जना नेपाली छन् । 

त्यस्तै राजधानी आबुधाबीको अल वात्वा जेलमा ३५ जना, रसअलखेमामा ९ जना, अजमान र सारजाहा जेलमा ११ जना नेपाली रहेको दूतावासले जनाएको छ । त्यस्तै आबुधाबी राज्य अन्तर्गत अलऐनमा रहेको जेलमा १५ जना नेपाली छन । ती मध्ये ३ जना महिला रहेको दूतावासले  जनाएको छ । 

दुतावासका प्रतिनिधिले जेलमा रहेका नेपालीलाई प्रत्यक्ष भेटेर आवश्यक सहयोग बारे सोधपुछ गरेको थियो । ट्राभल डकुमेण्ट वा अन्य कागजी प्रक्रियामा सहयोग गर्नुपर्ने भए वा कानुनी सहयोग आवश्यक परे दुतावासले पिआरओ वा वकिल खटाउने जानकारी जेलमा रहेका नेपालीलाई गराएको दुतावासका दितिय सचिव प्रवक्ता कृष्ण अर्यालले बताउनुभयो । भ्रमणका बेला जेल प्रशाशन र सम्बन्धित निकायसँग पनि नेपालीका समस्याबारे छलफल गरिएको उहाँले बताउनुभयो ।


भेटमा नेपाली कामदारलाई परेको मुद्दा र त्यसमा दूतावासले गर्न सक्ने समन्वयका बारेमा दूतावासले चासो देखाएको छ । यसअघि दूतावासको समन्वय र एनआरएनलगायतका संघसस्थाले दुवईका केही जेलमा पुगेर नेपालीको अवस्था बुझ्दै आएका थिए । तर युएईका सबै जेलमा दूतावासका प्रतिनिधी पुगेको यो तेस्रो पटक हो । जेलको अवलोकनपछिको अवस्थाबारे तयार पारिएको  सात पृष्ठ लामो प्रतिवेदन दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएको छ ।  

रक्सीले मातेर झगडा गर्ने बढे

रक्सीले मातेर झगडा गर्ने र त्यही निहुमा जेल पुग्ने नेपाली धेरै रहेको प्रतिवेदनमा उल्लेख छ । झगडा र कुटपिट गर्ने, रक्सी पिएर गाडी चलाउने जस्ता काममा संलग्न भएको आरोपमा धेरै नेपाली जेल परेका हुन् । ती मध्ये कतिपय त साप्ताहिक बिदाका दिन पार्क तथा समुन्द्र किनारमा बसेर पेप्सी र कोकाकोलाका बोतलमा रक्सी पिइरहेको बेला पक्राउ परेका छन् । युएईको कानुनमा सार्वजनिक स्थानमा रक्सी पिउन पाइँदैन् । 

‘दूतावासको प्रतिनिधि भएर जेल पुग्दा लज्जित हुनु पर्ने अवस्था छ ।’ द्वितिय सचिव अर्यालले भन्नुभयो ‘जेलमा नेपालीको अर्को नाम नै रक्सी पिउने र कुटपिटमा उत्रिने हिसावले परिचित छ, यस्ता कुरामा नेपाली कामदार सचेत नभए समस्या कम हुने देखिँदैन ।’

त्यस्तै लागु औषधको प्रयोग, ओसारपोसार वा सघाएको मुद्दामा पनि नेपाली जेल परेका छन् । धेरैजसो नेपालीले नेपालबाट अचारमा भाङ, धतुरो, गाजा तथा मर्चा मिसाएर ल्याउने क्रममा पक्राउ पर्ने गरेका छन । कतिपय नेपाली हत्या आरोपमा पनि अनुसन्धानका लागि जेलमा छन ।

उनीहरुको बिषय थप जटिल हुने भएकाले रिहाइ हुन समय लाग्ने देखिएको छ । चोरी आरोप र अवैध यौन सम्बन्ध राखेको आरोपमा पनि नेपाली जेलमा छन् । उनीहरुलाई पार्क तथा विभिन्न स्थानमा बसेर शारीरिक सम्बन्ध राख्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको हो । नक्कली कागजपत्र बनाएर प्रयोग गर्ने र अन्य विविध कारणले नेपाली जेल परेको दुतावासको प्रतिवेदनमा उल्लेख छ । 

दार्चुलाका अमर बहादुर बम १४ वर्षदेखि दुवईको जेलमा छन् । उनलाई सन् २००३ मा भारतीय नागरिको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ । मृत्युदण्डको सजाय सुनाइएको १० वर्ष भइसकेको छ । 

जनचेतनाका लागि मजदुर शिविरसम्म पुग्छौं : दुतावास 

युएईमा कार्यरत नेपालीलाई थप सचेत बनाएर भविष्यमा आउन सक्ने समस्याबाट बचाउन दुतावासले जनचेतना कार्यक्रमको खाका तयार पारेको छ । यस वर्ष दूतावासले युएईका सातै वटा राज्यमा जनचेतनाका लागि कार्यक्रम तयार गरेर परराष्ट्र मन्त्रालयमा पठाएको थियो ।

परराष्ट्रबाट अनुमति पाईसकेकोले यस वर्ष दुतावासले कामदारका क्याम्पमै पुगेर कार्यक्रम गर्ने योजना बनाएको छ । सकेसम्म सबै राज्यमा पुग्ने छौ नभए युएईमा धेरै नेपाली काम गर्ने कम्पनीका क्याम्पहरुमै पुगेर कार्यक्रम गर्ने योजना रहेको दुतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया